Sunday, 17 March 2019

मृगौला नियमीत हेरचाह गरे बच्छ नत्र बिग्रन्छ

आफ्नो मिर्गौला बिग्रिरहेको छ भन्ने कुरा सुरुमै त्यत्तिकै थाहा हुँदैन। जतिबेला थाहा हुन्छ त्यतिबेला मिर्गौला धेरै बिग्रिसकेको हुन्छ। र, जसको उपचार अत्यन्त कठिन बनिसकेको हुन्छ। तसर्थ रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुने चिकित्सकहरूको सुझाव छ।

पछिल्लो समय आधुनिक जीवनशैलीका कारण धेरै मानिसको मिर्गौला कम उमेरमै फेल हुने(बिग्रिने) गरेको विश्व तथ्यांकले देखाउँछ। ‘सहरी आरामदायी जीवनशैली, फास्ट फुडको अत्यधिक प्रयोगले पनि मिर्गौला बिग्रिने गरेको देखिन्छ,’ काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल मिर्गौला विभागका प्रमुख डा. दिव्या सिंंह शाहले भनिन्। मधुमेह र उच्च रक्तचापसम्बन्धी रोगहरू बढ्नाले पनि मिर्गौला फेल हुनेको संख्या बढिरहेको उनले बताइन्।

मिर्गौला बिग्रिने बढ्दो दरलाई नियन्त्रण गरी स्वस्थ जीवनका लागि जनचेतना जगाउने हेतुले हरेक वर्ष विश्वभर मिर्गौला दिवस मनाउने गरिन्छ। यसै क्रममा यस वर्ष पनि ‘हरेक मानिस जहाँ भए पनि स्वस्थ मिर्गौला’ मूल नाराका साथ गत बिहीबार नेपालसहित विश्वभर १४औं मिर्गौला दिवस मनाइयो। उक्त नाराको अर्थ हो– हरेक मानिस जुनसुकै ठाउँमा रहे पनि मिर्गौला स्वस्थ हुनुपर्छ।  

 

मिर्गौलाले प्रतिमिनेट १ सय २५ मिलिलिटर रगत सफा गर्छ। जब मिर्गौलामा समस्या आउँछ तब यसको कार्यक्षमतामा ह्रास आएर प्रतिमिनेट पाँच मिलीलिटरभन्दा कम रगत मात्र सफा गर्न थाल्छ। यो नै मिर्गौला फेल भएको अवस्था हो। मिर्गौलाको कार्यक्षमता घट्दै घट्दै यो अवस्था आउन पाँचदेखि १० वर्षसम्म लाग्छ। तर कुनै रोगका कारणले तत्कालै या हप्ता दिनभित्रै पनि मिर्गौला फेल हुन सक्ने चिकित्सक बताउँछन्।


दिवसका अवसरमा नेपालमा पनि मिर्गौला बचाऊ अभियन्ता तथा चिकित्सकहरूले मिर्गौला बिग्रिने क्रम बढिरहेकाले यसप्रति सेचत हुन सबैलाई आह्वान गरे। तथ्यांकअनुसार नेपालमा हरेक वर्ष मिर्गौलाका तीन हजार नयाँ बिरामी देखापर्ने गरेका छन्। कुल जनसंख्याको १० प्रतिशत मानिसमा मिर्गौलासम्बन्धी कुनै न कुनै रोग देखिन्छ भने तीमध्ये १० प्रतिशत रोगीको मिर्गौला फेल भएको अवस्था छ। यस हिसाबले तीन लाख जनाको मिर्गौला पूरै बिग्रेको देखिन्छ। हाल देशभर ४ हजार ५ सय जनाले मिर्गौला डायलासिस गराइरहेका छन् भने बाँकी त्यत्तिकै घरमा बसिरहेका छन्। वैदेशिक रोजगारीमा गएकाहरूमध्ये हरेक साता एक जना मिर्गौला बिगे्रर घर फर्किरहेका छन्।

नेपालमा मिर्गौला बिग्रिने दर बढेपछि अस्पतालहरूले बर्सेनि विभिन्न अभियान चलाउने गरेका छन्। यस्तै सरकारले उक्त समस्या सम्बोधन गर्न मिर्गौला प्रत्यारोपणका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ सहयोग दिने गरेको छ।

तर मिर्गौला रोग नियन्त्रणका लागि सरकारको यो नीति तथा कार्यक्रम उपयुक्त नभएको राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रका प्रमुख डा। क्रषिकुमार काफ्ले बताउँछन्। नेपालजस्तो विपन्न मुलुकले भविष्यमा खर्च धान्न नसक्ने उनको भनाइ छ। यसरी रोग लागिसकेपछि उपचारमा अर्बौं खर्च गर्नुको साटो मिर्गौला बिग्रिनै नदिने जनचेतनामा सरकारले खर्च गर्नु उचित हुने डा। काफ्लेको सुझाव छ। ‘अब सरकारले मिर्गौला रोग लाग्नाको कारणबारे जनचेतना जगाउनमा ध्यान दिनु पर्छ,’उनले भने।

के हो मिर्गौला फेल (बिग्रिनु) हुनु भनेको?
चिकित्सकका अनुसार विभिन्न रोगका कारण मिर्र्गौलाले गर्ने नियमित काममा कमी अर्थात् ह्रास आउँदै जाने अवस्था नै मिर्गौला फेल हुनु हो। मिर्गौला एक्कासि नभई रोग लागेको वर्षौंपछि फेल हुन्छ। विभिन्न कारणले रोग लागी तुरुन्तै या विस्तारै मिर्गौलाको नियमित प्रक्रिया तथा काममा अवरोध आउने अवस्था आउनु भनेको मिर्गौलाले काम गर्न छाड्दै गएको संकेत हो। यस्तो अवस्थामा आँखाको डिल सुन्निने, थकाइ लाग्ने, खाना खाएपछि वान्ता हुन खोज्ने, पिसाबमा फिँज आउने, पेट तथा खुट्टा सुन्निने, रक्तचाप बढ्नेजस्ता लक्षण देखिन्छन्। तर कतिपय अवस्थामा यी कुनै पनि लक्षण नदेखिन पनि सक्छ। जब मिर्गौलाको नियमित काममा धेरै नै ह्रास आउँछ तब मात्र लक्षण देखिन सक्छ।

