Monday, 29 November 2021

कम्पनीको आम्दानी र हिसाब किताब

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापन हुने सबै कम्पनीको मूल उद्देश्य नाफा आर्जन हो । मुनाफा वितरण नगर्ने कम्पनीको पनि उद्देश्य नाफा आर्जन नै हुन्छ । यस्ता कम्पनीको पूँजी नहुने हुँदा नाफा वितरण गर्दैनन् । हरेक कम्पनीको आम्दानी मूलतः दुई प्रकारको हुन्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत बैंक तथा वित्त, बीमा (जीवन र निर्जीवन), जलविद्युत्, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार, लगानी र अन्य समूहमा सूचीकृत सबै कम्पनी हुन् । लगानी समूहमा सूचीकृत नागरिक लगानी कोष पनि विशेष प्रकारको कम्पनी नै हो । म्युचुअल फन्ड कम्पनीको परिभाषामा पर्दैन । यस्ता फन्ड कम्पनी वा नागरिक लगानी कोष जस्ता विशेष प्रकारका कम्पनीले प्रवद्र्धन गरेका आयवृद्धि योजना हुन् । विशेष कानूनद्वारा स्थापित संस्थाको पनि आम्दानी दुई प्रकारकै हुन्छन् । दुई प्रकारको आम्दानीमध्ये उद्देश्यअनुसारको गतिविधिबाट प्राप्त आम्दानी बढी महत्त्वपूर्ण हुन्छ ।

कम्पनीले आफ्नो मूल उद्देश्यअनुसार गर्ने आम्दानीलाई मुख्य वा व्यापारिक वा सञ्चालन आम्दानी भनिन्छ । सञ्चालन आम्दानीको अंकले कम्पनी आफ्नो लक्षित उद्देश्यमा कति केन्द्रीकृत छ भन्ने देखाउँछ ।

कम्पनीको हिसाब किताब
कम्पनी स्थापना गर्दा कुन वा के व्यापार (कारोबार) गर्ने भन्ने कुरा र उक्त उद्देश्य पूरा गर्न सकिने कार्य कम्पनीको मूल कानून प्रवन्धपत्रमा उल्लेख हुन्छ । कम्पनीले प्रबन्धपत्रमा उल्लिखित कार्य गरेर गर्ने आम्दानीको हिसाबकिताब प्रचलित कानूनबमोजिम राख्नुपर्छ । कम्पनी ऐन, २०६३ दफा १०८(१) मा कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नुपर्ने तथा दफा १०८(२) मा यसरी राखिने हिसाब दोहोरो लेखाप्रणालीमा आधारित, कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्टरूपमा प्रतिबिम्बित हुने गरी प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्ट्यान्डर्ड) र यस ऐनबमोजिम पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्थाअनुरूप राख्नु पर्नेछ भनेको छ । प्रचलित लेखामानअनुसार कम्पनीको समस्त हिसाबकिताब राखिन्छ । यसमा कम्पनीको आम्दानी र खर्च दुवैको हिसाबकिताब राखिन्छ । आयको हिसाबकिताब राख्ने खातालाई नाफानोक्सान हिसाब खाता भनिन्छ ।

आयव्यय हिसाबको अंग नाफानोक्सान हिसाब खाताबाट खुद नाफाको अंक देखिन्छ । यस्तो खुद नाफाको पनि बाँडफाँट हुन्छ । नाफाको बाँडफाँट गर्दा कम्पनी ऐन, २०६३ को दफा १८२(६) आकर्षित हुन्छ । यो व्यवस्था नियमन हुने र नहुने दुवै कम्पनीको लागि लागू हुन्छ । दफा १८२(६) बमोजिम कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गरिसकेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ । प्रतिवन्धात्मक वाक्यांश बैंक र बीमाजस्ता नियमन हुने व्यावसायिक निकायका लागि गरिएको व्यवस्था हो । आर्जित नाफा बाँडफाँट गरेपछि लाभांशबाहेकको रकम वासलातको तत्तत् शीर्षकमा सारिन्छ ।

कम्पनीको सम्पत्ति र दायित्वको हिसाबकिताब राख्ने खातालाई वासलात भनिन्छ । वासलातमा कम्पनीको सम्पत्ति र दायित्वको विवरण देखिन्छ । वासलातको एक खण्डमा सम्पत्ति र अर्को खण्डमा दायित्वको हिसाब राखिएको हुन्छ । दोहोरो लेखाप्रणालीमा आधारित हिसाबकिताब राखिने हुँदा वासलातमा सम्पत्ति र दायित्व बराबर हुन्छ । पूँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडा आदिलाई सम्पत्ति वा दायित्वका रूपमा नदेखाई इक्विटी अर्थात् शेयरधनीको कोषको रूपमा देखाइन्छ । यी सबैको योगलाई शेयरधनीको कुल सम्पत्तिको रूपमा लेखांकन गरिएको हुन्छ । पूँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडाजस्ता रकम कम्पनीको दायित्व भए पनि यसलाई दायित्वअन्तर्गत लेखांकन गरिँदैन । यसो गर्नुको कारण यस्ता दायित्व दीर्घकालीन प्रकृतिको भएको र कम्पनी स्वैच्छिक वा अनिवार्य खारेजीमा गएमा कम्पनीको दायित्व फछ्र्योट गरेर बाँकी रहेमा शेयरधनीले धारण गरेको अंशको अनुपातमा फिर्ता हुनु हो । दायित्व भुक्तान गर्दा कम्पनीको सम्पत्तिले नपुगेमा शेयरधनीसँग नपुग रकम माग पनि गरिँदैन । यसलाई शेयरधनीको सीमित दायित्व भनिन्छ ।

दुई प्रकारका आम्दानी
कम्पनीको आम्दानी दुई प्रकारको हुन्छन् भन्ने कुरो उठान अघिल्लो अनुच्छेदमा गरियो । कम्पनीले आफ्नो मूल उद्देश्यअनुसार गर्ने आम्दानीलाई मुख्य वा व्यापारिक वा सञ्चालन आम्दानी भनिन्छ । सञ्चालन आम्दानीको अंकले कम्पनी आफ्नो लक्षित उद्देश्यमा कति केन्द्रीकृत छ भन्ने देखाउँछ । नाफानोक्सान हिसाब खाताको सबैभन्दा माथि यस्तो आम्दानी प्रविष्ट हुन्छ । उदाहरणको लागि कुनै बैंकिङ कम्पनीले सबैभन्दा माथि ब्याज आम्दानी, त्यसको ठीक तल ब्याज खर्च र त्यसपछि खुद ब्याज आम्दानी लेखांकन गर्छ । यस्तै प्रकारले अन्य क्षेत्रका कम्पनीले पनि मुख्य व्यापारिक आम्दानी र त्यसका लागि भएको खर्च लेखांकन गर्छ । जलविद्युत् कम्पनीले पनि विक्री आम्दानी सबैभन्दा माथि राखेको हुन्छ र त्यसको ठीक तल विक्री (प्रसारण) खर्च उल्लेख गर्छ । यसरी मुख्य आम्दानीपश्चात् सञ्चालन र कर्मचारी खर्च लेखांकन गरेपछि अन्य सञ्चालन वा गैरव्यापारिक आम्दानीको लेखांकन गर्छन् ।

