Saturday, 15 June 2019

खुसी हुने कसरी?

गुरु छोक्न्यी रिन्पोचे एक प्रवचन कार्यक्रममा आन्तरिक खुसी र बाहिरी खुसीका बारेमा बोल्दै हुनुहुन्थ्यो । प्रवचनको सार थियो– काम र जीवन दुवै पक्षलाई सन्तुलित रूपले व्यवस्थापन गर्न सके हामीले शरीर, मन र भावनालाई पोषित गर्न सक्छौं ।

आफ्नो खुसी र सन्तुष्टि गलत दिशामा खोज्दा समय, आत्मसम्मान र ऊर्जा नष्ट हुन्छ । अतः जति छिटो सही दिशा पहिल्याउन र त्यसमा स्थिर रहन सक्छौं उति राम्रो ।

गलत दिशामा परसम्म पुगिसकेपछि फर्केर आउन पनि उति नै समय लाग्छ । रिन्पोचेले भन्नुभयो– वर्क हार्ड इन राइट डिरेक्सन, बट लर्न टु रिल्याक्स । सही काममा पसिना बगाउनुस् तर मन नआत्तियोस्, मनलाई आराम भइरहोस् ।

रिन्पोचेले भनेजस्तो पसिना बगाउन र आराम गर्न एकसाथ कसरी सम्भव हुन सक्ला र! एक घण्टाको छोटो प्रवचनमा रिन्पोचेले खुसी रहने महत्वपूर्ण सूत्र दिएर जानुभयो । ती सूत्रको भाष्य हाम्रो काम आउँथ्यो सायद ।

भगवान् बुद्धको नाम नलिए पनि रिन्पोचेले बुद्धकै शिक्षा व्याख्या गर्नुभएको थियो । बुद्धले मध्यममार्ग अनुसरण गर्न सुझाउनुभएको थियो । जंगलमा तपस्या गर्दा एउटा सानो घटनाले बुद्धलाई मध्यम मार्ग नै उत्तम मार्ग हो भन्ने बोध भएको थियो । त्यो बेला तपस्वीहरू निराहार बसेर शरीर सुकाउँथे र यसैलाई साधना नाम दिन्थे ।

बुद्धले पनि त्यसै गर्नुभयो, अन्नको दाना मात्र खाएर र कहिले केही नखाई तपस्या गर्न थाल्नुभयो । बुद्धको शरीर सुकेर अस्थिपञ्जर मात्र बाँकी रह्यो । तर ध्यान सफल भएन, ज्ञानोदय हुन सकेन ।

बुद्धले मध्यममार्ग अनुसरण गर्न सुझाउनुभएको थियो । जंगलमा तपस्या गर्दा एउटा सानो घटनाले बुद्धलाई मध्यम मार्ग नै उत्तम मार्ग हो भन्ने बोध भएको थियो।


बुद्ध बोधिवृक्षको छहारीमा बसिरहनुभएको थियो । गाउँले स्त्रीहरू जंगलको बाटो हिँड्दा गीत गाइरहेका थिए । बुद्धले गीत सुन्नुभयो । ती स्त्रीहरूले गाइरहेका गीतका शब्द थिए– वीणाका तारहरू कसिएनन् भने सुरिलो संगीत निस्कँदैन, तर तारहरू धेरै कसिए भने चुँडिन सक्छन् । वीणा र तारको सन्तुलन मिलाऊ, सुन्दर संगीत बजाऊ । यो गीतले बुद्धलाई जगाइदियो ।

बुद्धले निराहार बसेर तपस्या गर्दा आफ्नो शरीर क्षीण हुँदै गएको हेक्का गर्नुभयो । अब उहाँले एक छाक खाना खान थाल्नुभयो ।

जीवनलाई फुकाफाल अर्थात् छाडा छाड्यो भने जीवनमा कुनै संगीत पैदा हुँदैन । जीवनलाई नीति नियममा धेरै कस्यो भने पनि यसका सूक्ष्म तार चुँडिन सक्छन्, जीवन सुक्खा बन्न पुग्छ । अतः जीवनलाई संगीतमय बनाउन काम र जीवन दुवै पक्षको सन्तुलन बनाउन जान्नु आवश्यक हुन्छ ।