मिर्गौलाले प्रतिमिनेट १ सय २५ मिलिलिटर रगत सफा गर्छ। जब मिर्गौलामा समस्या आउँछ तब यसको क्षमतामा ह्रास आएर  प्रतिमिनेट पाँच मिलीलिटरभन्दा कम रगत मात्र सफा गर्न सक्छ। यो नै मिर्गौला फेल भएको अवस्था हो। मिर्गौलाको कार्यक्षमता घट्दै घट्दै यो अवस्था आउन पाँचदेखि १० वर्षसम्म लाग्छ। तर कुनै रोगका कारणले तत्कालै या हप्ता दिनभित्रै पनि मिर्गौला फेल हुन सक्ने चिकित्सक बताउँछन्।

मिर्गौैला फेल हुनाका कारण
चिकित्सकका अनुसार नेपालमा मिर्गौला बिग्रिनुका कारण विभिन्न छन्। मिर्गौलाको जालीमा लाग्ने रोग ग्लोमोनेफ्राइटिस, उच्च रक्तचाप तथा मधुमेह, शरीरमा पोटासियमको मात्रा कम हुनु, वंशाणुगत तथा अन्य रोगका कारण तुरुन्तै मिर्गौला फेल हुने हुन्छ। यी कारणमध्ये नेपालमा सबैभन्दा बढी ग्लोमोनेफ्राइटिसका कारण मिर्गौला बिग्रन गरेको चिकित्सकहरू बताउँछन्।

चिकित्सकका अनुसार विकसित देशमा मधुमेह र रक्तचापका कारण पनि मिर्गौला बिग्रिन्छ तर नेपालमा ग्लोमोनेफ्राइटिस ९मिर्गौलाको रगत छान्ने जालीमा लाग्ने रोग०का कारण मिर्गौला बिग्रिने समस्या बढी  छ। अन्य कारणहरू भने अन्य देशहरूको जस्तै मिल्दा–जुल्दा छन्।

ग्लोमोनेफ्राइटिस (रगत छान्ने जालीमा रोग लाग्नु)
बाथरोग, वंशाणुगत रोग, केही मिर्गौला भित्रैबाट निस्किने रोग अटोयुमिन, रोग प्रतिरोधात्मक क्षमतामा आउने गडबडीले शरीरलाई नै आक्रमण गर्ने रोगका कारण जालीलाई नष्ट गर्छन्। यी रोगले रगत छान्ने जाली खियाउने या नष्ट गर्ने काम गर्छन्। नेपालमा ग्लोमोनेफ्राइटिस  मिर्गौला बिगार्ने प्रमुख कारण हो। जालीमा खराबी आएमा पिसाबमा प्रोटिन र रगत देखिन्छ। सुरुमै पत्ता लागे यो रोग पूरै निको हुन्छ। यस्तो अवस्थामा औषधि सेवन गरेर तथा स्वस्थ जीवनशैली अपनाएर मिर्गौला बचाउन सकिन्छ।

मधुमेह तथा उच्च रक्तचाप
विश्वभरिको स्थिति हेर्दा उच्च रक्तचाप र मधुमेहका कारण मिर्गौला बिग्रिनेको संख्या बढी देखिन्छ। यस विषयमा नेपालमा छुट्टै अध्ययन भएको छैन। मिर्गौला बिग्रिँदा पनि उच्च रक्तचाप देखिन्छ। त्यसकारण यो पत्ता लगाउन सकिँदैन। जब मिर्गौला फेल हुन्छ तब मात्र चिकित्सककहाँ जाने चलन छ।
मिर्गौला ढिला गरी बिगार्ने कारणमध्ये मधुमेह तथा उच्च रक्तचाप हो। यी रोगका कारण मिर्गौला पूरै बिग्रिन दशकौं लाग्छ। कसैमा ३५ वर्षको उमेरमा उच्च रक्तचाप देखियो भने अर्को ३५ वर्षसम्म मिर्गौलाले काम गर्छ। तर मिर्गौलाको कार्यक्षमता ह्रास हुँदै गएको हुन्छ। यस्तो अवस्थामा उच्च रक्तचाप नियन्त्रणमा राखेर मिर्गौलाको आयु लम्ब्याउन सकिन्छ। चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेर उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ।

छिटो मिर्गौला बिग्रिने अवस्था
यो मिर्गौलालाई बाह्य या आन्तरिक रोगले आक्रमण गर्ने अवस्था हो। आज ठीक अवस्थामा रहेको मिर्गौला केही दिनमै काम नगर्ने अवस्था हो। झाडापखाला, हैजा, जलवियोजन, शरीरमा संक्रमणबाट सेफसिस भएमा, शरीरमा नुनको मात्रा सकिएमा, निमोनिया, मुटु तथा कलेजो बिग्रिएमा, खानामा विषादी तथा रसायन प्रयोग भएमा, दुखाइ कम गर्ने औषधि प्रयोग गरेमा, अरिंगालले टोकेमा, प्रसूतिका क्रममा बढी रक्तश्राव भएमा मिर्गौलाले एक्कासि काम  गर्न छाड्छ।
चिकित्सकका अनुसार अकस्मात बिगे्रका मिर्गौला उपचारपछि ९० प्रतिशत निको हुन्छ। बाह्य तथा आन्तरिक आक्रमणले मिर्गौैला बिग्रेको अवस्थामा हेमोडायलाइसिस आवश्यक पर्छ।

नेपालमा छिटो मिर्गौला बिग्रिनेको संख्या पनि उत्तिकै छ। यसबाहेक शरीरमा प्रोटिनको मात्रा बढी हुनु पनि मिर्गौला छिटो बिग्रिने कारण हो। दैनिक खसी, बंगुर, राँगाजस्ता जनावरको मासु खाने चलन बढेको छ। यसले शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ। यसरी प्रोटिनको मात्रा बढी भएमा मिर्गौलामा पत्थरी बन्छ। उक्त पत्थरीको समयमै उपचार भएन भने मिर्गौला बिग्रिन्छ।

यसबाहेक शरीरमा पोटासियमको मात्रा बढी हुँदा पनि मिर्गौला फेल हुन्छ। पोटासियमको मात्रा बढी भयो भने मुटुमा अवरोध सिर्जना हुन्छ। मुटुमा अवरोध भयो भने मिर्गौलामा असर गर्छ। यसकारण कम पोटासियम भएका फलफूलहरू नासपाती, भुइँकटहर, अम्बा, मेवा, स्याउ खानु उचित हुने चिकित्सक बताउँछन्। वंशाणुगत कारणले पनि मिर्गौला बिग्रिन्छ। वंशाणुगत रूपमा आउने पोलिस्टिक ९मिर्गौलामा पानी फोका हुने रोग०ले पनि मिर्गौला बिग्रिन्छ। बुबा वा आमामा पोलिस्टिक छ भने बच्चाहरूमा यो हुने ५० प्रतिशत सम्भावना हुन्छ। यो पनि उपचारले नियन्त्रण गर्न सकिन्छ।