सञ्चालन आम्दानी आयको नियमित स्रोत हो । यस्तो आम्दानी कुनै वर्ष धेरै वा थोरै हुनसक्छ । कुनै आम्दानी कुनै कम्पनीका लागि मुख्य र कुनैका लागि सहायक वा गैरव्यापारिक दुवै हुन्छ । ब्याज आम्दानी बैंकको लागि मुख्य आम्दानी हो भने अन्य प्रकारका कम्पनीका लागि सहायक वा गैरव्यापारिक हो । विशाल बजार कम्पनी लिमिटेड वा यस्तै प्रकारको बहुतले व्यापारिक भवन सञ्चालन गर्नेका लागि भाडा मुख्य आम्दानी हुन्छ । तर, जलविद्युत् कम्पनीले कुनै ठाउँ भाडामा दिएको रहेछ भने त्यस्तो आम्दानी सहायक हुन्छ । यसो हुनुका कारण तत्काल उक्त ठाउँ खाली बसेका कारण उपयोगविहीन बनाउनुभन्दा उपयोगमा ल्याएको कारण भाडा प्राप्त भएको मात्र हो । त्यो ठाउँ पुनः आफैलाई चाहिएको खण्डमा आफैले भोग गर्नुपर्छ । यस्ता सहायक आम्दानी नियमित आयको स्रोत होइनन् । कुनै बैंकले कुनै अचल सम्पत्ति कुनै तरहले प्राप्त गरेमा त्यसलाई कुनै समयमा विक्री गर्नसक्छ । यति बेला गैरव्यापारिक आम्दानी देखिनसक्छ । यस्तो पटके आम्दानी एउटा त्रैमासिकमा मात्र देखिन्छ । शेयर प्रिमियम नाफानोक्सान हिसाबमा तथा वासलातको सम्पत्ति र दायित्वमा पनि जाँदैन । यस्ता रकम र शेयरपूँजी शीर्षकअन्तर्गत लेखांकन हुन्छ र शेयरधनीको कोषमा बाँधिन्छ ।

अन्तमा, कुनै पनि कम्पनीको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी बढी देखिएको भरमा लगानी बढाउने निर्णय घातक हुन्छ । त्यस्ता आम्दानी कहाँबाट कसरी आएको छ नाफानोक्सान हिसाब खाता हेरेर पत्ता लगाउन सकिन्छ । मुख्य आम्दानी सबैभन्दा माथि देखिने हुँदा यसलाई मनन गरेर लगानी गर्नु हितकर हुन्छ ।

Saturday, 5 June 2021

करिअर छनोट कसरी गर्ने ?


हामी किशोरावस्थामा हुँदा, २० देखि २९ वर्षको उमेर अवधिमा हुँदा र ३० देखि ३९ वर्षको उमेर अवधिमा समेत करिअर सम्बन्धि जीवनमा पर्याप्त अनुभव लिइसकेका हुँदैनौं। भनाइको तात्पर्य, करिअर छनोट गर्ने समयमा रहँदा वा करिअर छनोट गर्ने प्रक्रियामा जाने क्रममा हामी आवश्यक अनुभव, ज्ञान, जानकारी तथा मार्ग निर्देशनले सुसज्जित भइसकेका हुँदैनौं।

कुनै पनि व्यक्तिको पेशा, करिअर सम्बन्धित निर्णय वा करिअर छनोट र उसको भविष्यबीच सिधा सम्बन्ध रहन्छ। अर्को शब्दमा भन्नुपर्दा, उसले कस्तो करिअर छनोट गर्छ, त्यहीअनुरूप उसले निकट भविष्यमा बाँच्ने जीवनको भविष्यवाणी गर्न सकिन्छ। सही करिअर छनोट हुन सक्यो भने जीवन अर्थपूर्ण हुन्छ। अन्यथा निरर्थक प्रमाणित हुन्छ। त्यसैले अधिकांश हामी मानिसहरु भविष्य सुनिश्चित, सुरक्षित गर्न आफ्नो करिअर छनोट प्रक्रिया, आफूले छनोट गरेको करिअर सही होस् भन्ने चाहन्छौँ। यद्यपि हामी गलत र आफूले कहिल्यै नचाहेका करिअर छनोट गर्न पुग्छौँ।

गलत करिअर छनोटका कारणहरू

गलत करिअर छनोट गर्नुमा अनेकन कारणहरू हुन सक्छन्। केहीबारे छोटो चर्चा गरौँ:

कारण एक, पर्याप्त ज्ञान, जानकारीको र मार्ग निर्देशनको अभाव । हामी किशोरावस्थामा हुँदा, २० देखि २९ वर्षको उमेर अवधिमा हुँदा र ३० देखि ३९ वर्षको उमेर अवधिमा समेत करिअर सम्बन्धि जीवनमा पर्याप्त अनुभव लिइसकेका हुँदैनौं। भनाइको तात्पर्य, करिअर छनोट गर्ने समयमा रहँदा वा करिअर छनोट गर्ने प्रक्रियामा जाने क्रममा हामी आवश्यक अनुभव, ज्ञान, जानकारी तथा मार्ग निर्देशनले सुसज्जित भइसकेका हुँदैनौं। जसकारण उपयुक्त करिअर छनोट गर्ने मामिलामा अयोग्य ठहरिन पुग्छौँ।

कारण दुई, अनगिन्ती विकल्पहरू। अहिलेको विश्वमा करिअर छनोटका लागि असंख्य विकल्पहरू छन्। कुनै पनि क्षेत्रमा करिअर निर्माण गर्न सकिने अवस्था रहेको छ। जस्तैः चिकित्सा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि, व्यवसाय, समाजसेवा, कलाकारिता, शिक्षा, लेखन, सेल्फ हेल्प आदि। यी अनगिन्ती विकल्पहरू उपलब्ध भएकै कारण हामी दिग्भ्रमित हुन पुग्छौँ। कुन क्षेत्रमा करिअर निर्माण गर्ने भन्नेमा यकिन हुन सक्दैनौं। कुनै एक क्षेत्र रोजे पनि त्यसभित्र कुन करिअर छनोट गर्ने भन्नेमा स्पष्ट हुन सक्दैनौं। उदाहरणार्थ, चिकित्सा विज्ञान। यस क्षेत्रमा करिअर छनोटका लागि धेरै विकल्पहरू रहेका छन्। जस्तैः एन्डोक्राइनोलोजी (ग्रन्थिशास्त्र), न्यूरोलोजी (स्नायुशास्त्र), ओन्कोलोजी, डर्माटोलोजी (त्वचा विज्ञान), रेडियोलोजी (विकिरण चिकित्सा विज्ञान), मनोचिकित्सा, कार्डियोलोजी (हृदय विज्ञान), गाइनाकोलोजी (स्त्री रोगशास्त्र), प्लास्टिक सर्जरी आदि। यसबाट के प्रस्ट बुझ्न सकिन्छ भने एक व्यक्तिले आफ्नो क्षमताको आधारमा चिकित्सा विज्ञान क्षेत्रमा एन्डोक्राइनोलोजिस्ट, न्यूरोलोजिस्ट, ओन्कोलोजिस्ट, छाला रोग विशेषज्ञ, रेडियोलोजिस्ट, मनोचिकित्सक, मुटु रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, प्लास्टिक सर्जन आदिका रुपमा आफ्नो करिअर छनोट, निर्माण गर्न सक्छ। यी असीमित विकल्पहरू कारण उसलाई कुन चाहिँ करिअर छनोट गर्ने भन्ने कुराको स्पष्टता हुँदैन। यही प्रकृतिको अस्पष्टता इन्जिनियरिङ, सूचना प्रविधि, व्यवसाय लगायतका विकल्पहरूमा पनि देख्न सकिन्छ। जसकारण हामी गलत करिअर छनोट गर्न पुग्छौँ।

