Friday, 31 October 2014

सर्बोतम आहारा कुट (मह)


  सर्वोत्तम आहारा कुट !!!

================
मौरीले आफ्नो चाकामा जम्मा गरेको पराग (कुट)मा औषधीय गुण हुने भएकाले शताब्दीयौँदेखि यसको महत्व रहिआएको छ । कर्मी मौरीले भाले फूलबाट बनाउने कुट पोषणको भण्डार हो र यसको प्रयोगले हामीलाई कैयौँ रोगबाट बच्न मद्दत गर्दछ ।
कर्मी मौरीले कुट तयार पार्छन् । भाले फूलको परागकण लिएर आएपछि कर्मी मौरीले घारमा आफ्नो ¥याललगायतका तत्व मिसाएर कुट बनाउने जानकारी दिनुहुन्छ वरिष्ठ मौरी विशेषज्ञ डा. रत्न थापा । घारमा युवा मौरीको खानाका लागि कुट तयार पारिन्छ । वैज्ञानिक थापा भन्नुहुन्छ– कुट प्रकृतिले दिएको एक सर्वोत्तम पोषिलो आहारा हो, मानिसलाई चाहिने प्रायः सबै खालका पोषक तत्व यसमा पाइन्छ ।
डा. थापाले दिनुभएको जानकारी अनुसार कुटमा २२ प्रकारका एमिनो एसिड, २० देखि ४० प्रतिशत प्रोटिन, पाँच हजार प्रकारका एन्जाइम तथा बोसो पगाल्ने तत्व लेसिथिन १५ प्रतिशत हुन्छ । आधा जति प्रोटिन एमिनो एसिडको रूपमा हुने भएकाले शरीरले त्यसलाई तुरुन्तै उपयोग गर्छ । अर्थात् ती एमिनो एसिडलाई उपयोगमा ल्याउन शरीरको पाचन प्रक्रियाले काम गर्नु पर्दैन । भाले फूलबाट पराग सङ्कलन गर्नु सजिलो छैन । कर्मी मौरीले फूलमा आइपुगेपछि धूलोको रूपमा रहेको परागलाई त्यसबाट आफ्नो अगाडिको खुट्टा र बङ्गारामा जम्मा गर्छ । पराग सङ्कलन गर्न त्यसमा अलिकती मह पनि मौरीले लगाउँछ किनभने त्यसो नगरेमा घारमा फर्कने क्रममा धेरै जसो पराग खस्छ । मह र पराग सङ्कलन कार्य सकेर फर्कने क्रममा कर्मी मौरीले उड्दाउड्दै आफ्नो शरीरमा टाँसिएको परागलाई एकतत्र गर्न थाल्छ र दक्ष कारिगर सरह उसले सबै परागबाट एक सुनौलो रङको एक डल्लो तयार पार्छ ।
कुट प्रायः सुनौलो रङको हुने भए पनि फूल अनुसार त्यसको रङ हुने डा. थापाले जानकारी दिनुभएको छ । सबैभन्दा महत्वपूर्ण कुरा वैज्ञानिकले अहिलेसम्म प्रयोगशालामा कुट बनाउन सकेका छैनन् । मौरीबाट अप्रशोधित कुट लिएर त्यसबाट कृत्रिम कुट तयार पारी ज्ञात भएका सबै पोषक तत्व मिसाउँदा पनि वास्तविक कुटको गुण त्यसमा उत्पन्न गर्न वैज्ञानिक असफल भएका छन् । कुटका केही गुणको भेद अहिलेसम्म खोल्न सकिएको छैन । डा. थापा भन्नुहुन्छ– मौरीले केही रहस्यमय तत्व कुटमा मिसाउने गर्छ, त्यसैले त्यसलाई विशिष्ट बनाएको छ ।
मौरीले आफ्नो घारमा युवा मौरीलाई खुवाउन कुट ल्याउने भए पनि त्यसक्रममा उसले प्रकृतिको अर्कों महत्वपूर्ण  काम पनि गर्छ । वैज्ञानिक अनुसन्धान अनुसार पृथ्वीमा ८० प्रतिशत फूल फुल्ने वनस्पतिको निषेचन प्रक्रिया मौरीमा भर परेको छ । मौरीले एक फूलबाट अर्को फूलमा  मह र कुट लिएर जाँदा भाले र पोथी फूलबीच निषेचन गराउँछ ।
एक चम्चा कुट तयार पार्न एक कर्मी मौरीले दिनमा आठ घण्टाका दरले एक महिना कुट सङ्कलन काम गर्नु पर्दछ ।



उपचारमा कुटको चमत्कार:
   चिनियाँ उपचार पद्धतिमा कुटलाई शक्ति र पोषणको भण्डार मानिएको छ । संसारका अन्य संस्कृतिमा पनि कुटलाई उपचारका लागि उपयोग गर्ने चलन रहेको छ । आधुनिक चिकित्सा प्रणालीले समेत कुटको महत्व स्वीकारेको छ । कुटमा प्रोटिन, भिटामिन बी कम्प्लेक्सलगायतका भिटामिनहरू, एमिनो एसिड, फोलिक एसिड हुने भएकाले यसलाई डा. थापाले मानिसको स्वास्थ्यका लागि वरदान मान्नुभएको छ । कुटमा विकिरणविरुद्धको गुण हुने भएकाले क्यान्सरको उपचारमा पनि यो उपयोगी हुन्छ । अस्पतालमा हुर्केका इकोली, साल्मोनेलालगायतका शक्तिशाली व्याक्टेरियाको विकास कुटमा हुने तत्वले अवरुद्ध हुने प्रमाणित भएको छ । कुटमा व्याक्टेरिया विरोधी गुण हुन्छ, उच्च मात्रामा फाइबर र सेल्युलोज हुने भएकाले आन्द्राको संक्रमण भएको अवस्थामा कुट सर्वोत्तम खाना हुन्छ– डा. थापा भन्नुहुन्छ ।