गुरु ज्ञानानन्द

गुरु ज्ञानानन्द सरस्वती भन्नुहुन्थ्यो, शरीर भौतिक पदार्थले बनेको छ, यसले भोग खोज्छ, आत्मा चेतनाले बनेको छ, यसले योग खोज्छ । भोग खोज्ने शरीरले त्यो पाएन भने टाउसिन्छ, योग खोज्ने आत्माले त्यो पाएन भने टाउसिन्छ । हरेक मानिसले आफूलाई कति भोग चाहिन्छ, कति योग चाहिन्छ त्यसको सन्तुलन विन्दु थाहा पाइराख्नु अत्यावश्यक हुन्छ । 
हरेक मानिस एकसाथ दुईवटा संसारमा बाँचिरहेको हुन्छः आन्तरिक संसार र बाहिरी संसार । आन्तरिक अनुभूति बाहिरी विषयवस्तुसँग जोडिएको हुन्छ, बाहिरी विषयवस्तु आन्तरिक अनुभूतिसँग जोडिएका हुन्छन् ।

बाहिर समृद्ध नभई भित्र सुख शान्ति हुन मुस्किल हुन्छ, भित्र सुखसन्तोष नभई बाहिरी समृद्धिको फल पाउन पनि मुस्किल हुन्छ ।

हामी सबै मनका राजा हौं । एक कुरुप व्यक्तिले पनि आफूलाई सुन्दर देखिरहेको हुन्छ, एउटा बुद्धूले पनि आफूलाई बुद्धिमान मनिरहेको हुन्छ, एक पतीत व्यक्तिले पनि आफूलाई पावन ठानिरहेको हुन्छ।


मानिस बाहिरबाट जस्तो देखिन्छ, भित्र उसको रुप अर्कै हुन्छ, मानिसको बाहिरी व्यक्तित्व एउटा हुन्छ, भित्री जीवन अर्कै हुन्छ । वास्तविकता कस्तो हुन्छ भने सामान्य जीवन बाँचिरहेको मानिसको हृदय पवित्र हुन सक्छ, ध्यान, धर्मका कुरा गर्ने व्यक्ति आचरणमा विपरीत हुन सक्छ ।

यस्तो द्वैध चरित्र भएको व्यक्तिले अरुलाई धोका दिइरहन आफू सफल भएको ठानिरहेको हुन सक्छ, यथार्थमा सबभन्दा ठूलो धोका उसले स्वयंलाई दिइरहेको हुन्छ । यसरी एकसाथ दुई चरित्र निभाइरहेको, एकै समयमा दुईवटा संसारमा बाँचिरहेको हुँदा मानिसको मनोदशा उदेकलाग्दो देखिन्छ ।

मानिस कति उदेकलाग्दो देखिन्छ भने, ऊ यहाँ भएर पनि उसको ध्यान यहाँ हुँदैन । घरमा रहँदा कामको याद आइरहन्छ, काममा जाँदा घरको याद हुन्छ । एक व्यक्तिसँग कुरा गरिरहँदा उसको मनमा अरु कसैको चिन्तना हुन्छ, त्यो व्यक्ति साथ हुँदा पहिलो व्यक्ति मनमा हावी हुन्छ ।

उसले एउटा कुरा लुकाउन दर्जनौं झूठ बोल्छ । ती झूठहरू छिपाउन अरु झूठ बोल्नुपर्ने थिति आइलाग्छ । यसरी, यता टाल्दा उता प्वाल पर्छ, उता टाल्दा यता प्वाल पर्छ ।

मनको स्वभाव के हो भने मन कहिल्यै द्वन्द्वमा रमाउन सक्दैन । मनले एकै समयमा दुई काम गर्न सक्दैन । द्वैध भूमिका खेल्नुपर्दा मनको अपार ऊर्जा नष्ट हुन्छ । सुख, शान्ति, प्रेम, करुणामा प्रवाहित हुनु पर्ने ऊर्जा दुविधामा खर्च हुन्छ । तब मानिस थकित, रित्तो र अन्यमनस्क अनुभूति गर्न थाल्छ ।

