Tuesday, 9 October 2018

बेद देखि मनु धर्मशास्त्र सम्म

वेद देखि मनु धर्मशास्त्र सम्मः हामी अनभिज्ञ, पश्चिमेलीहरु विज्ञ ।
लेखकः भीम उपाध्याय

सुप्रसिद्ध अमेरिकी दार्शनिक बिल डुरान्टले भनेका छन्– ‘संस्कृत भाषा संसारका सबै भाषा, ज्ञान, विज्ञानको जननी हो ।’
सबै जसो प्राचीन हिन्दू धर्म ग्रन्थहरु संस्कृत भाषाबाट टाढिदै जाँदैछन् । २०२८ सालमा नेपालमा राष्ट्रिय शिक्षापद्धतिको योजना लागू भएयता पहिले एस. एल. सी. कक्षासम्म पढाइने अनिवार्य संस्कृत भाषाको अनिवार्यता हटाई इच्छाधीन बनाइयो । फलस्वरुप प्रतिष्ठित पेशामा लाग्न चाहने महत्वाकांक्षी जेहेन्दार विद्यार्थीहरुले जीव विज्ञान वा गणित छोडेर संस्कृत भाषा लिन चाहने कुरा भएन र साधारण विद्यार्थीहरुमा परीक्षा पास गर्न सजिलो होस् भन्ने ध्येयबाट मात्र संस्कृत भाषालाई इच्छाधीन विषयको रुपमा चयन गर्ने प्रवृत्ति विकसित भयो । यस प्रकार जान अन्जानमा नेपालीभाषाको जननी संस्कृत भाषाको ज्ञानबाट आजका पुस्ता अनभिज्ञ रहने अवस्था आएको छ । यसले गर्दा हाम्रो संस्कृति, परम्परा, बुद्धिमत्ताजस्ता पक्षमा यसले नकारात्मक असर पार्दै आउन थालेको छ  र हाम्रो अस्तित्वको पहिचान नै खतरनाक मोडमा पुग्न लागेको देखिन्छ । हुन त आज देशमा संस्कृत विद्याको जगेर्ना गर्नका लागि भनेर महेन्द्र संस्कृत विश्वविद्यालय सञ्चालित छ । तर यसलाई आवश्यक पर्ने भौतिक साधन तथा स्रोत र विद्यार्थीको आपूर्ति सन्तोषजनक भएको पाईदैन ।

तैपनि आजका पुस्ताले मूल संस्कृत भाषामा लेखिएका पुस्तकहरु भाषिक कारणले पढ्न सक्षम नहुँदैमा निराश भैहाल्नु पर्ने अवस्था भने छैन, अनेकौं भाषामा यस्ता धर्मग्रन्थहरु प्रकाशित छन् । पुस्तकहरु प्रति नयाँ पुस्ताको सामान्य अभिरुचि जोगाउन सकिएमा हाम्रो प्राचीन ऋषि–मूनि, विद्वान र बुद्धिमान् व्यक्तित्वहरुको विचार, तत्वदर्शिता र बुद्धिमत्तालाई ग्रहण गरी अवश्य नै आफ्नो व्यक्तित्वमा अझै निखार ल्याउन सकिन्छ होला । आजका पुस्ताहरुमा धर्म, शब्दप्रति लगाव रहेने गरेको पाइदैन र यस्तो हुनको कारणपनि धर्म प्रति आफ्नै चिन्तनको अभाव भएकाले पनि हुनसक्छ । पश्चिमेलीहरुको ’रिलिजन' यहाँ हामीले भन्ने गरेको धर्म एउटै हो भन्ने भान परेको हुन सक्छ । यथार्थमा अन्य कुनै पनि भाषामा धर्म शब्दले जस्तै अर्थै दिने शब्द नै छैन भनिन्छ । पश्चिमेलीहरुले भन्ने धर्मको अर्थ विशेष किसिमको पुजापाठ, विश्वास वा रहन सहन भन्ने बुझिन्छ भने हिन्दूहरुका निमित्त  धर्मको अर्थ कर्तव्यपालन, सदाचार , अनुशासन, सामाजिक उत्तरदायित्वको परिपालन, नैतिक चरित्र, कानून सम्मत व्यवहार ईश्वर प्रति मुक्ती प्राप्ति भन्ने जस्ता  अनेक तात्विक, दार्शनिक महत्वपूर्ण र उपयोगी अर्थलाई लिइन्छ । त्यसैले ‘धर्म’ शब्द अंग्रेजीको ‘रिलिजन’ वा इस्लामको ‘मजहब’ मात्र हो भनी बुझ्नु अपूर्ण हुन्छ । यसकारण हाम्रा धर्मग्रन्थहरु अध्ययन गर्दा पूर्ण समष्टि र समग्र अर्थलाई संगालेर बुझ्नुपर्दछ ।

हाम्रा प्राचीन धर्मग्रन्थहरुको अध्ययन, मनन र चिन्तनको कमीबाट हामीलाई आफ्नो अस्तित्वको जगेर्ना गर्नसमेत मुस्किल परेको छ र आज हामी नेपालीहरु आफ्नै मुलुकमा विदेशी जस्ता भएका छौं । आफ्नो संस्कार, मूल्य, मान्यता, विद्धतालाई अंगाल्नु मूर्खता हो भन्ने ठान्न लागेका छौं र मानसिक रुपमा नै हामी पराधीन हुँदैछौं । आधुनिक शिक्षा पढेकाहरुले धार्मिक ग्रन्थहरुको अध्ययन गर्दा निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । आधुनिक पुस्तकहरु जस्तो गरी विषयवस्तुहरु, सिलसिलेवार ढंगमा ती ग्रन्थहरु लेखिएका हुँदैनन् । तसर्थ यस्ता ग्रन्थहरु गुरुको सहयोगबाट मात्र बुझ्न सहज हुन्छन् । पुस्तक लेखनको प्रसंग, विषयवस्तु, रचना–काल, भूस्थिति, राजनीतिक, ऐतिहासिक परिवशेको पनि ख्याल राखिएमा मात्र यस्ता ग्रन्थहरलाई समग्रमा फलदायी रुपमा बुझ्न सम्भव हुन्छ ।

आउनुस् केही हाम्रा प्राचीन हिन्दू धर्मग्रन्थहरुसँग चिनजान गरौं र विश्वका विभिन्न महान् व्यक्तित्वहरु कसरी यी पुस्तकहरुबाट प्रभावित रहेको छन् यसको पनि छोटकरीमा चर्चा गरौं ।

