Thursday, 23 August 2018

पुस्तक समीक्षा कसरी लेख्ने?

महेश पौड्याल

पुस्तक समीक्षा लेख्ने र समीक्षक बन्ने रहर धेरैलाई हुन्छ । तर थोरैसँग यस विधामा हात हाल्ने आँट अथवा ज्ञान हुन्छ । यो एउटा जोखिमपूर्ण प्राज्ञिक अभ्यास पनि भएकोले थोरैले मात्र यसलाई अँगाल्छन् । धेरैले प्रयास गरे पनि थोरैले त्यस प्रयासलाई निरन्तरता दिन्छन् । पुस्तक किन्नुपर्यो, समय लगाएर, दोहोर्याई–तेहेर्याई पढ्नुपपर्यो, लेख्नुपपर्यो, पत्रिकाको सजिलोअप्ठेर र इच्छाअनुसार म्याद कुर्नुप¥यो, र छापिएपछि कुनै पनि प्रकारका आसन्न प्रतिक्रियको समना गर्न कम्मर कसेर तयार रहनुपर्यो ।

समीक्षा गर्नका लागि हातमा टिपिएको पुस्तकको मात्रै होइन, त्यसले समेट्ने विविध सिद्धान्त, त्यसको विधागत जानकारी, त्यस्तै अन्य पुस्तकको जानकारी, त्यसको लेखकको बारेमा धेरथोर जानकारी (नवसमालोचनावादीले यो पर्दैन भन्छन्, म पर्छ भन्छु) समेटिएको समय र परिवेश आदिको जानकारी हुनु अनिवार्य आवश्यक छ । साथसाथै विवेचनामा प्रयोग हुने प्राविधिक शब्दहरूको ज्ञान र मानक नेपाली अथवा समीक्षा लेख्ने भाषाको राम्रो ज्ञान पनि जरुरी हुन्छ । लेखिएको समीक्षा विश्वसनीय हुनका लागि समीक्षकको अध्ययन र ज्ञानको क्षेत्र पनि विश्वसनीय र व्यापक हुनु जरुरी हुन्छ । हुन त समीक्षा सबैले लेख्न सक्छन् भन्ने पनि गरिन्छ, तर त्यसको प्रभावकारिता कमजोर भयो भने के अर्थ?

पुस्तक समीक्षा कसरी लेख्ने भन्ने विषय द्वितीयक विषय हो । पहिलो विषय हो, यो बाटो कण्टकाकीर्ण र अप्जसिलो छ, तरै पनि हिँड्छु भन्ने अठोट । सबै लेखकले समीक्षा स्वीकार्छन् भन्ने हुँदैन । सबै सम्पादकले समीक्षा छापिदिन्छन् भन्ने पनि हुँदैन । तर, आत्मविश्वासपूर्ण ढङ्गले, बाटो नबिराइकन हिँड्ने प्रतिबद्धता चाहिन्छ । र त्यो धैर्य पनि चाहिन्छ । धेरै रिसाउँछन् । केहीले सम्बन्धै विच्छेद पनि गर्छन् । स्वभावैले लेखकहरू प्रशंसा खोज्छन्, तर समीक्षकले वस्तुपरक ढङ्गले जे सत्य हो त्यो भन्ने हो । ‘मैले यस्तै देखेँ’ भनेर आत्मगत कुरा भन्न पाइँदैन ।

पुस्तक समीक्षाका लागि केही टिप्स यहाँ दिइएको छ । माथि उल्लेख गरिएजस्तो प्रतिबद्धता हुने जो कोहीले पनि यी बुँदामाथि मनन गर्न सक्छ । यी बुँदालाई नजरअन्दाज गरेर कसैले आफ्नो नविन र मौलिक कसि बनाउँदा पनि हुन्छ ।

१. पुस्तकका बारेमा प्रारम्भिक जानकारी सङ्कलन गर्नुस्ः किताबको नाम, विधा, प्रकाशन, प्रकाशन मिति, संस्करण, पृष्ठ सङ्ख्या, मूल्य आदि ।

२. लेखकका अन्य कृति, तिनीहरूको विधा र अलिकति भए पनि विषयवस्तु थाह पाउनुस् ।

३. जुन विधाको पुस्तक हो, त्यस विधाबारे सैद्धान्तिक र संरचनात्मक जानकारी, र पछिल्लो समय त्यस विधामा लेखिएका अन्य केही समकालीन पुस्तकको जानकारी सङ्कलन गर्नुस् ।