कारण तीन, साथीहरु तथा परिवारको प्रभाव। प्रायः हामी करिअर छनोट प्रक्रियामा जाँदा स्वतन्त्र निर्णय लिन सक्दैनौं। साथीहरुले कुन करिअर छनोट गरेका छन्? कुन क्षेत्रमा सफल करिअर, भविष्य निर्माण गरेका छन्? हामी त्यही हेर्छौँ र सोहीअनुसार करिअर छनोट गर्छौं। कतिपय अवस्थामा उनीहरुकै सल्लाह बमोजिम करिअर छनोट गर्न पुग्छौँ। त्यसैगरी करिअर छनोट प्रक्रियामा परिवारले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मानौँ तपाईंको परिवारमा सबै सदस्यहरु व्यवसायमा सक्रिय छन् र उत्तिकै सफल पनि छन्। यस्तोमा तपाईंलाई परिवारको तर्फबाट व्यवसाय क्षेत्रमा करिअर छनोट गर्ने, त्यसैमा उज्वल भविष्यको परिकल्पना गर्नुपर्ने अधिक दवाब हुन्छ। परिवारको विरासत कायम राख्नकै लागि भए पनि  तपाईंले व्यवसायलाई नै आफ्नो एकमात्र करिअरको रुपमा अगाडि बढाउनुपर्ने बाध्यता हुन्छ। यो खालको बाध्यात्मक परिस्थिति तपाईं हामी सबैमा सिर्जना हुनसक्छ। यसरी साथीहरु तथा परिवारलाई उपयुक्त सिद्ध करिअर हाम्रालागि अनुपयुक्त हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा नजरअन्दाज गरेकै कारण, उनीहरुबाट प्रभावित भएकै कारण हामी गलत करिअर छनोट गर्न पुग्छौँ।

गलत करिअर छनोटका दुष्परिणामहरू

करिअर छनोटका विविध निहितार्थहरू रहेका छन्। यसबारे बुझ्न सके गलत करिअर छनोटबाट प्राप्त हुनसक्ने दुष्परिणामहरूको स्पष्ट चित्र देख्न सकिन्छ। तीनै दुष्परिणामहरूबारे छोटो व्याख्या गरौँ:

करिअर छनोट गर्नुको अर्थ हो, भविष्य छनोट गर्नु। जीवनशैली छनोट गर्नु। यदि गलत करिअर छनोट गरियो भने भविष्य, जीवन निर्माण हुन सक्दैन। जीवन सुन्दर बनाउने, हुन सक्ने कुरा त सम्भावना नै रहँदैन। जीवन जेनतेन चल्छ, तर त्यसमा गति हुँदैन। जीवनशैली हुँदैन। जीवनमा कत्तिपनि सन्तुष्टि प्राप्त हुँदैन। केवल रिक्तता, खालीपन र उदासीनता अत्याधिक अनुभूत हुन्छ।

त्यसैगरी करिअर छनोट गर्नुको अर्थ हो, जीवन मार्ग छनोट गर्नु। आफू हिँड्ने बाटो रोज्नु। यदि गलत करिअर छनोट गरियो भने गलत जीवन मार्गमा हिँड्न पुगिन्छ। जति धेरै समय त्यस्तो मार्गमा हिँड्ने गरिन्छ, त्यतिनै धेरै गन्तव्यको दूरी बढ्दै जान्छ। त्यसैले गलत मार्गमा हिँडेर सही गन्तव्यमा पुग्न सकिँदैन। जतिसुकै सकारात्मक सोच राखेपनि, जतिसुकै लगनशील र मिहिनेत साथ कार्यमा संलग्न भएपनि, जतिसुकै सचेत भएर जीवनलाई निरन्तर अगाडि बढाउने कोसिस गरेपनि असफलता नै प्राप्त हुन्छ। अन्ततः जीवन संघर्षको पदमार्गमा हिँड्ने क्रममा सकिन्छ।

त्यसैगरी करिअर छनोट गर्नुको अर्को अर्थ हो, एउटामात्र विकल्प रोज्नु। त्यसैलाई अन्तिम विकल्प मान्नु, त्यसैमा अडिग रहनु, त्यसैमा अत्याधिक समय, उर्जा र पैसा लगानी गर्नु र अरु सम्भावित विकल्पहरू पूर्ण रुपमा बेवास्ता गर्नु। यदि समयमा सही करिअर छनोट वा विकास गर्न सकिएन भने त्यसपछिको समयमा केही कुरा छनोट गर्ने सुविधाहरु उपलब्ध हुँदैनन्। न जीवनसाथी रोज्न सकिन्छ, न जीवनशैली। न पेशा रोज्न सकिन्छ, न व्यवसाय। उदाहरणको लागि, इन्जिनियरिङ पेशा लिऊँ। मानौँ तपाईंले इन्जिनियरिङमा करिअर निर्माण गर्ने निर्णय लिनुभयो। मानौँ तपाईं एक क्षमतावान् आर्किटेक्ट पनि बन्नुभयो। मानौँ तपाईंले आर्किटेक्ट रुपमा केही वर्ष काम गरेपछि तपाईंमा इन्जिनियरिङप्रति कुनै रुचि रहेन। केही दिनको आत्मपरीक्षण पश्चात आफ्नो लागि इन्जिनियरिङ उपयुक्त करिअर नभएर सूचना प्रविधि रहेको पत्ता लगाउनु भयो भने? अब तपाईंले चाहेर पनि, कठोर प्रयास गरेपनि करिअर, पेशा परिवर्तन गर्न सक्नुहुन्न। तपाईंलाई आर्किटेक्ट रुपमा काम गर्नुको अर्को नयाँ विकल्पहरू सहजै उपलब्ध हुँदैनन्। तपाईंको मन सूचना प्रविधिमा हुन्छ, तर तपाईंलाई आफ्नो सम्पूर्ण ध्यान, समय र उर्जा आर्किटेक्चरल इन्जिनियरिङमा मात्र लगाउनुपर्ने हुन्छ। जसकारण तपाईंमा पश्चाताप, दुष्चिन्ता र फ्रस्ट्रेसनको स्तर बढ्दै जान्छ। तपाईं आफ्नो काममा कहिल्यै खुसी हुन सक्नुहुन्न। संक्षेपमा भन्नुपर्दा, तपाईं असन्तुलित, कष्टपूर्ण र दयनीय जीवन बाँच्ने अवस्थामा पुग्नुहुन्छ। यही प्रकृतिको मेकानिजम (क्रियाविधि) पुरानो सम्बन्ध, जीवनशैली, व्यवसाय लगायतका कुराहरु त्यागेर नयाँ विकल्पहरू खोजी गर्ने, त्यसबारे सोच्ने र छनोट गर्ने क्रममा पनि उत्तिकै लागू हुन्छ।

करिअर छनोटको सर्वोत्कृष्ट रुपरेखा

करिअरबारे उत्कृष्ट निर्णय लिन अथवा पर्फेक्ट (सही) करिअर छनोटको सुनिश्चितता गराउन विविध विधिहरू, फ्रेमवर्क (रुपरेखा) हरु अवलम्बन गर्न सकिन्छ। यस्तोमा क्लिनिकल मनोवैज्ञानिक डाक्टर टिमवथी एनद्वारा लिखित ‘चुज बेटर’ पुस्तकमा समाविष्ट पाँच चरणहरूमा पूरा गर्न सकिने रुपरेखाको बारेमा संक्षिप्त वर्णन गरौँ:

भावनाहरुको अन्तरनिहित सन्देश बुझ्ने

यो करिअर छनोट प्रक्रियाको पहिलो चरण हो। नयाँ करिअर छनोट गर्नुपर्ने वा त्यसबारे महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थामा सबैभन्दा पहिले हाम्रो शरीरमा निश्चित भावनाहरु उत्पन्न हुने गर्छन्। ती भावनाहरु सकारात्मक छन् या नकारात्मक? सोहीअनुसार हाम्रो करिअर छनोट वा हामीले करिअर सम्बन्धित लिन लागेको निर्णय सही या गलत भन्नेमा प्रस्ट हुन सकिन्छ। सकारात्मक भावनाहरुले करिअर छनोट सही हुन सक्ने र नकारात्मक भावनाहरुले करिअर छनोट गलत हुन सक्ने कुराको संकेत गर्छन्। यस अतिरिक्त भावनाहरुले व्यक्तित्व र हाम्रो कार्यलाई निर्देशित गर्ने मूल्य मान्यताहरुबारे अन्तरदृष्टि प्रदान गर्नुका साथै सचेत पनि गराउँछन्। जसकारण करिअर छनोट प्रक्रियालाई निकै सहजताका साथ अगाडि बढाउन सकिन्छ। त्यसैले कुनै एक करिअर छनोट गर्ने क्रममा आफ्नो निर्णय उत्कृष्ट होस् भन्नका लागि आफूलाई केही प्रश्नहरू गर्नोस्, ‘मैले कस्ता भावनाहरु अनुभूत गरेको छु? ती भावनाहरुको अन्तरनिहित सन्देशहरु के-के हुन सक्छन्? के मैले छनोट गर्न लागेको करिअर र भावनाहरु श्रेणीबद्ध छन्?’

