Wednesday, 26 September 2018

सर्पले टोक्य के गर्ने?

सिन्धुपाल्चोककी एक ४२ वर्षीया एक महिलाको हातमा सर्पले टोक्यो । त्यसभन्दा माथि तुरुन्त डोरीले बाँधेर टेकुको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुग्दासम्म उनको हात कालो भइसकेको थियो ।

घाँस काट्दा हरेउ सर्पको टोकाइमा परेकी ती महिला १२ घन्टापछि अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरूलाई विष निकाल्नेभन्दा पनि हात काम नलाग्ने चिन्ताले सताउन थाल्यो ।

‘डोरीले कस्सेर हात बाँधेकोले पर्याप्त मात्रामा रगत प्रवाह हुन नसकी हात पूरै कालो भइसकेको थियो, फोका आएको थियो,’ टेकु अस्पतालका डा. शेरबहादुर पुन सम्झिन्छन्, ‘धन्न, भाग्यले हात जोगियो । अझ ढिलो भएको भए ग्याग्रिन भएर हात काट्नुपर्ने स्थिति आउन सक्थ्यो ।’

सर्पले टोकेपछि टोकेको स्थानभन्दा केही माथि डोरी, रबर आदिले मजाले बाँधेका प्रभावितहरू अस्पतालमा धेरै आउने गरेको औंल्याउँदै डा. पुन भन्छन्, ‘विषालु वा विषहीन जुनसुकै सर्पले टोके पनि डोरी वा रबरले कस्सेर अंग विशेषलाई बाध्नु हँुदैन । यसबाट बचाउभन्दा पनि झन् थप शारीरिक जटिलता निम्तिने गरेको छ ।’

डोरी आदिले कस्सेर बाँध्दा अंग विशेषमा रक्तसञ्चार हुन पाउँदैन । अनि अक्सिजन पुग्न नसक्दा कोष/तन्तुहरू मर्ने समस्या ‘नक्रोसिस’ पनि हुन सक्छ । यति मात्र नभई, कुहिएर ‘ग्याग्रिन’ भएपछि अंगविशेष काट्नुपर्ने स्थितिसमेत आउन सक्छ ।

‘सर्पको विष नफैलियोस् भनी डोरीले कस्सेर बाध्दा रक्तसञ्चार अवरुद्घ भएर अंगविशेषमा अक्सिजनको आपूर्ति कम हुन्छ अनि नेक्रोसिस हुन थाल्छ,’ कस्सेर बाँध्दा इस्केमिया हुन सक्नेप्रति सचेत गराउँदै रगत रोग विशेषज्ञ डा. अजयकुमार झा भन्छन्, ‘अक्सिजन तन्तु, कोष आदिमा जान नपाउँदा अंगविशेष मर्न थाल्छन् ।’

सर्पले टोकेको ठाउँमा विषसँगै सर्पको मुखमा रहेको अक्सिजनबिना पनि बाँच्न सक्ने ‘एनोरोविक ब्याक्टेरिया’ समेत पुगिसकेको हुन्छ । डोरीले कस्सिएर बाँधे पनि त्यो ठाउँ विशेषमा अक्सिजन नभए पनि एनोरोविक ब्याक्टेरियाले सहजै संख्या बढाउन थाल्छ । यस्तै, टोकेको ठाउँमा सर्पको विषसमेत पुगेकोले त्यो ठाउँ सुन्निन थाल्दा स्थानीय वातावरण अर्थात् तन्तु र कोष अक्सिजनविहीन हुन्छन् ।

यस्तो स्थितिमा एनोरोविक ब्याक्टेरियाको संख्या अझ वृद्घि हुने उल्लेख गर्दै झा भन्छन्, ‘यो ब्याक्टेरियाले मांसपेशी, जोर्नी, छालामा संक्रमण उत्पन्न गर्छ । ग्यास बनाउने ब्याक्टेरियाले गर्दा अंगविशेष सुन्निने क्रम बढ्छ । कम्पार्टमेन्ट सिन्ड्रोम हुन्छ ।’

मांसपेशी, कोष आदि मर्न लाग्दा अंगविशेषमा अझ ब्याक्टेरिया पुग्छन् । सबै ब्याक्टेरियाले विषाक्तता उत्पन्न गर्न थाल्छन् । यसले गर्दा ब्याक्टेरियाद्वारा उत्पन्न विषाक्तता रगतमा दौडिन थाल्ने बताउँदै डा. झा थप्छन्, ‘ज्यान जान सक्ने स्थिति उत्पन्न हुन्छ ।’