४. पुस्तक पढ्दैखेरी समीक्षा गर्नु छ भन्ने कुराको हेक्का राख्नुस् । त्यसो भयो भने, पछि सम्झनुपर्ने कुरालाई रेखाङ्कन गरिन्छ । चिनो लाइन्छ । सम्झनुपर्ने कुरा सम्झनामा राखिन्छ । सबल पक्षहरूको टिपोट बनाइन्छ । दुर्वल पक्षहरूलाई पनि चिनो लगाएर ध्यानमा राखिन्छ ।

५. पुस्तकमा प्रयुक्त कथानक, अथवा तथ्याङ्कलाई सुरुदेखि नै आलोचनात्मक ढङ्गले हेर्नुस् । के कुराहरू विश्वसनीय छन्? संभावित छन्? भ्रामक छन्? अथवा, सिर्जनशील छन्? अथवा छैनन्? निक्र्यौल गर्नुस् । प्रभाववादको चपेटमा पर्नु हुँदैन समीक्षक । यहाँनेर एउटा चिकित्सकको दृष्टान्त सटिक हुनसक्छ । बिरामीले जति नै रोइकराइ गरे पनि, जति नै पुराना कथा सुनाए पनि, र जति नै बिलौना गाए पनि एउटा चिकित्सक त्यसै रोदनसँग पग्लिएर बग्न मिल्दैन । ऊ आफ्नो ठाउँबाट कुनै पनि संवेदनाले विचलित नभई बस्नुपर्ने हुन्छ । समीक्षक पनि त्यस्तै हो । कथासँगै आँसु बगाउने, पात्रसँगै रोइदिने पाठक प्रभावको बशमा पर्छ । ऊ आलोचनात्मक बन्नै सक्दैन ।

६. भाषा कस्तो छ? शुद्ध छ? अशुद्ध छ? प्रयोगशील छ? क्लिष्ट छ? सरल छ? प्राञ्जल छ? सम्प्रेष्य छ? पत्ता लाउनुस् ।

७. पुस्कतको कभरमा के छ? कभर र कथ्यका बीच सामाञ्जस्य छ वा छैन? भित्रको प्राविधिक पक्ष कस्तो छः लेआउट, फोन्टको आकार, छापा, कागजको गुणवत्ता आदि पनि हेर्नुहोस् ।

८. चित्र छन्? चित्र र कुरोको बीचमा सामञ्जस्य छ वा छैन? चित्र सम्पादन गरिएको छ वा छैन? चित्रहरू कथ्यको सांस्कृतिक परिवेशमा फिट छन्?

९. यी तमाम कुरा विचार गरेपछि तपाईंसँग अब पुस्तकको सबल पक्ष, दुर्वल पक्ष, यसको ऐतिहासिक, समाजिक अथवा प्राज्ञिक मूल्यको जानकारी रहन्छ, र लेखकलाई दिनुपर्ने सम्यक सुझावको सूची पनि रहन्छ ।