मानौँ तपाईं नयाँ करिअर छनोट गर्न चाहनुहुन्छ। यस्तोमा गहन विचार विमर्श गर्नोस्। उपलब्ध भएका विभिन्न करिअर विकल्पहरू सुचिकृत गर्नोस्। ती विकल्पहरू यस प्रकार हुन सक्छन्: बीमा अभिकर्ता, मार्केटिङ प्रबन्धक, नेटवर्किङ व्यवसाय, सेयर मार्केट, शिक्षण पेशा, सरकारी जागिर आदि। यदि यी विकल्पहरू हेर्दा, त्यसबारे सोच्दा तपाईंमा रिस, निराशा, दुष्चिन्ता तथा डर जस्ता नकारात्मक भावनाहरु उत्पन्न हुन्छन् भने त्यो खतराको संकेत हो। ती विकल्पहरू तपाईंको निम्ति उपयुक्त छैन भन्ने बुझ्नुहोस्। तर यसको ठीक विपरीत यदि तपाईंमा खुसी, उत्साह जस्ता सकारात्मक भावनाहरु उत्पन्न हुन्छन् भने त्यो शुभ संकेत हो। ती विकल्पहरू तपाईंको निम्ति उपयुक्त हुनसक्छन् भन्ने बुझ्नुहोस्। यदि तपाईंले सकारात्मक भावनाहरु जगाउने कुनै पनि विकल्पहरू भेट्नु भएन भने पुनः खोजी गर्नोस्। सकारात्मक भावनाहरु सँग श्रेणीबद्ध हुने थप करिअर विकल्पहरूको नयाँ सुचि तय गर्नोस्। त्यस सुचिमा जुन विकल्प र तपाईंमा उत्पन्न हुने सकारात्मक भावनाहरुबीच श्रेणीबद्धता पाउनुहुन्छ, त्यही नै तपाईंको लागि उचित करिअर विकल्प हो।

व्यक्तिगत मूल्य मान्यताहरुको पहिचान गर्ने

भावनाहरुको अन्तरनिहित सन्देश बुझ्ने अथवा भावनाहरु र करिअरबीच श्रेणीबद्धता कायम राख्ने चरण पूरा गरेपछि अर्को चरणमा प्रवेश गर्नका लागि तयार हुनुपर्छ। त्यो हो, सचेत अवस्थामा रहेर व्यक्तिगत मूल्य मान्यताहरूको पहिचान। आखिर व्यक्तिगत मूल्य मान्यताहरु भनेको के? जुन चीजहरु हाम्रा लागि अत्याधिक महत्वपूर्ण छन्, जुन चीजहरुले हामीलाई कुनै पनि कार्यमा संलग्न हुन वा नहुनको लागि प्रेरित गर्छन्, तीनै चीजहरु हाम्रा व्यक्तिगत मूल्य मान्यताहरु हुन्। यसको उचित पहिचान गर्न र यसबारे समग्रमा बुझ्न सकियो भने करिअर छनोट गर्न कठिनाइ हुँदैन। उदाहरणको लागि, मानौँ तपाईं एउटा साधारण आईटी (सुचना प्रविधि) संस्थामा कार्यरत हुनुहुन्छ। मानौँ तपाईंलाई त्यो संस्थाले औसत पारिश्रमिक दिएको छ। तर तपाईंले कम पारिश्रमिकमा काम गर्नुपरे पनि त्यस संस्थामा काम गर्नको लागि सकारात्मक वातावरण पाउनु भएको छ। सहकर्मी साथीहरु सहयोगी हुनुका साथै परिवारको लागि पर्याप्त समय दिन पनि पाउनु भएको छ। यसै क्रममा मानौँ तपाईंलाई अर्को प्रतिस्पर्धी एवं प्रतिष्ठित आईटी संस्थाले कामको लागि आकर्षक प्रस्ताव राख्यो। तपाईंलाई दुई गुणा पारिश्रमिक दिने प्रतिबद्धता पनि जनायो। तर यसको लागि तपाईंले अत्यन्तै व्यस्त र चुनौतीपूर्ण वातावरणमा काम गर्नुपर्ने, तपाईंबाट सधैँ उत्कृष्ट परिणामको अपेक्षा राखिने, कहिलेकाहीँ अतिरिक्त समय काम गर्नुपर्ने जस्ता सर्तहरू पनि स्पष्ट रुपमा अगाडि सार्यो। यस्तो परिस्थितिमा हठात् निर्णय नगर्नोस्। आफ्नो मुख्य व्यक्तिगत मूल्य मान्यताहरू पत्ता लगाउन केही समय लगानी गर्नोस्। यदि तपाईंले आफ्नो मुख्य मूल्य मान्यताहरू सकारात्मक कार्यक्षेत्र, सहयोगी सहकर्मी साथीहरु, पारिवारिक समय आदि रहेको पाउनु भयो र पैसा त्यति प्राथमिकतामा नरहेको महसुस गर्नुभयो भने? तपाईंले संस्था परिवर्तन गर्नुपर्ने कुनै कारण देखिँदैन। यदि तपाईंले आफ्नो मुख्य मूल्य मान्यताहरु प्रतिष्ठा, पैस, शक्ति आदि रहेको पाउनुभयो भने? तपाईंले संस्था परिवर्तन गर्न सक्नुहुन्छ। भनाइको मतलब, तपाईंले स्वतन्त्र रुपमा करिअर छनोट वा परिवर्तन गर्न सक्नुहुन्छ।

कतिपयहरुलाई मनमा लागेको हुनुसक्छ, ‘मुख्य व्यक्तिगत मूल्य मान्यताहरु पहिचान गरेर, त्यसबारे समग्र बुझाइ विकास गरेर करिअर छनोटमा सहजीकरण प्राप्त हुन सक्छ भने ती मुख्य व्यक्तिगत मूल्य मान्यताहरू कसरी पहिचान गर्ने?’ यसको लागि वैज्ञानिक रुपमा प्रमाणित केही परीक्षण विधिहरू प्रयोग गर्न सकिन्छ। जस्तैः एननेग्राम व्यक्तित्व परीक्षण, बिग फाइभ व्यक्तित्व परीक्षण, डिस्क व्यक्तित्व परीक्षण, होगन एमभिपिआई परीक्षण आदि।

