काठमाडौं : भ्याल्यू इन्भेष्टिङ त्यस्तो लगानी रणनीति हो जसमा बजार औसतको तुलनामा कम भाउ भएका सेयरहरु खरिद गर्ने प्रक्रिया समावेश हुन्छ । भ्याल्यू इन्भेष्टिङमा बजारमा राम्रो प्रदर्शन गरिरहेका वा प्रचारबाजीमा राम्रो मानिएका सेयरको सट्टा अवमूल्यनमा परेका अथवा आफ्नो वास्तविक भाउ भन्दा कम मूल्यमा कारोबार भइरहेका सेयरहरुलाई लक्षित गरिन्छ । कालान्तरमा बजारले गल्ती सुधार गर्दै जाँदा अवमूल्यनमा परेका सेयरहरुको भाउ बढ्ने र राम्रो प्रतिफल प्राप्त गर्न सकिने आशा गरिएको हुन्छ ।
भ्याल्यू इन्भेष्टिङ रणनीति लामो समयदेखि बार्गेनमा स्टक खरिद गरी ठूलो प्रतिफल हात पार्न खोज्ने लगानीकर्ताले प्रयोग गर्दै आएका छन् । तर पछिल्लो समयमा भ्याल्यू इन्भेष्टमेन्ट कम नाफामूलक देखिएको छ । यद्दपि, आफ्नो लगानी पोर्टफोलियोको केही हिस्सा भ्याल्यू इन्भेष्टमेन्टमा लगाउँदा बजार ओरालो लाग्यो भने पनि जोखिम तथा नोक्सान कम गर्न पक्कै मद्दत पुग्नेछ ।
के हो भ्याल्यू इन्भेष्टिङ ?


सामान्यः अर्थमा भन्नु पर्दा, भ्याल्यू इन्भेष्टिङ भनेको आफ्नो वास्तविक मूल्य भन्दा कम भाउ भएका सेयरहरु पत्ता लगाउने, अनुसन्धान गरी र खरिद गर्ने काम हो । बेलायतको स्टक ब्रोकर हारग्रिभ्स् ल्यान्स्डनकी वरिष्ठ लगानी तथा बजार विश्लेषक सुजाना स्ट्रिटरका अनुसार भ्याल्यू इन्भेष्टिङ सामान्यतयः यस्तो लगानी शैली हो जसमा धेरैले नरुचाएका र चर्चामा नआएका कम्पनीहरु खोज्ने गरिन्छ ।
यस्ता कम्पनीहरु नाफा तथा कमाईको तुलनामा भाउ निकै कम भएका, बजारको औसत भन्दा कम रेटिङ भएका र धेरै नरुचाइएका ढीलो वृद्धि हुने किसिमका हुन्छन् । सामान्य अर्थमा भन्नुपर्दा अवमूल्यनमा परेका कम्पनीहरु भ्याल्यू इभेष्टरले खोज्ने गर्दछन् ।
यस्ता कम्पनीहरु नाफा तथा कमाईको तुलनामा भाउ निकै कम भएका, बजारको औसत भन्दा कम रेटिङ भएका र धेरै नरुचाइएका ढीलो वृद्धि हुने किसिमका हुन्छन् । सामान्य अर्थमा भन्नुपर्दा अवमूल्यनमा परेका कम्पनीहरु भ्याल्यू इभेष्टरले खोज्ने गर्दछन् ।
भ्याल्यू इन्भेष्टिङ रणनीति सन् १९२० मा कोलम्बिया बिजनेस स्कूलमा वित्तशास्त्र अध्यापन गराउने बेन्जमिन ग्राहम र डेभिड डडले प्रतिपादन गरेका थिए । कुनै कम्पनीको सेयरको वास्तविक मूल्य मार्केटको प्रतिकृयाले नभई कम्पनीको फन्डामेन्टल्सका आधारमा निर्धारण हुनुपर्ने ग्राहम र डडको मान्यता रहेको थियो ।