अब तपाईं समीक्षाका लागि तयार हुनुहुन्छ ।

लेख्नुपूर्व

यी माथिका कुरामा स्पष्ट भएपछि, यी कुरामा ध्यान दिनुहोस्ः

तपाईं आफ्नो लैङ्गिक पहिचान बिर्सनुहोस् । पुरुष वा महिला भएर समीक्षा लेख्दा लैङ्गिक आग्रहले घुसपेठ गर्छन् ।तपाईं आफ्नो धार्मिक, क्षेत्रीय अथवा जातीय पहिचान बिर्सनुहोस् ।तपाईं आफ्ना सैद्धान्तिक अथवा राजतैतिक आग्रह पनि बिर्सनुहोस् ।लेखकसँग तपाईंको कुनै प्रकारको करिबी सम्बन्ध, मनमुटाव अथवा दुष्मनी छ भने त्यो पनि बिर्सनुहोस । तपाईंलाई यो समीक्षा लेखेवापत लेखक वा प्रकाशक अथवा उनीहरूका करिबीहरूबाट कुनै नाजायज (पारिश्रमिक अथवा प्राज्ञिक मूल्याङ्कनबाहेकको) फाइदा हुने सम्भावना छ भने समीक्षा लेख्ने काम बन्द गरिदिनुहोस् । किनकि, त्यस स्थितिमा तपार्इंले आरति लुख्नुहुन्छ । पाठकबाट जस, यश, कीर्ति हाँसिल हुने, अथवा आफ्नो प्राज्ञिक उन्नति हुने कुरो यस कर्मबाट बोनसमा आउने कुरा हो । यो समीक्षा पढेर लेखकले के भन्ला भन्ने चिन्ता तपाईंको मनमा छ भने तपाईं कमजोर समीक्षक हो ।यो तिरन–तारनको खेती होइन । यो विषय दिमागमा रहनु हुँदैन । तपाईं सम्पादक अथवा लेखकले दिएको दृष्टिविन्दुबाट नलेख्नुहोस् । पुस्तकले जे माग्छ, त्यो अन्तिम ।जतिपल्ट, र जुन कोणबाट प्रश्न गर्दा पनि पुस्तक अब्बलै सावित हुन्छ भने अब्बलै हो । अन्यथा होइन । पुस्तकलाई प्रश्न गर्दा आफ्ना निजी आग्रहलाई त्यागेर, तटस्थ प्रश्न गर्नुहोस् ।

समीक्षा लेखन

समीक्षा लेखनको कुनै स्थापित संरचना छैन । त्यसैले, समीक्षकले सकेसम्म आफ्नै मौलिक शैली बनाउनु राम्रो । सकिएन भने, यसो गरे पनि हुन्छः

१. सुुरुमै पाठकको ध्यान तान्नु जरुरी छ । तथ्याङ्क र विवरणले ध्यान तान्दैन । त्यसका लागि कुनै कथाशैलीको प्रसङ्ग, अथवा केही प्रश्नबाट सुरु गर्नु राम्रो ।

२. यी प्रसङ्ग अथवा प्रश्न राखेपछि पुस्तकको कुरा जोड्नुहोस्ः पुस्तक, लेखक, प्रकाशन, प्रकाशन सन्दर्भ अथवा अरु केही आवश्यक कुरो, प्रकाशन समय, चर्चा, पुरस्कार..आदि ।

३. अब पुस्तकमा के छ, त्यो भन्नुहोस्, संक्षेपमा ।

४. पुस्तकमा के छैन, त्यसको चर्चा गर्ने होइन । शीर्षक पढ्दा यो चाहिँ हुनुपर्ने भन्ने लागेको, तर भित्र पढ्दा नभनेटेको कुरा छ भने प्रश्न उठाउन पाइन्छ । अथवा, एउटा समूहका सूचनामा केही छुटे भने सम्झाउन पाइन्छ ।

५.अब पुस्तकले अघि सारेका तथ्य र कुराको सामाजिक, साहित्यक, प्राज्ञिक मूल्यको कुरा गर्नुस् ।

६. पुस्तकका सबल पक्ष केके छन्, लेख्नुहोस् ।

७. पुस्तकका दुर्वल पक्ष केके छन्, लेख्नुहोस् ।

८. लेखकलाई दिनुपर्ने केही सुझाव छ? छ भने, दिनुहोस् । छैन भने त छैन ।

नोटः

राम्रो समीक्षकलाई हेक्का हुनुपर्छ कि कुनै पनि दृष्टिकोण वैयक्तिक हुने हुनाले अन्तिम सत्य होइन । त्यसैले, विशेषण प्रयोग गर्दा सधैँ सचेत हुनुपर्छ । अब्बल, शक्तिशाली, अत्यन्तै शक्तिशाली, प्रभावशाली, कोशेढुङ्गो, उत्कृष्ट, निकृष्ट, निम्न कोटिको…आदिआदि विशेषण प्रयोग गर्नु हुँदैन । किताब बलियो छ भने, ती बलिया पक्षको विश्लेषण गर्ने हो । पाठकले आफैँ विशेषण जुराउँछन् । निकृष्ट छ भने पनि, किताबको कमजोर पक्ष केलाइदिएपछि पाठकले आफैँ निकृष्ट भएको निचोड निकाल्छन् । समीक्षाका नामका पुस्तकको विज्ञापन नगर्नुहोस् । यो किताब पढ्न योग्य छ वा छैन भन्ने एउटा वस्तुगत निचोड पाठकले तपाईंको समीक्षा पढेपछि निकालोस् ।