अरुको व्यक्तिगत मूल्य मान्यताहरुको उचित सम्मान राख्ने

करिअर छनोट गर्ने क्रममा आफ्नो मूल्य मान्यताहरूको मात्र ख्याल राख्नु बुद्धिमानी हुँदैन। अरु अर्थात् विशेष मान्छेहरुको व्यक्तिगत मूल्य मान्यताहरूको पनि उत्तिकै सम्मान राख्न सक्नुपर्छ। यहाँ विशेष मान्छेहरू भन्नाले प्रेमी वा प्रेमिका, श्रीमान् वा श्रीमती, पारिवारिक सदस्यहरु, साथीहरु जो पनि हुन सक्छन्। जब तपाईंले करिअर सम्बन्धित कुनै निर्णय गर्नुहुन्छ, त्यसले तपाईंको आर्थिक हैसियत र जीवनस्तरमा मात्र होइन, सम्बन्धमा पनि गहिरो प्रभाव पारेको हुन्छ। त्यसैले करिअर छनोट गर्ने क्रममा आफ्नो विशेष मान्छेहरु जो तपाईंको निर्णयबाट प्रभावित हुन्छन्, उनीहरुलाई खुला मस्तिष्कले आफ्ना विचार र भावनाहरु व्यक्त गर्नका लागि आग्रह गर्नोस्। उदाहरणको लागि, मानौँ तपाईंलाई एउटा संस्थाबाट आकर्षक जागिर अथवा जिम्मेवारीको प्रस्ताव आयो। मानौँ त्यो जागिर तपाईंको मूल्य मान्यताहरूसँग सतप्रतिशत श्रेणीबद्ध छ र तपाईं त्यो अवसर सदुपयोग गर्नको लागि अति उत्साहित हुनुहुन्छ। मानौँ तपाईंले त्यो जिम्मेवारी लिँदा निरन्तर हवाइ यात्रा गर्नुपर्ने सर्त छ र तपाईंलाई यस विषयमा कुनै आपत्ति छैन। तर तपाईंले त्यो जिम्मेवारी वहन गर्दा आफ्नो विशेष मान्छेहरुसँग गुणवत्ता समय व्यतीत गर्न सकिँदैन भन्ने कुरा स्पष्टसँग बुझ्नुपर्ने हुन्छ। यस्तोमा तपाईंले त्यो जागिरको प्रस्ताव तुरुन्तै अस्वीकृत गर्नै पर्छ भन्ने छैन। तपाईं आफ्नो विशेष मान्छेहरुसँग यस विषयमा स्पष्ट संवाद गर्न सक्नुहुन्छ। त्यस क्रममा आफ्नो निर्णयले उनीहरुमा सकारात्मक या नकारात्मक प्रभाव पार्छ भन्ने बारेमा यकिन गर्नोस्। अनि सोहीअनुरुप अगाडि बढ्नुहोस्। त्यसैगरी तपाईं संस्था प्रमुखसँग पनि कामको विषयमा थप कुराकानी गर्न सक्नुहुन्छ। त्यस क्रममा आफूलाई प्रस्ताव गरिएको काम वा जागिर आफ्नो मूल्य मान्यताहरूसँग मात्र होइन कि, आफ्नो विशेष मान्छेहरुको मूल्य मान्यताहरूसँग पनि श्रेणीबद्धता कायम राख्नको लागि आग्रह गर्नोस्। यस मामिलामा तपाईं आफ्नो संस्था प्रमुखसँग प्रत्येक तीन महिनामा एकपटक मात्र हवाइ यात्रा गर्ने कुराको सहमति गर्नोस्।

परिस्थितिको वास्तविकता बुझ्नेपरीक्षण गर्ने

करिअर छनोट वा परिवर्तन गर्ने प्रक्रियामा जाँदा परिस्थितिमाको वास्तविकता बुझ्नुपर्ने हुन्छ, परीक्षण गर्नुपर्ने हुन्छ। परिस्थितिबारे गलत बुझाइ विकास गरेर, गलत अर्थ लगाएर, गलत व्याख्या गरेर वा हचुवाको भरमा होइन, सही तथ्यहरू र कारणहरूमा आधारित करिअर छनोट गर्नुपर्ने हुन्छ। अन्यथा अनुचित अपेक्षा निर्धारण गर्न पुग्नुको साथै निराशा भोग्नुपर्ने हुन्छ। त्यसैले कुनै पनि नयाँ अवसर खोज्ने क्रममा, करिअर छनोट गर्ने क्रममा परिस्थितिको वास्तविकता केलाउने, बुझ्ने कोसिस गर्नोस्। परिस्थितिबारे कुनै पनि किसिमको धारणा राख्ने, पूर्वानुमान नगर्नोस्। उदाहरणको लागि, मानौँ तपाईं सहकर्मी साथीहरु बढी प्रतिक्रियात्मक र असहयोगी भएकाले काम परिवर्तन गर्ने सोचमा हुनुहुन्छ। यस्तोमा संस्था छोड्ने ठूलो निर्णय लिनुपूर्व आफूलाई केही प्रश्नहरू गर्नोस्, ‘के मेरा सहकर्मी साथीहरु साँच्चै प्रतिक्रियात्मक र असहयोगी हुन्? के मसँग ती कुराहरु पुष्टि गर्ने यथेष्ट प्रमाणहरु, सुचनाहरु छन्? कतै उनीहरुबारे केवल गलत अनुमान, धारणा विकास गरिएको त होइन?’ जब तपाईंले यो खालको मन्थन र परीक्षण गर्नुहुन्छ, अनिमात्र तपाईं सहकर्मी साथीहरुको वास्तविक अवस्था र परिस्थितिको वास्तविकता बुझ्न सक्नुहुन्छ। के थाहा, तपाईंको सहकर्मी साथीहरु गलत मनस्थिति, परिस्थितिमा रहेका कारण बढी प्रतिक्रियात्मक भएका हुन सक्छन्। उनीहरुलाई आफ्नो काममा मात्र बढीभन्दा बढी व्यस्त रहनुपर्दा नै तपाईंप्रति असहयोगी भएका हुन पनि त सक्छन्।

यदि तपाईं अझैसम्म करिअर, काम छनोट बारेमा स्पष्ट हुन सकिरहनु भएको छैन, लामो अवधि अनिर्णित हुनुहुन्छ भने आफूले छनोट गर्न लागेको करिअर पुनः जाँच गर्नोस्। आवश्यक परेको खण्डमा विश्वासिलो साथी वा करिअर परामर्शदाताको सहयोग लिनुहोस्।

पूर्ववत् चरणहरु जाँचसमीक्षा गर्ने

यो करिअर छनोट प्रक्रियाको पाँचौं चरण हो। यस चरणमा पूर्ववत् चार चरणहरु पुनः जाँच, समीक्षा गरिन्छन्। अगाडिका चार चरणहरु पूरा गरिसक्दा करिअर छनोट, करिअर सम्बन्धित निर्णय गर्नको लागि पर्याप्त आधारहरु स्थापित भइसकेका हुन्छन्। यद्यपि पाँचौं चरणमा मात्र पूर्ववत् चार चरणहरु बारेमा क्रमशः समीक्षा गरेर करिअरबारे अन्तिम निर्णय लिइन्छ।

मानौँ तपाईं आफूलाई उपयुक्त कुनै एउटा करिअर छनोट गर्न जाँदै हुनुहुन्छ। मानौँ तपाईंको लागि केही सम्भावित करिअर विकल्पहरू पनि उपलब्ध रहेका छन्। यस्तोमा ती विकल्पहरू अवलोकन गर्दा आफ्नो शरीरमा उत्पन्न हुने भावनाहरु अनुभूत गर्नोस्। अनि आफैंलाई प्रश्नहरू गर्नोस्, ‘मैले कस्ता भावनाहरु अनुभूत गरेको छु? किन यस्ता भावनाहरु अनुभूत गरेको छु?’