मिर्गौला उपचारको अवस्था
नेपालले दश वर्षयता मिर्गौला उपचारमा फड्को मारेको छ। सन् २००८ मा त्रिवि शिक्षण ९टिचिङ० अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण सम्भव भएको हो। हाल वीर अस्पताल, धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा पनि मिर्गौला प्रत्यारोपण सेवा छ। निजीतर्फ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि यो सेवा छ। हाल देशभर ५६ वटा उपचार केन्द्रमा हेमोडायलाइसिस सेवा उपलब्ध छ।
धनगढी,सुर्खेत,जनकपुर,वीरगन्ज,तनहुँ,बाग्लुङ,भैरहवा,बुटवल,पाल्पा,पोखरा, विराटनगर, झापा लगायतका स्थानमा हेमोडायलाइसिस सेवा सुरु भइसकेको छ। अहिले धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा मात्र सातामै ६ वटा मिर्गौला प्रत्यारोपण हुन्छ। यहाँ हालसमम ६ सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालमा ५ सय ६५ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको तथ्यांक छ। मिर्गौला प्रत्यारोपणका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग दिँदै आएको छ भने हेमोडायलाइसिस सेवा पनि निःशुल्क गरेको छ।

मिर्गौला बिग्रन नदिन के गर्ने ?
–वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गराउने
– नियमित व्यायाम गर्ने
– मिर्गौलामा कुनै रोग छ भने समयमै उपचार गराउने
– रक्तचाप तथा मधुमेह छ भने नियन्त्रणमा राख्ने
– उच्च प्रोटिन तथा पोटासियम भएका खानेकुरा नखाने
– नुन कम खाने र पानी पर्याप्त पिउने
–दुखाइ कम गर्ने औषधि जथाभाबी नखाने
–मोटोपन हुन नदिने तथा तौल नियन्त्रणमा राख्ने
–कुनै दीर्घरोग छ भने समयमै उपचार गराउने  
–धूमपान–मद्यपान नगर्ने
–बढी चिल्लो चिज तथा फास्टफुड नखाने

मिर्गौला बिग्रेका लक्षण
–पिसाब फेर्न गाह्रो हुनु
– पिसाबमा रगत देखिनु
– पिसाब कम लाग्नु तथा फिँज आउनु
– हात–खुट्टा तथा पेट सुन्निनु
–रक्तचाप बढ्नु
– रक्तअल्पता जस्तो हुनु
– थकाइ लाग्नु तथा कमजोरी हुनु
– वाकवाकी लाग्नु

Wednesday, 13 March 2019

स्मार्ट फोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ   ।

१ . बजेट

      स्मार्टफोन किन्नु भन्दा पहिले त तपाईंले अनुकूल बजेट छुट्टाउनु आवश्यक छ।

कति सम्मको स्मार्टफोन फोन किन्दा ठीक होला त? तपाईंले आवश्यकभन्दा बढी पैसा खर्च गर्दै त हुनुहुन्न? महँगो फोनमा भएको सबै फिचरहरु प्रयोग गर्नुहोला त? एकपटक बिचार गर्नुहोस् ।

तपाईंको बजेट ५००० होस् या १०००००, नेपाली बजारमा सबै मुल्यका र सबै किसिमका स्मार्टफोन फोनहरु पाईन्छन । नयाँ र फ्लागसिप स्मार्टफोनहरु महँगो र धेरै सुविधा सम्पन्न हुने गर्दछन तर तपाईंलाई उक्त महँगो फोनमा भएका सबै कुराहरु काम नलाग्न सक्छ  ।

सायोमी, हुवावे, अप्पो आदि जस्ता चाइनिज कम्पनीले थोरै मुल्यमा पनि राम्रो र धेरै फिचर भएका स्मार्टफोनहरु बजारमा उपलब्ध गराएका छन् । तपाईंको आवश्यकता १५-२० हजारको स्मार्टफोनले नै पुरा गर्छ भने प्रयोग नहुने फिचरका लागि भनेर बढी पैसा खर्च गर्नु उचित नहुन सक्छ।

२. ओपरेटिङ्ग सिस्टम  (Operating System)
 
    आइफोन को सरलता कि एन्ड्रोइडको सहजता ?

तपाईं आज स्मार्टफोन खरिद गर्न जानुहुन्छ भने तपाईंसँग मुख्यत: २ वटा विकल्प छन् , आइ-ओएस (iOS) र एन्ड्रोइड(Android) । आइफोनमा आइ-ओएस हुन्छ भने बाँकी मुख्य कम्पनीका स्मार्टफोनहरुमा Android हुने गर्दछ । iOS को नयाँ संस्करण iOS 12 हो भने एन्ड्रोइड  को नयाँ संस्करण Android 9 (Pie) हो । एप्पलले आइफोन रिलिज भएको ४ बर्षसम्म सफ्टवेयर अपडेट दिने गर्दछ तर एन्ड्रोइड  मा भने अपडेट ढिलो प्रदान हुने र बजेट स्मार्टफोनहरुले अपडेट नै नपाउने समस्या छ । यो समस्यालाई चाहिँ गुगलले आफ्नो एन्ड्रोइड वान प्रोग्राम मार्फत समाधान गर्न खोज्दै छ |
     
आइफोन प्रयोग गर्न सजिलो तर खरिद गर्दा महँगो हुन्छ

“एन्ड्रोइडमा विकल्प धेरै छ र आफूले चाहे जस्तै स्मार्टफोन किन्न सकिन्छ


यदि तपाईंको बजेट औसतभन्दा माथि छ र तपाईंलाई भरपर्दो र धेरै टिक्ने स्मार्टफोन फोन चाहिएको छ भने निर्धक्क साथ आइफोन लिनुहोस् । तर यदि तपाईंलाई नयाँ र धेरै फिचरहरु चाहिएको छ र तपाईंलाई ढिलो अपडेटले फरक पर्दैन भने आफ्नो बजेट अनुकुल एन्ड्रोइड  फोन लिनु राम्रो हुन्छ ।

 

३. क्यामरा

    स्मार्टफोनको आगमनसँगै डिजिटल क्यामराहरु हराउदै गए र आज डिजिटल क्यामराभन्दा बढी स्मार्टफोनको क्यामराबाट फोटो खिचिन्छ । स्मार्टफोन खरिद गरेपछी तपाईंले फोटो खिच्ने र सेल्फी लिने सोच त पक्कै पनि बनाउनु भएको होला र याद राख्नुहोस्, फोटो राम्रो आउनका लागि तपाईंको फोनको क्यामरा राम्रो हुनुपर्छ , मेगापिक्सल धेरै भएर हुँदैन  ।  

मेगापिक्सलको पछाडि नलागौं !!!