1. ४ वेदः
महर्षि वदेव्यासद्वारा रचित हाम्रा धर्मग्रन्थहरुमध्ये वेद सबैभन्दा पुरानो हो । ऋग्देव, यजुर्वेद र सामवेद मूल वेदन हुन र पछि अथर्ववेदलाई पनि वेदको श्रेणीमा समावेश गरी ४ वेद भनिएको हो भनिन्छ ।

वेदहरुमा पुरानो ऋग्वेद हो । कला र साहित्यको दृष्टिकोणबाट यो वेद प्रमुख मानिन्छ । यसमा भएका सबै श्लोकहरु प्रकृतिप्रति भक्ति दर्शाइ प्रार्थनाको रुपमा लेखिएका छन् । प्रकृतिका अदृश्य शक्तिहरुलाई यहाँ ईश्वरको रुपमा मानिएको छ ।
साहित्य र कलाको दृष्टिले ऋग्वेदपछि यर्जुवेदको स्थान आउँछ । पूजापाठ गर्ने समुदायमा कयसलाई विशेष आदर दिइन्छ । त्यसैले यस वेदलाई पूजारीहरुको हाते पुस्तक (ह्याण्डबूक) भने पनि हुन्छ । यजुरको शाब्दिक अर्थ पनि ‘फर्मूला’ हो । हिन्दु कर्मकाण्ड कहाँ कसरी गर्ने आदि सूत्रको संगालो यर्जुवेदलाई भनिएको छ ।

सामवेदमा ऋग्वेदको संगीतरुपी श्लोकहरु संकलित छन् । यस वेदमा भएका श्लोकहरु प्राय जसो सबै नै ऋग्वेदबाट निकालिएका छन् । अथर्ववेद अन्तिम वेद हो । यसका श्लोृकहरको छैठौं अंश जति र बाँकी भाग गद्यमा लेखिएका छन् । तान्त्रिक मन्त्र, मोहनी बोक्सी–विद्या, ज्ञान–विज्ञान जस्ता वदैनिक उपभोगमा आउने व्यावहारिक ज्ञानहरु अथर्ववदेमा उल्लेखित छन् । विवाह, व्रतवन्ध , हादसंस्कार, घर सानेए कार्य, राजा छनौट कार्य आदि अवसरमा गरिने सांस्कृतिक प्रार्थनाहरु यसमा समावेश छन् ।

2.व्राम्हण एवं संहिताः
यी दुई थरीका पुस्तकलाई वेदपछिको पवित्र ग्रन्थ मानिन्छ । ‘व्राम्हण’ मा विभिन्न किसिमको कर्मकाण्डहरुको औचित्य झल्काइएको छ र कुन संस्कार, कस्ता बलिदान कहाँ कसरी गर्ने भन्ने व्राम्हणमा बताइएको छ । ‘संहिता’ मा दैनिक सदाचार, आचारहरुको बेलिविस्तार गरिएको पाइन्छ ।

3.पुराणः
व्यास ऋषिलाई पुराणको रचयिता मानिन्छ  र पुराणको अर्थ पौराणिक कथा हो र पुराणको कुल संख्या १८ छन् । पुराणहरुको महत्व भनेको यसका कलात्मकता र साहित्यकता हो । यसका कथाहरु अति काल्पनिक भएको पाइन्छन् । वेदमा उल्लेख भएका देवताहरुलाई दिएर यसमा कथा वर्णन गरिएका छन् । त्यसैले साहित्यप्रेमीहरुलाई विशेषत यी पुराणहरु मन पर्न सक्दछ ।

4.उपनिषद्ः
विभिन्न कालमा विभिन्न स्थानमा, विभिन्न ऋषिले विभिन्न उपनिषद् रचेका हुन् । दर्शन नै उपनिषद्को मूल विषयवस्तु हो । यसमा विभिन्न रोचक, साहित्यिक, तार्किक संवादहरु पाइन्छन् । विश्वलाई हिन्दू धर्मको सबैभन्दा ठूलो उपहार नै उपनिषद् हो भनिन्छ । पश्चिमेली भनिएको सम्पूर्णजसो दर्शनहरु उपनिषद्मा पाइन्छन् ।त्यसैले उपनिषद्लाई सम्पूर्ण दर्शनको मूल दर्शन भनेमा पनि अत्युक्ति नहोला । जम्मा १०८ वटा उपनिषद्हरु छन् भनिन्छ र हालसम्म ५० उपनिषद्हरु मात्र फेला पारी संकलन गरिएका छन् ।

इशाउपनिषद् , केनोउपनिषद्, कथाउपनिषद्, प्रश्नोपनिषद, मुडकोपनिषद, तैत्रीयोपनिषद, वृहदारण्यको उपनिषद्, श्वेतश्तोपनिषद्, आदि प्रमुख उपनिषद्हरु हुन् ।

5.व्रम्हसूत्रः उपनिषद्को अर्थको संगालोलाई नै व्रम्हसूत्र भनिन्छ । इसापूर्व २०० मा दार्शनिक वादरायनले व्रम्हसूत्र लेखेका हुन । उपनिषद्–शिक्षाको आधारभूत अंग समावेश गरिएको हुँदा व्रम्हसुत्रलाई उपनषद्को डाइजेष्ट(संक्षिप्त संगालो) पनि भनिन्छ । उपनिषद्हरुको सारांश ज्ञान प्राप्त गर्न  ‘व्रम्हसुत्र’ मात्र पढे पनि हुन्छ ।

6.विभिन्न दर्शन समुदायका ग्रन्थहरु:
उपनिषद् कालपछि दार्शनिक विचारहरुमा व्यापक उथलपुथल हुन थालेपछि विभिन्न दर्शन समुदायहरुको प्रार्दुभाव हुन्छ । यसरी यी समुदायहरुले आ–आफ्ना तत्वज्ञान समावेश गरी अनेक दर्शन विकसित गरे । यीन दर्शनहरु भने पश्चिमेली दर्शनशास्त्रका पुस्तकका ढाँचामा रचिएमा छन् ।

यसरी जम्मा ६ किसिमका दर्शनहरु: मिमांश दर्शन, साख्य दर्र्शन, योग दर्शन, वेदान्त दर्शन, वैशेषिक दर्शन र न्याय दर्शन अस्तित्वमा आएका छन् । यी दर्शनहरु एक आपसमा कतै मेल खान्छन् भने कतै कतै विरोधाभाषात्मक, विपरितात्मक पनि छन् ।