ग्राहमका शिष्य वारेन बफेटले आफ्ना गुरुले प्रतिपादन गरेको भ्याल्यू इन्भेष्टिङ रणनीतिमा अडिग रहेरै अरबौं डलर कमाउन सफल भएका छन् । भ्याल्यू इन्भेष्टिङको चुरो कुरो पनि न्यून मूल्यमा खरिद गर्ने र उच्च मूल्यमा बिक्री गर्ने रहेको छ । व्यवहारमा यो रणनीति लागू गर्न प्रसस्त धैर्यता आवश्यक पर्छ । अनिमात्र कम्पनीको वास्तविक मूल्य र बजार मूल्य एकै ठाउमा आउँछ र भविष्यमा ठूलो प्रतिफल हत्याउन सकिन्छ भन्ने कुरालाई मुख्य आधार बनाउनुपर्छ ।


भ्याल्यू इन्भेष्टिङ र ग्रोथ इन्भेष्टिङ :
भ्याल्यू इन्भिेष्टिङलाई केही हदसम्म गोथ इन्भेष्टिङको वितरित पाटोका रुपमा लिने गरिएको छ । भ्याल्यू इन्भेष्टरहरुले सेयर मूल्य सुरुमै बढिरहेका कम्पनीहरु भन्दा पनि अन्य लगानीकर्ताको रोजाइमा नपरेका सस्तो सेयर भएका राम्राकम्पनीहरु खरिद गर्ने गर्दछन् । ग्रोथ इन्भेष्टर तुलनात्मक रुपमा ठूलो जोखिम लिन सक्ने युवा उमेरका हुने गरेका छन् भने भ्याल्यू इन्भेष्टर सामान्यतयः अलि प्रौढ उमेरका हुने गरेका छन् ।
भ्यल्यू इन्भेष्टरसँग अधिक मात्रामा वित्तीय र रियल स्टेट सम्पति हुने सम्भावना रहन्छ, जसले उनिहरुलाई ग्रोथ स्टकमा रिस्क लिनु नपर्ने संकेत गरेको पाउन सकिन्छ । भ्याल्यू इन्भेष्टर सामान्यतयः अवकास पाउने उमेरका वा अवकास पाइसकेका व्यक्तिहरु हुने भएकाले उनीहरु छिटो प्रतिफल पाउने भन्दा पनि नियमित प्रतिफल पाइरहने लगानीमा फोकस गर्दछन् । अवमूल्यनमा परेका तर लाभांश पनि नियमित दिने कम्पनहरुमा उनीहरुको चासो हुने गरेको छ ।
भ्यल्यू इन्भेष्टरसँग अधिक मात्रामा वित्तीय र रियल स्टेट सम्पति हुने सम्भावना रहन्छ, जसले उनिहरुलाई ग्रोथ स्टकमा रिस्क लिनु नपर्ने संकेत गरेको पाउन सकिन्छ । भ्याल्यू इन्भेष्टर सामान्यतयः अवकास पाउने उमेरका वा अवकास पाइसकेका व्यक्तिहरु हुने भएकाले उनीहरु छिटो प्रतिफल पाउने भन्दा पनि नियमित प्रतिफल पाइरहने लगानीमा फोकस गर्दछन् । अवमूल्यनमा परेका तर लाभांश पनि नियमित दिने कम्पनहरुमा उनीहरुको चासो हुने गरेको छ ।
कम्पनीको आन्तरिक वा वास्तविक मूल्य कसरी पत्ता लगाउने ?