मेगापिक्सल धेरै हुँदैमा फोटो राम्रो आउने होइन । फोटोको गुणस्तर क्यामराको लेन्स क्वालिटि, सेन्सर बनोट र सफ्टवेयरमा निर्भर हुन्छ । अत: स्मार्टफोन फोन किन्नु अगाडि नै क्यामरा क्वालिटि चेक जाचँ गरी लिनु राम्रो हुन्छ। सिंगल क्यामराभन्दा डबल क्यामरा भएको स्मार्टफोनले अलिक राम्रो तस्बिर खिच्न सक्ने र थप फिचर – जस्तै व्होके इफेक्ट, ब्लर आदि- हरु पनि हुने भएकाले यसको चर्चा बढ्दै गएको छ  | आज भोलि मिडरेन्ज स्मार्टफोनमा पनि दुईवटा क्यामरा भेटिन थालेको छ |

स्मार्टफोनको क्यामराले फोटो मात्र नभइ, भिडियो पनि खिच्दछ । भिडियोको गुणस्तर चाँही रिजोलुसनमा (Resolution) मापन गरिन्छ । मुख्यत स्मार्टफोन क्यामराहरुले 1080p भिडियो खिच्ने गर्छन तर नयाँ स्मार्टफोनहरुले त्यो भन्दा बढी रिजोलुसन, जस्तै 1440p, 2160p मा, भिडियो खिच्न सक्छन । कुनै कुनै प्रिमियम स्मार्टफोनले स्लो मोसन (Slow Motion) भिडियो पनि खिच्न सक्छ । यी सबै बिशेषता तपाईंलाई आवश्यक छ या छैन, यो चाँही तपाईंको आफ्नै रोजाइको बिषय हो ।

४. ब्याट्री

स्मार्टफोनको मज्जा स्मार्टफोन चलाउनुमा छ, दिन मै  पटक पटक चार्ज गर्नुमा होइन

तपाईंको स्मार्टफोनको कम्तीमा पनि एक दिन पुरै टिक्नुपर्छ । विहान एक पटक चार्ज गरिसके पछी फेरि मध्यदिनमै चार्ज गर्नुपर्ने खालको स्मार्टफोन बाट टाढा रहनुहोस् । स्मार्टफोनको ब्याट्री लाईफ ब्याट्रीको साइजमा मात्र निर्भर नभइ ओपरेटिङ्ग सिस्टम, डिस्प्ले क्वालिटी, हालै संचालनमा रहेको एप र थुप्रै अरु कारकहरुमा निर्भर हुन्छ । कुनै कुनै स्मार्टफोनको ब्याट्री निकाल्न पनि मिल्छ तर त्यस्तो स्मार्टफोन २०१६ यता लोप हुँदै गएकाछन् । त्यसैले स्मार्टफोन खरिद गर्नु अगाडि नै सो स्मार्टफोनको ब्याट्री लाईफ र ब्याट्री साइजको बारेमा बुझ्नुपर्छ ।

सामसंग ग्यालेक्सी एस ९ , वानप्लस 6T , हुवावे पी २० जस्ता स्मार्टफोनहरुले छिट्टै चार्ज हुने फिचर अर्थात क्विक चार्ज (Quick Charge) सपोर्ट गर्छन जसबाट स्मार्टफोन आधा घण्टामा ६०% सम्म चार्ज हुन्छ । एप्पल आइफोनमा भने फास्ट चार्जका लागि छुट्टै चार्जर किन्नु पर्ने हुन्छ | थुप्रै मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनमा पनि फास्ट चार्जको विशेषताहरु आएको छ |
    

५. स्टोरेज, मेमोरी र प्रोसेसर  

        मेमोरी कार्ड लाग्नेमा न्यूनतम ३२ GB र मेमोरी कार्ड नलाग्नेमा न्यूनतम ६४ GB आन्तरिक स्टोरेज भएको स्मार्टफोन  किन्नु उचित हुन्छ

स्टोरज भन्नाले स्मार्टफोनको भन्डारण क्षमतालाई जनाउछ । स्मार्टफोनको स्टोरज जति धेरै भयो तपाईंले तेती नै धेरै एप, गीत, भिडियो, गेम, फोटो आदी राख्न सक्नुहुन्छ। कुनै स्मार्टफोनमा मेमोरी कार्डबाट स्टोरेज बढाउन मिल्छ, कुनैमा मिल्दैन । सामसुङका धेरैजसो सबै फोनमा मेमोरी कार्ड हाल्न मिल्छ भने एप्पल र गूगलको कुनै पनि फोनमा मेमोरी कार्ड लाग्दैन । मेमोरी कार्ड नलाग्ने स्मार्टफोन खरिद गर्दा सुरु मै आफूलाई आवश्यक पर्ने जति स्टोरेज भएको मोडेल लिनु पर्छ। धेरै स्टोरेज भएको फोन केही हदसम्म महँगो पनि हुन्छ ।

        धेरै प्रयोगकर्तालाई स्मार्टफोनमा ३ GB र्‍याम (RAM) नै काफी छ तर बजारमा ८ GB र्‍याम भएका स्मार्टफोनहरु पनि उपलब्ध  छन्  ।

सिस्टम मेमोरी भन्नाले RAM लाई बुझिन्छ  । जति धेरै RAM , त्यती नै धेरै एपहरु ब्याकग्राउन्डमा स्मार्टफोनलाई स्लो नबनाइ चल्न सक्छ । आजको दिनमा ३ GB वा सो भन्दा बढी RAM भएको स्मार्टफोन किन्नु राम्रो हुन्छ ।

        प्रोसेसर स्मार्टफोनको मस्तिष्क हो  !!!

स्मार्टफोनको काम, चाहे भिडियो हेर्ने होस् या गेम खेल्ने, सबै प्रोसेसरले नै गर्दछ । फास्ट प्रोसेसर भएका स्मार्टफोनहरु महँगो हुन्छन् तर आज भोलीका बजेट स्मार्टफोनमा पनि धेरै राम्रो र फास्ट प्रोसेसर हुने गर्दछन् । सामसुङले आफ्नो स्मार्टफोनहरुमा Snapdragon र Exynos प्रोसेसर प्रयोग गर्दछ । हुवावेले चाँही आफ्नो स्मार्टफोनमा HiSilicon Kirin प्रयोग गर्छ भने अन्य कम्पनीले कि त Snapdragon कि त MediaTekको प्रोसेसरहरु प्रयोग गरेको पाईन्छ । राम्रो प्रोसेसरमा गेमहरु राम्रोसंग चल्छन् र धेरै पछिसम्म राम्रोसंग चलिरहन्छ | अहिलेको एन्ड्रोइड जगतमा सबैभन्दा अब्बल प्रोसेसर हो Snapdragon ८४५ | एप्पलले नयाँ आइफोनमा A12 Bionic प्रोसेसर प्रयोग गरेको छ ।
    

६. साइज र डिस्प्ले गुणस्तर  

    उचित साइज भएको स्मार्टफोन लिनु धेरै आवश्यक पर्छ !