7.रामायण र महाभारतः
वाल्मिकि ऋषिले रचेका रामायण प्रत्येक हिन्दुको मनमा नै लेखिएको हुनाले यहाँ अरु थप्नुपर्ने आवश्यकता देखिंदैन । कथावस्तुमा साधारण भिन्नता पारी जम्मा तीन किसिमका रामण लेखिएका छन् । ती हुन् – वाल्मिकि रामायण, तुलसीदास रामायण र कम्भन रामायण । महाभारतको रचना व्यास ऋषिले गरेको हुन् । यसमा कौरव र पाण्डवहरुमाझ कुरुक्षेत्रको लडाईं, लडाईं गर्नुपर्ने कारण आदिको विस्तृत वर्णन गरिएको छ । भगवत गीता महाभारकै एक अंश हो । महाभारत ग्रन्थलाई संसारकै सबैभन्दा वृहत पुस्तक मानिन्छ ।

8.भगवत गीता:
भगवान् श्रीकृष्णले अर्जुनलाई महाभारतको लडाईं हुँदाका बखत युद्ध गर्नु उचित हो भन्ने दार्शनिक उपदेशहरुको महाभारत ग्रन्थको अंशलाई भगवत गीता भनिन्छ । गीतामा जम्मा १८ अध्याय छन् । हिन्दुहरुमाझ मात्र नभै विश्वलाई नै यो तत्वज्ञानसम्बन्धी महत्वपूर्ण पुस्तक ठहरिएको छ । विश्वका प्राय सम्पूर्ण प्रमुख भाषामा गीताको रुपान्तरण भएको र सम्भवत: बाइबलपछि गीताको नै सबैभन्दा बढी संस्करण प्रकाशित भएको हुनुपर्छ । प्रत्येक चेतनशील व्यक्तिले गीता पढ्नुमा गर्व गर्छन ।

9.मनु धर्मशास्त्र:
यो ग्रन्थ‘बवस्वत’ मुने नाम गरेका ऋषिले रचेका हुन् हिन्दुहरुले अंगाल्नु पर्ने नैतिक, धार्मिक, सामाजिक र साधारण जनजीवनका जरुरी नियमहरुको निर्देशन यस पुस्तकमा उल्लेख छन् । मनुमा लेखिएको छ – ‘संसारका विद्वानहरु यसबाट ज्ञान आर्जन गरिरहने छन् । मनुले भनेको कुरा अमृत हो ।’ समाजशास्त्रसम्बन्धी यो प्रथम सबैभन्दा मौलिक ग्रन्थ हो भनिन्छ ।
माथि उल्लेखित प्रमुख ग्रन्थहरुबाहेक पनि अन्य धर्म ग्रन्थहरु छन् तर तिनीहरु उपयुक्त पुस्तकहरुभन्दा उत्कृष्ट भने छैनन् । एकजना हिन्दुले आफ्नो आध्यात्मिक कर्तव्यपालन गर्दा माथिका ग्रन्थहरुको मात्र सामान्य अध्ययन गरे पनि निश्चय नै उपलब्धिमुलक हुनेछ ।

विश्वका महान् व्यक्तिहरुले पनि हाम्रा ग्रन्थहरुप्रति प्रशंसाका उदगार व्यक्त गरेको छन्-

'वेद नै पश्चिमाजगतको लागि पूर्वीय जगत को सबैभन्दा ठूलो उपहार हो' भनेर भोल्टेयरले भनेका छन् भने, निराशावादी विश्व प्रसिद्ध दार्शनिक सोपन्हरले, 'मैले उपनिषद् पढेपछि मात्र जीवनमा ढाडसको अनुभव गरें' भनेका छन् ।

यसैगरी महात्मा गान्धीले भनेका छन् ‘धार्मिक ग्रन्थहरु पढ्नु, आफ्नो धर्मको बारेमा जान्नु प्रत्येक मानवको आध्यात्मक कर्तव्य हो ।"

अरुको धर्म ग्रन्थहरुको अध्ययन गर्नु अत्ति उत्तम हुन्छ, यसले विश्वमा सम्पूर्ण मानिसहरुप्रतिको सहानुभूतिमा अभिवृद्धि गराई भातृत्वको भावना बढ्न जान्छ ।
"एउटा विदेशी चाहे भारतको गाउँ गाउँ कुनाकुनामा पुगोस तर यदि उसले रामायण र महाभारत पढेको छैन भने कहिल्यै पनि भारतीय (हिन्दु) समाजलाई बुझ्न सक्ने छैन", भारतीय विद्वान राजनीतिज्ञ राजागोपालचार्यले भनेका छन् ।

जर्मनीका विद्वान मैक्सुमुलरले सम्पूर्ण जीवन हिन्दूधर्म ग्रन्थहरु अध्ययन गर्नमा लगाए र ‘सेक्रेड बुक्स अफ इष्ट’ भन्ने श्रङखलामा पहिलोपटक पूर्वीय हिन्दू धर्म ग्रन्थहरुको अंग्रेजीमा रुपान्तरण गरे । हामी आफ्नो सम्पत्तिलाई विदेशीले देखाईदिएपछि मात्र मूल्यवान ठान्ने भएका छौं । आध्यात्मिक कर्तव्यपालन गर्ने सिलसिलामा अन्य धर्मको धर्मग्रन्थहरुको पनि अध्ययन गर्ने इच्छा जाग्नु स्वाभाविक हो र त्यसैले विश्वका प्रमुख धर्महरुको पनि संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छ । स्मरणयोग्य के देखिन्छ भने विश्वका सम्पूर्ण ग्रन्थहरुको प्रर्दुभाव एसियाबाटै भएको छ ।

विश्वमा प्रचलित ठूला धर्महरू-
विश्वका प्रमुख धर्महरुको नाम/पवित्र ग्रन्थ/प्रार्दुर्भाव भएका मुलुक/ प्रवर्तक/पूजास्थलको नाम

1.हिन्दूधर्म/गीता/भारतवर्ष/अनेकौं ऋषिमुनिहरु/मन्दिर
2.जैनधर्म/जैन ग्रन्थमाल/भारत/महाविर/मन्दिर
3.बुद्धधर्म/धम्मपद/भारत/शाक्यमुनि सिद्धार्थ/गुम्बाविहार
4.शिखधर्म/आदिग्रन्थ/भारत/गुरुनानक/गुरुद्वारा
5.इसाइधर्म/बाइबल/इजरायल/जिसस क्राइष्ट/चर्च (गिरिजाघर)
6.इस्लामधर्म/कुरान/सउदीअरेयिबा/मोहम्मद/मस्जिद
7.यहुदीधर्म/पुरानो वाइवल/इजरायल/मोजेज/सिनागग
7.बहाईधर्म/किताव–द–अक्दास/इरान/वहाउल्लाह/उपासना गृह
8.तावधर्म/ताव–तेह–किङ/चीन/लावत्से /
9.शिन्तोधर्म/जापान/
10.कन्फ्युसियस धर्म/ लुन यू/चीन/कन्फुसियस/ 
11.पारसी धर्म /जेन अवेष्ता/इरान/जोरोथुष्त्र 