हाम्रो देशका राजा

कुनै समयको कुरा हो, राजा ब्रह्मदत्तको मन ज्यादै बेचैन भएको रहेछ । उनलाई न भोगविलासमा उत्सुकता थियो, न राजकाजमा रुचि थियो । मन्त्रीहरूले राजालाई जंगलको छेउमा बस्ने ऋषिलाई भेटेर उनको सल्लाह लिन सुझाए । वायुपंखी घोडा चढेर राजा जंगलमा पुगे ।

ऋषिको आश्रममा प्रवेश गरे र, बाहिर आँगनमा फूलका बोटमा पानी हाल्दै गरेका एक शिष्यलाई ऋषिको बारेमा सोधे । ती शिष्यले ऋषि वनविहारमा जानुभएको छ, फर्कंदासम्म तपाईं यहीँ बस्नुहोस् भन्दै पिँढीमा गुन्द्री बिछ्याइदिए । राजा गुन्द्रीमा बस्न सकेनन्, आँगनमै ओहोरदोहोर गरिरहे । ती शिष्यले आँगनमै बस्नका लागि एउटा काठको मुढा राखिदिए । राजा काठको मुढामा पनि बस्न सकेनन्, ओहोरदोहोर गरिरहे । तब शिष्यले छेउको बगैंचामा रहेको पीपलको वृक्षमुनि बस्न सुझाए । राजा बगैंचामा गए तर रुखमुनि बसेनन्, ओहोरदोहोर गरिरहे ।

साँझपख गोधुलीमा ऋषि आश्रममा फर्किए । शिष्यले बगैंचामा ओहोरदोहोर गरिरहेका मानिसलाई देखाउँदै ती व्यक्ति हजुरलाई भेट्न आएका हुन् तर पिँढीमा आसन दिँदा त्यहाँ बस्न सकेनन्, मुढामा पनि बस्न सकेनन्, रुखमुनि समेत बस्न सकेनन् ।

पराधीनता सबभन्दा ठूलो दुःख हो, स्वाधीनता सर्वोत्तम सुख हो । मनको गुलाम भइदिनु सबभन्दा ठूलो पराधीनता हो, मनलाई वशमा राख्नु सबभन्दा ठूलो स्वाधीनता हो । 


हेर्दा विशिष्ट मानिसजस्तै देखिने ती व्यक्ति को हुन् भनी ऋषिलाई सोधे । ऋषिले ती व्यक्तिलाई चिनिहाले । उनले भने,ती व्यक्ति अरु कोही नभएर हाम्रो देशका राजा हुन् । राजा सुहाउँदो सिंहासन हाम्रो कुटीमा नभएको हुँदा उनी कहीं बस्न नसकेका हुन् ।

मन राजा हो

माथिको प्रतीकात्मक कथामा राजा मानिसको मन हो । हामी सबै मनका राजा हौं । एक कुरुप व्यक्तिले पनि आफूलाई सुन्दर देखिरहेको हुन्छ, एउटा बुद्धूले पनि आफूलाई बुद्धिमान मनिरहेको हुन्छ, एक पतित व्यक्तिले पनि आफूलाई पावन ठानिरहेको हुन्छ । किनभने राम्रो म सबैको हृदयमा हुन्छ । भौतिक अणुको शक्ति बिस्फोट हुँदा शहर ध्वस्त हुन सक्छन्, अणुको शक्तिको तुलनामा मनको शक्ति विशाल हुन्छ । मन चेतनाको निकटतम हुन्छ र त्यसैबाट यसले शक्ति प्राप्त गर्छ । चेतना त्यो तत्व हो जसले आनन्दातिरेक भएका बेला विश्व ब्रह्माण्ड सृष्टि गर्न सक्छ ।

भगवान् बुद्ध भन्नुहुन्थ्यो–प्रभास्वरमिदं चित्तं प्रकृत्यागन्तवो मलाः । तेषामपाये सर्वार्थं तज्ज्योतिरविनश्वरम् । अर्थात्, मानिसको चित्त सर्वदा प्रकाशवान् हुन्छ । प्रकाशले उज्यालो दिन्छ, प्रकाशले विषय र वस्तुहरूको ज्ञान गराउँछ, प्रकाशले नै सुख, शान्ति र न्यानोपन दिन्छ । यस्तो प्रकाश मानिसको मनमा जन्मजात रहेको छ, अविनाशी रूपले रहेको छ । भोगविलासको वासना, द्वेषभाव र मोह विमूढताजस्ता क्लेशहरू बाहिरबाट मनमा भरिएका हुन् । यी आगन्तुक क्लेशहरू मनबाट बढारिदिनु र हरपल सजग रहेर पुनः प्रवेश गर्न खोज्ने क्लेशहरूलाई मनमा पस्न नदिनु नै ध्यान हो ।