डोरी बाँध्नुको विज्ञान
सर्पले टोक्दा दाँतको माध्यमले विष मानव शरीरमा पठाउँछ । शरीरमा विषको अवशोषण कम गर्न काटेको ठाउँको अलि माथि बाँध्ने प्रक्रिया विज्ञानसम्मत भए पनि यो प्रक्रियामा विशेष विचार पुर्‍याउनुपर्छ ।

‘कस्सेर नबाँध्नुस् । रक्तसञ्चारमा अवरोध नआउने गरी दुइटा औंला सहजै पस्ने गरी बाँध्न सकिन्छ,’ झा भन्छन् । उनका अनुसार, शरीरमा हुने विषको अवशोषणमा कमी ल्याउन बाँध्ने गरिएको हो, रगतको प्रवाह नै अवरुद्घ गर्न होइन ।

‘डोरी नबाँधी चौडा टालो हल्कासँग बाँध्दा हुन्छ,’ झाको सुझाव छ, ‘रगतको सञ्चारमा अवरोध नआउने गरी यसरी बाँध्नुचाहिँ विज्ञानसम्मत हुन्छ ।’

प्रभावित अंगमा डोरी कस्नुभन्दा खेलाडीहरूले लगाउने खुकुलो ‘प्रेसर ब्यान्डेज’ बाँध्नु राम्रो हुने डा. पुन बताउँछन् ।

सर्पदंश भएको ठाउँ नकाटौं, नचुसौं
विषालु वा विषहीन जुनसुकै सर्पले टोक्दा समाजमा विष निक्लियोस् भनेर टोकेको ठाउँमा चक्कु/ब्लेड आदिले चिरेर रगत बगाउने चलन छ । कहिलेकाहीँ मुखले चुसेर रगत झिक्ने पनि गरिन्छ ।

विशेषज्ञहरूका अनुसार, यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिुनको साथै विभिन्न प्रकारको संक्रमण आदिको जोखिममा समेत वृद्घि हुन्छ । सर्पदंश भएको ठाउँमा आगोले डाम्नु, चुस्ने वा काट्नेजस्ता प्रक्रिया अपनाउनु हुँदैन ।

‘टोकेको ठाउँमा चक्कु, ब्लेड आदिले काटेपछि अस्पताल आउनेहरू प्रशस्त छन्,’ डा. पुन भन्छन्, ‘यसले गर्दा उपचारमा झन् बढी समस्या हुने गरेको छ ।’

‘सर्पले टोकेको ठाउँमा चिर्नु भनेको विषलाई अझ बढी सहज रूपमा शरीरमा रगतको माध्यमले अवशोषण हुने अवस्था सृजना गर्नु हो,’ डा. झा भन्छन्, ‘मुखले चुस्दा रगतको नली खुल्ला हुन्छ र विष चाँडै फैलिन्छ भने सर्पको मुखमा भएको एनारोविक ब्याक्टेरियासमेत शरीरमा प्रवेश गर्छ ।’

काट्दा, मुखले चुस्दा बिरामीको स्थानीय तन्तु/कोषमा क्षति पुग्छ । त्यो भाग फुल्नुका साथै विशेष संक्रमणको स्रोतसमेत बन्छ । रगत खुल्ला रूपमा निस्किन थालेपछि विषको प्रवेश रगतमा सहज रूपमा हुन थाल्छ ।

टोकेको भागलाई बढी नचलाऔं
सर्पले टोकको अंगलाई बढी चलाइरहनु हुँदैन । खुट्टामा विषालु सर्पले डसेको भए बिरामीलाई हिँडाएर अस्पताल लग्नु हुँदैन । शरीरको जुन भागमा सर्पले टोकेको छ, त्यो भागलाइ नचलाई, स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्छ । सर्पले टोकेको अंग मुटुभन्दा माथि लग्नु हुँदैन । टोकेको भागलाई बढी चलाउँदा विष फैलिने क्रम बढ्छ ।

बिरामीलाई सान्त्वना दिऔँ
सर्पले टोकेको बिरामी जति उत्तेजित हुन्छ त्यति नै उसको शरीरमा रगतको सञ्चार बढ्छ र यसले विष फैलाउँछ । बिरामीको डर घटाउने उपाय गर्नुपर्छ ।
‘७० प्रतिशत सर्प विषालु हुँदैनन्,’ डा. पुन भन्छन्, ‘अझ विषालु सर्पले नै टोकको भए पनि यस्ता टोकाइमध्ये आधा जतिमा सुक्खा टोकाइ भएको हुन्छ । अर्थात्, मानव शरीरमा विष छाड्न पाएको हुँदैन । यसैले आत्तिनु हुँदैन ।’

