Tuesday, 15 September 2015

के पढ्नी ? किन पढ्ने कसरी पढ्ने ?


  • आहुति-
एउटा प्रश्न छः अध्ययन केलाई भन्ने? बास्तविक ज्ञानचाहिँ मानिसको जीवनमा हुने कुरा हो। जीवन नै ज्ञानको श्रोत हो। जीवन व्यतित गर्नका निम्ति मान्छेले मान्छेसँग तथा प्रकृतिसँग गर्ने संघर्ष र सहकार्यका क्रममा नै ज्ञान वा अनुभूति जन्मिने कुरा रहेछन्। त्यसको संश्लेषित रुपचाहिँ फेरि व्यक्तिहरुले आफूले जति पाउँछन्, त्यसलाई पुस्तकमा लेख्ने कुरा रहेछ। त्यसैले अध्ययन पुस्तकको पनि जरुरी छ तर त्योभन्दा बढी जीवनको अध्ययन महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ।

अध्ययन र लेखन


जीवनको अध्ययन भनेको के? जीवनको अध्ययन भन्नाले समाजका अन्तरविरोधहरुको अध्ययन, मानिस र मानिसबीचको अन्तरविरोध, वर्ग र वर्गबीचको अन्तरविरोध, रुचीहरुबीचको अन्तरविरोध र स्वार्थहरुबीचको अन्तरविरोध। यी यावत अन्तरविरोधहरुको अध्ययन गर्नुचाहिँ प्राथमिक हो भन्ने म ठान्छु। त्यसपछि त्यसलाई संश्लेषित गर्ने प्रकृया हो पुस्तक।












यदि मान्छेले जीवनको अध्ययन वा समाजको अध्ययन गर्दैन भने पुस्तकले उसलाई जतापनि लग्दिन सक्छ। जस्तो कि एउटा पुस्तकमा शून्यवादका बारेमा पढ्यो। बास्तविक मानव समाज आशावादिताका साथ बाँचिराखेको छ, त्यो आशावादिताले मान्छेलाई कल्पनाशील बनाएको छ, त्यो कल्पनाशीलताले मानिसलाई नयाँ नयाँ प्रयोगहरुमा लगिरहेको छ, र उसले नयाँ नयाँ खोज र जीवनलाई सुगम बनाउने यात्रा थालेको छ। जीवनको त्यो पाटोचाहिँ अध्ययन नगर्ने तर शून्यवादको प्राज्ञिक व्याख्यामात्र अध्ययन गर्यो भने के हुन्छ?

शून्यवाद भनेको त समाजको अध्ययनबाट एउटा पाटो मान्छेको जीवनमा त्यो छ वा त्यसरी पनि हेर्न मिल्छ भनेर समाजका खास विद्वानहरुलाई लागेर लेखेको कुरा हो। तर शून्यवादमा आधारित पुस्तकमात्र मान्छेले पढ्यो भने एक त त्यो समाज र मानव जातिको समग्र प्रवृत्तिसँग ठ्याक्कै नमिल्ने हुन्छ। अर्को उसको पनि प्रगति रोकिन्छ। 

कलाकृति वा सैद्धान्तिक रचनाहरु वा दार्शनिक रचनाहरु अध्ययन गर्नुपर्छ, त्यसमा विवाद भएन। सँगसँगै अझ महत्वपूर्ण के भने मानिसहरुको जीवन र समाजको अध्ययन गर्नुपर्छ। त्यो चाहिँ उसले प्राप्त गर्ने एकप्रकारको कसी जस्तो हुन्छ- पुस्तकहरुलाई पनि जाँच्ने। 

पुस्तक कसरी पढ्ने?

सुरुसुरुमा त हातमा जे पर्छ त्यो पढ्नु राम्रो हो। तर पछि किताबहरुले नै बन्धनमा राख्ने स्थितिबाट मुक्त हुनुपर्छ। बजारमा एउटा किताब आयो, त्यो पढ्यो। अर्को किताव आयो, त्यो पनि पढ्यो। त्यसो भयो भने तपाईँको विशिष्टता केहीमा पनि रहँदैन। सबैभन्दा पहिला अध्ययनको बानी विकास गर्नका निम्ति र विविध क्षेत्रको पनि सामान्य ज्ञानलाई विकास गर्नका निम्ति सबै कुरा केही न केही पढ्नु ठिकै छ। तर पढ्ने बानी विकास भैसकेपछि आफ्नो खास रुचीको क्षेत्रमा केन्द्रित हुन जरुरी छ। अरुचाहिँ उसलाई सन्दर्भमात्र हुन्छन् भ्याएको बेला पढ्ने।