हाम्रो मन यदि स्थिर छैन, यहाँत्यहाँ भौंतारिइरहेको छ भने बुझ्नुपर्छ मनको शाही गरिमालाई सुहाउँदो आसन फेला परेको छैन । अस्थिर मन पाँच इन्द्रिय जन्य सुखमा आसक्त भइरहन्छ, पदप्रतिष्ठाको लोभमा दौडिरहन्छ या भविष्यमा आर्थिक सामाजिक सुरक्षाको चिन्तना गरिरहन्छ ।

आहार, निद्रा र सम्भोगको आतुरता पशु र मानिसमा उस्तै हुन्छन् । पशुमा नहुने र मानिसमा हुने गुण विवेक हो । चाणक्यले भनेका छन्– विवेक नभएको मानिस र पशुमा केही अन्तर हुँदैन ।

विवेक त्यही गुण हो जसले गर्दा मानिसले मनलाई नियन्त्रण गर्न सक्छ । मेरा लागि कुन कुराको महत्व कति हो, कुन विषयवस्तुलाई कति समय र एटेन्सन दिने भन्ने निक्र्यौल गर्ने विवेकले हो । विवेक नभएको मानिसको मन लगाम नभएको घोडाजस्तै जता पनि दौडने हुन्छ ।

चञ्चलं हि मनः

गीतामा कृष्णलाई अर्जुनले मन चञ्चल भइरहेको र त्यसलाई वशमा राख्न नसकेको गुनासो गरेका थिए । उपनिषद्हरूमा पनि मनलाई कसरी नियन्त्रणमा राख्ने भनी ऋषिहरूले मन्थन गरेका छन् । माण्डुक्यकारिकामा मनलाई वशमा राख्न अत्यावश्यक छ र त्यसो गर्नका लागि हातले हातलाई अँठ्याएर हुन्छ वा दाँतले दाँत च्यापेर हुन्छ या एक अंगले अर्को अंगलाई आक्रमण गरेर हुन्छ, मनलाई वशमा राख्नुु भनेको पाइन्छ । मनुस्मृतिमा मनुले भनेका छन्, सर्वं परवशं दुःखं, सर्वं आत्मवशं सुखम् । पराधीनता सबभन्दा ठूलो दुःख हो, स्वाधीनता सर्वोत्तम सुख हो । मनको गुलाम भइदिनु सबभन्दा ठूलो पराधीनता हो, मनलाई वशमा राख्नु सबभन्दा ठूलो स्वाधीनता हो ।

बुद्धले भन्नुभएको छ, जंगली मत्ता हात्तीले जति विनाश गर्छ त्यो भन्दा अधिक वशमा नरहेको मनले मानिसको जीवन विनाश गरिदिन्छ । मनकै कारणले सबै कर्म हुन्छन्, मन वशमा छ भने शुभ कर्म हुन्छन् र सुख साथसाथ आउँछ, मन बहकिएको छ भने अवाञ्छित कर्म हुन्छन् र दुःख साथसाथ आउँछ ।

अध्यात्म भनेको जीवनमा मूर्ख नहुनु हो, हिन्दूहरूले भनेजस्तो परमात्माको खोजी धेरै पछिको कुरा हो । क्षणभरको सुखका निम्ति अमूल्य जीवनको ऊर्जाशील समय नष्ट गर्नुभन्दा मूर्खता अर्थोक हुन सक्दैन । यसले के प्रष्ट पार्छ भने मानिसलाई जीवनको गरिमा पत्तै छैन । जीवन दुई कौडीको वस्तु भइदिएपछि मानिस आफ्नै जीवनसँग खेलवाड गर्न अघि सर्छ ।

