Tuesday, 17 December 2019

दु:ख स्थायी छैन


दुःख जीवनको एउटा स्वाभाविक प्रक्रिया हो जस्तो लाग्छ । जीवनमा दुःख आएकै कारण त सुखका मार्ग खोज्न प्रेरित गरे जस्तो पनि लाग्छ । दुःख आएन भने सुख कसरी थाहा पाउने भनेर तर्क गर्न पनि सकिन्छ । तर दुःख तथ्य होइन, एउटा धारणा हो । जस्तो धारणा बनायो परिणाम त्यस्तै आइलाग्छ ।

दृष्टि सही नहुँदा दुःखको महसुस हुन्छ । जीवन जिउने क्रममा हाम्रा धेरै धारणाहरु बन्ने गर्दछन् र दुःखको महसुस दिलाउने गर्दछन् । अस्वीकार, सजगताको कमी, समझको कमी र विवेकको कमीले दुःख निम्त्याउने गर्दछ । दुःख एक किसिमको उत्तेजना हो । जसरी सुख एक उत्तेजना र आफ्नै आर्जन हो, त्यसैगरी दुःख पनि एक किसिमको उत्तेजना र आफ्नै आर्जन हो ।


यसो हेर्दा अरुको कारणले दुःख आए जस्तो, अरुले दुःख दिएजस्तो लाग्छ तर गहिराइबाट सोचौं त ! दिने काम अरुको भयो, लिने कि नलिने हाम्रो रोजाइमा छ । दुःख लिनुपर्छ भनेर कसैले हामीलाई वाध्य पार्न सक्दैन । कसैले दुःखी या सुखी बनाउँदैमा हामी बन्छौं भने हाम्रो आफ्नो स्वभावको प्रयोग भएन । अरुकै इशारामा चल्ने, अरुले जता लैजान्छ, त्यतै लाग्ने र म को हुँ त भनेर विचार नपुर्‍याउने व्यक्तिलाई दुःखी बन्न पनि सजिलो छ ।

दुःख र सुख परिस्थिति अनुसार निर्धारण गरिन्छ, त्यसैले यी स्थायी छैनन् । किनकि परिस्थिति पनि सधैं एकनास रहँदैन, स्थायी हुँदैन । तर मनस्थितिले यसलाई स्थायी बनाइराख्न सहयोग पुर्‍याउँछ ।

परिस्थितिलाई हामी परिवर्तन गर्न सक्दैनौं । तर, मनस्थिति सम्हाल्न, मनलाई जान्न र विवेकको प्रयोग गर्न हामी सक्छौं । मानिसले जुन कुरालाई दुःख भन्ठानेका हुन्छन्, ती दुःख असम्यक दृष्टि अर्थात् बेहोशीको कारण आउने गर्दछन् ।

कोही व्यक्ति कतै लड्यो या केही घटना भयो र दुःखी छ, सोध्यौं भने उनको जवाफ आउँछ– होस नै पाइनँ, कसरी लडेंछु ।

मानसिक दुःख कम गर्ने एकमात्र उपाय सजगता र ध्यानको अभ्यास हो । किनकि ध्यानले आत्मबल बढाउँछ र दुःखलाई दुःखका रुपमा नहेरी एक घटना र तथ्यका रुपमा हेर्न सक्ने बनाउँछ ।

हुन त धन, तन, मन र बुद्धिले महसुस गर्ने दुःख मानिसले धेरै अनुभूति गरेका हुन्छन् । धन गुम्यो या भनेजति आर्जन गर्न सकिएन, शेयरमा घाटा लाग्यो, जग्गाको भाउ घट्यो, अर्थात् धनको अभावले भनेको काम गर्न सकिएन आदिमा मानिसले दुःख महसुस गर्छ । शरीरमा अस्वस्थताका कारण दुःख महसुस हुन सक्छ । आफूले चाहेको कुरा प्राप्त भएन भने मनमा दुःख लाग्छ ।

धेरै जानेर, बुझेर गरेको काम पनि बिग्रयो भने बुद्दिको तहमा दुःखको महसुस हुन सक्छ । तर, यसकै विपरीत धन आर्जन भए, व्यापारमा नाफा भए सुखको महसुस हुन्छ । शरीर स्वस्थ हुँदा त्यसै सुखी जस्तो लाग्छ । शरीर स्वस्थ हुँदा त अझ शरीरका अंगहरुको ख्याल समेत हुँदैन, शरीर नै बिर्सन्छौं हामी । भनेको कुरा पाइयो भने मन खुसी हुन्छ ।