त्यसपछि आफ्नो मूल्य मान्यताहरू समीक्षा गर्नोस्। ती मूल्य मान्यताहरू र आफूले छनोट गर्न लागेको करिअरबीच श्रेणीबद्धता कायम भएको नभएकोमा सजग रहनोस्। त्यसैगरी आफ्नो विशेष मान्छेहरू जसलाई तपाईं प्रेम गर्नुहुन्छ, उनीहरुको मूल्य मान्यताहरूको पनि मान राख्नोस्। यसो गर्नाले करिअर विकल्पहरूको सुचि छोटो हुँदै जान्छ र तपाईं आफूलाई उपयुक्त हुने करिअर विकल्प नजिक पुग्न सक्नुहुन्छ।

अन्तमा वास्तविकता बुझ्ने कोसिस गर्नोस्। अनि पूर्वानुमान, गलत धारणाहरु र व्याख्यानको आधारमा  होइन, वास्तविकताको जगमा टेकेर करिअरबारे, अझ भनौँ भविष्यबारे अन्तिम र अपरिवर्तनीय निर्णय लिनुहोस्।

करिअर छनोट वा परिवर्तन गर्नु सिक्का उफारेर लिइने निर्णय जस्तो होइन। यसको लागि अधिकतम समय लाग्छ। ध्यान केन्द्रित साथै धीरता कायम गर्न सक्नुपर्छ। यति मात्र होइन, गलत करिअर छनोटका कारणहरू, त्यसबाट सिर्जित दुष्परिणामहरू केलाउन र बुझ्न सक्नुपर्छ। अनि त्यसपश्चात् करिअर छनोटको सर्वोत्कृष्ट रुपरेखा अक्षरशः पालना गर्न सक्नुपर्छ। यदि तपाईं यी सम्पूर्ण कुराहरू अवलम्बन गर्न सक्नुभयो भने समयमा सही करिअर छनोट गर्न सफल हुनुहुन्छ। जीवन केवल संघर्षको पदमार्गमा हिँड्ने क्रममा नै गर्नु पर्दछ।

Tuesday, 9 February 2021

शेर लगानिकर्ताले थाहा पाउनु पर्ने पाँच बितिय अनुपात


 
काठमाडौं : यदि तपाईं सेयर लगानीको क्षेत्रमा नयाँ हुनुहुन्छ अनि कुनै सेयर बजार विज्ञको सुझाव लिँदै हुनुहुन्छ भने पक्कै पनि तपाईंले सुरुमै कम्पनीको आधारभूत पक्ष विश्लेषण गरेर मात्र सेयर किनबेच गर्नुहोस् भन्ने सुझाव पाउनु हुनेछ । यसको मतलब के हुन्छ भने, तपाईंले लगानी गर्नु अघि कम्पनीको वित्तीय रेकर्ड अध्ययन गर्नुपर्छ । उक्त कम्पनी लगानी गर्नका लागि योग्य छ कि छैन भन्नेमा विशेष विश्लेषण गर्नुपर्छ । तर लगानी गर्न उचित छ वा छैन भन्ने थाहा पाउन कम्पनीको कुन–कुन पक्षलाई चाहिँ अध्ययन र विश्लेषण गर्ने त ?

यसका लागि केही आधारभूत क्षेत्रहरु छन् जहाँ लगानीकर्ताले ध्यान दिन जरुरी हुन्छ । आधारभूत विश्लेषणका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कम्पनीका विभिन्न वित्तीय अनुपातहरु नै हुन् । यी अनुपातहरुको अध्ययन र विश्लेषणबाट आफ्नो लगानी तरिका निश्चित गर्न ठूलो मद्दत मिल्दछ । आउनुहोस् आमलगानीकर्ताले थाहा पउनैपर्ने यस्तै केही वित्तीय अनुपात र यी अनुपातले के कुराको संकेत गर्दछन् भन्ने चार्चा गरौं । 
 
१. मूल्य–आम्दानी अनुपात (पीइ रेसियो ) 
 
कम्पनीको बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अंकलाई पीई रेसियो भनिन्छ । यसले कम्पनी ओभरभ्याल्यूड छ कि अन्डरभ्याल्यूड छ भन्ने विषयको जानकारी दिन मद्दत पुर्याउँछ । पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने विषयको पनि जानकारी दिन्छ । उदाहरणका लागि, यदि कुनै कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र बजार भाउ प्रतिकित्ता १०० छ ।

यसआधारमा यसको पीइ रेसियो १० हुन जान्छ । यसको अर्थ हुन्छ, तपाईंले उक्त कम्पनीबाट १ रुपैयाँ कमाउन १० रुपैयाँ खर्च गर्दै हुनुहुन्छ । त्यसकारण, लगानीकर्ताले सकेसम्म, पाएसम्म कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ । तर पीई रेसियो एउटै सेक्टरमा पर्ने कम्पनीहरुसँग गर्नुपर्छ । 
 
२. इक्विटीमा प्रतिफल वा रिटर्न अन इक्विटी (आरओई) 
 
कुल सम्पति (एसेट्स) बाट दायित्व (लायबिलिटिस) घटाउँदा इक्विटी प्राप्त हुन्छ । गणितीय हिसाबमा, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । यसले स्टक लगानीमा कम्पनी कति प्रतिफल दिन सक्षम छ भन्ने विषयको जानकारी गराउँछ । उदाहरणका लागि तपाईं कुनै कम्पनीको संस्थापक हुनुहुन्छ र १०० रुपैयाँ इक्विटी लगानी गर्नुभएको छ ।

यसर्थ, उक्त कम्पनीको कुल इक्विटी १०० रुपैयाँ हुन जन्छ । यदि उक्त १०० रुपैयाँ इक्विटीबाट कम्पनीले २० रुपैयाँ नाफा गर्दछ भने त्यसको इक्विटीमा प्रतिफल २०% हुनजन्छ । त्यसकारण, धेरै आरओई भएका कम्पनीलाई राम्रो मानिन्छ । तर पीई रेसियोमा जस्तै आरओईको तुलना पनि एउटै सेक्टरका कम्पनीमा मात्र गर्नु उचित हुन्छ । 
 
३. प्राइस टु बुक (पीबी) रेसियो 
 
कम्पनीको बजार भाउलाई त्यसको प्रतिसेयर बुक भ्याल्यू (किताबी मूल्य) ले भाग गर्दा आउने अंकलाई पीबी रेसियो भनिन्छ । कम्पनीको बुक भ्याल्यू थाहा पाउन कुल सम्पतिबाट कुल दायित्व घटाउनुपर्छ । कम्पनीको हकमा कुल बुक भ्याल्यू र सेयरहोल्डर इक्विटी एउटै हुन्छ ।

कुल बुक भ्याल्यूलाई कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर बुक भ्याल्यू निस्कन्छ । पीबी रेसियो पनि कम्पनी अन्डरभ्याल्यूड छ वा ओभरभ्याल्यूड छ भन्ने पत्ता लगाउने एक माध्यम हो । कम पीबी रेसियो भएका कम्पनी अन्डरभ्याल्यूड मानिन्छन् भने धेरै पीबी रेसियो भएका कम्पनी ओभरभ्याल्यूड ।
 
४. डिभिडेन्ड यील्ड वा डिभिडेन्ड टु प्राइस रेसियो (लाभांश वितरण गर्ने क्षमता) 
 
कुनै कम्पनीले एक वर्षमा लाभांशको रुपमा आफ्ना सेयरधनीलाई वितरण गरेको रकमलाई त्यसको बजार भाउले भाग गर्दा डिभिडेन्ड टु प्राइस रेसियो निस्कन्छ । यो रेसियो तापाईले आफ्नो लगानीमा पाउन सक्ने प्रतिफलको सूचक हो ।

कतिपय कम्पनीलाई बजार भाउले साथ नदिए पनि राम्रो प्रतिफल दिइरहेका हुन्छन् । त्यसकारण यो रेसियोलाई महत्वपूर्ण मानिन्छ । यदि एउटै किसिमका दुई वटा लगानी छन् भने पनि डिभिडेन्ड यील्ड धेरै भएको कम्पनीबाट लगानीकर्ताले प्रतिफल पनि धेरै पाउने सम्भावना रहन्छ । 
 
५. डेब्ट टु इक्विटी (डीइ) रेसियो 
 
यो रेसियोले कम्पनीको दायित्व र इक्विटीको संक्षेप प्रदान गर्दछ । कम्पनीको कुल दायित्वलाई कुल इक्विटीले भाग गर्दा डेब्ट टु इक्विटी रेसियो पाइन्छ । यसले कम्पनी कति लोनमा र कति आफ्नै सम्पतिमा सञ्चालन भइरहेको भन्ने संकेत गर्छ ।

यस रेसियोले कम्पनीको ऋण अधिक छ कि छैन भन्ने पत्ता लगाउन सहयोग पुर्याउँछ । बढी डीइ रेसियोले कम्पनी अधिक ऋणमा छ भन्ने संकेत गर्दछ । तर धेरै ऋण हुनु सँधै प्रतिउत्पादक हुन्छ भन्ने छैन । कम्पनीले समयमै कर्जा चुक्ता गर्दै ऋणलाई सही उपयोग गर्न सक्दा फाइदाकारी नै हुने सम्भावना पनि रहन्छ ।  

Saturday, 2 January 2021

भ्याल्यू इन्भेष्टिङ के हो ? कसरी चिन्ने भ्याल्यू स्टक?