राम्रो समीक्षा लेख्नुहोला, शुभकामना !

samalohak.com बाट साभार

Friday, 3 August 2018

लेख्नु भनेको पुर्नर लेखन हो ।


मोहन मैनाली

जानकारी भेला गर्ने मेरो अर्काे औजार आँखा हो । छोटा अथवा लामा यात्रामा जाँदा अनौठा दृश्य, अनौठा घटना, मानिसका अनौठा हाउभाउ देखेँ भने म तिनलाई नोट गर्छु, फोटो खिच्न मिल्ने रहेछ भने फोटो खिच्छु । धेरै यात्रामा जाँदा भिडियो क्यामेरा साथमा हुनाले भिडियो पनि खिचेको छु ।

लेख्ने पेसा अरू धेरै पेसाभन्दा सजिलो छ किनभने यसमा दुईवटा मात्र काम गरे पुग्छ । पहिलो, आफूले लेख्न लागेका विषयमा पोख्त हुने । दोस्रो, लेख्ने सीपमा पोख्त हुने । मैले सुरुमा पढेको पत्रकारितासम्बन्धी किताबले मलाई यसै भनेको थियो ।

केही वर्ष पहिले प्रकाशित उपल्लो थलो, मान्ठा डराएको जुग र हालै प्रकाशित देखेको देशमा राखिएका सामग्री लेख्दा पनि यी काम मेरा दिमागमा ताजा भएर बसेका थिए । मैले यिनै दुईवटा काम सकेसम्म राम्ररी गर्न प्रयास गरेको थिएँ ।

विषयमा पोख्त हुनुपर्छ
पहिलो काम आफूले लेख्न लागेका विषयमा पोख्त हुने । यसको सोझो अर्थ लगाउने हो भने मजस्तो पेसामा लागेका मानिसले यो काम गर्न सक्दैनन् । त्यसैले, म यस भनाइको मर्ममा ध्यान दिने गर्छु । त्यो हो– आफूले लेख्न लागेका विषयमा आमपाठकले थाहा नपाएका सकेसम्म बढी कुरा जान्ने ।
यति गर्दा पनि भन्न मात्रै सजिलो ! जस्तै, देखेको देशको पहिलो सामग्री एक करोड वर्षअघिको नेपालका लागि जानकारी खोज्ने काम । केही वर्षअघि भएको घटना/कामबारे जानकारी खोज्न धौधौ पर्ने हाम्रो जस्तो देशमा एक करोड वर्षअघिको जानकारी कहाँ र  कसरी खोज्नु ?

सुरुमा यो काम पार लाग्ला जस्तो लागेको थिएन । यस्ता वेलामा पत्रकारिता थालेको धेरै वर्षपछि पढेको अर्काे किताब द युनिभर्सल जर्नालिस्टले बाटो देखायो । त्यस किताबमा भनिएको रहेछ, ‘पत्रकारले सोचेभन्दा धेरै बढी मानिसलाई पत्रकारलाई सघाउने काममा यस ग्रहमा खटाइएको छ । आफू पत्रकारलाई सघाउन खटिएको कुरा उनीहरूलाई थाहा नहुन सक्छ तर उनीहरू खटाइएका त यही कामका लागि हुन्… उनीहरूको जागिर जोगाइदेऊ ।’

उनीहरूको जागिर जोगाइदेऊ अर्थात् उनीहरूले गरेका कामलाई उपयोग गर । उनीहरू भनेका विभिन्न विधामा लेखपढ र खोजबिन गर्ने मानिस हुन् ।एक करोड वर्षअघिको नेपालका बारेमा लेख्नका लागि मलाई सहयोग गर्न पनि त कति मानिसलाई खटाइएको होला नि यस ग्रहमा ! यस्तै ठानेर मैले ती मानिस र उनीहरूले गरेका कामबारे खोजी गरेँ ।