हिजोआज सानो भन्नाले ५ इन्च वा कमको डिस्प्ले भएको स्मार्टफोनलाई मान्न सकिन्छ र ठूलो भन्नाले ५.५ इन्च भन्दा माथि । ठूलो साइजको स्मार्टफोनमा ठूलो ब्याट्री, केही थप फिचर अनि ठूलै डिस्प्ले हुन्छ तर सानो हात भएकालाई भने ठूलो साइजको स्मार्टफोन चलाउन अप्ठ्यारो हुन सक्छ । सानो साइजको स्मार्टफोन चलाउन र ह्यान्डल गर्न सहज हुन्छ तर ठूलो स्मार्टफोनको तुलनामा केहि फिचरहरु कटौदी गरिएको हुन सक्छ । डिस्प्ले ठूलो भए पनि बेजेल कम भएका कारणले आजभोलिका स्मार्टफोनहरु साना पनि भएका छन् |

        डिस्प्लेको क्वालिटीमा रिजोलुसनले ठूलो भूमिका खेल्छ !

हिजोआजका स्मार्टफोनहरुमा मुख्यत एच.डि. (HD, 720p) , फुल एच.डि. (FHD,1080p) र क्वाड एच.डि. (QHD,1440p) रिजोलुसन हुने गर्छ । डिस्प्ले रिजोलुसन जति धेरै भयो सो डिस्प्लेको गुण्स्तर त्यती नै राम्रो हुन्छ।

डिस्प्ले पनि एमोलेड (AMOLED) , TFT, IPS LCD, POLED आदि किसिमका हुन्छन । सबैका आफ्ना फाईदा र बेफाईदाहरु छन् । एमोलेड डिस्प्ले हेर्दामा राम्रो देखिन्छ र ब्याट्री पनि बचत  गर्छ तर यसमा धेरै  बर्न इन (Burn-in) समस्या देखिने गर्छ र यसले देखाउने रङ्गहरु प्राकृतिक हुँदैनन । धेरैजसो सस्तो स्मार्टफोनहरुमा TFT डिस्प्ले पाईन्छ र यिनीहरु एमोलेड जत्तिको राम्रा नभए पनि ब्याट्री बचत  गर्छ । IPS LCD हेर्दामा राम्रो हुन्छ र यसले देखाउने रङ्गहरु प्राकृतिक हुन्छन तर यसले  ब्याट्री चाँही अली बढी खपत गर्दछ ।

सामसुङले आफ्नो प्रिमियम स्मार्टफोनहरुमा AMOLED डिस्प्ले र बजेट स्मार्टफोनमा TFT डिस्प्ले प्रयोग गर्छ ।  आइफोन XR मा र सोभन्दा पहिलेका आइफोनमा IPS LCD डिस्प्ले छ । नयाँ आइफोन X र XS चाहिँ एमोलेड डिस्प्ले प्रयोग हुने पहिलो आइफोन हो ।  

निष्कर्ष:

        सबैभन्दा राम्रोको सट्टा तपाईंको आवश्यकता अनुसारको स्मार्टफोन किन्नु राम्रो ठहरिन्छ

माथि दिइएको सबै कुराहरु ख्याल गरेर तपाईंले खरिद गर्ने जुनकुनै स्मार्टफोनबाट तपाईं सन्तुष्ट हुनुहुनेछ । तर यस लगायत पनि अन्य थुप्रै साना-साना कुराहरुले असर गर्न सक्छ। जस्तै: वाएरलेस चार्जिङ्ग (Wireless Charging), दुई वटा क्यामरा (Dual Camera), वाटर प्रूफ (Water Proof/Resistant) , स्टेरिओ स्पीकर (Stereo Speakers) , हेडफोन ज्याक (Headphone Jack) आदि । यी सबै बिशेषता भएको स्मार्टफोन झन् राम्रो हुन्छन् ।

 

Tuesday, 5 March 2019

चुरोट रक्सी भन्दा गाजा बेस

गाँजाजन्य खाद्य, पेय र औषधिहरूको अध्ययन, अनुसन्धान र उत्पादन लगभग परिपक्व अवस्थामा पुगिसकेको छ। गाँजा खेती, प्रशोधन, विक्री-वितरण र उपभोगलाई कानुनी मान्यता दिने क्रम बढ्दैछ। गाँजा गैर–अपराधीकरण गर्नु राष्ट्रको हितमा होला भन्ने बहसले संसारका कुनाकाप्चामा उच्च महत्त्व पाइरहेको छ।

नेपालमा पनि यसलाई वैधानिक छुटसहित गैर–अपराधीकरणमार्फत खुला गर्दा हुने तात्कालिक र दूरगामी असरबारे चर्चा हुन थाल्नु स्वाभाविक हो।

विगतमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपालले संयुक्त राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गरेको थियो। राष्ट्रसंघको ‘नार्काेटिक्स कन्ट्रोल बोर्ड’ले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा राखेको छ। यसकारण नेपालले पनि सोही मान्यता हुबहु मान्दै ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ जारी गरी प्रतिबन्ध लगायो। त्यही प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैरकानुनी छन्।

त्यसो त नयाँ–नयाँ वैज्ञानिक अनुसन्धानका नतिजाले आज गाँजाप्रति विश्वबजारको दृष्टिकोण बदलिइसकेको छ। अमेरिका, स्वीटजरल्यान्ड, इटाली, मेक्सिको, इजरायल, क्यानडा, जमैका, थाइल्यान्ड, उरुग्वे, पेरु, स्पेन, दक्षिण अफ्रिका, नेदरल्यान्डस लगायत ३० भन्दा बढी राज्य-देशमा गाँजा कानुनी रुपमै उत्पादन र कारोबार हुन थालेको छ। छिमेकी राष्ट्र भारतमा समेत गाँजाबाट आयुर्वेदिक औषधि बनाउने तयारी छ।