  • value_Stocks_1_2_2021_7_48_17.jpg
 
काठमाडौं : भ्याल्यू इन्भेष्टिङ त्यस्तो लगानी रणनीति हो जसमा बजार औसतको तुलनामा कम भाउ भएका सेयरहरु खरिद गर्ने प्रक्रिया समावेश हुन्छ । भ्याल्यू इन्भेष्टिङमा बजारमा राम्रो प्रदर्शन गरिरहेका वा प्रचारबाजीमा राम्रो मानिएका सेयरको सट्टा अवमूल्यनमा परेका अथवा आफ्नो वास्तविक भाउ भन्दा कम मूल्यमा कारोबार भइरहेका सेयरहरुलाई लक्षित गरिन्छ । कालान्तरमा बजारले गल्ती सुधार गर्दै जाँदा अवमूल्यनमा परेका सेयरहरुको भाउ बढ्ने र राम्रो प्रतिफल प्राप्त गर्न सकिने आशा गरिएको हुन्छ ।
 
भ्याल्यू इन्भेष्टिङ रणनीति लामो समयदेखि बार्गेनमा स्टक खरिद गरी ठूलो प्रतिफल हात पार्न खोज्ने लगानीकर्ताले प्रयोग गर्दै आएका छन् । तर पछिल्लो समयमा भ्याल्यू इन्भेष्टमेन्ट कम नाफामूलक देखिएको छ । यद्दपि, आफ्नो लगानी पोर्टफोलियोको केही हिस्सा भ्याल्यू इन्भेष्टमेन्टमा लगाउँदा बजार ओरालो लाग्यो भने पनि जोखिम तथा नोक्सान कम गर्न पक्कै मद्दत पुग्नेछ ।
 
के हो भ्याल्यू इन्भेष्टिङ ?

 
सामान्यः अर्थमा भन्नु पर्दा, भ्याल्यू इन्भेष्टिङ भनेको आफ्नो वास्तविक मूल्य भन्दा कम भाउ भएका सेयरहरु पत्ता लगाउने, अनुसन्धान गरी र खरिद गर्ने काम हो । बेलायतको स्टक ब्रोकर हारग्रिभ्स् ल्यान्स्डनकी वरिष्ठ लगानी तथा बजार विश्लेषक सुजाना स्ट्रिटरका अनुसार भ्याल्यू इन्भेष्टिङ सामान्यतयः यस्तो लगानी शैली हो जसमा धेरैले नरुचाएका र चर्चामा नआएका कम्पनीहरु खोज्ने गरिन्छ ।

यस्ता कम्पनीहरु नाफा तथा कमाईको तुलनामा भाउ निकै कम भएका, बजारको औसत भन्दा कम रेटिङ भएका र धेरै नरुचाइएका ढीलो वृद्धि हुने किसिमका हुन्छन् । सामान्य अर्थमा भन्नुपर्दा अवमूल्यनमा परेका कम्पनीहरु भ्याल्यू इभेष्टरले खोज्ने गर्दछन् ।
 
भ्याल्यू इन्भेष्टिङ रणनीति सन् १९२० मा कोलम्बिया बिजनेस स्कूलमा वित्तशास्त्र अध्यापन गराउने बेन्जमिन ग्राहम र डेभिड डडले प्रतिपादन गरेका थिए । कुनै कम्पनीको सेयरको वास्तविक मूल्य मार्केटको प्रतिकृयाले नभई कम्पनीको फन्डामेन्टल्सका आधारमा निर्धारण हुनुपर्ने ग्राहम र डडको मान्यता रहेको थियो । 
 
ग्राहमका शिष्य वारेन बफेटले आफ्ना गुरुले प्रतिपादन गरेको भ्याल्यू इन्भेष्टिङ रणनीतिमा अडिग रहेरै अरबौं डलर कमाउन सफल भएका छन् । भ्याल्यू इन्भेष्टिङको चुरो कुरो पनि न्यून मूल्यमा खरिद गर्ने र उच्च मूल्यमा बिक्री गर्ने रहेको छ । व्यवहारमा यो रणनीति लागू गर्न प्रसस्त धैर्यता आवश्यक पर्छ । अनिमात्र  कम्पनीको वास्तविक मूल्य र बजार मूल्य एकै ठाउमा आउँछ र भविष्यमा ठूलो प्रतिफल हत्याउन सकिन्छ भन्ने कुरालाई मुख्य आधार बनाउनुपर्छ ।

 
भ्याल्यू इन्भेष्टिङ र ग्रोथ इन्भेष्टिङ :
 
भ्याल्यू इन्भिेष्टिङलाई केही हदसम्म गोथ इन्भेष्टिङको वितरित पाटोका रुपमा लिने गरिएको छ । भ्याल्यू इन्भेष्टरहरुले सेयर मूल्य सुरुमै बढिरहेका कम्पनीहरु भन्दा पनि अन्य लगानीकर्ताको रोजाइमा नपरेका सस्तो सेयर भएका राम्राकम्पनीहरु खरिद गर्ने गर्दछन् । ग्रोथ इन्भेष्टर तुलनात्मक रुपमा ठूलो जोखिम लिन सक्ने युवा उमेरका हुने गरेका छन् भने भ्याल्यू इन्भेष्टर सामान्यतयः अलि प्रौढ उमेरका हुने गरेका छन् ।

भ्यल्यू इन्भेष्टरसँग अधिक मात्रामा वित्तीय र रियल स्टेट सम्पति हुने सम्भावना रहन्छ, जसले उनिहरुलाई ग्रोथ स्टकमा रिस्क लिनु नपर्ने संकेत गरेको पाउन सकिन्छ । भ्याल्यू इन्भेष्टर सामान्यतयः अवकास पाउने उमेरका वा अवकास पाइसकेका व्यक्तिहरु हुने भएकाले उनीहरु छिटो प्रतिफल पाउने भन्दा पनि नियमित प्रतिफल पाइरहने लगानीमा फोकस गर्दछन् । अवमूल्यनमा परेका तर लाभांश पनि नियमित दिने कम्पनहरुमा उनीहरुको चासो हुने गरेको छ ।
 
कम्पनीको आन्तरिक वा वास्तविक मूल्य कसरी पत्ता लगाउने ?
 