अन्त्यमा ऋग्वेदबाट निम्न वाक्य उल्लेख गर्न मनासिव नै होला-
"असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय ।।"

Friday, 5 October 2018

जीवन जाने पछी मात्र मृत्यु जानीन्छ

डा. नम्रता पाण्डे

तिब्बतमा मारपा नाम गरेका एकजना फकिर थिए। एकजना सज्जन उनीकहाँ पुगेछन् र सोधेछन्— गुरु, मलाई जीवन र मृत्युका बारेमा केही बताइदिनुपर्‍यो। फकिर हाँस्छन् र भन्छन्, ‘जीवन के हो सोध म बताउन सक्छु किनकि म नै जीवन हुँ, मैले जीवन जिइरहेको छु। मृत्यु मैले भोगेको छैन, मृत्युसँग मेरो कुनै परिचय पनि छैन, त्यसैले बताउन सक्दिनँ। सायद जसले मृत्युवरण गरिसक्यो उसैले मात्र बताउन सक्छ होला– मृत्यु के हो। भर्खरै मात्र राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो एक सयऔं वर्षको जन्मोत्सव मनाउने सुअवसर मिलेको देख्दा सबैका मनमा एउटा उत्साह, श्रद्धा र जीवनप्रतिको प्रेम र सिर्जनात्मक ऊर्जाको महसुस भइरहेको छ। मानिस सबैभन्दा डराउने क्षण भनेको सायद मृत्यु नै हो किनकि अस्तित्वको कृपास्वरूप, प्रेमपूर्ण प्राप्त गरेको जीवनलाई नबुझी, नजानी, नभोगी कोही पनि मृत्यु चाहँदैन यद्यपि मृत्यु शाश्वत सत्य हो। तर ओशो भन्नुहुन्छ, ‘जीवन के हो नजानी मृत्युसँग डराउनुको अर्थ छैन।’ जीवन के हो र मृत्यु कसरी आउँछ त्यसको चिन्ता गर्नुभन्दा जीवन कसरी जिउने, जीवनमा प्राप्त अवसर र प्रेमलाई कसरी भोग्ने, जीवनलाई कसरी सिर्जनशील बनाउने त्यो जान्न सक्नु महŒवपूर्ण हो। राष्ट्रकविले सय वर्षको स्वस्थ आयु प्राप्त गर्नुको पछाडि उहाँको निरन्तर सिर्जनशीलता, आत्मविश्वास, सकारात्मक सोच र अन्तज्र्ञान नै हो।

मानव शरीर एउटा वीज हो, भित्रबाट जीवन चेतना र आत्माको अंकुरण हुन सुरु गरेपछि वीजबाट वृक्ष बन्छ मानिस। समग्रता, सजगता, आन्तरिक ऊर्जाको अनुभूति र प्रस्फुटन नै जीवन हो। जीवित रहेर पनि जीवन के हो भन्ने प्रश्न उठ्नु त अज्ञानताको रूप मात्र हो। जीवनसँग परिचित हुन नसक्ने र जीवनको लक्ष्य थाहा नपाउने व्यक्ति मृत्युसँग डराउँछ, अन्यथा जीवनबाट वि श्राम लिनु मात्र हो मृत्यु, कुनै भयभीत घटना होइन। जीवनमा सकारात्मक काम गर्न सकिएन, जीवन ऊर्जालाई जान्न र प्रयोगमा ल्याउन सकिएन भने मानिसलाई पश्चात्ताप लाग्छ। प्रत्येक क्षण चलिरहेको श्वास, आन्तरिक ऊर्जा, आन्तरिक शान्ति, आनन्द र प्रेम नै जीवन हो। जीवनसँग अपरिचित रहनुपर्‍यो भने व्यक्ति मृत्युको भयमा पुग्छ।

मानिस मृत्यु होइन, अमृत हो। समस्त जीवन नै अमृत हो भन्यो भने पत्याउन गाह्रो मान्छ किनकि अमृत के हो मानिसले जान्न खोजेको छैन। अमृतरूपी तत्व केमा छिपेको छ, त्यसलाई कसरी उजागर गर्ने दिशातर्फ अपरिचित रहेकै कारण मृत्युसँग डर लाग्छ। त्यसैले जीवन के हो जान्न सक्यो भने मृत्युको प्रश्न उठ्दैन। गहिरो निद्रामा पुग्नु, प्राणशक्ति सचेतन नभएर अचेतन अवस्थामा पुग्नु र जीवनप्रतिको बेहोसी नै मृत्यु हो। जुन दिन जीवनप्रति बेहोस र अचेत भइन्छ, त्यही दिन मृत्यु घट्छ किनकि जीवन र मृत्यु साथसाथ रहन सक्दैन। त्यसैले जीवन के हो भनेर प्रश्न गर्नुको साटो म को हुँ भनेर जान्ने कोसिस ग¥यो भने उसको जीवनका हरेक क्रियाकलाप अमृतमय बन्छन्। व्यक्ति आफ्नो आन्तरिक सत्तासँग परिचित हुन पुग्छ। व्यक्ति प्रकाशसँग खुसी हुन्छ भने अन्धकारसँग डराउँछ। ठीक यही तरिका हो यदि जीवनलाई प्रकाशमय बनाउन सक्यो भने अन्धकार र डरको प्रश्न नै उठ्दैन।

कुनै गाउँमा सम्राटको शोभायात्रा निस्किरहेको बेलामा एकजना मध्यपान गरेको व्यक्तिले सम्राटमाथि ढुंगा बर्साउँछन्, अपशब्द बोल्छन् र गालीगलौजमा उत्रन्छन्। सम्राटका सैनिकले ती व्यक्तिलाई पक्रेर थुनामा राख्छन्। जब व्यक्ति सम्राटलाई गाली गर्न सुरु गर्दछन् तब सम्राट खित्का छोडेर हाँस्न थाल्छन्। सैनिकहरू आश्चर्यमा पर्छन् र सोध्छन्, ‘महाराज, यो व्यक्तिले तपाईंलाई गाली गरिरहेको छ तर तपाईं हाँसिरहनु भएको छ ? ’ सम्राट भन्छन्—किनकि मैले के गरिरहेको छु भन्ने कुरा यो व्यक्तिलाई थाहा छैन, ऊ नशामा छ, बेहोसी छ। भोलिपल्ट बिहानै ती व्यक्तिलाई सम्राटछेउमा हाजिर गराइन्छ। सम्राट सोध्छन् —हिजो तिमीले मलाई धेरै गाली गर्‍यौ, अपशब्द बोल्यौ कारण के थियो ? ती व्यक्ति सम्राटप्रति शिर निहुराउँदै भन्छन्, ‘महाराज, मैले त्यसो गरें ? यसको कारण अरू केही होइन बेहोसी, मेरो नशा हो सम्राट ! मैले के बोलें, के गरें केही याद छैन किनकि म बेहोस थिएँ। यी व्यक्ति झैं सबै मानिस इमानदार हुन सक्ने हो भने आफ्नो बेहोसीप्रति जागृत हुन सकिन्छ। मानिसहरू बोलिरहेछन्, प्रेम गरिरहेछन् या घृणा गरिरहेछन्, युद्ध गरिरहेछन् त अधिकारका निम्ति आवाज उठाइरहेछन् तर सब बेहोसीमा गरिरहेछन्। के गर्दैछौं र के बोल्दैछौं भन्ने थाहै नपाई गरिरहेछन्। त्यसो नहुँदो हो त समृद्धि र शान्तिका लागि युद्ध लड्नुपर्ने आवश्यकता थिएन।