नत्र यहाँ मान्छेले जे पनि पढ्न थाले। नपढ्नुभन्दा त पढ्नु राम्रो हो तर जे पनि पढेपछि त जे पनि हुन्छ नि मान्छे। जे पनि भएको मान्छे त काम छैन। पढ्ने बानी विकास हुन थालेको छ तर पाठक आफ्नो रुची जेमा छ त्यो विषयमा केन्द्रित हुनुपर्छ। त्यो भयो भने गुणस्तरीय पाठक जन्मिन्छन्। अथवा चिन्तक प्रवृत्ति भएका मान्छेहरु जन्मिन्छन्। बौद्धिकहरु जन्मिन्छन्। नत्र बौद्धिकहरु होइन बुद्धिविलाश गर्नेहरुको बर्चस्व हुन्छ। हुँदाहुँदा भोलि चियापसलमा पुस्तकका बारेमा छलफल हुन्छ भनेर पढेर जाने चलन हुन थाल्यो। आफूलाई थाहा नभएको विषयमा त जसले कुरा गरे पनि सुने भैहाल्यो नि। यसलाई अहिलेदेखि नै सच्याउन जरुरी छ। नत्र विषयगत प्राधिकार बौद्धिकहरु नजन्मिने खतरा रहन्छ। सबै कुरा पढ्ने टापटिपेहरुको बाहुल्यता हुन्छ। यसरी चिन्तन संस्कृतिको विकास हुँदैन।

नेपालको पाठ्यक्रममा अधिकांश कमसल खालका रचना राखिएको छ। त्यसैले गुणस्तरीय रचना बाहिरै पढ्नुपर्ने हुन्छ। तर पढ्ने के भन्नुभन्दा पहिले आफ्ना विषय छुट्याउनुपर्छ। चुनिएका चिजहरुबाट पढाइ सुरु गर्दा फाइदा हुन्छ नत्र झिनामसिना कुराहरुबाट सुरु गर्दा त्यसैमा अल्मलिने र आफ्नो सौन्दर्य, विश्लेषण, चेतनाको तह पनि त्यस्तै बन्ने खतरा हुन्छ। चुनिएका रुचनाबाट सुरु गर्यो भने त्यसले दृष्टिकोण निर्माणमा पनि सघाउँछ।

अन्तरविरोधको अध्ययन

सामाजिक अन्तरविरोधको अध्ययन गर्न कतै टाढा जान पर्दैन। मानिस जुन समाजमा बसिरहेको छ, उसले त्यो समाजलाई आद्दोपान्त पढ्ने प्रयत्न गर्यो भने धेरै कुरा बुझिन्छ। जस्तो कि हामी हरेक दिन खाना खाइरहेका छौँ। तर हामी त्यो खानाको समग्र प्रकृयाबारे छलफल गरिरहेका हुँदैनौँ। सोचिराखेका हुँदैनौँ।  त्यहाँ केही अन्नहरु आउँछन्। सागपातहरु आउँछन्। केही गेडागुडीहरु आउलान्। वा अलि महँगो खाना खानेहरुलाई त्यो भन्दा बढी पनि आउलान्। त्यो निर्माणको प्रकृया कहाँ छ? त्यो खाना आउँछ कहाँबाट? त्यसको पछाडि किसानहरु छन्। किसानहरुबाट बजारसम्म ल्याउने केही दलालहरु छन्। नेपाली झर्रो भाषामा फौबन्जार भन्थे पहिला। त्यसपछि फौबन्जारले खाएर ल्याएपछि डिपोमा खानेहरु छन्। त्यसपछि खुद्राबजारमा ल्याएर खानेहरु छन्। खानेकुराको बारेमा मात्रै पनि आद्दोपान्त धोपान्त खोतल्न थाल्नुभयो भने समाज कहाँ छ र समाजमा को लुटिइरहेको छ र कसले लुटिराख्या छ भन्ने चित्र देखिन्छ। यसका लागि कुनै ठूलो पुस्तक पढ्नुपरेन नि। यो एउटा उदाहरणमात्र हो। त्यसैले समाज वा जीवनको अध्ययन भनेको एक प्रकारले चिन्तन संस्कृतिमा बाँच्ने भनेको हो। 