आफूले चाहेको कुरा गर्न सकियो भने आफू बुद्दिमानी लाग्छ । सुख र दुःख मनले उब्जाइ रहने तरंग हुन् । जुन कुरालाई या परिस्थितिलाई दुःख मानिएको छ, तिनलाई गहिराईमा गएर हेर्‍याे भने त्यो दुःख नहुन सक्छ । त्यसैले दुःख स्थायी छैन ।

दुःखका घटना र परिस्थतिलाई हामी सच्याउन सक्दैनौं । तर, हामीले दुःख भनेर बनाएका कथालाई भने सच्याउन सकिन्छ यो हाम्रो हातमा छ । दुःखबाट भाग्न सकिन्न । तर, दुःखप्रति जाग्न सकिन्छ । किनकि कतिपय दुःख जीवन जिउन नजानेर आउँछन् । हाम्रो जीवनशैली, आचार, आहार, सम्बन्ध, कर्म जसमा हामीले सजगता अपनाउनुपर्छ । सजगता भएन भने दुःख आउँछ ।

हाम्रो खाने, जिउने, कर्म गर्ने, बोलीवचन र सम्बन्ध सही ठाउँमा भएनन् भने दुःखको महसुस गर्नुपर्ने हुन्छ । हाम्रा सबै क्रियाकलाप सही भए भने दुःख बाँकी रहँदैन । सुख र दुःख भन्दा परको, हामीभित्रको आनन्द भाव जुन हाम्रो स्वभाव हो, त्यो मात्र स्थायी छ ।

जीवनमा यो बन्नु छ भनेर एउटा आकांक्षा सधैं बोकेर हिँडेको हुन्छ । प्रत्येक मनुष्य जीवनमा अरु केही बन्नु छैन बरु जे सम्भावना छ हामीमा त्यसले प्रकट हुन पाउनुपर्छ । एउटा बीउ माटोमा अंकुरण भएर वृक्ष बनेजस्तै हामीभित्रको प्रेमरुपी, पूर्णतारुपी बीउ पनि अंकुरण हुन दिनु परेको छ ।

जीवनलाई सम्भावनाको कसीमा राखेर जिउनुपर्छ । हाम्रा धेरै दर्शनशास्त्रले जीवनलाई दुःख र समस्याका रुपमा प्रस्तुत गरेका छन् । तर, जुन दिनदेखि जीवनप्रतिको आकांक्षा छाडेर, खाली हुन जान्यो, अस्तित्वको शरणमा सबै छोड्न जान्यो, त्यस दिनदेखि व्यक्ति अरु स्वस्थ, मस्त, धनवान, एक पूर्ण व्यक्तिको अनुभूति गर्न थाल्छ । पूर्ण समग्रताको रहस्य खुल्छ ।

जीवनमा हरेक क्रियाकलाप विल्कुल नयाँ आयामबाट प्रस्तुत हुन थाल्छन् । जीवन, आफू छु र हुनुमा सार्थक बोध हुन थाल्दछ । जीवनमा समस्या र दुःख मात्र देख्ने व्यक्तिहरुले पनि बुझ्नु जरुरी छ कि जब जीवन नै स्थायी छैन त समस्या र दुःख कसरी स्थायी होलान् ?

भनिन्छ, सकारात्मक तरिकाले लिने हो भने शब्द संगीत बन्छ, गीत नृत्य बन्छ, मुस्कान हाँसो बन्दछ, बुद्धि ध्यान बन्दछ र जीवन उत्सव बन्दछ त्यसैले जीवनमा जस्तो परिस्थिति आए पनि सकारात्मक रुपमा लिएर अगाडी बढ्न सक्नेले नै जीवनलाई उत्सवपूर्ण बिताउन सक्छ ।

प्राकृतिक रुपमा जन्मेका हामी प्रकृतिजस्तो स्वस्फूर्त भने बन्न सक्दैनौं । नदीनाला, चराचुरुंगी, रुखविरुवा सबै आफ्नै स्वभावमा मस्त छन्, कहिल्यै चिन्ता छैन प्रकृतिमा । मानिस भने यसको विपरीत जहिले जुन विषयमा पनि चिन्ताग्रस्त देखिन्छ ।