जन्मदेखि मृत्युसम्म दुःख, पीडा र चिन्ताका कथा बनाएर बस्नेले कसरी जीवनको महत्व बुझ्न सक्छ ? कसरी जीवनलाई भोग्न जान्दछ ? जीवनलाई जान, भोग, प्रेम गर भनेर चेत गराउने व्यक्तिप्रति समेत यो समाजमा आशंका पैदा हुन्छ किनकि हजारौंमा एकदुई व्यक्तिले मात्र निदाएको व्यक्तिलाई जगाएर सुन्दर जीवन र सुन्दर संसारमा विचरण गर्न सिकाउँछ। त्यसैको बोध भएर होला, एकजना अंग्रेज विद्वान् कैनेथवाकरले आफ्नो किताबमा फकिर गुरजिएफप्रति समर्पित गर्दै लेखेका थिए— मेरो निद्रा तोड्ने र मलाई जागृत गराउने गुरजिएफप्रति समर्पित।

जीवनप्रतिको जागरण, सिर्जनशीलता, आन्तरिक अनुभूति, अन्तर्चेतना र समझ नै जीवन हो भन्ने बोध गर्नु जीवनलाई जान्नु हो। शरीररूपी वीजलाई वृक्षमा परिणत गर्नु जीवनको लक्ष्य हो भन्ने जानेको क्षणमा मात्र व्यक्तिले आफूमा पूर्णताको अनुभूति पाउन सक्छ। जीवनका सफलता र फैलावट बाहिर देखिन्छन् भने जागरणभित्र अनुभूतिमा मात्र हुन्छ। एउटा वृक्षको सफलता उसको जरासँग जोडिएको हुन्छ। जरादेखि मलजल पाएर मात्र वृक्षले फल दिन सक्छ। व्यक्तिको ध्यान सीधै फलमा जान्छ, जरामा जाँदैन। अदृश्य जरामा वृक्षको शक्ति र गुण लुकेको हुन्छ। मानवरूपी जीवनमा पनि बाहिरी सफलता र आन्तरिक गुण के हो बोध गर्न सकेको क्षणमा मात्र जीवन धन्य लाग्छ। जब जीवन धन्य लाग्छ, जिउनुको आनन्द आउँछ तब मृत्यु पनि सजिलै स्वीकार हुन्छ। शरीर मरे पनि आत्मा जीवित रहन्छ भन्ने जुन बाहिरी ज्ञान सबैमा छ त्यो आत्माको अर्थ हो अमृत। जान्नेवाला, जो सधैं जीवित छ, शाश्वत सत्यको रूपमा स्थापित छ। बोध, सत्य, जे छ त्यही, कुनै कथा जोडिएको छैन... यही नै अमृततत्व हो। जीवन जिउने कला जान्नेले मात्र मृत्युको कला पनि जान्न सक्छ। शाश्वत सत्य मृत्युको कला नजान्ने, जान्न नचाहनेलाई मात्र मृत्युसँग डर लाग्छ। मृत्युसँग डराउनुअगाडि जीवन सिर्जनशीलताका साथ जिउनु महत्वपूर्ण पक्ष हो।

साभार:- अन्नपूर्णपोस्ट

Monday, 1 October 2018

स्थायी खुसीको लागि सरल जीबन

एकजना बटुवा कतै जाँदै थियो । बाटोमा आफू जानुपर्ने स्थान अझै कति टाढा छ भनेर उसले कसैलाई सोध्यो ।

जवाफ आयो, “दस हजार किलोमिटर ।”

बटुवाले छक्क पर्दै सोध्यो, “अझै त्यति धेरै बाँकी छ ?” 

“सिधै जानुभयो भने त्यति नै टाढा छ किनभने तपाईं विपरीत दिशातिर जाँदै हुनुहुन्छ । दिशा परिवर्तन गर्नुहोस्, केही मिनेटमै पुग्नुहुन्छ ।”

खुसी या आनन्दको खोजमा मनुष्यको यात्रा पनि गलत दिशातिर हुँदै आएको छ । जबकि हरेक मानिसको जीवनको लक्ष्य स्थायी खुसी नै हो । 

अहिलेको मनुष्यलाई इतिहासकै सबैभन्दा सुविधा प्राप्त छ । वर्षौं पहिला राजामहाराजाहरुलाई प्राप्त हुने सुविधा अहिले सबैलाई प्राप्त छ । हामी घरमै बसीबसी खानेकुरा मगाएर खान सक्छौँ । कम समयमै टाढाटाढा पुग्न सक्छौँ । विलासिताका वस्तु प्रशस्तै छन् । भौतिक हिसाबले मानवजीवन यति सहज कहिल्यै थिएन । तैपनि मनुष्य झन्झन् सुखी हुँदै जानुपर्नेमा झनझन् तनावग्रस्त हुँदै गइरहेको छ । 
अधिकांश मानिस बाहिरी सफलता प्राप्तिका लागि दौडिरहेका हुन्छन् किनभने बाहिरी अवस्था आफूले सोचेअनुसार भयो भने खुसी भइन्छ भन्ने उनीहरुलाई लाग्छ । कहिलेकाहीँ खुसीका क्षणहरु त आउँछन् हाम्रो जीवनमा हामीले इच्छाएका वस्तु पाउँदा, तर त्यो खुसी त्यसको मज्जा लिन नपाउँदै हराएर जान्छ । खुसीको स्थायी अनुभव हामीमा छैन । बाहिरबाट मिल्ने खुसी बाहिरी वातावरण असहज हुनेबित्तिकै हराएर जान्छ । जबकि शास्त्रहरु र सद्गुरmहरुले स्थायी खुसी सम्भव छ भनेका छन् । 

यस विषयमा एउटा कथा छ, 

एकजना बूढो साधुलाई सम्राटले आफ्नो महलमा भोजन गर्न बोलाए ।

भोजन गरेपछि सम्राटले साधुसँग भने, “तपाईंसँग केही नभए पनि तपाईंको अपार सन्तोष देख्दा मलाई इर्ष्या लाग्छ ।”

साधुले उत्तर दिए, “तपाईंसँग त मेरो भन्दा पनि कम छ, महाराज ।” 

“कसरी ? मसँग यत्रो ठूलो राज्य छ ?”