चाकामा बच्चा मौरीलाई खुवाउनका लागि मौरीले कुट उत्पादन गर्ने भएकाले त्यसमा ठूलो मात्रामा पोषक तत्वहरू हुन्छन् । कुटमा भिटामिन र खनिज तत्वहरुको पर्याप्तताले बच्चा मौरीको विकासमा महत्पूर्ण योगदान पुग्ने गर्छ ।
यसअतिरिक्त कुटमा पाइने धेरै जसो भिटामिन र खनिज तत्वमा एन्टिअक्सिडेन्ट गुण हुने भएकाले हाम्रो प्रतिरक्षा प्रणाली सबल भएर क्यान्सरबाट जोगिन मद्दत पुग्छ ।
सन् २०११ मा दि जर्नल अफ एनिमल फिजियोलोजी एन्ड एनिमल न्युट्रिसनमा प्रकाशित एक अनुसन्धानको विवरणमा जनाइएअनुसार भाले खरायोलाई कुट खुवाएर परीक्षण गर्दा उसमा प्रजनन क्षमता वृद्धि भएको पाइएको थियो । साथै खरायोको तौलमा पनि सुधार आएको र आयु पनि बढेको सो जर्नलमा उल्लेख गरिएको छ । इजिप्टको दामनआवर विश्वविद्यालयको अनुसन्धान टोलीले गरेको सो परीक्षणको निष्कर्षमा भनिएको छ– मौरीको कुटले पशुमा प्रजनन क्षमता बढाउन सक्ने भएकाले मानिसमा यस नतिजालाई जोडेर हेर्न सकिन्छ । कुटमा ¥युटिन नामको तत्व पनि पाइने भएकाले रक्तसंचार प्रणालीका लागि यो महत्वपूर्ण हुनसक्छ । ठूला रक्तनली र सूक्ष्म रक्तनलीलाई सबल बनाउने एक प्रकारको वायोफ्लाभोनोइड हो ¥युटिन । रक्तथेक्ला बन्नबाट पनि रोक्ने गुण पनि ¥युटिनमा हुन्छ ।
वैज्ञानिक अनुसन्धानबाट खुले अनुसार हानिकारक कोलेस्टेरोल (एलडीएल) घटाउने र स्वस्थ कोलेस्टेरोल (एचडीएल) बढाउने गुण हुन्छ । रगतमा रातो रक्तकोष पनि कुटले वृद्धि गराउँछ ।
क्यान्सर रोगमाथि कुटको प्रयोग बारेमा धेरै अनुसन्धान भएका छन् । पाठेघरको क्यान्सर भएका २५ जना महिलामा भियना विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानमा कुट खुवाइएका महिलाको शरीरमा क्यान्सरसँग लड्ने प्रतिरक्षा प्रणालीका कोषको संख्या तुरुन्तै बढेको पाइएको थियो । केमोथेरापीले उपचार हुँदै गरेका ती महिलाको शरीर संक्रमणसँग लड्न सक्षम मात्र भएन रगतमा रातो रक्तकोषको मात्रा पनि वृद्धि भयो ।
डा. थापाले तोरीको पूmलबाट बनाइएको कुट प्रोस्टेट क्यान्सरको उपचारमा प्रभावकारी पाइएको जानकारी दिनुभएको छ । चीनको झेजियाङ विश्वविद्यालयले सन् २००७ मा प्रोस्टेट क्यान्सरका बिरामीलाई तोरीको कुट खुवाउनुपर्ने सुझाव दिएको थियो । 
प्रजनन समस्यामा कुटको महत्व
  कुटले डिम्बासयलाई सक्रिय पार्दछ । यसले अण्डको निषेचन क्षमता पनि बढाएर महिलाको गर्भवती हुने सम्भावना बढाउने भनाइ डा. थापाको छ । पुरुषमा वीर्य र शुक्राणु उत्पादन कुटले बढाउने जानकारी उहाँले दिनुभएको छ ।

खेलाडीलाई फाइदा:



ब्रिटिस स्पोर्टस काउन्सिलले आफ्नो अनुसन्धानको आधारमा खेलाडीलाई कुट खान सल्लाह दिएको छ । नियमित कुट खाने खेलाडीको शक्ति लगभग ५० प्रतिशतले वृद्धि हुने काउन्सिलले जनाएको छ ।
सन् १९७२ को ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने फिनल्यान्डको ट्रयाक एन्ड फिल्ड टिमका प्रशिक्षक एन्ती लानान्कीले भन्नुभएको थियो– हाम्रा अधिकाँश खेलाडीले कुट खान्छन्, हाम्रो अध्ययनले कुटका कारण उनीहरूको प्रदर्शनमा धेरै सुधार भएको देखाएको छ ।
शारीरिक सुगठनका ज्ञाता तथा पोषणविद् जर्मनीका फ्रान्सिस ह्युबरले पनि मांसपेशी बनाउन कुटलाई पृथ्वीको सर्वश्रेष्ठ आहारा मान्नुभएको छ । बोसो पगाल्ने तत्व लेसिथिन हुने भएकाले शारीरिक तौल घटाउन चाहनेहरूका लागि कुट उपयुक्त खाद्यवस्तु हो । डा. थापाका अनुसार लेसिथिनले विशेषगरी पेटको बोसो पगाल्छ । यसैकारणले हानिकारक कालेस्टेरोल एलडीएल पनि घट्छ । जुन मुटुका लागि निकै फाइदाजनक हुन्छ ।