विषालु सर्पले टोकेर धामीझाँक्रीकहाँ केही बिरामी बाँच्नुको खास कारण यही रहेको औँल्याउँदै पुन थप्छन्, ‘विषालु सर्पले टोके पनि शरीरमा विष नपुग्ने सम्भावना ५० प्रतिशतजति हुने कुरा बिरामीलाई सम्झाउँदै ढाढस दिनुपर्छ ।’

विषालु वा विषहीन सर्पदंशमा परेकामध्ये करिब आधा जतिको डरले गर्दा हृदयाघात भएर मृत्यु हुने सम्भावनासमेत रहने उल्लेख गर्दै त्रिवि शिक्षण अस्पताल, जनरल प्राक्टिस र आकस्मिक विभागका प्रमुख प्रा.डा. प्रतापनारायण प्रसाद भन्छन्, ‘धेरैजसो सर्पदंश विषरहित सर्पबाट भए पनि मृत्युको भयले गर्दा विष भएजस्तै लक्षण वा भ्रमसमेत उत्पन्न गराउँदा उपचारक र आफन्तले बढी संवेदनशील हुनुपर्छ ।’

एन्टी–स्नेक भेनम मात्र उपचार
विषालु वा जुनसुकै सर्पले टोकेपछि समय खेर नगरी बिरामीलाई तुरुन्त सर्पको प्रतिविष अर्थात् एन्टी स्नेक भेनम उपलब्ध भएको अस्पतालमा पुर्‍याउनुपर्छ । विषालु सर्पले टोकेपछि यसको एक मात्र उपचार एन्टी स्नेक भेनम हो ।

सर्पले टोकेको स्थानमा ससाना दाँतको चिनो देखिए भने सर्प विषहीन हो । तर यदि सुन्निनुका साथै दुइटा ठुलो दाँतको चिनो देखियो भने त्यो विषालु सर्पले टोकेको संकेत हो । चिनोभन्दा पनि यदि लक्षण मिलिरहेको छ भने त्यही अनुसार उपचार प्रक्रिया अघि बढाउनु आवश्यक हुन्छ ।

अझ सर्पले टोकेको ठाउँमा गोलो घेरा लगाएर अस्पताल लग्दा उपचार गर्नेहरूलाई सहज हुन्छ । जुनसुकै सर्पको डसाइपछि अस्पताल पुग्नु नै राम्रो मानिन्छ । सर्पले डसेपछि यो विषालु हो वा होइन भन्ने कुरा आफैं निर्णय नगरी स्वास्थ्यकर्मीको जिम्मामा छाड्नु राम्रो हुन्छ । सर्पदंशमा उपयोग गरिने एन्टी स्नेक भेनम सरकारी अस्पतालमा नि:शुल्क दिइन्छ ।

के हो सर्प विष ?
सर्पले आफ्नो विषको प्रयोग सिकारलाई गतिहीन गर्न वा मार्न प्रयोग गर्छ । सर्पको विषले न्युरोटक्सिक अर्थात् स्नायु प्रणालीमा असर गर्छ वा हेमाटक्सिक अर्थात् रक्तसञ्चारलाई प्रभावित गर्छ । न्युरोटक्सिक विषले मुटुको चाल र श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कको केन्द्रलाई प्रभावित गर्छ । त्यसैले सर्पले टोकेकाहरू सास फेर्न वा निल्न समस्या अनुभव गर्छन् ।

हेमोटक्सिक विषले रातो रक्तकणिकालाई नष्ट गर्छ, शरीरको तन्तुलाई क्षतिग्रस्त पार्छ, आन्तरिक रक्तश्राव गराउँछ । आत्तिएर बिरामीको मृत्यु पनि हुन सक्छ ।

९९ प्रतिशत सर्पदंश गोमन र करेतबाट
मुलुकमा करिब ९९ प्रतिशत सर्पदंश गोमन र करेतले गर्दा हुने गरेको छ । करेत घरभित्रै छिर्ने गरेको र सर्पदंशमा यसको प्रतिशत दुई तिहाइ रहने गरेको छ । एक तिहाइ सर्पदंश गोमनबाट हुन्छ, जसले घरबाहिर आक्रमण गर्छ ।

हाम्रो मुलुकमा वर्षेनी करिब १२ हजार सर्पदंशको समस्या देखिने गरिए पनि करिब दुई हजार व्यक्ति विषालु सर्पको टोकाइमा पर्ने गरेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार, विषालु सर्पले टोकेपछि धामीझाँक्रीको शरणमा पुगेर वा समय बिताएर अस्पताल पुर्‍याउँदा समेत वर्षेनी करिब दुई सयजनाको ज्यान जाने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार, वर्षेनी करिब ५० लाख व्यक्ति सर्पदंशको सिकार हुन्छन् । तीमध्ये २५ लाखमा सर्प विषको प्रभाव देखिन्छ । सर्पदंश भएकामध्ये करिब एक लाख व्यक्तिको मृत्यु हुने गरेको आँकलन गरिन्छ । वर्षेनी ३ लाख व्यक्तिले सर्पदंशका कारण हातखुट्टा गुमाउँछन् ।