यस्तो खोजी गर्दा के थाहा पाएँ भने नेपाल अर्थात् हिमालय आत्मकथा लेख्ने निकै पुराना लेखकमध्येमा पर्दाे रहेछ । यस आत्मकथामा एक करोड वर्षपहिलेको नेपालका बारेमा लेखिएको रहेछ । त्यसमा हिमालयको उत्पत्तिको मात्र होइन, त्यहाँको हावापानी, त्यहाँका वनस्पति, त्यहाँका प्राणीको पनि जीवनी पाइने रहेछ ।

तर हिमालयले लेखेको आत्मकथा म बुझ्दैनथेँ । त्यो आत्मकथा बुझ्ने मानिसले लामो समय लगाएर ती आत्मकथा पढेका रहेछन् र तिनलाई हामीले बुझ्ने (सबै कुरा त उनीहरूले लेखेको पनि बुझिँदैन) भाषामा लेखेर राखेका रहेछन् । उनीहरूले लेखेर राखेका कुरा र उनीहरूसँगको कुराकानीका आधारमा एक करोड वर्षअघिको नेपाल तयार भयो ।

उपल्लो थलो लेख्न थाल्दा मलाई सुरुमा लागेको थियो– गोरखाको उत्तरी भेगजस्तो दुर्गम ठाउँका बारेमा कसले, कहिले, के पो लेखेर राखेका होलान् र ? तर पछि थाहा पाएँ, माइकल एरिज (आङ साङ सुकीका श्रीमान्) जस्ता इतिहासकार, पुरातत्वविद्, मानवशास्त्री, तिब्बतशास्त्री, पर्वतारोही, वनस्पतिशास्त्री, डकुमेन्ट्री निर्माता तथा स्थानीय बासिन्दाले धेरै समय र मिहिनेत खर्च गरेर त्यस ठाउँका बारेमा धेरै कुरा लेखेका रहेछन्, त्यस ठाउँका दृश्य राखेका रहेछन् । उपल्लो थलो लेख्दा मलाई सहयोग गर्न खटाइएका यी मानिसको सहयोग मैले राम्रैसँग लिएको थिएँ ।

तथ्य जाँच र दृश्य वर्णन
मलाई सहयोग गर्न जति धेरै मानिस खटाइएका भए पनि, उनीहरूले जति सुकै मेहनत गरेर, जति धेरै जानकारी खोजेका भए पनि तिनका मात्रै जानकारीका भरमा म किताब लेख्न सक्दैनथेँ । कति विषय यस्ता हुन्छन्, जसका बारेमा धेरै कुरा लेखेर राखिएका हुँदैनन् ।

मान्ठा डराएको जुगमा यस्तै विषयवस्तु छन् । हामीले भोगेको लडाइँका बारेमा रिपोर्टिङ गर्न जाँदा मलाई लाग्यो– मभन्दा पछि यस विषयमा लेख्ने मानिसलाई सहयोग गर्न मलाई खटाइएको हो । आपूmभन्दा पहिलेका मानिसले लेख्न नभ्याएका वा नपाएका यस्ता विषयमा लेख्नका लागि मैले थरीथरीका, एकदमै धेरै मानिससँग कुराकानी गरेँ । यस क्रममा मैले उनीहरूका अनुभव/भोगाइ/दृष्टिकोण बुझेँ, आफूले लेख्न लागेका विषयका जानकारी खोजेँ र आफूले खोजिसकेका जानकारी रुजु गरेँ ।

मानिससँग कुराकानी गर्दा म आफ्नो कान, सम्झना र नोट टिपाइमा मात्र भर पर्दिनँ । यसो गर्दा नाम, तिथिमिति जस्ता कुरा तलमाथि पर्न सक्छन् । आफूले  कुराकानी गरेका मानिसले सुनाएका सुन्दर वाक्य जस्ताको तस्तै टिप्ने तागत मसँग छैन । त्यसैले, कहिलेकाहीँबाहेक अरू वेलामा कुराकानी गरेका सबै मानिसका आवाज रेकर्ड गरेको थिएँ । कुराकानीपछि जतिसुकै कामको चाप भए पनि सकेसम्म चाँडो त्यसलाई कागजमा उतार्थें । पछि फुर्सदमा उतार्छु भनेर पर्खिंदैनथेँ । फुर्सदमा त त्यसलाई कम्प्युटरमा  टाइप गर्थें ।