पेटको घाउ, पाचन समस्या, कलेजोको रोग, मिर्गौलाको रोग, पिसाब थैलीको समस्या, जोर्नी दुख्ने समस्या पनि कुट उपयोगी आहारा हुन्छ । कुट खाएमा छालाको सुख्खापना हराउँछ– डा. थापा भन्नुहुन्छ ।
आफ्नो दैनिक आहारामा कुटलाई समावेश गर्ने मानिसको छाला चम्किलो र सफा हुन्छ । यसले छालामा बढ्यौलीको लक्षण पनि कम गर्दछ ।
मानव शरीरलाई अत्यन्त हीतकारी कुट उपभोग गर्नु पहिले केही पक्षमा ध्यान दिनु जरुरी रहेको बताउनु हुँदै डा. थापाले घाँटी खस्खसाउने समस्या (एलर्जी) भएका र इन्सुलिन लिने मधुमेहका रोगीले कुट खान नहुने जानकारी दिनुभएको छ ।

Wednesday, 15 October 2014

नयाँ चाँदिको गध्दीमा बस्नचाहानीहरुले संघियता माग


सैद्धान्तिक, वैचारिक र ऐतिहासिक तर्क पेश गर्नुपूर्व केही सामाजिक चिन्तनको नेपाली-मनोभाव उठाउन चाहन्छु। किनभने समुदायको सद्भाव केवल सिद्धान्त र विचारको लम्बेतान बहसबाट पुष्टि गर्न सकिँदैन, न समुदायले देखाइरहेको सद्भावभन्दा चार कदम अगाडि दौडेर प्रगतिशील होइन्छ। हिजोआज संविधानसभा र सडकमा पहिचानको बहस जो छ- जात ,भाषा र धर्म।
वास्तवमा जात, भाषा र धर्म मानिसले बनाएको हो। पृथिबी मानिसले बनाएको होइन। के नेपाल पृथिवी होइन? यदि नेपाल पृथिबीको टुक्रा हो भने यसको हकदार पनि पृथिबीमा आश्रय लिइरहेका सबै बासिन्दा हुन्।
एउटा बाहुनको छोरीलाई मतवालीले बिहे गरोस्, किराँतकी नातिनी पनि नेवारसँग पोइल आउन्, जो भइरहेको पनि छ। अनि के नेपाली समुदाय मिश्रित जातको भएन अन्तरजातीय बिहेलाई नेपाल सरकारको प्रोत्साहन त छँदै छ। के नेपालमा जातीय विभेदसम्बन्धी कानुन छैन? समान अधिकार सुनिश्चित गर्न समानुपातिक सहभागिताको सिद्धान्त लागू भएको छैन? दलित, जनजाति, अपाङ्ग, महिला, घाइते आदि समूहलाई राज्यको हरेक निकायमा राहत दरबन्दी वा छुट छैन? लोक सेवा आयोगमा जनजाति कोटाको रुपमा छुट्टै उम्मेद्वार माग आउँछ कि आउँदैन? अनि एकल जातीय पहिचानको मान्यता के हो? के हामी पुरातन आदिबासीकै मान्यतामा रहने हो? उसो भए नाक, कान, जिब्रो छेडेर माला पोते र रिङ लगाउँ न त, हुँदैन? किन कोट पाइन्ट र टाइ लगाउने? खादा र लँगौटी मात्र लगाउन न त, हुँदैन?
भाषा र धर्मको मान्यता के हो? हाम्रो भाषा गाँउसहरको बोर्डिङ स्कुल मा कैद छ। हाम्रा छोराछोरीहरु आफ्नै आमासँग पनि नेपालीमा बोल्न नजान्ने भैसके। डिनर,लन्च भन्ने सबै आमाहरुले नबुझेर घरमै दोभासे राख्नुपर्ने स्थिति छ। यसमा विदेश रहेका नेपाली परिवारका नानीबाबुको भाषा रूपान्तरणबारे त भनीसाध्य नै छैन। फेरि भाषा भन्ने कुरा राज्यको हाउगुजी पनि होइन। सामान्य संस्थानमार्फत यसको जगेर्ना तथा वृद्धि विकास गर्न सकिन्छ। आजको युगमा धर्मबारे अनावश्यक बहस गर्ने मानिसको मगज ठिक हुदैन। यो बिश्वब्यापी मान्यता पनि हो। नेपालको सन्दर्भमा प्राचीन हिन्दू र बुद्ध धर्मबाहेक अन्य सबै नवआयातीत हुन्।
अब म केही सैद्धान्तिक, वैचारिक र ऐतिहासिक तर्क पेश गर्न चाहन्छु।
इसापूर्व ३२८ मा जन्मिएका प्लेटोले भन्नुभएको थियो- 'प्रकृतिको हिसाबले सबै मानिस समान छन्, एउटै पृथिवीको हावापानी र माटोको भरमा बाँच्छन्। त्यसैले राजा होस् कि गरिब मानिस सृष्टिकर्ताको नजरमा सबै बराबर छन्।' यद्यपि प्लेटोको सैद्धान्तिक विचारमा राजनीतिक मान्यता घुसेको देखिँदैन। सृष्टिकर्ताको नजरमा राजा र गरिब सबै उस्तै हैसियतमा रहे पनि समुदायको विकासक्रमसँगै मानिसहरुबीच विभेद र मतभेद हुँदै आइरहेकोमा दुई मत छैन।