अध्ययन अर्थात चिन्तन संस्कृति

हाम्रो नेपाली समाज वा भनौँ पूर्वीय समाज चिन्तनको संस्कृति आधारभूत रुपमा निषेध गरिएको समाज हो। यहाँ धेरै मानिसहरुलाई चिन्तन गर्ने छुट थिएन। निश्चित मान्छेहरुलाई मात्र छुट थियो। पढ्नेलेख्ने पनि निश्चित मानिसहरुलाई छुट थियो। त्यसको कोपभाजनमा परेर सिंगो समाज नै चिन्तन नगर्ने अथवा नसोच्ने भयो। बरु दैनन्दिन वैचारिक सहजक्रियामात्र गर्ने भयो। बिहान उठ्यो, नुहाइधुवाइ गर्यो, खाना पकायो, खायो, दैनिकी चलायो। बनिबनाउ फ्रेमभित्रको जिन्दगीमा चिन्तन हुँदैन। समाजको अध्ययन गर्ने, समाजका अन्तरविरोधहरुको अध्ययन गर्ने भनेको त्यसमाथि चिन्तन गर्न सुरु गर्ने भनेको हो। चिन्तन गर्ने भनेको तीनवटा कुरा गर्ने हो।

एउटा, जे छ त्यो ठिक छ कि छैन। दोस्रो, ठिक छ भने परिमार्जन के जरुरी छ वा बेठिक छ भने भने त्यसलाई अन्त्य गर्न के के जरुरी छ। तेस्रो कुरा, परिमार्जन गरे पनि अन्त्य गरे पनि त्यसमा नपुग कुरा के छ। यी तीनवटा कुरा नगर्नु भनेको बनिबनाउ एउटा फ्रेम वा चौकोसभित्र वैचारिक सहजक्रिया गर्नुमात्र हो। बिहान उठ्यो, पुजा गर्यो। किन गरेको पनि थाहा छैन। यसको विकल्प केही छ कि भनेर सोच्नु पनि छैन। बस्, उठ्नु छ र पुजा गर्नु छ। पुजा नगरे छोराछोरीलाई गाली गर्नु छ। पुजा गरिसकेपछि आनन्दित हुनु छ। त्यसले उसलाई अगाडि लगेन।

व्यवस्थाले एउटा निश्चित फ्रेम तयार पारेको हुन्छ, त्यसमाथि प्रश्न नगर्ने, जे भैराखेको छ, ठिक छ कि बेठिक छ? ठिक छ भने के यसमा परिमार्जन जरुरी छ र बेठिक छ भने यसलाई कसरी हटाउने वा यतिले पनि नपुगे नयाँ कुरा कसरी ल्याउने? त्यस विषयमा चिन्तन नै हुँदैन। अवतारसिंह पासको शब्दमा भन्ने हो भने यो सबैभन्दा खरनाक हुन्छः घरसे अफिस जाना, अफिससे घर आना। यो वैचारिक सहजक्रिया भयो, चिन्तनप्रकृया भएन। त्यसैले समाजलाई अध्ययन गर्ने, समाजलाई बुझ्ने भनेको चिन्तन प्रकृयामा जाने भनेको हो। हरचिजको बारेमा, आफ्नै बारेमा, आफूले यसअघि सोचेको विषयमा, यसअघि गरेको विषयमा सबै चिजको बारेमा आफ्नो क्षमताले भ्याएजति त्यसमाथिको प्रतिप्रश्नहरु प्रतिवादहरु जन्माउँछ भने त्यो अध्ययन भयो। नत्र अध्ययन भएन। नत्र अध्ययन नभइकन एकले अर्कोलाई दिएको प्राविधिक तालिम जस्तो भयो। तालिम भनेको एउटा सीप अर्कोलाई दिने हो, अध्ययन होइन। समाजमा अहिले वैचारिक सहजक्रिया भैरहेको छ, तालिमहरु चलिरहेका छन् तर चिन्तन भैरहेको छैन। यसरी समाज अघि बढ्न सक्दैन। 

निषेध सोच्ने परम्पराको

हिन्दु समाजमा ज्ञानको काम गर्न निश्चित खलकलाईमात्र छुट्याइयो। या त जोगीहरुलाई छुट्याइयो, या त ब्राम्हणहरुलाई। उनीहरुको जनसंख्या त एकदम कम थियो। त्यो समाजको सानो हिस्सा थियो। तर त्यसलाई मात्र बौद्धिक काम गर्न छुट्याइयो। बौद्धिक काम गर्ने छुट जसलाई भयो, त्यसको ठूलो पंक्ति फेरि पुरेत्याइँमा लाग्यो। पुरेत्याइँ गर्ने भनेको त सोच्ने काम होइन। जे छ त्यो भन्ने हो। गरुण पुराण भन्ने हो तर त्यसमा प्रश्न गर्न पाइँदैन। उसले उत्तर पनि दिन परेन। त्यसैले त्यसको ठूलो हिस्सा व्यवसायिकतातिर लागेर स्वर्ग र नर्कको कुरा गर्ने, मानिसहरुको अनुष्ठान र पुजा गर्दिनेतिर लाग्यो।