कुनै उदात्त विचार या व्यक्तिले मानिसलाई उत्प्रेरित गर्दैन भने बुद्धत्वको खबर उसको कानसम्म पुगेकै रहेनछ भन्ने बुझिन्छ । मानिस हुनु चेतनाको एक संक्रमणकालीन अवस्था हो । संक्रमणकालमा चेतनाको विकास गर्न सकेमा मनिसमा दिव्य गुण प्रकट हुन सक्छन्, चेतना अधोगामी भयो, इन्द्रियको सुखमा लिप्त भयो भने पशुतातिर अधोगमन हुन थाल्छ ।

वासना र तिनको संस्कारले हरदम मानिसलाई तानिरहन्छ, खिचिरहन्छ । वासनाले बोलाएको सुनेर पछि फर्केर तिनै मानिसले हेर्छन् जसलाई कहीँ पुग्नु छैन । जो व्यक्ति व्यर्थ टहलिरहेको छ, ऊ पछि फर्केर हेर्छ । जो व्यक्ति कुनै महत्वपूर्ण कामका लागि हिँडेको छ उसलाई पछि फर्केर हेर्ने फुर्सद हुँदैन ।

अतः जीवनका पलपलमा मनलाई उच्चभन्दा उच्च सोच, विचार र कार्यमा लगाइरहनु आवश्यक हुन्छ । जो खाली छ ऊ निश्चय नै वासनाको चंगुलमा फस्छ । विराट लक्ष्य मानिसको जीवनमा छैन भने छुद्रताले मानिसलाई हमेशा परेशान बनाउँछ ।

वेदका ऋचाहरूमा तन्मे मनः शिवसंकल्पमस्तुु अर्थात् मेरो मनमा हरपल शुभ संकल्पहरू आइरहुन्, मेरो मन कल्याणका विचारहरूले आपूरित रहोस् भनिएको पाइन्छ । कुनै समय दैनिक वेदपाठ गर्नु सर्वाधिक पवित्र कार्य मानिन्थ्यो । मनमा पवित्र, उच्च विचारहरूले स्थान पाऊन्, तुच्छ विचारहरूलाई स्थान नहोस् भन्ने वेदपाठको आशय थियो । त्यो बेला मानिसको मनमा रामको बास थियो । त्यो संस्कृति लोप भयो । अहिले मानिसको मनमा कामको बास छ । मनमा राम छैन भने काम अवश्य छ, किनभने मन खाली रहन असम्भव छ ।

विराट लक्ष्यमा मन लगाउनुको मस्ती शब्दातीत हुन्छ, बोधिचित्त उत्पाद हुनु मात्र पनि मोक्षसुख समान हुन्छ । क्षुद्र सुखान्वेशीलाई त्यो भोग्न पाउनु पनि दुःखदायी हुन्छ, विराट सुख खोज्दा त्यो भोग्न नपाउनु पनि सुखदायी हुन्छ ।

वासना पूरा गर्न सफल भए पनि जीवनमा असफलताको गन्ध आउँछ, वृहत्तर लक्ष्यमा हार भए पनि जीतको आनन्द हुन्छ । मैले आफ्नो समय र ऊर्जा उच्चतर लक्ष्य पाउन खर्च गरेँ भन्ने भाव परम तृप्तिदायक हुन्छ ।

विशाल हृदय हुने सिद्धार्थजस्तो व्यक्ति विराट लक्ष्यका लागि परिवार, दरबार र राज्यसत्ता समेत त्याग गर्न सक्छ, साँघुरो मन हुने क्षणिक सुखासक्त व्यक्तिलाई झुपडी छाड्न पनि मुस्किल हुन्छ ।

छोक्न्यी रिन्पोचेले वर्क हार्ड इन राइट डिरेक्सन, बट लर्न टु रिल्याक्स अर्थात् सही काममा पसिना बगाउनुस् तर मन नआत्तियोस्, मनलाई आराम भइरहोस् भन्नुभएको थियो । पसिना बगिरहोस् तर मनमा आराम भइरहोस् यो अवस्था त्यतिखेर सम्भव हुन्छ जब हामी कुनै वृहत्तर लक्ष्य प्राप्तिमा तल्लीन हुन्छौं ।

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out