फेरि पनि सत्य के हो भने ती विभेद र मतभेद सृष्टिको नियमभन्दा चार कदम अगाडि दौडन सक्दैनन्। पुँजी र त्यसको बजारमा प्रतिस्पर्धाको नियम छ। मानिस स्वतM प्रतिस्पर्धी छ। उपयोगिताको नियम र सामाजिक सन्तुलनकै निम्ति मानिसमा धनी र गरिबबीच कुनै पनि वादले एकरुपता कायम गराउन सक्दैन।
यहाँनेर विभेदकारी समुदायद्वारा उत्पन्न जातीय हिंसामा परेका मानिस र जनजातिको मानवअधिकार सम्बन्धमा बाइबलको राजनीतिक आदर्शसमेत उल्लेख गर्न उचित लाग्यो- 'बहुमतले अल्पमतमाथि अन्याय नगरोस् तर हाम्रो समाजमा उल्टो भएको छ। बहुमतले देखाइरहेको सद्भावमाथि अल्पमतद्वारा आक्रमणको प्रयास हुँदैछ।'
भगवान गौतम बुद्धद्वारासमेत प्रतिपादन भएको शान्ति सेवा र मानवीयताको सिद्धान्त नै जातीय विभेदभन्दा माथिको सोच स्वीकार्न थियो। दुखी, रोगी र लाशको तीनवटा जीबनचक्रमा मानवीयता मात्र थियो। जातीयताको गन्ध पटक्कै थिएन। काला र गोरा जातिको असमान रंगविभेदको मुक्ति दाता नेल्सन मण्डेलाले भन्नुभएको थियो- 'म जातिबादलाई घृणा गर्दछु। जातिवाद मानवता विरोधी बर्बरतापूर्ण अपराध हो।'
तर नेपालमा ठीक उल्टो भएको छ।  बहुमतको सद्भावमाथि अल्पमतको आक्रमण भइरहेको छ। सानो उदाहरणका लागि-नेपाली राजनीतिका चतूर खेलाडी प्रचण्ड अहिले आन्दोलनको रुपमा उभिएका छन्। उनीमात्र होइन उनीसँग ससाना दलसमेत बहुमतले गरेको दिशा निर्देशमा अगाडि बढ्न चाहँदैनन्। आफू अल्पमतमा हुँदाखेरि सहमति खोज्ने र बहुमतमा हुँदा चाहिँ चुनाव नै उपयुक्त ठान्ने प्रचण्डपथ बुझ्न अब उनको इतिहास खोतल्नु परेन। 
तितो सत्य के हो भने प्रचण्डको पहिचानको आन्दोलन भनेको "तैँले कुटेजस्तो गर म रोए जस्तो गर्छु" भनेजस्तै हो। उनले पहिचान प्राप्तिको निम्ति आन्दोलन गर्न कुन हैसियतमा मिल्छ?
कम्युनिष्ट विचारधारा भनेको जातीय संघर्ष हो कि वर्ग संघर्ष?
प्लेटो, बाइबल र बुद्धले देखाएको बाटो जे सुकै भए पनि हाम्रा पुर्खाले पनि आआफ्नो मान्यता स्थापित गरेर नेपाललाई दुनियाँको गुलामी बन्नबाट जोगाए। कम्तीमा हामी भारतजस्तो ब्रिटेनको अधीनमा बस्नु परेन। कम्तीमा पाकिस्तानजस्तो अलग्गिएर हाम्रो तराईको मुटु पहाडसँग अलग्गिन खोजेन। हाम्रो भुगोल एक ढिक्का थियो। 
हामी गरिब त अझै छौँ तर हाम्रो जमिनको निम्ति कहिँ-कतै इमान बेच्न परेको छैन। जे होस्- छरिएर रहेको ससाना राज्य र रजौटालाई एकीकरण गर्ने काम हाम्रो पुर्खाबाट भयो। विभेद र मतभेदका बीच पनि नेपाल "अखण्ड" बनाउने सवालमा हाम्रा पुर्खा चुकेनन्। हामीसँग हाम्रै मौलिक मान्यता स्थापित भयो- "मेरा साना दुखले आर्ज्याको नेपाल होइन" अनि नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो।
यही भावना तोडमोड गर्दै नेपालमा रहेका विभिन्न जाति र समुदायको बुझाइ के हो भने नेपाल एकीकरणपश्चात हाम्रा हकअधिकार खोसियो। हामीलाई बिटुलो बनाइयो। हाम्रा पहिचान लुकाइयो। हाम्रा राज्यहरुको अन्त्य गरियो। भावनात्मक रुपबाट हेर्दा यो सही पनि देखिन्छ। तर हामीले तत्कालीन परिवेश बिश्लेषण गरेर मात्रै नेपाल-एकीकरणको साँचो अर्थमा मध्यनजर गर्न सक्छौँ। 
तत्कालीन समयमा नेपाल एकीकरण नभएको भए के हुन्थ्यो? अत्याधुनिक हातहतियारले सुसज्जित अंग्रेज फौजमाथि हाम्रा पुर्खाले ढुंगा र खुँड़ाखुकुरीको भरमा किन लडाइँ जिते? हारेको भए के हुन्थ्यो? भोटसँगको तीनवटा लडाइँ अनि चीनसँगको एउटा लडाइँमात्र होइन, पंजाबी सेनासँग काँगडामा भएको लडाइँ केको निम्ति थियो? के नेपाल देश अहिलेसम्म रहन्थ्यो? सिक्किम, दार्जिलिङ हामीसँग किन छैनन्?