एउटा त्यसको शाखा चिन्तन गर्नेहरु अर्थात चिन्तकको रुपमा रहे। ऋषिहरु। तर त्यो थोरै भयो। बहुसंख्यक हिन्दु समाजको जनताले त्यतिबेलाको प्राज्ञिक ज्ञान सुन्न नै पाएन। भाग लिन पाउने त कुरै भएन। न त उनीहरुले पढ्न नै पाए। जीवनका चिजहरुलाई संश्लेषण गर्न प्राज्ञिक क्षेत्रमा जान पाउनुपर्ने थियो। न उनीहरु त्यहाँ जान पाउने। न त त्यो चिज पनि उनीहरुकहाँ आइपुग्ने। जनसंख्याको विशाल भाग निश्चित तोकिएका वैचारिक सहजक्रिया गर्न बाध्य भयो। फलानोले यसो गर्ने भन्यो, त्यति गर्यो। सिंगो समाज सोच्ने परम्परातिर निषेध भयो। अहिले पनि एउटा बच्चाले प्रश्न उठायो भने किन बोल्या भन्छौँ। महिलाले बोल्यो, जान्ने हुनुपर्ने भन्यो। त्यही कुरा समाजमा बिस्तारित हुन्छ। पञ्चायती बस्छ, गाउँ सभा बस्छ। त्यहा महिलालाई जान दिइन्न। बच्चालाई जान दिइन्न। बुढापाकालाई जान दिइन्न। फेरि जातपात आउँछ. त्यही कुरा पनि तल्लो भनिएको जातले भन्यो भने भएन। राम्रै कुरा भए पनि भएन। समग्र हिन्दु समाजमा वैचारिक अन्तर्क्रियालाई नै निषेध गरियो। चिन्तन परम्परालाई नै निषेध गरियो। जसको कारणले गर्दा हाम्रो समाजमा चिन्तन गर्ने मान्छे असाध्य कम छन्। चिन्तन गर्ने समय नै छैन।

जो मान्छे सोचेर कुरा गर्न थाल्छ त्यो समाजका पहिलेका नियमसँग धेरै कुरा नमिल्ने हुन्छ। अनि त्यसलाई बिग्रेको मान्छे भन्दिन्यो। उसको बाउले यत्रो सम्पत्ति कमाएको थियो, छोरा चाहिँ बिग्रेर ! एसएलसीमा फर्स्ट डिभिजन ल्याएको थियो, आइएस्सीमा फेल भयो ! किन त्यस्तो भयो भन्नेमा चाहिँ कसैलाई चिन्ता छैन। ऊ मान्छे हो, केही सोचले ऊ अघि बढेको हुन सक्छ, ऊ असफल पनि हुन सक्छ। सबै मान्छे सफल हुँदैनन् नि। त्यसैले हिन्दु समाजभित्र रहेको विशिष्टप्रकारको जात तहगत आधारी सामन्तवादले सोच्ने परम्परामा निकै ठूलो समस्या उत्पन्न गरेको छ। त्यसको प्रभाव र असर हामी अहिलेसम्म पनि भोगिरहेका छौँ।

पुस्तक चाहिन्छ तर जीवनको अध्ययन, समाजका अन्तरविरोधहरुको अध्ययनबाट कटेर पुस्तकतिरमात्र गयो भने त्यसले समस्याको समाधान गर्देन। पुस्तक भनेको के हो? पुस्तक लोकगीत त होइन। लोकगीत भनेको हजारौँ वर्षदेखि मानिसहरुले स्वीकृत गरेको गीत हो। बरु त्यसलाई मजाले सुन्न मिल्छ। तर पुस्तक व्यक्तिहरुका विचार हुन्। व्यक्तिहरुले समाजबाट जे बुझे, त्यसलाई उनीहरुले आफ्नो ढंगले ब्याख्या गरेका हुन्। त्यो सबै ठिक हुन्छ भन्ने छैन। त्यसैले समाज अध्ययन नगरीकन पुस्तकमात्र अध्ययन गर्यो भने त ऊ गलत ठाउँमा पुग्छ। 

(रविराज बरालसँगको कुराकानीमा आधारित)
- See more at: http://www.pahilopost.com/content/-7685.html#sthash.SMiiRX0n.dpuf
 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out