हाम्रो ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र चरेस सबैलाई लागुऔषध किटान गरिएको छ। यहीँ गाँजा, धतुरो र भाङ लगायत लागूभागूलाई ‘शिवजीको बुटी’ मानिन्छ। शिवजीको प्रसाद रुपमा गाँजाभाङ शिवरात्रिमा सेवन गरिन्छ। यसबाहेक विभिन्न रोगमा गाँजाबाट औषधि बनाइन्थ्यो।

त्यसअनुसार पाका उमेरका आधाजसो नेपाली गम्भीर अपराधमा सहभागी बनेको करार गर्छ। उसो त कानुनी रुपमा जघन्य अपराध करार गरिए पनि उनीहरू गाँजा सेवन अपराध रहेको विश्वासै गर्दैनन्। मान्न पनि तयार छैनन्।

गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध छ। प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास गरेको छ।

गाँजाल‍े दिमागको चेतना अवस्था परिवर्तन गर्छ। यसको कारण गाँजामा पाइने मुख्य नशालु साइकोएक्टिभ रसायन ‘डेल्टा–९ टेट्रा–हाइड्रो–क्याना–बिनोल’ हो। यसलाई छोटकरीमा ‘टिएचसी’ भनिन्छ। गाँजामा सिबिडी रसायन पनि पाइन्छ। सिबिडी भने नशालु र साइकोएक्टिभ प्रकृतिको होइन।

गाँजाले मानिसको दिमागलाई छोटो समयका लागि लठ्ठाइदिन्छ। साथै यसले अल्मेन्जर जस्ता रोगमा दिमागका तन्तुहरू छियाछिया भएर सानोसानो हुँदै जाने क्रम पनि रोक्छ। गाँजाले दिमागको संरक्षण गरेको भेटिएपछि संसारको ध्यान यसतर्फ मोडिएको हो।

हाम्रो शरीरमा विशेष खुबी हुन्छ। दुखाइ कम गर्ने, वाकवाकी नियन्त्रण गर्ने, डिप्रेसन लगायत दिमागसँग सम्बन्धित समस्यामा शरीर आफैंले उपचार गर्ने प्रयास गर्छ। यसलाई शरीरको 'सेल्फ हिलिङ' प्रक्रिया भनिन्छ। यो उपचारक्रममा शरीरले एक किसिमको रसायन बनाउँछ र आवश्यक प्रक्रिया पूरा गर्छ। गाँजामा पाइने टिएचसी र उपचार प्रक्रियामा बन्ने रसायनको बनावट मिल्दोजुल्दो हुन्छ। यसकारण गाँजाले माथिका शारीरिक समस्या समाधान गर्न सघाउ पुर्याउँछ।

अति भोक लाग्ने, भतभत पोल्ने, सुन्निने, मर्किने, दुख्ने र रोगसँग जुध्ने प्रतिरोधात्मक शक्ति कमजोर हुँदा पनि शरीरको 'सेल्फ हिलिङ' प्रक्रियामा गाजाँमा पाइने तत्व प्रभावकारी हुन्छ।

हाम्रो शरीरिक गतिविधि सञ्चालन र नियन्त्रण गर्ने रसायन कम हुँदा चिन्ता, डिप्रेसन र मुड बिग्रिरहने लगायत समस्या हुन सक्छ। यस्तो अवस्थामा गाँजाले यो रसायन उत्पादनमा मद्दत गर्छ। त्यसैले यस किसिमका मानसिक समस्याका औषधि बनाउँदा गाँजा प्रयोग गरिन्छ।

हामीले खाना खाँदा, नशालु पदार्थ लिँदा, सम्भोग गर्दा, जुवा खेल्दा, हितैषीसँग भेट्दा, टाँसिदा वा भलाकुसारी गर्दा लगायत प्रिय गतिविधिमा संलग्न भइरहँदा आनन्दित, पुरस्कृत, रोमाञ्चित, आत्मविभोर र धन्य महशुस गराउने काम पनि एक प्रकारको रसायन 'डोपामिन' ले गर्छ। यो शरीरले आफैं उत्पादन गर्छ। शरीरले 'डोपामिन' बनाउने क्रममा गाँजा धेरै खाए मान्छे पूर्ण रूपमा लठ्ठिन्छ।

तर गाँजामा पाइने अरू तत्वले यसो गर्दैनन्।

हालसम्म गाँजामा हाम्रो शरीरमा प्रभाव पार्ने चार सयभन्दा धेरै तत्व भेटिएका छन्। यिनै तत्व र तिनका औषधिजन्यका साथै आनन्द अनुभूति दिन सक्ने जटिलताका कारण यो पाँच सयभन्दा धेरै प्रकारका रोगव्याधका ओखती र मनोरञ्जनका लागि नशालु पदार्थ बनेको हो।

कतिपय अवस्थामा गाँजाका विभिन्न रसायनको परस्पर विरोधी भूमिका समेत भेटिएको छ।

उदाहरण, गाँजाले भोक घटाउन पनि सक्छ। जगाउन पनि। यसमा पाइने दुई फरक तत्वले यी काम गर्छन्। ओखतीका रुपमा गाँजा प्रयोग गर्दा दुब्लाउनुपर्ने भए दुब्लाउने तत्व र मोटाउनुपर्ने भए मोटाउने तत्व हालिन्छ।

नेपालमा गाँजा परम्परागत रुपमा चुरोटजस्तो सल्काएर धुँवाको सर्को लिने चलन छ। तर गाँजा खुला गरेका देशमा यो इ–भ्याप, बिस्कुट, कुकिज, क्यान्डीका साथै खानासँगै पकाएर, चिया, जुसमा हालेर खाने क्रम बढेको छ। गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाइ शरीर मसाज गर्न पनि यसको उपयोग हुन थालेको छ। गाँजाको बियर, रक्सी समेत बन्न थालेको छ।

आयुर्वेदका अनुसार गाँजा शरीरको दर्दनाशक हो। पाचन गडबडी र झाडापखाला ठीक पार्ने, डिप्रेसन, छारेरोग लगायत धेरै मनोवैज्ञानिक रोग निदानमा यसले ओखतीको काम गर्छ। गाँजा सेवनले पुरुषमा शुक्रकिट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवास क्षमता बढाउने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने लगायत अब्बल गुण हुन्छन्। यसैकारण कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधि सूत्रमा गाँजा अटाएको छ। कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधि बनाउने तथ्य समेत भेटिएको छ।

नेपालमा गाँजाजन्य पदार्थ मिसाएर बनाइएका औषधि पनि लागुऔषधकै श्रेणीमा पर्छन्। त्यसको अर्थ गाँजा प्रयोग हुने ८० भन्दा बढी प्राचीन आयुर्वेदिक औषधि सेवन गरिरहेका बिरामी, छारेरोगको औषधि सेवन गर्दै गरेका बालबालिका, क्यान्सरको चरम दुखाइ घटाउने औषधि, गाँजाको तेलले मालिस लिइरहेका आफन्त, युद्ध वा यातनापूर्ण कारबाहीको दुःख कम गर्न गाँजा प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडित समेत लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अपराधी नै करार हुन्छन्।