हामीले तत्कालीन समयको विश्व राजनीति र युद्धको भारीलाई किन नबुझ्ने? आफ्नो मात्रै ढिपी कसेर हुन्छ? परिस्थिति अनुरुप चल्नु पर्दैन? मुर्ख्याइँ गरेर हुन्छ?
हाम्रा पुर्खाको युगमा दुनियाँको गति बेग्लै थियो। अमेरिकी महाद्विप अन्तर्गत हालको महाशक्ति राष्ट्र् अमेरिकादेखि युरोप, अफ्रिकी र एसियाका अधिकांश शक्तिशाली मुलुकलाई अंग्रेजहरुले आफ्नो पाइतालामुनि कुल्चिसकेको थियो। भारत भुगोल र जनसंख्याको आधारमा नेपालभन्दा निकै ठूलो छ। अंग्रेजले भारतलाई अधीनमा राख्यो। नेपाल एकीकरण भन्ने शब्दले पृथ्वीनारायण शाहभन्दा अगाडि पनि कुनै बेला नेपाल भन्ने सिंगो राष्ट्र थियो र कालान्तरमा त्यो टुक्रियो अनि पृथ्वीनारायणले फेरि सिंगो बनाए भन्ने अर्थ लाग्छ। 
तत्कालीन विश्व शक्ति अंग्रेजहरुको लागि हात्तीको मुखमा जीराजस्तो पनि हुँदैन थियो। तर हाम्रा पुर्खा कमिला बने। अंग्रेजका हात्तीलाई टोकीटोकी मारे। नेपालको सिंगो भुभागमा ती पाइला टेक्न सकेनन्। त्यस अवस्थामा अंग्रेजहरुलाई छरिएर रहेका नेपालका राज्यलाई कब्जा गर्न तुलनात्मक रूपमा पृथ्वीनारायणले विस्तार गरेपछिको सिंगो राज्यलाई कब्जा गर्नुभन्दा धेरै खर्च र समय लाग्थ्यो। सिंगो नेपाललाई कब्जा गर्न सिंगो रोटी खाएजस्तो सजिलो हुन्थ्यो भने धेरै राज्यहरुलाई कब्जा गर्न कनिका टिपेझैँ झन्झटिलो पनि हुन्थ्यो। के यो अर्थमा नेपाल एकीकरण सही छैन?
अमेरिकी महाद्वीपको हालको महाशक्ति राष्ट्र अमेरिकादेखि युरोपका अधिकांश शक्तिशाली राष्ट्रहरुमात्र होइन। अफ्रिकी मुलुक अनि जापान र भारतजस्ता एसियाका शक्तिशाली राष्ट्रहरुलाई पनि अंग्रेजहरुले आफ्नो पाइतलामुनि राखिसकेका थिए। नेपालभन्दा कैयौ गुणा ठूलो र कैयौ गुणा धेरै जनसंख्या भएको भारतलाई सजिलै परास्त गर्नसक्ने अंग्रेजहरुले भारतको कुनै एउटा प्रान्तभन्दा कयौँ गुणा सानो र थोरै जनसंख्या भएको नेपाललाई सीधा नजरले हेर्न पनि सकेन। यसमा एकताको बल नै प्रधान छ। फुटेर होइन जुटेर मात्र केही गर्न सकिन्छ भन्ने सन्देश मुख्य छ।  के आजको पुस्ताले हाम्रो इतिहासबाट पाठ सिक्नु पर्दैन?
प्रसंग बदलौँ, 
गोर्खाका तत्कालीन राजा नरभुपाल शाहले सुनेका थिए पाटनका राजा चाँदीको आसनमा बस्छन् भन्ने कुरा। आफ्नो माटो पोतिएको राजगद्दी देखेर नरभुपाललाई नरमाइलो 
लाग्यो। उनलाई पनि पाटनको राजाले जस्तै एउटा चाँदीको आसन बनाएर बस्न पाए हुँदो हो भन्ने लाग्यो। उनले कुटिल चाल रचे। पृथ्वीनारायण शाहलाई उक्ति सिकाए। अन्तत उनी चाँदीको आसनमा मात्र बस्न सफल भएनन् उनले देखाएको बाटोमा हिँडेर पृथ्वीनारायण शाहले सिंगो नेपालको निर्माण गरे।
अहिले नवयुग छ। सिंहदरबारमा चाँदीको आसन छ कि छैन त्यो त मलाई थाहा छैन। यत्ति थाहा छ नरभुपाल शाहको सिको गर्दै चाँदीको आसनमा बस्न पहिचान गुमेका मानिस लालायित छन्। उहिलेका नरभुपाल नेपाल एकीकरणमा चिन्ता गर्थे। अहिलेका नरभुपाल नेपाललाई कसरी टुक्राउने भन्नेमा चिन्ता गर्छन्। यस किसिमको प्रयासलाई नयाँ बाइसे-चौबिसे र पुरानो एकीकरण भन्न मिल्छ।
बाइसे-चौबिसे राज्यमा धेरै दरबारहरु थिए। धेरै राजा र तिनका भारदार थिए। पहाडमा दरबारहरु थिए। त्यहाँ अनेक जातका राजा थिए। अहिले त्यही मानसिकता हाबी भएको छ। जातीय पार्टी र तिनका नेताहरुमा नेपाल एकीकरण नै सही थिएन भन्ने बुझाइ छ। तिनको एकीकरण पश्चात जातिहरुको अधिकार खोसियो भन्ने आम धारणा छ। इतिहासको कथनी पढेर इतिहास पुनरावृत्ति गराउन चाहन्छन्। पहिचान खोसियो राज्यमा पहुँच पुगेन भन्नु त बहाना मात्र हो। नयाँ राजारजौटा र भारदारको निर्माण गर्नु तिनको चाहना हो।