वास्तवमा, जीवनले हामीलाई कुनै उद्देश्य, कुनै उपलब्धिमा पनि विराम दिन्न । र, अनेक तरिकाले नयाँ प्रश्न खडा गर्छ । हाम्रो विचारमा मनुष्य हुनुको गरिमा पनि यसैमा छ कि म मेरो जीवनको बारेमा निरन्तर चिन्तन गरुँ, सोचूँ, विचारुँ र सत्य पत्ता लगाउने कोसिस गरुँ ।

हामीलाई विचारको क्षमता शायद यसै कारणले दिइएको छ कि बाँच्नुको, कर्म गर्नुको उद्देश्यका बारेमा विचार गर्न सकुँ । तर, हामीले हाम्रो जीवन जीउने शैली, जीवनलाई हेर्ने दृष्टिकोणलाई केलायौं भने पाउँछौं कि दैनिक कमाउने, खाने र परिवार बसाउने क्रममै हाम्रो समय सकिन्छ र जिउनुका मुलभूत कुराहरुमा हामी प्रवेश गर्न नै सक्दैनौं ।

केही व्यक्ति जसले अलिकति भए पनि आफूलाई नियाल्ने कोसिस गरे, तीमध्ये पनि अधिकांश सिद्धान्त, दर्शन र वाद–विवादको जालमा बेरिएर जीवनको गहिराईलाई नै नछोइकन समाप्त भए । वास्तवमा जीवनको गहिराइमा प्रवेश गर्न नसक्नु नै दुःख, पीडा, तनाव एवं सन्तापको कारण हो ।

( ‘रहस्य : जीवन र प्रेम’ पुस्तकबाट )

Saturday, 15 June 2019

खुसी हुने कसरी?

गुरु छोक्न्यी रिन्पोचे एक प्रवचन कार्यक्रममा आन्तरिक खुसी र बाहिरी खुसीका बारेमा बोल्दै हुनुहुन्थ्यो । प्रवचनको सार थियो– काम र जीवन दुवै पक्षलाई सन्तुलित रूपले व्यवस्थापन गर्न सके हामीले शरीर, मन र भावनालाई पोषित गर्न सक्छौं ।

आफ्नो खुसी र सन्तुष्टि गलत दिशामा खोज्दा समय, आत्मसम्मान र ऊर्जा नष्ट हुन्छ । अतः जति छिटो सही दिशा पहिल्याउन र त्यसमा स्थिर रहन सक्छौं उति राम्रो ।

गलत दिशामा परसम्म पुगिसकेपछि फर्केर आउन पनि उति नै समय लाग्छ । रिन्पोचेले भन्नुभयो– वर्क हार्ड इन राइट डिरेक्सन, बट लर्न टु रिल्याक्स । सही काममा पसिना बगाउनुस् तर मन नआत्तियोस्, मनलाई आराम भइरहोस् ।

रिन्पोचेले भनेजस्तो पसिना बगाउन र आराम गर्न एकसाथ कसरी सम्भव हुन सक्ला र! एक घण्टाको छोटो प्रवचनमा रिन्पोचेले खुसी रहने महत्वपूर्ण सूत्र दिएर जानुभयो । ती सूत्रको भाष्य हाम्रो काम आउँथ्यो सायद ।

भगवान् बुद्धको नाम नलिए पनि रिन्पोचेले बुद्धकै शिक्षा व्याख्या गर्नुभएको थियो । बुद्धले मध्यममार्ग अनुसरण गर्न सुझाउनुभएको थियो । जंगलमा तपस्या गर्दा एउटा सानो घटनाले बुद्धलाई मध्यम मार्ग नै उत्तम मार्ग हो भन्ने बोध भएको थियो । त्यो बेला तपस्वीहरू निराहार बसेर शरीर सुकाउँथे र यसैलाई साधना नाम दिन्थे ।

बुद्धले पनि त्यसै गर्नुभयो, अन्नको दाना मात्र खाएर र कहिले केही नखाई तपस्या गर्न थाल्नुभयो । बुद्धको शरीर सुकेर अस्थिपञ्जर मात्र बाँकी रह्यो । तर ध्यान सफल भएन, ज्ञानोदय हुन सकेन ।