विषयअनुसार कहिलेकाहीँ त एउटा छोटो सामग्रीका लागि पनि मैले निकै धेरै कुराकानी गरेको हुँदो रहेछु । जस्तै, देखेको देशमा रहेको एउटा छोटो सामग्री ‘गाउँ मासी जंगल, जंगल मासी गाउँ’ लेख्नका लागि मैले जति मानिससँग कुराकानी गरेको थिएँ, त्यसको रेकर्ड कम्प्युटरमा उतार्दा १४ हजार ९९७ शब्द  भएका रहेछन् ।

जानकारी भेला गर्ने मेरो अर्काे औजार आँखा हो । छोटा अथवा लामा यात्रामा जाँदा अनौठा दृश्य, अनौठा घटना, मानिसका अनौठा हाउभाउ देखेँ भने म तिनलाई नोट गर्छु, फोटो खिच्न मिल्ने रहेछ भने फोटो खिच्छु । धेरै यात्रामा जाँदा भिडियो क्यामेरा साथमा हुनाले भिडियो पनि खिचेको छु ।
यसरी संकलन भएका जानकारीका आधारमा मैले मेरा तीनवटै किताबमा दृश्य वर्णन गरेको थिएँ ।

यसो गरेर म आफ्ना पाठकलाई आफूले  बताइरहेको ठाउँ, मान्छे अथवा घटनाको सामुन्ने उभ्याउन चाहन्थेँ । उनीहरूले अक्षर पढ्दा दृश्य देखिरहेको छु भन्ने भान पार्न कोसिस गर्थें । शारीरिक रूपले त त्यसो गर्न सम्भव हुँदैन, मनोवेगका दृष्टिले सकिन्छ कि भनेर । मेरो पहिलो पुस्तक उपल्लो थलोमा मैले यसो गर्ने निकै कोसिस गरेछु ।

समीक्षक हरि अधिकारीले त्यस किताबको समीक्षा गर्ने क्रममा लेख्नुभयो, ‘मैनालीका वर्णनमा तस्बिरमा हुनेजस्ता डिटेल, सबै कुरालाई रिट्ठो नबिराई जस्ताको तस्तै उल्लेख गर्ने शैली बलियो देखिन्छ । कलात्मक लेखनका हिसाबमा त्यो गुण होइन, दोष मानिन सक्छ । मैनालीले यसतर्फ विचार पु-याउने अपेक्षा गर्छु ।’ त्यसपछि अरू किताब लेख्दा जहिले पनि हरिजीको यो भनाइले खबरदारी गरिरहन्छ । त्यति हुँदा पनि उहाँले औँल्याएजस्तो दोष बाँकी रहेको हुन सक्ने डर  त लागिरहन्छ ।

खोज पत्रकारिता हतारको साहित्य होइन
मेरो पेसा पत्रकारिता हतारको साहित्य भनेर बदनाम भएको छ । समाचारका हकमा त यो कुरा सही हो, तर समाचारबाहेकका लामो आयु भएका अन्य सामग्रीका हकमा पत्रकारिता हतारको साहित्य होइन । मैले आफ्ना किताबमा रहेका सामग्री लेख्दा यो कुरालाई ख्याल गरेको छु । त्यसैले कतिवटा सामग्री तयार गर्न जानकारी खोज्न मैले हतार गरिनँ ।

आफ्नो रुचिको कुनै विषय फेला पर्नेबित्तिकै त्यसबारे लेखिहाल्न तम्सिइनँ । सम्बन्धित विषय उल्लेख भएका लिखत पढ्दा भेटेका जानकारी भेला गरेँ । अरू नै विषयका किताब पढ्दा त्यस विषयका जानकारी भेटेँ भने तिनलाई पनि टिप्दै गएँ । कसैले त्यस विषयमा बोले भने त्यसलाई समातेर राखेँ । यति जानकारी भए पाठकले ‘थू’ नभन्लान् भन्ने लागेपछि मात्र लेख्न बसेँ । ‘देखेको देश’को पहिलो सामग्री ‘एक करोड वर्षअघिको नेपाल’का लागि जानकारी खोज्न १५ वर्ष पर्खिएछु ।
मेरो किताब लेखनको आधा काम अर्थात् जानकारी संकलनको काम मैले यस्तै सजिलो गरी
सिध्याएको थिएँ ।