हाम्रो देशमा सयभन्दा बढी जातजातिहरु छन्। लिम्बुको मातृभाषा एउटा मात्र छैन। अनेक छन्। मगरको पनि अनेक प्रकार का भाषा छ। हाम्रो देशमा त जातभित्र पनि अर्को जात छ । भाषाभित्र पनि अर्को भाषा छ। त्यस कारण पनि संघीयता यस देशमा लागू हुन सक्दैन। लागू गर्न खोजियो भने देश जातीय र भौगोलिक रुपमा टुक्रिन्छ। रुवाण्डामा हुतु र तुत्सी दुईवटा जात थिए। यी दुई जातमा अन्तरजातीय विवाह गर्ने प्रचलन थियो। जब त्यहाँ जातीय र संघीयता राज्य लागू गरियो। लोग्ने र स्वास्नीबीच कसले कसलाई छिटो मार्ने सक्ने भन्ने होड बाजी चल्यो । जातीय समूहबीच दंगा भयो। सुडान प्राकृतिक श्रोत र साधनको अभावमा गरिब भएको होइन। साम्प्रदायिकता नै मुख्य हो।
अर्को उदाहरण- सन १९६३ मा नाइजेरियालाई ३ वटा संघीय राज्य बनाइयो तर आज नाइजेरिया ३६ टुक्रामा विभाजित छ। त्यहाँ जातीय काटमार र भोकमरी छ। यो नै संघीयताले देश टुक्रन्छ भन्ने बलियो आधार हो।
जातीय नामाकरणको राज्यद्वारा देश ढिलोचाँडो टुक्रिन्छ। बिखन्डनको बाटो समात्न पुग्छ। बिश्वमा नेपालभन्दा कयौँ साना मुलुक छन् तर ती साना मुलुकको दाँया र बाँया ठूलो मुलुकहरु छैनन्। त्यसैले ती साना मुलुक ठूला छन्। हाम्रो छिमेकीको रुपमा बिशाल भारत र चीन छन्। त्यसैले हामी सचेत बन्नुको विकल्प छैन। राज्य विखन्डनको अभियानमा लागेका नयाँ राजाहरुलाई पुर्खाको पाप लाग्नेछ। 
लेखक:- दिल निसानी मगर हुन् सेतो पार्टीमा मिति २०७१/०६/ २९ मा प्रकाशित भएको लेख समसामाहिक र चित्तोबुझ्दो भएकोले यता पोस्ट गरेको हँु ।

Saturday, 11 October 2014

तिमी पनि नेपाली म पनि नेपाली हामी नेपाली

लेखक :- अब्दुस मियाँ

      यतिखेर समृद्धि राईको म चाहिँ नेपाली बोलको गीत चर्चाको शिखरमा छ। दु:खको कुरो, चर्चा जसरी हुनुपर्थ्यो, त्यसरी नभई अर्कै तरिकाबाट भएको छ। सोसल मिडियामा केही मानिसहरु भन्दैछन्, ‘यसले ठूलो राष्ट्रियताको कुरा गरेर जातजातिको महत्वलाई कम आाकलन गरेको छ।’ विरोध गर्नेहरुले बिर्सिएका छन् कि समृद्धि आफैं जनजाति समुदायकी हुन्। उनको गीतले राष्ट्रिय अखण्डताको वकालत गर्ने सुन्दर प्रयत्न गरेको भनेर प्रशंसा गर्नेहरु उत्तिकै भएको युट्युबमा चुलिएको हिटले पनि दर्शाउँछ।
हुन त माथिका दुवै कुरा त्यति महत्वपूर्ण होइनन्। सोसल मिडियामा आएका कुरा पनि नाजायज होइनन्, किनकि ‘लोकतान्त्रिक’ मुलुकमा यी सामान्य हुन्। मानिसहरुले बोल्न, मनभित्र रहेको ऐंठन फुकाल्न मज्जैसँग पाउनुपर्छ। त्यसमाथि यो नयाँ नेपाल निर्माणको जग बसाल्ने बेला त झन् त्यसको स्वागत नै हुनुपर्छ। मेरो प्रश्न एउटै हो, के राष्ट्रियता जातीय मुद्दाको तानातान र लुछाचुँडीले मात्रै बलियो हुने हो त? हरेक कुरामा जात, धर्मभन्दा माथि उठ्न नसकी बिषयलाई ‘सेन्सेसनल’ (संवेदनशील) बनाउँदा संविधानमा केही बलिया धारा त थपिएलान्, आरक्षणमा केही प्रतिशत हिस्सा बढी त होला तर हामीमा नेपाली हुनुको आपसी भावना दिनप्रतिदिन कमजोर हुनेछ।
जसले जे भने पनि एउटा सत्य के हो भने, हामी नेपाललाई हृदयदेखि नै माया गर्छौँ। नेपाली हुनुमा हामी सबैलाई उत्तिकै गर्व छ। हिमालमा जन्मेको शेर्पाले नेपाललाई जति प्रेम गर्छ, तराईमा जन्मेको थारुले पनि त्यति नै निष्ठाका साथ नेपाललाई प्रेम गर्छ। त्यसैले त आज नेपाल छ, अनि हामी नेपाली छौं। नेपाल आमाको काखमा हुर्किएका हरेकले आफ्नो हृदयमा नेपाललाई सजाएकै छ। अनि त आज पनि ‘‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’’ भनेर मख्ख पर्छौँ हामी।
 समृद्धिको ‘म चाहिँ नेपाली’ गीतले धेरैको हृदयमा मिठो स्पर्श गरेको छ। नगरोस् पनि कसरी गीतका प्रत्येक शब्दले हामीलाई एक अर्कासँग अझ नजिक ल्याउने प्रयास गरेको छ। सद्भावना, समझदारी अनि एकताको भावनाले हामीलाई बलियो बनाउने कुरा नराम्रो कहिले पो छ र?