विश्वभरि ३ हजार ४ सय प्रजातिका सर्प भए पनि हाम्रो मुलुकमा हालसम्म करिब ८९ प्रजातिका सर्प भेटिएको तथ्यांक छ । तीमध्ये करिब १७ प्रजातिका सर्प विषालु र खतरनाक मानिन्छन् ।

 

विषालु सर्पले टोकेको १५ मिनेटभित्रै देखिने लक्षण
–     सर्प टोकेको ठाउँको छालाको रंग रातो हुन्छ । त्यो ठाउँ सुन्निएको जस्तो लाग्न थाल्छ र अति पीडा अनुभव हुन्छ ।
–     सास फेर्न असजिलो हुन थाल्छ ।
–     दृष्टि कमजोर हुन्छ । आँखा अगाडि धमिलो देखिन्छ ।
–     वाकवाकी लाग्न थाल्छ । र्‍याल आउन र अत्यधिक पसिना बग्न थाल्छ ।
–     हातखुट्टा झमझमाउन थाल्छ । हातखुट्टा संवेदनाहीन हुँदै जान्छ । पक्षाघातको लक्षण देखिन थाल्छ ।
–     स्वर भासिन थाल्छ । कुनै पनि वस्तु निल्न असजिलो हुन्छ ।
–     मांसपेशीमा कमजोरी भएर ओठ र जिब्रो नीलो हुन थाल्छ ।

बचाउ
–     राति बत्ती बालेर मात्र हिँड्नुपर्छ ।
–     ठूलो घाँस भएको बाटो हिँड्नुहुँदैन ।
–     भुइँमा सुत्नु हुन्न, झुल टाँगेर सुत्नुपर्छ ।
–     राति सुत्ने बेलामा ओछ्याउना राम्ररी हेर्नुपर्छ ।
–     कुवा वा प्वालमा हात हाल्नु हुँदैन ।
–     खुट्टा छोप्ने गरी लामो लुगा, जुत्ता वा बुट लगाउनुपर्छ ।
–     जुत्ताको भित्र हेरर मात्र उपयोग गर्नुपर्छ ।
–     घर, खेल मैदान सफा राख्नुपर्छ ।
–     ढुंगा वा काठ दाउराको थुप्रोमा सर्प लुकेर बस्ने हुनाले सतर्क रहनुपर्छ ।
–     आफ्नो क्षेत्रमा पाइने विषालु सर्पबारे जानकारी राख्नुपर्छ ।
साभार:- कान्तिपुर

Wednesday, 12 September 2018

म भित्रको चिन्तन

२०५० मा म प्रज्ञा प्रतिष्ठानको प्राज्ञ नियुक्त भएँ । पहिलोचोटि आफूलाई छुट्याइएको कोठामा प्रवेश गर्दा मलाई अप्ठ्यारो र असजिलो महसुस भयो । अफिसको कुर्सी देखेरै म भावुक हुन पुगेँ । मलाई लाग्यो– ‘लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र भूपि शेरचनजस्ता महान् व्यक्ति बसेको कुर्सीमा बस्न जाँदै छु, म यहाँ बस्न योग्य छु त ?’ यस्तो सोच आएपछि मलाई अफिसको घुम्ने कुर्सीमा बस्नै मन लागेन । घुम्ने कुर्सीलाई देवकोटा, सम र शेरचनजस्ता महान् प्रतिभाको प्रतीकका रूपमा छेउमा राखेर मैले सामान्य कुर्सी मगाएँ । त्यही सामान्य कुर्सीमै मैले पाँच वर्ष बिताएँ । घुम्ने मेच छेउमा बसिरह्यो ।

प्रतिष्ठानमा जानुअघिसम्म म निरोगी नै थिएँ, तर प्रतिष्ठानमा गइसकेपछि लगातार बिरामी पर्न थालेँ । रुघाखोकीबाहेक अरू रोगको सामना नगरेको मलाई धेरै रोगले एकैचोटि गाँज्न थाल्यो । पेट असाध्यै दुख्ने, मुखभरि घाउ आउने, जिब्रो पोल्नेजस्ता समस्या बिकराल भएर आए । समस्या झन् बल्झिँदै र बढ्दै जान थाल्यो । काठमाडौंका प्रायः सबै नाम चलेका डाक्टरलाई देखाएँ, तर रोग पत्ता लागेन ।