आज विज्ञानसमेत आफ्नो परीक्षणबाट शताब्दियौंअघि आयुर्वेदले देखाएको बाटो सही रहेछ भन्ने नतिजामा पुगिसकेको छ। औषधि विज्ञानको नयाँ निचोडअनुसार गाँजा पाँच सयभन्दा बढी रोगमा पश्चिमा औषधि जस्तो नकारात्मक असर्रहित ओखती हुने प्रमाणित छ। विभिन्न रोग निदानमा संसारभर गाँजा र यसबाट निकालिएका पदार्थ उत्साहवर्द्धक रुपमा धमाधम प्रयोग भइरहेका छन्।

नेपालमा भने गाँजा अझै पनि हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा छ। रक्सी र सूर्तीलाई भने अम्मलअन्तर्गत राखी खुला बिक्री वितरणका लागि अनुमति छ। उता अनुसन्धानबाट भने रक्सी र सूर्तीभन्दा गाँजा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ।

इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सका अनुसार आनन्दका लागि सूर्ती खाने सिकारुमा ३२ प्रतिशत सूर्तीको अम्मली बनेको भेटियो। रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो। गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजाको वास्तविक अम्मली बन्ने गरेको पाइयो।

अन्य अनुसन्धानमा सूर्ती वा रक्सी धेरै खाएर मान्छेको मृत्यु भएको पाइए पनि गाँजा धेरै खाएर कसैको मृत्यु भएको रेकर्ड भेटिएन। उल्टै गाँजा प्रतिबन्ध लगाउँदा वास्तविक तथ्यका आधारमाभन्दा भावनात्मक प्रभावमा बहेर यसको असरबारे निकै बढाइचढाइ गरिएको यथार्थ बाहिरियो।

अनुसन्धानले गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सूर्ती र रक्सी लगायत अन्य अम्मलभन्दा अत्यन्त कम रहेको पनि प्रमाणित गरिदियो। गाँजा प्रयोगकर्ता रक्सीका अम्मलीजस्तो सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको पनि खासै भेटिएन। यथार्थमा आज रक्सी र सूर्तीभन्दा धेरै सुरक्षित प्रमाणित भएको छ गाँजा।

हामीकहाँ भने रक्सी र सूर्ती अपराध नियन्त्रण अभिभारा पाएको निकायकै कार्यालयमा आरामले चल्दै आएको छ। कम हानिकारक वस्तु सेवन अपराधीकरणमा र बढी हानिकारक अम्मलले पूर्ण छुट पाइरहनु विडम्बना हो।

आज पनि कति मान्छे हचुवामै नेपालजस्तो देशमा गाँजा, चरेस खुला गर्दा दुर्व्यसनी बढ्छ, बस्न लायकै रहँदैन समेत भन्न भ्याउँछन्। त्यस्ता दावीबारे गहिरिएर बुझ्न हामीले अन्तको अनुभव पुनरावलोकन गर्न जरुरी छ। संसारले आज अनुभवबाट निकालेको निचोड हो, गाँजा, चरेस, रक्सी, सूर्तीजस्ता अम्मल प्रयोगलाई गैरकानुनी घोषणा गरेर नियन्त्रण गर्ने नीतिले केवल कालोबजारी बढाउँछ।

रक्सी नियन्त्रण गरेका ठाउँ हेर्न सकिन्छ, त्यहाँ उत्पादन र ढुवानी मात्रै गैरकानुनी बन्यो। खानपिनमा नियन्त्रण हुन सकेन। यसले कालो बजारमा गुणस्तरहीन सामान भित्र्यायो। रक्सी पिउनु जोखिमपूर्ण बन्यो। विषालु रक्सी सेवनबाट मान्छे मरेका खबर आउन थाल्यो। कम उमेरका युवा धेरै संख्यामा रक्सीका अम्मली भेटिन थाले। समाजमा अपराध मौलाएर व्यावसायिकीकरण नै हुन थाल्यो।

गाँजा, चरेस उपभोगमा गरिएको अपराधीकरणको नियति पनि त्यस्तै भेटियो। समाजका दसौं हजार मान्छे लुकीलुकी गाँजा खाने अम्मली बने। किशोरकिशोरीको उल्लेखनीय संख्या उच्च जोखिमयुक्त लागुऔषध प्रयोगकर्ता बनेको भेटिन थाल्यो। गाँजा, चरेसको गुणस्तर यकिन गर्ने काम असम्भव बन्यो। किशोरकिशोरीहरू असुरक्षित बने। संगठित अपराध बढ्दै गयो।

अहिले यो फेरिएको छ।

गाँजा, चरेस सेवनलाई गैर–अपराधीकरण गरेर अमेरिकाका धेरैजसो राज्यमा कानुनी रुपमै तर नियन्त्रित तवरबाट गाँजा बिक्री खुला गरियो। लगत्तै यसका उत्पादनकर्ता, प्रशोधनकर्ता र बिक्रीकर्ताले राज्यले निर्धारण गरेका मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने भयो। तोकिएको विधि र कानुनी प्रक्रिया पूरा गर्दा सबैले चाहेका बेला सुरक्षित रूपमा गाँजा सेवन गर्नसक्ने अवस्था बन्यो। कालोबजारी गर्दा वा उमेर नपुगेकालाई बिक्री गर्दा आर्थिक लाभ खासै नहुने, उल्टो जोखिम हुने भएकाले लगभग अन्त्यजस्तै भयो। गाँजा सेवन अनुशासित र सुरक्षित बन्दै जाँदा किशोरकिशोरीको जीवन र भविष्य पनि सुरक्षित हुने देखियो। कालो बजारमा बगिरहेको ठूलो धनराशी राजस्वरूपमा जम्मा हुन थाल्यो। गाँजा कारोबारले मुलुकलाई लोभलाग्दो आय दिनसक्यो।

वैधानिक गरिएका अमेरिकी राज्यमा दुई वर्षभित्र गाँजा-चरेसका कारण हुने झैझगडा र अदालती मुद्दामामिला ८१ देखि ९६ प्रतिशतसम्म घटेको पाइएको छ। सेवनकर्तालाई प्रहरीले नसमात्ने हुँदा सुरक्षा खर्च उल्लेखनीय रूपमा कम भएको छ। गाँजा-चरेस कारोबार धेरैलाई उच्च आय दिने रोजगार क्षेत्र बनेको छ। वैधानिक गरिएपछि गाँजा-चरेस सेवन गर्ने उमेर पुगेका युवकयुवतीको संख्या पनि धेरैजसो राज्यमा घटेको छ।