कुनै कम्पनीको सेयरको वास्तविक वा आन्तरिक मूल्य थाहा पाउन लगानीकर्ताले विभिन्न विधि तथा परिमाण प्रयोग गर्ने गरेका छन् । यस्ता विधिहरु कम्पनीको वित्तीय अवस्था जाँच गर्न र कम्पनीको सेयर भाउ, यसको समग्र वा वास्तविक मूल्य भन्दा कम भएको वित्तीय सूचना पाउन प्रयोग गरिन्छ । भ्याल्यू खोज्ने सुरुवाती चरणका लगानीकर्ताले निम्न विषयमा ध्यान दिन आवश्यक छ ।
–प्राइस टु अर्निङ (पीई) रेसियो : कम्पनीको बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अंकलाई पीई रेसियो (मूल्य–आम्दानी अनुपात) भनिन्छ । कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ । तर विभिन्न कम्पनीको पीई रेसियो तुलना गर्दा एउटै सेक्टरमा पर्ने कम्पनीहरुको मात्र तुलना गर्नुपर्छ । पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने विषयको जानकारी दिन्छ ।
–प्राइस टु बुक (पीबी) रेसियो : कम्पनीको बजार भाउलाई त्यसको बुक भ्याल्यू (किताबी मूल्य) ले भाग गर्दा आउने अंकलाई पीबी रेसियो भनिन्छ । यदि बजार भाउ भन्दा प्रतिसेयर बुक भ्याल्यू बढी छ भने त्यस्तो सेयरलाई अन्डरभ्याल्यूड मान्न सकिन्छ । भ्याल्यू इन्भेष्टेमन्ट गर्दा कुनै कम्पनी बजारको गल्तीका कारण अवमूल्यनमा परेको हो कि कम्पनीको अवस्था नै चिन्ताजनक भएर अवमूल्यनमा परेको हो भनेर छुट्याउन विशेष ध्यान दिनुपर्छ ।
भ्याल्यू स्टकमा कसरी लगानी गर्ने ?
भ्याल्यू स्टकमा लगानी गर्न तपाईंसँग मुल्य दुई विकल्पहरु छन् । पहिलो विकल्प हो, भ्याल्यू स्टकहरु आफू स्वयंले पत्ता लगाउने र व्यक्तिगत लगानी गर्ने । यसका लागि सेयरहरु स्क्रिन गर्न बनाइएका विभिन्न एपहरुको प्रयोग गर्न सकिन्छ । साथै, इन्भेष्टमेन्ट कम्पनीहरुको सहयोग पनि लिन सकिन्छ । दोस्रो विकल्प हो, भ्याल्यू स्टकहरु टार्गेट गर्ने म्युचुअल फन्डहरुमा लगानी गर्ने ।
भ्याल्यूका लागि लगानी गर्ने टिप्स
भ्याल्यू इन्भेष्टिङ दीर्घकालमा सुरक्षित र नियमित प्रतिफल पाउने भरपर्दो लगानी रणनीति रहँदै आएको छ । तर पछिल्लो समय अर्थतन्त्र र बजार रणनीतिमा परिवर्तन हुँदै जाँदा ग्रोथ स्टकमा लगानीकर्ताको नजर बढी पर्न थालेको छ । यसको अर्थ, भ्याल्यू इन्भेष्टिङ प्रयोगबिहीन भएको भने होइन । भ्याल्यू इन्भेष्टिङमै हालसम्म अडिग रहेर वारेन बफेट, चार्ली मंगरलगायत लगानीकर्ताहरु अर्बपति बनेका छन् । र उनीहरु अझै पनि भ्याल्यू इभेष्टिङलाई अघि बढाइरहेका छन् ।


–सन्तुलन राख्ने
लगानी रणनीतिमा सन्तुलन राख्नु महत्वपूर्ण हुन्छ । रणनीतिमा सन्तुलनका साथै विविधीकरण गर्नु पनि उत्तिकै जरुरी हुन्छ । यो सुरक्षित लगानी गर्ने एक माध्यम पनि हो । भ्याल्यू इन्भेष्टिङलाई पनि रणनीति विविधीकरणको एक माध्यम बनाउन सकिन्छ । उदाहरणका लागि, तपाईंले आधा हिस्सा ग्रोथ स्टक र आधा हिस्सा भ्याल्यू स्टकमा लगानी गर्न सक्नु हुनेछ । यसबाट छिटो नाफा बुक गर्ने र दीर्घकालीन प्रतिफल हत्याउने दुवै रणनीतिको सन्तुलन रहन्छ । साथै, रिक्स कम हुनुका साथै, एउटामा नोक्सान भए अर्कोबाट भर्पाई गर्ने माध्यम बन्दछ ।