केही मानिसहरुले गीतको भावलाई अलि भिन्न तरिकाले बुझेका छन्। गीतले जातीय आन्दोलनको मर्म नबुझेको भनेपछि मैले गीतलाई दशौं पटक सुनेँ। त्यसो किन पनि आवश्यक थियो भने गीतको भिडियोमा केही ठाउँमा म पनि देखिएको छु। तर, मलाई त हरेकपटक गीतले नेपाली हुनुको गर्व नै महसुस गराएको छ।
म स्वयं मुस्लिम परिवारमा जन्मेहुर्केको व्यक्ति हुँ। मेरा धेरै मुसलमान साथीहरु छन् अनि तीभन्दा बढी अन्य धर्ममा आस्था राख्नेहरु। हुन त ‘ह्वाट इज योर रिलिजियन इज अ रङ कोइश्चन’ भन्ने मान्यता राख्ने म कुनै पनि धर्म अनि जात जातिबीच पूर्वाग्रह राख्दिन। मेरा औँलामा गन्न सकिने थोरै मुस्लिम साथीहरुले सुनाएजस्तो आजका दिनसम्म कहिल्यै मैले राख्ने धार्मिक आस्था वा मान्ने संस्कारका कारण कुनै असामान्य व्यवहार भोग्नुपरेको छैन। न त कहिल्यै कुनै हिन्दु, बौद्ध, ईसाई वा अन्य धार्मिक आस्था राख्ने मित्रहरुप्रति मैले कुनै किसिमको गलत व्यवहार नै गरेको छु। म ईदमा अन्य धर्म मान्ने साथीहरुलाई घरमा बोलाउछु र उनीहरु दशैँ–तिहार, छठ अनि अन्य पर्वमा मलाई निम्तो गर्छन्। उनीहरु आएका छन्। म पनि सङ्कोचै नमानी गएको छु। बरु समाजमा अहिले जसरी जात र धर्मका कुरा उठेका छन्, मलाई डर लाग्न थालेको छ यस्तो परिवेश पछिसम्म नरहला कि भनेर।
नेपाल सुन्दर हुनुको एउटा कारण हामीमा भएको बिविधता पनि हो। हाम्रो बेग्लै धर्म, भाषा, शैली अनि जातीय पहिचान छ। बिविधतालाई हामीले स्वीकार्नु, अनि एक अर्कालाई सम्मान गर्नु बुद्धिमानी हो भनेर मैले यो लेखबाट कसैलाई भनिराख्नुपर्ने कुरा होइन। जातीय सद्भावलाई कायम राखे राष्ट्रियता अझ मजबुत हुन्छ भन्ने म राम्ररी बुझ्दछु। आजको समयमा हाम्रो राष्ट्रिय परिचय र राष्ट्रप्रेमको महत्व मैले पनि बुझेको छु। समृद्धि राईले पनि यो कुरा राम्ररी बुझेर नै यस गीतको परिकल्पना गरेको हुनुपर्छ भन्ने मेरो बुझाई हो।
‘म चाहिँ नेपाली’ भन्दै गर्दा नेपाली हुनुको गर्व झल्किन्छ। पहिला नेपाली, अनि नेपाली हुनुको परिचय मेरा लागि जात, भात, वर्ग, लिङ्ग वा अन्य कुनै परिचय भन्दामाथि छ भन्नु यो गीतको तात्पर्य हो। सानातिना कुरामा नअल्झी समग्र समाज र देशका लागि सोच्ने हो भने कुरा गलत होइन। गीतमा कुनै जात वा समाजलाई धक्का दिने प्रसङ्ग उल्लेख पनि त छैन।
के हिमाली, के पहाडी अनि के तराईबासी, राष्ट्रप्रेम हामी सबैमा उत्तिकै छ। कहिले लेख रचना, कहिले गीत संगीत अनि कहिले अन्य कुनै बाटोबाट, राष्ट्रप्रेम झल्काउन हामी पछि पर्दैनौं। नामको अन्त्यमा नेपाली जोडेर होस् वा ‘आई लभ नेपाल’ भन्ने टी–सर्ट लगाएर होस्, नेपाली हुनुको गर्व हामी प्रष्ट्याउन चाहन्छौं। केही साथीहरुले ‘वाक फर नेपाल’ भन्दै त केहिले ‘राष्ट्र पहिले’ भनेर अभियान नै चलाइरहेका छन्। सबैको सोच अनि प्रयास एउटै छ, नेपालीमा एकता ल्याउने। अनि यि प्रयासहरुको एउटा सानो अंश, “म चाहीँ नेपाली’’ नामक गीत।
गीत संगीत यसै पनि भावनात्मक हुन्छन्। यिनको विश्लेषण सतही होइन भावनात्मक हुनुपर्छ। भाषा, धर्म अनि संस्कृतिप्रतिको लगाव हामीमा हुनु पनि स्वभाविक हो। स्वभाविक के पनि हो भने, हामी यि सवै भूमिकाभन्दा माथि नेपाली हौँ। नेपाली हुनुमा हामी गर्व गर्छौँ अनि गर्नुपर्छ पनि। गीतमा पोखिएको भाव पनि आखिर यहि नै हो। शब्दकै जालोमा झुण्डिने हो भने पनि, गीतले ‘तिमी नेपाली होइनौ, म चाहीं नेपाली’ भनेको छैन, ‘तिमि को हौ थाहा भएन, म चाहीं नेपाली’ भनेको छ।