बाँकी रहेको आधा काम थाल्नुअघि अर्काे सानो काम गर्न बाँकी थियो— आफूले भेला गरेका जानकारी रुजु गर्ने । ती जानकारी पुराना हुनाले गलत भए कि ? यस विषयमा नयाँ जानकारी आइसके कि ? मैले जहाँबाट जानकारी लिएको थिएँ, त्यहीँ जानकारी गलत थिए कि ? मलाई बताउने मानिसले आफ्नो सम्झनाका भरमा पो बताएका थिए कि ? त्यसो हुनाले उनीहरूले दिएका जानकारी गलत पो परेका छन् कि ? अथवा जानकारी दिने मानिसले आफ्नो स्वार्थवश मलाई गलत पो बताएको थियो कि ? अथवा उसले आधा मात्र जानकारी दिएर मलाई भ्रममा पारेको थियो कि ?

यति गरिसकेर लेख्न बस्दा मैले मेरा मनमनै (लेखेरै त होइन) पाठकलाई यसो भनेको थिएँ– मैले भनेको आँखा चिम्लेर विश्वास गर्दा फरक पर्दैन किनभने म पत्रकार हुँ ।

गैरआख्यान लेख्न सजिलो
बाँकी रह्यो दोस्रो र अन्तिम काम– लेख्ने कलामा पोख्त हुने । गैरआख्यान लेखन सजिलो छ । किनभने जानकारी भेला गरिसक्दा गैरआख्यान लेखनको आधा काम सकिन्छ । जानकारी संकलन राम्रोसँग गरेको छ भने लेख्न बस्दा लेखाइ नराम्रो पारौँ भनेर लाख कोसिस गर्दा पनि सकिँदैन । रोचक जानकारी दिएको अलिबेरसम्म भद्दा जानकारी भद्दै तरिकाले दियो भने पनि पाठक बिच्किँदैन ।

सबैभन्दा सुन्दर वाक्य गठन गर्ने सर्जक को हो भनेर कसैले सोध्यो भने म नसोचीकन उत्तर दिन्छु— जसले एक वाक्य पनि लेखेको हुँदैन । ती भनेका मैले कुराकानी गरेका सामान्य मानिस हुन् । मेरा किताबमा धेरै ठाउँमा उनीहरूका चोटिला र सुन्दर भनाइ राखेको छु ।

जस्तै, ‘दुःख नाथे त कति पाइयो कति !’ ‘हाम्रो गल्ती होइन है । हामी त लाए अह्राएको गर्ने मान्छे । ओभरसियरले जताजता खन भन्यो, उतैउतै खन्यौँ । उसैले कुलोचाहिँ मुहानभन्दा
अग्लो बनाइदिएछ ।’

कहिलेकाहीँ पाठकले यस्ता वाक्य लेखेको भनी मेरो तारिफ गर्नुहुन्छ । यस्ता वेलामा म अलमलिन्छु : ती वाक्य मैले लेखेका हुन् भनौँ भने झुटो भइन्छ । मैले लेखेको होइन भनौँ भने आफ्नो बजार भाउ घट्ला भन्ने डर !

यस्ता वेलामा म लन्ठ्याङमन्ठ्याङ प्रतिक्रिया दिएर उम्कन्छु । अपराधबोधले ग्रस्त आपूmलाई यसरी सम्झाउँछु— मैले यी वाक्य फलानाले भनेका हुन् भनेर लेख्दालेख्दै पनि पाठकले त्यसको जस मलाई दिन्छन् भने त्यो मेरो दोष होइन ।

मैले भन्न खोजेका कुरा कसैले कविता, गीतमार्फत् भनिसकेको रहेछ भने पनि म त्यस्ता कुरा आफैँ लेख्ने कोसिस गर्दिनँ । त्यसका सर्जकलाई जस दिएर त्यही गीत वा कविताको अंश सार्ने गर्छु । यसो गर्दा सोच्छु— कवि, गीतकार मेरा सिर्जनशील सहायक हुन्, जसले मलाई लेख्ने काममा सघाउँछन् तर त्यसबापत मसँग पारिश्रमिक माग्न पाउँदैनन् ।