“त्यै त, तपाईंसँग त राज्य मात्रै छ,” साधुले भने, “मसँग त अनन्त आकाश र संसारका सबै पर्वत, नदी, सूर्य र चन्द्रमा अनि त्योभन्दा पनि ठूलो कुरा हृदयमा परमात्माको बास छ । तपाईंसँग त तपाईंको राज्य मात्र छ ।”

कथाले सन्देश दिन्छ, पूरै प्रकृति आनन्दका लागि उपस्थित छ । आफूसँग भएकै चिजबाट आनन्द लिन सकिन्छ । 

शास्त्र र साधुहरुले वर्षौंदेखि इच्छा कहिल्यै पूरा हुँदैन भन्दै आइरहेका छन् । उनीहरुले बताएका स्थायी खुसी प्राप्त गर्ने बाटोतिर उन्मुख हुने सजिला उपायहरुमध्ये केही निम्न छन्–

आवश्यकतामा बाँच्ने

एक व्यापारी व्यापारमा पूरै असफल भएपछि निराश हुँदै आत्महत्या गर्न भनेर गयो । एउटा रूखमा डोरी लगाएर झुण्डिनै लाग्दा एकजना मानिसले देखेर उसलाई रोक्यो र एउटा चेकमा आवश्यक रकम लेखेर दियो । व्यापारी खुसी हुँदै फर्कियो । 

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार ग-यो । प्रशस्त पैसा कमायो । तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन । चाहियो भने छँदै छ भनेर राखिराखेको थियो । चेकले उसलाई आत्मविश्वास दिएको थियो । सुरक्षा दिएको थियो । त्यसैका आडमा उसले व्यापार सुरm ग¥यो, तर उसलाई त्यो पैसा आवश्यकतै परेन । 

एक वर्षपछि व्यापारी आफूलाई सहयोग गर्ने मानिसलाई उक्त चेक फिर्ता गर्ने र धन्यवाद भन्ने उद्देश्यले भेट्न गयो । जब उसले त्यो मान्छेलाई भेट्यो, ऊ चकित प-यो । 

त्यो मान्छे पागल थियो । गोजीभरि नक्कली चेक बोकेर हिँड्थ्यो र जसलाई देखे पनि चेक निकाल्दै त्यसमा रकम लेखेर दिन्थ्यो । ऊसँग पैसा नै थिएन ।

आफूसँग केही धन छ भने त्यसले अगाडि बढ्नका लागि उत्प्रेरित गरिरहन्छ । केही प-यो भने छँदै छ भन्ने भावले जीवनमा ठूलो काम गर्छ । तर एकजना मानिसका लागि जति नै धन भए पनि सधैँ अपुग अनुभव हुन्छ । जति धेरै कमायो त्यति बढी इच्छा बढ्दै जान्छ । 

हिन्दू शास्त्रहरुले सांसारिक भोग र सङ्ग्रह गर्ने इच्छाको कहिल्यै पूर्ति हुँदैन भन्दै आएका छन् । यस्तो कहिल्यै पूरा नहुने इच्छालाई शास्त्रीय भाषामा असत् इच्छा भनिन्छ । आवश्यकता पूरा गर्ने इच्छालाई सत् इच्छा भनिन्छ । 

आवश्यकताको पूर्ति हुन्छ, तर इच्छा कहिल्यै पूरा हुँदैन । जस्तै, भोक लाग्दा पेट भर्ने इच्छा र स्वादको इच्छा । भोकको इच्छा पूरा गरेर शरीरको आवश्यकता पूरा गर्न सकिन्छ । यस्तो आवश्यकतालाई त्याग गर्न सकिँदैन । स्वादको इच्छा भने कहिल्यै मेटिँदैन र यसलाई त्याग गर्दा पनि जीवनमा कुनै फरक आउँदैन ।

कहिल्यै पूरा नहुने इच्छाको पछि लागेर सधैँ धन, यश कमाउने ध्याउन्नमा लाग्दा खुसी भने हराउँदै गइरहेको हुन सक्छ ।

त्यसैले इच्छामा कम ध्यान दिँदै काममा निरन्तर लागिरह्यो भने खुसी मिल्छ । 

निष्काम कर्म

महाभारत पढेपछि मनमा स्वतः एउटा प्रश्न उब्जन्छ, “अर्जुनले करोडौँ मान्छे मार्दा उनलाई पाप नलाग्ने, हामीले चाहिँ सामान्य गल्ती गर्दा पनि पाप लाग्ने ?”

भक्तियोगीहरुले भगवान्को लीला मानेर यस कुरालाई सहजै लिए पनि तार्किक मानिसका लागि यसले चित्त बुझ्दैन । 

यस विषयमा श्रीमद्भगवद्गीताले स्पष्टीकरण दिएको छ, जुन कर्ममा अहंकारले भरिएको फलको इच्छा हुँदैन, त्यस कर्मले बाँध्दैन र त्यसको फल भोग्नु पर्दैन । यस्तो मान्छेले गरेको कर्म केवल क्रिया हुन्छ । 
उदाहरणका लागि, कुनै नदीले धेरैको पालनपोषण गरिरहेको हुन्छ । त्यसबाट सिँचाइ गरिन्छ र मानिस तथा वन्यजन्तुले पानी पिउँछन्– यस अवस्थामा नदीलाई कुनै पुण्य हुँदैन । त्यस्तै नदीको प्रवाहमा धेरै जीव बगेर मर्छन् पनि । यस्तोमा नदीलाई कुनै पाप पनि लाग्दैन । यदि नदीले मैले गरेको भन्ने सम्झन्थ्यो भने उसलाई पुण्य या पाप लाग्थ्यो । 

मनुष्यले गरेको कर्ममा पनि उसको अहम्भाव मिसिएको छ भने सुखद् भावस्वरूप पुण्य र दुःखद् भावस्वरूप पापको फल मिल्छ । अर्थात्, कर्म आफैँले मनुष्यभित्र संस्कार बनाउँदैन, संस्कार मनुष्यको भावले बनाउँछ । 