–अनुसन्धानमा ध्यान दिने
भ्याल्यू इन्भेष्टिङ यस्तो रणनीति हो जहाँ कम्पनीहरुको फन्डामेन्टल्स अध्ययन र अनुसन्धान अनिवार्य हुन्छ । ग्रोथ इन्भेष्टिङमा भीडसँग दौडिन पनि सकिन्छ । तर भ्याल्यू इन्मेष्टिङको मुख्य गुण भनेकै भीडले नदेखेको कुरा आफूले देख्ने । त्यसका लागि अध्ययन र अनुसन्धान अनिवार्य हुन्छ । कम्पनीको वित्तीय विवरण, सम्पति तथा दायित्व, नाफा नोक्सानलगायत विविध विषयमा गहन अनुसन्धान आवश्यक छ ।
–धैर्यता राख्ने
यसअघि चर्चा गरेजस्तै, वारेन बफेट तथा चार्ली मंगर जस्ता लगानीकर्ताले वर्षैंसम्म सेयर होल्ड गरेर अधिक प्रतिफल पाउन सफल भएका छन् । लामो समयसम्म सेयर होल्ड गर्दा कम्पाउन्डिङ लाभ लिन सकिन्छ । बफेटले कोकाकोलाको सेयर होल्ड गरेको अहिलेसम्म ३२ वर्ष भइसकेको छ । भ्याल्यू इन्भेष्टिङ दीर्घकालीन लगानी रणनीतिमा पर्दछ । त्यसैले, एकपटक खरिद गरेर वर्षैंसम्म होल्ड गर्ने क्षमता विकास नगरिकन भ्याल्यू स्टकहरु खरिद गर्नु हुँदैन । यसको अर्थ हो, भ्याल्यू इन्भेष्टमेन्ट गर्नका लागि धैर्यता राख्ने क्षमता हुनुपर्दछ ।
–बजार न्यून विन्दुमा पुगेका बेला किन्न तयार रहने
फेरि बफेटतर्फ नै फर्कौं । बफेटले कोकाकोलाको सेयर सन् १९८७ को मार्केट क्रयासपछि किनेका थिए । बजार ध्वस्त भएका बेला राम्रो कम्पनीको सेयर सस्तो भाउमा किन्ने भ्याल्यू इन्भेष्टरले प्रयोग गर्दै आएको एक मुख्य रणनीति हो ।
अन्त्यमा, पछिल्लो समय भ्याल्यू इन्भेष्टिङलाई लगानीको मख्य नभई पूरक रणनीतिको रुपमा मात्र प्रयोग गरिन थालेको छ । यसलाई लगानी रणनीतिमा विविधीकरण ल्याउन र जोखिम कम गर्न विशेष प्रयोग हुन थालेको छ । विगतका दशकहरुमा यस रणनीतिले राम्रो प्रतिफल दिलाएको थियो । तर बजारले छिटो बढ्ने स्टकहरुमा धेरै जोड दिन थालेपछि अन्डरभ्याल्यूड भएका सेयर कहिले पनि आफ्नो वास्तविक भाउमा पुग्न नसक्ने अवस्था सिर्जना गरेको छ ।
तर यसको अर्थ, भ्याल्यू इन्भेष्टिङ काम नलाग्ने रणनीति भने होइन । यसलाई प्रयोग गर्ने क्षमता विकास गरेमा राम्रो प्रतिफल हात पार्न सकिन्छ । लगानीकर्ताले आफू कुन किसिमको लगानीकर्ता हुँ भनेर चिन्न पनि आवश्यक पर्दछ । अहिले ग्रोथ स्टकमा बजार दौडिएपनि भविश्यमा भ्याल्यू खोज्ने लगानीकर्ताको फेरि सक्रिय हुनेछन्
तर यसको अर्थ, भ्याल्यू इन्भेष्टिङ काम नलाग्ने रणनीति भने होइन । यसलाई प्रयोग गर्ने क्षमता विकास गरेमा राम्रो प्रतिफल हात पार्न सकिन्छ । लगानीकर्ताले आफू कुन किसिमको लगानीकर्ता हुँ भनेर चिन्न पनि आवश्यक पर्दछ । अहिले ग्रोथ स्टकमा बजार दौडिएपनि भविश्यमा भ्याल्यू खोज्ने लगानीकर्ताको फेरि सक्रिय हुनेछन्

No comments:
Post a Comment