उखानटुक्का अहिले अलि निकै बदनाम भएको छ, तर कतिपय ठाउँमा उखानटुक्काले थोरैमा जति कुरा, जति प्रभावकारी ढंगले भन्न सक्छ त्यति प्रभावकारी ढंगले म लेख्न सक्दिनँ । यस्ता वेलामा पनि म आफैँ लेख्ने झन्झट गर्दिनँ । आफूले सुनेका, पढेका उखानटुक्का टाँसिदिने गर्छु ।

मेरा तीनवटै किताबका सम्पादक शरच्चन्द्र वस्ती भन्नुहुन्छ, साहित्यकारले लेखेको कुरा पाठकले बुझेन भने त्यो पाठकको कमजोरी हो । साहित्यकारका रचना बुझ्न सक्ने हुनका लागि उसले अहिलेको ठाउँबाट माथि उठ्नुपर्छ । तर, पत्रकारले लेखेको कुरा पाठकले बुझेन भने त्यो पत्रकारको कमजोरी हो । जुन पत्रकार पाठकले नबुझिने गरी लेख्छ, उसले आफूलाई अहिलेको ठाउँबाट माथि उठाएर आमपाठकले बुझ्ने खालको लेख्न सक्ने बनाउनुपर्छ । लेख्न बस्दा मेरो एउटै ध्येय हुन्छ– आमपाठकले बुझ्न सक्ने सरल बनाउनु र पाठकको मन छुने  गरी लेख्नु ।

मौलिक शैली र चुस्त सम्पादन
म आख्यान लेखकले अपनाउने विभिन्न शैलीको सिको गर्न कोसिस गर्छु । पाठकले नचिताएको मोड ल्याइदिएर अथवा उसले नचिताएको जानकारी दिएर पनि उसलाई आफ्नो पाठमा बाँधिराख्न कोसिस गर्छु । जस्तै, मेरो पछिल्लो किताब देखेको देशमा घोडाले पारेको अन्डा र घोडाको सिङको प्रसंग राखेको छु ।

कतैकतै कल्पना पनि गरेको छु । जस्तै, आफू जन्मनुभन्दा ५४ वर्षपहिले मरिसकेका मान्छेसँग भेटेर कुराकानी गरेको कल्पना गरेको छु । तर, यस्ता ठाउँमा यो मेरो कल्पना हो भनेर खुलाएको छु ।
हिन्दी सिरियल हेरेर तिनमा भएका सस्ता शब्द लेखेर अरूभन्दा फरक लेखक देखिने रहर गर्दिनँ । पश्चिमा विश्वविद्यालयमा आविष्कार गरिएका अस्पष्ट शब्द र शब्दावलीको भद्दा नेपाली अनुवाद लेखेर ‘मैले यो शब्द/शब्दावली पनि जानेको छु, तैँले जानेको छस् ?’ भनेर पाठकलाई दम्भ देखाउन नपरोस् भन्ने ठान्छु ।

लेखन भनेको पुनर्लेखन हो रे ! यस कुरामा म विश्वास गर्छु । त्यसैले, आपूmलाई चित्त नबुझेसम्म फेरि लेख्न खोज्छु । कहिलेकाहीँ झर्काे लाग्छ र चित्त  नबुझ्दा –नबुझ्दै पनि छाडिदिन्छु ।  मेरो लेखाइ राम्रा सम्पादकले सम्पादन नगर्दा मेरा कमजोरी बजारमा छताछुल्ल हुन्छन्, पाठकले अपरिष्कृत लेखाइ पढ्ने बोझ खप्नुपर्छ भन्ने लाग्छ । त्यसैले, कुशल सम्पादकले सम्पादन नगरेसम्म मेरा किताब प्रेसमा जाँदैनन् ।

लेखिसक्दा मलाई लाग्छ— म पाठकलाई सहयोग गर्न यस ग्रहमा खटाइएको मानिस हुँ । म आफूलाई खटाइएको काम गर्न मात्र सक्छु । पाठकले मेरो जागिर थामिदेलान् वा नदेलान् (मैले लेखेको पढिदेलान्/नदेलान्) यो मेरा हातमा छैन । जुन कुरा आफूले गर्न सकिँदैन, त्यसका बारेमा धेरै चिन्ता लिन्नँ ।

मोहन मैनालीको लेख बाह्रखरी डटकमबाट साभार

 

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out