रोगले झन्झन् च्याप्न थाल्यो, चार–पाँच महिना काठमाडौंका हस्पिटलमा भौँतारिएँ । अन्तिममा एकजना राजा वीरेन्द्रको समेत उपचार गर्छु भन्ने नाम चलेका डाक्टरले तपाईंलाई क्यान्सर हुन सक्छ, त्यसका लागि बायोप्सी गर्नुपर्छ भनिदिए । डाक्टरले भनेको सुन्नासाथ म त्यहीँ बेहोस भएछु ।

घरमा काखको सानो छोरा थियो, श्रीमती एक्लैले म नभएपछि कसरी घर चलाउँछिन्, बालबच्चाको हालत के हुन्छ भनेर निकै सोचेँ । एकोहोरिन थालेछु । असाध्यै डर र चिन्ता लाग्न थाल्यो । त्यस रात श्रीमती र म जागै बस्यौँ । राति अबेर मैले आँट बटुलेर श्रीमतीलाई भनेँ, ‘म यहाँ अप्रेसन पनि गर्दिनँ, बायोप्सी पनि गर्दिनँ ।

बरु उपचार गर्न दिल्ली जान्छु । मरे पनि उतै मर्छु । मलाई एउटै चिन्ता छ, क्यान्सर भएर मरिहालेँ भने तिमीहरूलाई कसले हेर्छ ? बच्चा कसरी हुर्काउँछौ ?’ मेरी श्रीमती असाध्यै आँटिली छिन् । उनले मलाई आँट दिइन्, ‘तपाईं नडराउनू, केही हुँदैन । केही भइहाल्यो भने बच्चालाई म हेर्छु, म छु नि ।’ उनले ‘म छु नि’ भनेको आवाज अहिले पनि कानमा गुन्जिन्छ ।

ठूलो रोग लागेर अब मर्छु भन्ने बोध गर्दाको पीडा भयानक हुन्छ, व्यक्त गर्नै नसकिने । त्यो पीडा लिएर म एक्लै दिल्ली गएँ । श्रीमतीको काखमा भर्खर जन्मिएको बच्चा थियो, कोही साथी पनि थिएनन् । दिल्ली पुगेर एउटा होटलमा बसेँ । कुन हस्पिटल जाने, कुन डाक्टरकहाँ जाने, मलाई केही थाहा थिएन । दिल्लीमा म अन्जान थिएँ । होटलको म्यानेजरलाई आफ्नो रोगका बारेमा सबै भनेँ र हस्पिटलका बारेमा सोधेँ । उसले सानो कागजको टुक्रामा हस्पिटलको ठेगाना लेखिदियो ।

हस्पिटलको ठेगाना पाएपछि बिहान जाने योजना बनाएर सुतेँ । तर, रातभरि चिन्ता लागिरह्यो । यहाँ पनि डाक्टरले मलाई क्यान्सर छ भनिदिए भने त हस्पिटलमै ढल्छु, उठाउने मान्छे पनि हुँदैनन् भनेर रातभरि मनमा कुरा खेल्यो । कोही न कोही साथी भए त ढले पनि उठाउँथ्यो, मरे पनि घरमा खबर गरिदिन्थ्यो । रोगको भन्दा पनि घरमा खबर कसले पु-याइदेला भनेर बढी चिन्ता लाग्यो ।

त्यस घटनाअघि म ‘मन्दिरमा घण्ट बजाएर किन सुत्न लागेका चरालाई दुःख दिन्छौ’ भन्ने टाइपका कविता लेख्ने भौतिकवादी थिएँ । भगवान्मा त्यति धेरै विश्वास थिएन । दिल्लीमा बेसहारा भएपछि मैले पहिलोचोटि भगवान् पुकारेँ । तिमी छौ भने कोही नेपाली साथी पठाइदेऊ न भनेर प्रार्थना गरेँ । संयोगवश मैले एउटा डायरी बोकेको थिएँ ।

डायरीको एउटा कुनामा मेरो एकजना साथीको नाम र सम्पर्क नम्बर थियो । उनीसँग भेट नभएको दशकौँ भइसकेको थियो । फोन लाग्छ कि भन्ने आशा लाग्यो र डायल गरेँ । मेरो शौभाग्य ! फोन लाग्यो र उनका श्रीमान्ले उठाए । फोन गरेपछि मेरी साथी अचम्ममा परिन्, दशकौँपछि कुरा भइरहेको थियो, उनी पनि खुसी भइन् । मैले बिरामी भएर आएको र साथी कोही नभएको सुनाएँ ।