यसलाई आधार बनाएर भन्न सकिन्छ, मनुष्यले कर्म मजाले गर्न सक्छ तर अहम्भाव त्यागेर । त्यसैले नयाँ वर्षमा विभिन्न योजना बनाउने भन्दा पनि अगाडि आएको कर्मलाई निष्काम भावले गर्ने बानी बसाल्न सक्यो भने त्यसबाट धेरै खुसी मिल्छ र एकाग्रभावले धेरै काम पनि गर्न सकिन्छ । 

आहारमा सुधार

शास्त्रहरुमा उल्लेख भएअनुसार आहार तीन प्रकारका हुन्छन्– सात्विक, राजस र तामस । मनुष्यमा पनि यी तीनवटै गुण धेरथोर हुन्छन्, तर हरेकमा एउटा गुणको प्रधानता हुन्छ । सात्विक स्वभावको मानिसलाई त्यस्तै खालको खानेकुरा प्रिय लागे पनि कहिलेकाहीँ शरीर बिमार हुँदा या अन्य कुनै अवस्थामा राजस र तामस खानेकुरा खान मन लाग्छ । यही अवस्था राजस र तामस स्वभावको व्यक्तिको पनि हुन्छ ।

तामस या राजस स्वभावको मान्छेले जति सजिलै तामसी र राजसी खानेकुरा पचाउन सक्छ सात्विकले सक्दैन । त्यसैले खानेकुरा सेवन गर्दा धेरै हदसम्म आफ्नो शरीरको अवस्था आफैँले बुझ्नुपर्ने हुन्छ । 
खानेकुराले स्वभावमा प्रत्यक्ष असर पार्छ । सात्विक स्वभावको मान्छेमा विवेक सधैँ जागिरहेको हुन्छ । राजस स्वभावको मान्छेमा रागको प्रधानता रहन्छ । ऊ कुनै पनि कुरामा आसक्त रहन्छ । तामस व्यक्तिमा मोह–मूढताको प्रधानता रहन्छ । 

एउटा उदाहरण दिएर उसलाई बुझाउन सकिन्छ, सात्विक स्वभावको मान्छेले कुनै काम गर्नुभन्दा पहिल्यै त्यो काम गर्दाका फाइदा–बेफाइदाका बारेमा राम्रोसँग सोचेर मात्रै गर्छ । राजस स्वभावको मान्छेले सोच्दै नसोची काम गर्छ र काम गरिसकेपछि मात्रै सोच्छ । गल्ती गरिएको रहेछ भने पश्चाताप पनि गर्छ । तामस स्वभावको व्यक्तिले चाहिँ सोच्दै नसोची काम गर्छ र गरिसकेपछि त्यो काम गल्ती नै भए पनि त्यसको बोध गर्दैन ।  

के खाने, कति खाने र कुन बेला खाने भन्ने विषयमा योग विज्ञानमा विशेष चर्चा छ । चितुवाजस्तो दौडिन सक्ने शरीर चाहिएको हो वा सय किलोको भारी बोक्न सक्ने शरीर अथवा सहजतापूर्वक ध्यानमा प्रवेश गर्न सक्ने शरीर चाहिएको हो, सही भोजनको छनोटबाट आफ्नो आवश्यकता र चाहनाअनुरुपको शरीरको निर्माण गर्न सकिन्छ ।

भोजनले शारीरिक स्वास्थ्य मात्र नभई हाम्रो सोच्ने र अनुभव गर्ने क्षमतामा समेत प्रभाव पार्छ । मानौं पेट्रोलले चल्ने इन्जिन भएको गाडीमा डिजेल हालियो भने गाडी चल्न त चल्ला, तर उक्त गाडीको पूर्ण क्षमताको उपयोग गर्नु छ भने त्यसमा पेट्रोल नै हाल्नुपर्छ । मानव शरीर र खानेकुराबीचको सम्बन्ध पनि त्यस्तै हो । के उचित हो र के होइन भन्ने नजानी आफ्नो प्लेटमा आइपरेका सबै खानेकुरा हाम्रो शरीरभित्र हाल्न थाल्यौँ भने शरीरको क्षमता र आयु दुवैमा ह्रास आउँछ ।

भोजन गर्दा हाम्रो मनस्थिति र भाव कस्तो छ भन्ने कुराले पनि शरीरमा पर्ने प्रभावलाई फरक पार्न सक्छ । आनन्दित अवस्थामा गरिएको भोजनको एक तिहाई मात्राले पनि रिसाएको वा दुःखी अवस्थामा गरिएको भोजनले भन्दा धेरै ऊर्जा दिन्छ । यसैकारण रिसाहा र दुःखी मान्छेहरु धेरै खानेकुरा खाने गर्छन् । उनीहरुको शरीर भद्दा र अनावश्यक मोटो हुन्छ । 

त्यसैले सात्विक खानेकुरामा ध्यान दिइयो भने मस्तिष्क सधैँ शान्त भइरहन्छ । शान्त मस्तिष्कमा खुसी पनि कायम रहन्छ ।

सहज दैनिकी 

शास्त्रहरुमा उल्लेख भएअनुसार सुख दुई प्रकारका हुन्छन्, लौकिक र पारमार्थिक । 
लौकिक सुख बाहिरी अवस्थाबाट प्राप्त हुन्छ । यस्तो सुखमा दुःखको पनि सम्भावना त्यत्तिकै रहन्छ । बाहिरी परिस्थिति आफूअनुकूल भयो भने सुख र आफूअनुकूल नहुँदा दुःखको अनुभूति हुन्छ । सुख मात्रै प्राप्त गर्छु भनेर कहिल्यै सम्भावना हुँदैन । 

सुख र दुःखभन्दा पर अर्को एउटा सुखको अवस्था हुन्छ । जसलाई परमार्थिक सुख या आनन्द भनेर भन्न सकिन्छ । यस आनन्दको अनुभव गर्न सकियो भने बाहिरी अवस्था जस्तोसुकै भयो भने पनि भित्री खुसी कायम रहन्छ । मानौँ, कुनै मान्छेको नजिकको आफन्तको मृत्यु भयो । यस अवस्थामा त्यो मान्छे बाहिर रोइरहेको छ भने पनि यो भित्री खुसी या आनन्द कायम रहन्छ । 

सम्पूर्ण अध्यात्म र धर्मको उद्देश्य नै यसैलाई प्राप्त गर्ने विभिन्न तरिका बताउने हो । खुसी प्राप्त गर्ने मामलामा आफू कति माथि उठेँ भन्ने मापदण्ड चाहिँ कति समयसम्म जागरुक रहन सकियो भन्ने हुन्छ । 