एकाध राज्यमा भने पहिले जस्तै समान रहेको तथ्यांकले देखाउँछ। हालसम्म एउटा पनि राज्यमा गाँजा खुला गरिएपछि तथ्यांक बढेको भेटिएको छैन। अचम्म के भने, गाँजा, चरेस सेवनलाई पाँच वर्षअघि नै कानुनी मान्यता दिएका वासिङ्टन, कोलोराडोजस्ता राज्यमा रक्सी र अन्य जोखिमपूर्ण लागुपदार्थ प्रयोग उल्लेखनीय रुपमा घटेको तथ्यांक छ। गाँजा, चरेस खुला गरिएका राज्यमा सवारी दुर्घटना दर प्रतिबन्धित अन्य राज्यको भन्दा बढी पाइएको छैन।

त्यस्तै गाँजा, चरेस वैधानिक भएका मुलुकमा 'ओपोइड' नामक दुखाइ कम गर्ने औषधि धेरै भएर अस्पताल आउने बिरामी र मृत्यु हुनेको संख्या पनि २५ प्रतिशत कम भएको उत्साहजनक तथ्यांक छ। यसबाहेक राज्यले पाउने लाखौं डलर शिक्षा, स्वास्थ्य र जोखिमपूर्ण लागुपदार्थको समुचित नियन्त्रण र विकृति उपचारमा प्रयोग गर्न पाएको छ।

नेपालमा पनि दुखाइ कम गर्ने र आनन्द लिने लोभमा हेरोइन, मर्फिन लगायत हानिकारक लागुऔषध बढी खाएर ज्यान गुमाउनेहरू धेरै छन्।अनुसन्धानबाट प्राप्त वैज्ञानिक तथ्यले गाँजा यस्ता खतरनाक र हानिकारक लागुपर्दाथको लत छुटाउन दरिलो बाटो हुने पनि स्पष्ट पारेको छ।

नेपालको वातावरण गाँजा खेतीका निम्ति उपयुक्त छ। विदेशीले दुःख गरेर फलाउनुपरे पनि हामीकहाँ घरबाहिर जताततै हुन्छ। मौसम र ठाउँअनुसार उम्रने गाँजाको गुणस्तर फरक पाइएको छ। नेपाली गाँजाको रैथाने प्रजाति सेटिभा र इन्डिका उच्च गुणस्तरका मानिन्छ। यसैले नेपाल संसारका गाँजाका पारखीबीच प्रख्यात छ। नेपालमा गाँजाले कानुनी रुप पाउँदा यसले विश्व बजारमा उच्च मूल्य पाउनेमा कुनै दुविधा छैन।

नेपालमा अवैध रुपमा भित्रिने लागुऔषधबाट बर्सेनि लाखौं डलर बाहिर जाने अनुमान छ। पछिल्लो तथ्यांक अनुसार झन्डै दुई लाख हाराहारी दुर्व्यसनीमा ९२ हजार जतिमा कडा लागुऔषधको लत छ। यो संख्या बढिरहेको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार सन् २०१३ यता साढे १९ हजारभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन्। लागुऔषधका रुपमा हुने कारोबारमा गाँजा र चरेस सबभन्दा धेरै ८७ प्रतिशत छ।

प्रतिबन्धका बाबजुद पनि दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रूपन्देही, नवलपरासी, चितवन, सुर्खेत लगायत जिल्लामा व्यावसायिक रुपमै गाँजा खेती हुँदै आएको छ।

चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा उत्पादन हुने गरेको तथ्य भेटिएको छ। नेपाली कृषकले गाँजा खेती गर्न बीउ, मल र पेस्कीसमेत पाउने गरेका छन्। एक अनुमान अनुसार हाल नेपालबाट वार्षिक लगभग २० करोड डलर खुद्रा मूल्यको गाँजा र ३५ करोड डलर मूल्यको चरेस विश्वबजारमा प्रवेश गरिरहेको छ। एसियाबाट युरोप र अमेरिकामा तस्करी हुने ६ प्रतिशत गाँजा र चरेस नेपालकै भेटिन्छन्।

तर नेपाली उत्पादक र बिचौलियाको हातमा भने थोरै रकम मात्र पर्ने गरेको बुझिन्छ। नेपालमा गाँजाले कानुनी मान्यता पाउँदा अर्बौंको निकासी र आम्दानी गर्न सकिन्छ। यसका साथै अन्य लागुऔषधमा बाहिरिने पैसा कम हुँदै जान्छ।

सन् २०१७ मा ७ अर्ब ७० करोड डलर कारोबार हुँदै गरेको विश्वको गाँजा कारोबारको औसत वृद्धि ३७ प्रतिशत कायम हुँदै २०२३ सम्ममा ६५ अर्ब डलर पुग्ने अनुमान छ। विभिन्न स्रोतका रिपोर्टहरू केलाउँदा सात वर्षभित्रै संसारमा गाँजामा कुल बजार मूल्य १ खर्ब ९४ अर्ब डलर पुग्ने देखिन्छ।

त्यसैले पनि नेपालले वैधानिक रूपमा गाँजा खुला गर्न आफ्नो आन्तरिक कानुन संशोधन गर्नुपर्छ। अनि अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट गाँजाजन्य कारोबारका लागि छुट पाउने निर्णयमा पुगेको जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ। नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए पनि नेपालले भने गाँजाजन्य औषधिमा समेत बन्देज लगाउने गरी हस्ताक्षर गरेको छ।

महासन्धिबाट औपचारिक रूपले छुटकारा नलिँदा मुलुक नै लागुऔषधका लागि जोखिमपूर्ण कालोसूचीमा पर्नेछ। नार्कोटिक्स सन्धिमा हस्ताक्षर गरेका तर हाल गाँजाको वैधानिक उत्पादन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो नेपालले पनि पछ्याउनुपर्छ। हुन त अन्तर्राष्ट्रिय रुपमै नार्कोटिक ड्रग्सको सूचीबाट गाँजा हटाउन बहस पनि सुरु भइसकेको छ। सूचीबाट हट्नासाथ नेपाललाई आफ्नो आन्तरिक कानुन संशोधन गरी गाँजा कारोबार थाल्ने बाटो स्वतः खुल्छ।

(लेखक घिमिरे क्यानडा निवासी खाद्यवैज्ञानिक हुन् ।)
साभार :- सेतोपाटी

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out