कुनै कम्पनीको सेयरको वास्तविक वा आन्तरिक मूल्य थाहा पाउन लगानीकर्ताले विभिन्न विधि तथा परिमाण प्रयोग गर्ने गरेका छन् । यस्ता विधिहरु कम्पनीको वित्तीय अवस्था जाँच गर्न र कम्पनीको सेयर भाउ, यसको समग्र वा वास्तविक मूल्य भन्दा कम भएको वित्तीय सूचना पाउन प्रयोग गरिन्छ । भ्याल्यू खोज्ने सुरुवाती चरणका लगानीकर्ताले निम्न विषयमा ध्यान दिन आवश्यक छ ।
 
–प्राइस टु अर्निङ (पीई) रेसियो : कम्पनीको बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अंकलाई पीई रेसियो (मूल्य–आम्दानी अनुपात) भनिन्छ । कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ । तर विभिन्न कम्पनीको पीई रेसियो तुलना गर्दा एउटै सेक्टरमा पर्ने कम्पनीहरुको मात्र तुलना गर्नुपर्छ । पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने विषयको जानकारी दिन्छ ।
 
–प्राइस टु बुक (पीबी) रेसियो : कम्पनीको बजार भाउलाई त्यसको बुक भ्याल्यू (किताबी मूल्य) ले भाग गर्दा आउने अंकलाई पीबी रेसियो भनिन्छ । यदि बजार भाउ भन्दा प्रतिसेयर बुक भ्याल्यू बढी छ भने त्यस्तो सेयरलाई अन्डरभ्याल्यूड मान्न सकिन्छ । भ्याल्यू इन्भेष्टेमन्ट गर्दा कुनै कम्पनी बजारको गल्तीका कारण अवमूल्यनमा परेको हो कि कम्पनीको अवस्था नै चिन्ताजनक भएर अवमूल्यनमा परेको हो भनेर छुट्याउन विशेष ध्यान दिनुपर्छ ।
 
भ्याल्यू स्टकमा कसरी लगानी गर्ने ?
 
भ्याल्यू स्टकमा लगानी गर्न तपाईंसँग मुल्य दुई विकल्पहरु छन् । पहिलो विकल्प हो, भ्याल्यू स्टकहरु आफू स्वयंले पत्ता लगाउने र व्यक्तिगत लगानी गर्ने । यसका लागि सेयरहरु स्क्रिन गर्न बनाइएका विभिन्न एपहरुको प्रयोग गर्न सकिन्छ । साथै, इन्भेष्टमेन्ट कम्पनीहरुको सहयोग पनि लिन सकिन्छ । दोस्रो विकल्प हो, भ्याल्यू स्टकहरु टार्गेट गर्ने म्युचुअल फन्डहरुमा लगानी गर्ने ।
 
भ्याल्यूका लागि लगानी गर्ने टिप्स 
 
भ्याल्यू इन्भेष्टिङ दीर्घकालमा सुरक्षित र नियमित प्रतिफल पाउने भरपर्दो लगानी रणनीति रहँदै आएको छ । तर पछिल्लो समय अर्थतन्त्र र बजार रणनीतिमा परिवर्तन हुँदै जाँदा ग्रोथ स्टकमा लगानीकर्ताको नजर बढी पर्न थालेको छ । यसको अर्थ, भ्याल्यू इन्भेष्टिङ प्रयोगबिहीन भएको भने होइन । भ्याल्यू इन्भेष्टिङमै हालसम्म अडिग रहेर वारेन बफेट, चार्ली मंगरलगायत लगानीकर्ताहरु अर्बपति बनेका छन् । र उनीहरु अझै पनि भ्याल्यू इभेष्टिङलाई अघि बढाइरहेका छन् ।

 
–सन्तुलन राख्ने 
 
लगानी रणनीतिमा सन्तुलन राख्नु महत्वपूर्ण हुन्छ । रणनीतिमा सन्तुलनका साथै विविधीकरण गर्नु पनि उत्तिकै जरुरी हुन्छ । यो सुरक्षित लगानी गर्ने एक माध्यम पनि हो । भ्याल्यू इन्भेष्टिङलाई पनि रणनीति विविधीकरणको एक माध्यम बनाउन सकिन्छ । उदाहरणका लागि, तपाईंले आधा हिस्सा ग्रोथ स्टक र आधा हिस्सा भ्याल्यू स्टकमा लगानी गर्न सक्नु हुनेछ । यसबाट छिटो नाफा बुक गर्ने र दीर्घकालीन प्रतिफल हत्याउने दुवै रणनीतिको सन्तुलन रहन्छ । साथै, रिक्स कम हुनुका साथै, एउटामा नोक्सान भए अर्कोबाट भर्पाई गर्ने माध्यम बन्दछ ।
 
–अनुसन्धानमा ध्यान दिने  
 
भ्याल्यू इन्भेष्टिङ यस्तो रणनीति हो जहाँ कम्पनीहरुको फन्डामेन्टल्स अध्ययन र अनुसन्धान अनिवार्य हुन्छ । ग्रोथ इन्भेष्टिङमा भीडसँग दौडिन पनि सकिन्छ । तर भ्याल्यू इन्मेष्टिङको मुख्य गुण भनेकै भीडले नदेखेको कुरा आफूले देख्ने । त्यसका लागि अध्ययन र अनुसन्धान अनिवार्य हुन्छ । कम्पनीको वित्तीय विवरण, सम्पति तथा दायित्व, नाफा नोक्सानलगायत विविध विषयमा गहन अनुसन्धान आवश्यक छ ।
 
–धैर्यता राख्ने  
 
यसअघि चर्चा गरेजस्तै, वारेन बफेट तथा चार्ली मंगर जस्ता लगानीकर्ताले वर्षैंसम्म सेयर होल्ड गरेर अधिक प्रतिफल पाउन सफल भएका छन् । लामो समयसम्म सेयर होल्ड गर्दा कम्पाउन्डिङ लाभ लिन सकिन्छ । बफेटले कोकाकोलाको सेयर होल्ड गरेको अहिलेसम्म ३२ वर्ष भइसकेको छ । भ्याल्यू इन्भेष्टिङ दीर्घकालीन लगानी रणनीतिमा पर्दछ । त्यसैले, एकपटक खरिद गरेर वर्षैंसम्म होल्ड गर्ने क्षमता विकास नगरिकन भ्याल्यू स्टकहरु खरिद गर्नु हुँदैन । यसको अर्थ हो, भ्याल्यू इन्भेष्टमेन्ट गर्नका लागि धैर्यता राख्ने क्षमता हुनुपर्दछ ।
 
–बजार न्यून विन्दुमा पुगेका बेला किन्न तयार रहने  
 
फेरि बफेटतर्फ नै फर्कौं । बफेटले कोकाकोलाको सेयर सन् १९८७ को मार्केट क्रयासपछि किनेका थिए । बजार ध्वस्त भएका बेला राम्रो कम्पनीको सेयर सस्तो भाउमा किन्ने भ्याल्यू इन्भेष्टरले प्रयोग गर्दै आएको एक मुख्य रणनीति हो । 
 
अन्त्यमा, पछिल्लो समय भ्याल्यू इन्भेष्टिङलाई लगानीको मख्य नभई पूरक रणनीतिको रुपमा मात्र प्रयोग गरिन थालेको छ । यसलाई लगानी रणनीतिमा विविधीकरण ल्याउन र जोखिम कम गर्न विशेष प्रयोग हुन थालेको छ । विगतका दशकहरुमा यस रणनीतिले राम्रो प्रतिफल दिलाएको थियो । तर बजारले छिटो बढ्ने स्टकहरुमा धेरै जोड दिन थालेपछि अन्डरभ्याल्यूड भएका सेयर कहिले पनि आफ्नो वास्तविक भाउमा पुग्न नसक्ने अवस्था सिर्जना गरेको छ ।

तर यसको अर्थ, भ्याल्यू इन्भेष्टिङ काम नलाग्ने रणनीति भने होइन । यसलाई प्रयोग गर्ने क्षमता विकास गरेमा राम्रो प्रतिफल हात पार्न सकिन्छ । लगानीकर्ताले आफू कुन किसिमको लगानीकर्ता हुँ भनेर चिन्न पनि आवश्यक पर्दछ । अहिले ग्रोथ स्टकमा बजार दौडिएपनि भविश्यमा भ्याल्यू खोज्ने लगानीकर्ताको फेरि सक्रिय हुनेछन्
 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out