बिहान उठेदेखि बेलुकासम्म विभिन्न कर्महरु गरिन्छ । त्यस समयमा मन भने आफूसँग हुँदैन । वास्तवमा मनुष्यले कर्म त गरिरहेको हुन्छ तर त्यसमा डुब्नै सकेको हुँदैन । जस्तै– दाँत माझिरहँदा उसले ब्रसले दाँतमा गर्ने स्पर्श, पानीले उत्पन्न गर्ने संवेदना आदिमा पूरै ध्यान दिएकै हुँदैन । पूरै संवेदना अनुभव गर्ने गरी जुनसुकै कर्म गरियो भने पनि जागरुकता वृद्धि हुन्छ । जतिजति जागरुकता वृद्धि हुन्छ त्यतित्यति आनन्दको लेभल बढ्दै जान्छ । त्यसैले नयाँनयाँ काम गर्छु भनेर इच्छा गरिरहनुभन्दा आफूले दैनिक गरिरहेको कार्यमा ध्यान दिँदा खुसीमा बढोत्तरी गर्न सकिन्छ ।  

दान

एकपटक युधिष्ठिरले दानको महिमाका बारेमा श्रीकृष्णसँग सोधेका थिए । श्रीकृष्णले उनलाई दिएको उत्तर यस्तो थियो, “महाराज ! मृत्युउपरान्त धनादि वैभव व्यक्तिसँगै जाँदैन । व्यक्तिद्वारा गरिएको दानले नै परलोकमा मित्र बनेर उसको साथ दिन्छ । हृष्टपुष्ट शरीर पाएर पनि कुनै फाइदा छैन यदि उसले कसैको उपकार गर्दैन भने ।”

दानको महत्वका बारेमा प्रायः सबै शास्त्रमा उल्लेख छ, सबै धार्मिक सम्प्रदायहरुले पनि यसलाई अपनाएका छन् । दानलाई मानवको अनिवार्य आचरण मानिएको छ । वेदले त भनेको नै छ, “सय हातले आर्जित गर र हजार हातले दान गर ।”

उपनिषद्, पौराणिक ग्रन्थ, श्रीमद्भगवद्गीता, श्रीरामचरितमानसजस्ता ग्रन्थहरुमा दानका विषयमा थुप्रै कुराहरु उल्लेख भएको पाइन्छ । 

गीताका अनुसार फलको बिल्कुलै इच्छा नराखी सत्पात्रलाई दान दिनु दान हो । 
शिवपुरी बाबासँग एक भक्तले सोध्छन्, “चोर्न हुन्छ कि हुँदैन ?”
शिवपुरी बाबाले उत्तर दिन्छन्, “चोर्न हुन्छ, तर चोरेको मध्ये ९० प्रतिशत दानमा दिन सकिन्छ भने ।”
उनका अनुसार सामान्य अवस्थामा आफ्नो कमाइको १० प्रतिशत दान दिनुपर्छ । 

हुन त दान दिँदा कुनै अपेक्षा नराखी दिनुपर्छ, तर शास्त्रअनुसार जति दान दिइन्छ त्यसको कैयाँै गुण बढेर आफैँसँग फिर्ता आउँछ । यस हिसाबले दान बैंकमा पैसा जम्मा गर्नुभन्दा पनि ठूलो लगानी हो । 
त्यसैले आफूले जति कमाइन्छ, त्यसको केही प्रतिशत दानमा दिने बानी बसाल्नाले खुसीमा बढोत्तरी हुन सक्छ ।

निचोड

एउटा मान्छेलाई योगका सिद्धिहरु प्राप्त गर्ने रहर जाग्यो र एकान्त वनमा आश्रम बनाएर बसेका एक गुरुकहाँ पुग्यो । सबै कुरा थाहा पाइसकेपछि गुरुले उसलाई भने, “तिमीलाई सिद्धिहरु चाहिएको रहेछ । त्यसका लागि तिमीले मैले भनेबमोजिमको एउटा साधना गर्नुपर्छ । ध्यान दिएर सुन । म एउटा मन्त्र दिन्छु । भोलि साँझ नदीमा स्नान गरेर रातभर मैले दिएको मन्त्र जप गर । तिमीले आफूले चाहेअनुसारको सिद्धि पाउनेछौ । मन्त्र पाठ गर्दा एउटा कुरामा भने विशेष ध्यान दिनुपर्छ । साधना अवधिभर तिम्रो मनमा बाँदरहरुका बारेमा कुनै एउटा विचार पनि आउनु हुँदैन ।”

गुरुको कुरा सुनेर मान्छे दङ्ग प-यो । आजसम्म बाँदरका बारेमा उसले कहिल्यै सोचेकै थिएन । आज झन् सोच्नै नपर्ने बेलामा त किन पो सोच्थ्यो र ! ऊ साँझ परेपछि नदीमा नुहाएर साधना गर्न बस्यो । जसै ऊ गुरुले दिएको मन्त्रोच्चारण गर्न थाल्यो, उसको दिमागमा बाँदरहरु नाच्न थाले । त्यस्तो नहोस् भनेर ऊ अत्यन्त सतर्क थियो । उसको सतर्कताले उल्टो काम ग¥यो । रात प¥यो, बिहान भयो । अनेक कोसिस गर्दा पनि उसले आफ्नो दिमागबाट बाँदरहरुलाई हटाउन सकेन । यस्तो पहिला कहिल्यै भएको थिएन ।
कुनै कुराका बारेमा सोच्दिनँ भन्यो भने मनमा त्यही कुरा खेलिरहन्छ । यो मानव मनको स्वभाव हो । यही कारणले मन धेरैका लागि चिन्ता र तनाव मात्र उत्पादन गर्ने कारखाना बनेको छ ।

नयाँनयाँ सोच राखेर अगाडि बढ्नुभन्दा जीवन सहज बनाउँदा खुसी धेरै मिल्छ । खुसीको बेलामा गरिएको विचार झनै शक्तिशाली बन्छ र त्यसले घरिघरि दुःख पनि दिँदैन । काम गर्न थालेपछि त्यस काममा पूरै ध्यान दिँदा त्यही कामसँग सम्बन्धित योजना बन्छन्् र ती योजनाले मन चञ्चल गराउँदैनन् । 

त्यसैले नयाँ वर्षमा ‘म यस्तो गर्छु, त्यस्तो गर्छु’ भनेर योजना बनाउनुभन्दा पनि जीवन सहज बनाउनतिर लाग्नुपर्छ । यसरी अगाडि बढियो भने झनै धेरै खुसी र सफलता पाउन सकिन्छ । 

साभार:- नागरीक दैनिक

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out