उनी बिहानै म बसेको होटेलमा आइपुगिन् । भोलिपल्ट उनलाई देखेपछि म असाध्यै खुसी भएँ ।
उनैले मलाई हस्पिटल लगिन् । धेरैवटा हस्पिटल फेर्नुप-यो । निकैपटक हस्पिटल फेरेर चेकअप गरेपछि बल्ल रोग पत्ता लाग्यो । नेपालका ठूला डाक्टरले भनेजस्तो क्यान्सर भएको रहेनछ । तर, मुख र पेटका ठुल्ठूला अप्रेसन गर्नुप-यो । साथीका श्रीमान् त्यहाँको एउटा बैंकका म्यानेजर रहेछन् ।

साथीले श्रीमान्कै क्वार्टरमा केही दिन बस्ने व्यवस्था मिलाइन् । त्यो मेरो पहिलो अप्रेसन थियो, त्यसपछि पनि पटक–पटक अप्रेसन गर्नुप-यो । काठमाडौं र दिल्लीको यात्रा मैले धेरैपटक गर्नुप-यो । मेरो स्वास्थ्य नराम्ररी बिग्रिएको थियो । एकपटक एउटा रोगका लागि अप्रेसन गर्नुपर्ने, अर्कोपटक पहिलाको भन्दा फरक रोगको । म थरिथरीका रोगले थला परेँ । फेरि रोग लाग्यो, काठमाडौंकै एकजना डाक्टरलाई देखाएँ । उनले पनि पहिलाको जस्तै क्यान्सर भयो भनिदिए ।

अघिल्लोपटकजस्तै म पुनः दिल्ली गएँ । फेरि अप्रेसन गर्नुप-यो । बिरामीको यो चक्रले मलाई असाध्यै असहाय र निराश बनायो । यही क्रममा एउटा घटनाले मेरो जीवन दर्शन नै बदलिदियो ।
त्यसपटक किड्नीमा समस्या देखियो । अप्रेसन गर्न दिल्ली गएँ । त्यसवेलाचाहिँ मैले एकजना भाइलाई साथै लिएर गएको थिएँ । भोलिपल्ट अप्रेसन थियो । हस्पिटलको बेडमा सुतिरहेको थिएँ ।

हस्पिटलमा दिनभरि सुत्नुपर्दा दिक्क लागेको थियो । हातमा स्लाइनको नली रोपिएको थियो । भाइलाई मैले जे पाइन्छ, त्यही किताब वा पत्रिका किनेर ल्याउनू भनेको थिएँ । उसले केही नपाएर अन्तिममा हिन्दी सिनेमासम्बन्धी एउटा पत्रिका बोकेर ल्याएछ । जे भए पनि पढ्न पाउँदा समय काट्न सजिलो हुन्थ्यो । पत्रिका हेर्दै थिएँ ।

पत्रिकाको कुनामा एउटा कोटेसन थियो, मेरो आँखा त्यहीँ गयो । त्यहाँ लेखिएको थियो, ‘जहाँ विज्ञानको सीमाको अन्त्य हुन्छ, त्यहीँबाट अध्यात्म सुरु हुन्छ– साइबाबा ।’ मैले निकैपटक त्यो कोटेसन पढेँ । त्यही लाइनले मेरो समग्र जीवनको सोच, दर्शन र चिन्तन नै परिवर्तन गरिदियो । भोलिपल्ट अप्रेसन थियो, अघिल्लो दिन मैले विज्ञानको सीमापारि केही छ भन्ने महसुस गर्दै थिएँ ।

भोलिपल्ट मलाई अप्रेसनका लागि बेहोस बनाए । होस आउँदा शरीरमा कतै चिरफार गरिएको थिएन । डाक्टरलाई सोधेँ– अप्रेसन गरेको होइन ? उसले गर्नुपरेन भन्ने जवाफ दियो । अप्रेसन थियटरमा पु-याइसकेको बिरामीलाई अप्रेसन नै गर्नुपरेन भनेर डाक्टरले जवाफ दिएपछि म चकित परेँ । मैले किन भनेर सोधेँ । थियटरमा फेरि तिम्रो एक्सरे गर्दा अप्रेसन गर्नु नपर्ने देखियो भने उनीहरूले । जीवनमा पहिलोपटक मलाई ईश्वर छ र मलाई ईश्वरले बचायो भन्ने महसुस भयो । मेरो घमन्ड तहसनहस भएको दिन थियो त्यो । आफूलाई म भौतिकवादी र जानेसुनेको मान्छे ठान्थेँ, तर त्यस दिन विज्ञानभन्दा पर पनि केही चिज छ भन्ने गहिरो बोध भयो ।