यति भन्दै गर्दा हाम्रो भेषभुषा, धर्म, संस्कृति अनि मौलिक मान्यताको कुनै मूल्य छैन भन्नु मेरो तात्पर्य कदापि होइन। नेपाली, नेपालमै काम गर्ने र नेपालकै भलाईका लागि सोच्ने म अनि मजस्तै सम्पूर्ण युवाले देशको बिविधता र संस्कृतिलाई त्यत्तिकै महत्व दिएर माया गरेका छन्। तर यि सब कुरा राष्टियताभन्दा ठूला हुन् भन्नेहरुसित भने मरो बिचार पटक्कै मिल्दैन। फरक मत राख्नेहरु प्रति मेरो सहानुभुति छ।
हाम्रो नाम, थर, रुपरङ्ग, धर्म, संस्कृति एक छैनन्, तसर्थ हामी एक होइनौं भन्नु कहाँको समझदारी हो ? राष्ट्रियता भन्ने चिज मनमा हुन्छ रुप रङ र जातभातमा होइन्। नेपाल आमाको एउटै काखमा मिलेर बस्नु, नेपाली भनेर पहिचान बोक्नुले के हामीलाई एक बनाएको छैन र ? आपसी मेलमिलाप र समझदारीमा रहेर सिङ्गो परिचयमा गर्व गरौँ भन्ने कुरामा प्रश्न उठाइनु एउटा सर्वसाधारण नेपालीका हैसियतले मलाई रत्तिभर चित्त बुझेन। महाकवि देवकोटाको वाणी याद आयो, ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।’
प्रसंगै नबुझी ‘तिमीमात्र नेपाली ? हामीचाहीँ होईन?’ भनेर सोध्नेले खै गीत ध्यान दिएर सुनेको? एक सज्जनले लेखेछन्, ‘तिमी को हौ थाहा छैन् भनेर कसलाई सोधेको होला ?’ गीतको १ मिनेटमै भनेको छ त– ‘जातभात छुट्याउनेलाई तिमी आई भन्ने गर, तिमी को हौ थाहा छैन, म चाहीँ नेपाली।’ १ मिनेट गीत सुन्ने धैर्यता र सुनेर बुझ्ने प्रयासै नगरी कलम चलाउने सज्जनलाई म के भनौँ खै ?
जातीय सद्भाव, धार्मिक मुल्य अनि मान्यताजस्ता विषय निकै संवेदनशील हुन्। यिनको आडमा लुकेर अनावश्यक होहल्ला मच्चाउनु कतिसम्म सही हो ? लेख्नकै लागि लेखेर, अनि स्वर मच्चाउनकै लागि बोल्नु ठीक होला र ? राष्ट्रियतामा शंका ‘म नेपाली हुँ’ भनेर भन्नेहरुमा होईन बरु अरुले हो भन्दै गर्दा ‘ईन्फेरिटी कम्प्लेक्स’ दर्शाउनेहरुमा देख्छु म।
जातीय पहिचान बोक्नु गलत हुँदै होईन। तर, जातीय पहिचानलाई नै सबैकुरा मान्नु सही हो र ? के राष्ट्रिय पहिचानको कुनै मुल्य छैन ?
समय, सन्दर्भ अनि सोचमा बिविधता आउँदा गीतले भनेजस्दै गरेर समता अनि समानताका बारेमा बिश्लषण नगरेको नबुझिएला। तर, फरक दृष्टिकोण र सकारात्मक भावनावाट नियाल्दा गीतको स्वरुप कस्तो छ भनेर सबैले एकपल्ट फेरी सुन्नुपर्ला। सरोज कार्की लेख्छन्, ‘गीत अनि कविता भावनाले बन्ने हो। लेखकको भावनासँग पाठक श्रोताको भावना मेल खान्छ नै भन्ने हुदैन तर शब्द र भावनालाई अतिरन्जित पारेर विश्लेषण गरिदिँदा त्यसले अर्कै प्रभाव पारिदिन्छ, एउटा अनावश्यक अनि नकारात्मक प्रभाव।’
जातभात, संस्कृति सबै मानिसले बनाएका कुरा हुन्। तर भावना भन्ने कुरा कुनै ‘कन्स्ट्रक्सन’ भएको चिज होइन। यो हृदयमा आफैं पलाउँछ। र, सबैभन्दा महत्वपूर्ण त्यही भावना जोड्नु हो जसले बल्ल राष्ट्रियता बलियो बनाउँछ। अनि बल्ल स्वभाविक रुपमा आपसी प्रेम, सम्मान र मर्म बुझ्न सकिन्छ। विविधतापूर्ण भूमिका हामीबीच आपसी भावना बलियोसँग जोड्ने त्यही कडी हो, हामी नेपाली हुनुको गौरव पनि। मैले बुझेको समृद्धि राईको गीत त्यही हो।

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out