तीन–चार वर्षको अवधिमा मैले थुप्रैपटक अप्रेसन गर्नुपरेको थियो । एकपटक हस्पिटलबाट डिस्चार्ज भएर साथीको क्वार्टरमा बसेको थिएँ । शरीरमा पीडा भइरहेको थियो । नजिकै एउटा शिव मन्दिर थियो । डाक्टर, धामीझाँक्री, आयुर्वेद सबैतिर उपचार गर्न जाँदाजाँदा हैरान भइसकेको थिएँ । कसैले रोग पत्ता लाउन नसकेपछि दिक्दारीले घेरेको थियो । मन्दिर लगातार जान्थेँ र प्रार्थना गरेर फर्किन्थेँ ।

तेस्रो, चौथो दिन मेरा आँखा अचानक मन्दिरको भित्तामा परे । त्यहाँ एकजना बुढा मान्छेको तस्बिर थियो । अन्जानमै मैले उनको तस्बिरलाई एक टकले हेर्न थालेछु । त्यो बुढो मान्छेले मलाई बोलाइरहेजस्तो लाग्यो । शिवलिंग ढोग्न गएको म अचानक भित्ताको बुढो मान्छेका खुट्टा ढोग्न पुगेछु ।

चुम्बकले तानेजस्तो अनुभूति भयो, म अन्जानमै सरासर भित्तामा पुगेछु । मेरो चेतनाले छुट्याउनै नसक्ने गरी त्यो फोटो र मेरा बीचमा अचम्मको बन्धन जोडिन पुग्यो । आँखाबाट बर्बरी आँसु झरे । एकछिनसम्म रोइरहेँ । त्यही मान्छेलाई पीडा पोखेँ । यी सबै घटना मेरो चाहनाले भएका थिएनन् ।

त्यो फोटो कसको हो भन्ने पनि थाहा थिएन । तर, कसरी हाम्रो बीचमा यस्तो सम्बन्ध जोडिन पुग्यो भनेर मलाई निकै दिनसम्म अचम्म लाग्यो । भोलिपल्टदेखि मैले शिवलिंगलाई नढोगी त्यही बुढो मान्छेलाई ढोग्न थालेँ । काठमाडौं आएपछि गायिका नुपुर भट्टाचार्य दिदीले घरमा बोलाउनुभयो । उहाँको बैठक कोठामा त्यही बुढो मान्छेको ठूलो तस्बिर देखेँ । म छक्क परेँ । मैले दिदीलाई त्यो कसको फोटो भनेर सोधेँ । दिदीले शिरडी साइबाबाको भन्नुभयो ।

पत्रिकाको कुनामा एउटा कोटेसन थियो, मेरो आँखा त्यहीँ गयो । त्यहाँ लेखिएको थियो, ‘जहाँ विज्ञानको सीमाको अन्त्य हुन्छ, त्यहीँबाट अध्यात्म सुरु हुन्छ– साइबाबा ।’ मैले निकैपटक त्यो कोटेसन पढेँ । त्यही लाइनले मेरो समग्र जीवनको सोच, दर्शन र चिन्तन नै परिवर्तन गरिदियो ।

‘तपाईंसँग उहाँको अर्को फोटो छ ?’ मैले फेरि दिदीलाई सोधेँ । दिदीले छ भन्नुभयो । मलाई शिरडी साइबाबाको फोटो पनि दिनुभयो । त्यो फोटो पाएको दिनको आनन्द म आज पनि बिर्सिन सक्दिनँ । कहिले घरमा लगेर फोटोलाई फ्रेम हालेर राखौँजस्तो भयो । त्यो मान्छे जोसुकै होस्, मेरो जन्मजन्मको सम्बन्ध छ भन्ने बोध भयो । त्यो फोटो बोकेर म घरतर्फ दौडिएँ । आकाश असाध्यै कालो थियो । पानी दर्किन लागेको थियो । मलाई जसरी पनि त्यो फोटो जोगाउनु थियो ।

एक सासमा दौडिँदै घर आइपुगेँ र त्यो फोटो जतनले राखेँ । घरभित्र जब म प्रवेश गरेँ बाहिर भयानक पानी प-यो । मान्छेहरूले त भन्छन्, अहो ! कस्तो संयोग । तर, त्यस दिन मलाई संयोग भन्ने शब्द पनि झुटो जस्तो लाग्यो । प्रेम र प्रार्थनामा ठूलो शक्ति छ भन्ने मैले पहिलोपटक थाहा पाएँ ।

बिस्तारै म निको हुँदै गएँ । हामी परिवारै साइबाबाको दर्शन गर्न इन्डिया गयौँ । त्यहाँको पुस्तक पसलमा सनातन सारथि भन्ने पत्रिका रहेछ । मैले पत्रिका किनेँ । पत्रिका पल्टाउँदा मेरो आँखा परेको पहिलो हरफ थियो, ‘तिमी बिरामी हुनु मसम्म आइपुग्ने बहाना मात्र हो–साइबाबा ।’ यी घटनाले मलाई अध्यात्मतर्फ ताने । त्यसपछि मेरो जीवनशैली नै परिवर्तन भयो । मैले ध्यान गर्न थालेँ । बिस्तारै भौतिकता र अध्यात्मिकता के हो भन्नेतर्फ मैले चिन्तन गर्न थालेँ । बालकृष्ण समको प्रह्लाद भन्ने नाटक छ । त्यो नाटक एमएका विद्यार्थीलाई पढाउँथेँ । अध्यात्म र भौतिकताका विषयमा यति प्रस्ट र यति गहिराइका साथ लेखिएको विश्वमै अर्को पुस्तक छैन होला ।

अध्यात्म र भौतिकवाद दुवै पूर्ण छैनन् । जब दुवैको मिश्रण हुन्छ, त्यसपछि पूर्ण हुन्छ । दुवै एकअर्काका पूरक हुन् । जब अध्यात्म र भौतिकवाद सँगसँगै हिँड्छन्, त्यसपछि जीवनको सार्थकता हुन्छ । मैले वर्षौँ मन्दिर धाएँ, भगवान्को पूजा गर्न थालेँ, जोगी हुनै लागेको थिएँ । तर, अहिले मलाई लाग्यो– मन्दिर त प्रतीक मात्र रहेछ । मन्दिर जानु पर्दैन । ईश्वर मन्दिरमा होइन, मभित्रै रहेछ ।

म भारत र नेपालका सयौँ ठाउँमा ध्यान गर्न गएँ । सयौँ गुरुका आश्रम चहारेँ । सबै ठाउँ पुगिसकेपछि अन्त्यमा मलाई विपश्यनाले तान्यो । मैले विपश्यनाको हलमा हेरेँ, भित्तामा कसैको फोटो छैन । पहिलोचोटि यस्तो देख्दा मलाई असाध्यै खुसी लाग्यो । अहिले मलाई कसैले विश्वमा सबैभन्दा महान् मान्छे को हो भनेर सोधे गौतम बुद्ध भन्छु । गौतम बुद्ध नेपालमा जन्मिएको हो भन्नुको म कुनै अर्थ देख्दिनँ । उनी दिल्लीमा जन्मिऊन् वा अफ्रिकामा जन्मिऊन्, त्यो कुनै मतलवको विषय होइन । पहिला त मेरो मुटुमा जन्मिनुप-यो नि । कसैले गौतमबुद्ध कहाँ जन्मे भनेर मलाई सोध्दा मेरो मुटुमा जन्मिए भन्ने जवाफ दिन्छु । जुन दिन तपाईंको मुटुमा गौतम बुद्ध जन्मिन्छन्, त्यस दिन तपाईं स्वयंमा भगवान् हो ।

मान्छेलाई भगवान् छैन भन्न सजिलो छ । माक्र्सले भनिदिएकै छ, लेनिनले भनिदिएकै छ । त्यही भएर भगवान् छैन भन्नु कुनै गाह्रो काम होइन । तर, जीवनका असाध्यै पीडादायी क्षण कुनै आइन्स्टाइन, माक्र्स वा गान्धी आएर समस्या समाधान गर्दैनन् ।

कुनै पुस्तकले पनि यी समस्या हल गर्दैनन् । मभित्रको आत्मा, मभित्रको स्वत्व, मभित्रको चिन्तन, मभित्रको प्राणशक्ति त मसँगै हुने हो । दार्शनिकले समस्या समाधान गर्ने भए माक्र्स जन्मिएको कति भयो ? माक्र्सले भनेजस्तै भएको भए संसार झलमल्ल हुनुपर्ने हो नि त । किन ओरालो लागिरहेको छ त ? अहिले म संसारको कुनै पनि दार्शनिकका पुस्तक झुटा हुन् भन्छु । दार्शनिकका पछाडि पागल नहुनुस् भन्छु । किताब सत्य होइन । असत्य हो । झुट हो । भ्रम हो । सत्य त एउटै रहेछ, आत्मचिन्तन !

(नयाँ पत्रीकाको मनोज खतिवडासँगको कुराकानीमा आधारित)

#अशेष मल्ल

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out