बुद्धले मध्यममार्ग अनुसरण गर्न सुझाउनुभएको थियो । जंगलमा तपस्या गर्दा एउटा सानो घटनाले बुद्धलाई मध्यम मार्ग नै उत्तम मार्ग हो भन्ने बोध भएको थियो।


बुद्ध बोधिवृक्षको छहारीमा बसिरहनुभएको थियो । गाउँले स्त्रीहरू जंगलको बाटो हिँड्दा गीत गाइरहेका थिए । बुद्धले गीत सुन्नुभयो । ती स्त्रीहरूले गाइरहेका गीतका शब्द थिए– वीणाका तारहरू कसिएनन् भने सुरिलो संगीत निस्कँदैन, तर तारहरू धेरै कसिए भने चुँडिन सक्छन् । वीणा र तारको सन्तुलन मिलाऊ, सुन्दर संगीत बजाऊ । यो गीतले बुद्धलाई जगाइदियो ।

बुद्धले निराहार बसेर तपस्या गर्दा आफ्नो शरीर क्षीण हुँदै गएको हेक्का गर्नुभयो । अब उहाँले एक छाक खाना खान थाल्नुभयो ।

जीवनलाई फुकाफाल अर्थात् छाडा छाड्यो भने जीवनमा कुनै संगीत पैदा हुँदैन । जीवनलाई नीति नियममा धेरै कस्यो भने पनि यसका सूक्ष्म तार चुँडिन सक्छन्, जीवन सुक्खा बन्न पुग्छ । अतः जीवनलाई संगीतमय बनाउन काम र जीवन दुवै पक्षको सन्तुलन बनाउन जान्नु आवश्यक हुन्छ ।

गुरु ज्ञानानन्द

गुरु ज्ञानानन्द सरस्वती भन्नुहुन्थ्यो, शरीर भौतिक पदार्थले बनेको छ, यसले भोग खोज्छ, आत्मा चेतनाले बनेको छ, यसले योग खोज्छ । भोग खोज्ने शरीरले त्यो पाएन भने टाउसिन्छ, योग खोज्ने आत्माले त्यो पाएन भने टाउसिन्छ । हरेक मानिसले आफूलाई कति भोग चाहिन्छ, कति योग चाहिन्छ त्यसको सन्तुलन विन्दु थाहा पाइराख्नु अत्यावश्यक हुन्छ । 
हरेक मानिस एकसाथ दुईवटा संसारमा बाँचिरहेको हुन्छः आन्तरिक संसार र बाहिरी संसार । आन्तरिक अनुभूति बाहिरी विषयवस्तुसँग जोडिएको हुन्छ, बाहिरी विषयवस्तु आन्तरिक अनुभूतिसँग जोडिएका हुन्छन् ।

बाहिर समृद्ध नभई भित्र सुख शान्ति हुन मुस्किल हुन्छ, भित्र सुखसन्तोष नभई बाहिरी समृद्धिको फल पाउन पनि मुस्किल हुन्छ ।

हामी सबै मनका राजा हौं । एक कुरुप व्यक्तिले पनि आफूलाई सुन्दर देखिरहेको हुन्छ, एउटा बुद्धूले पनि आफूलाई बुद्धिमान मनिरहेको हुन्छ, एक पतीत व्यक्तिले पनि आफूलाई पावन ठानिरहेको हुन्छ।


मानिस बाहिरबाट जस्तो देखिन्छ, भित्र उसको रुप अर्कै हुन्छ, मानिसको बाहिरी व्यक्तित्व एउटा हुन्छ, भित्री जीवन अर्कै हुन्छ । वास्तविकता कस्तो हुन्छ भने सामान्य जीवन बाँचिरहेको मानिसको हृदय पवित्र हुन सक्छ, ध्यान, धर्मका कुरा गर्ने व्यक्ति आचरणमा विपरीत हुन सक्छ ।

यस्तो द्वैध चरित्र भएको व्यक्तिले अरुलाई धोका दिइरहन आफू सफल भएको ठानिरहेको हुन सक्छ, यथार्थमा सबभन्दा ठूलो धोका उसले स्वयंलाई दिइरहेको हुन्छ । यसरी एकसाथ दुई चरित्र निभाइरहेको, एकै समयमा दुईवटा संसारमा बाँचिरहेको हुँदा मानिसको मनोदशा उदेकलाग्दो देखिन्छ ।

मानिस कति उदेकलाग्दो देखिन्छ भने, ऊ यहाँ भएर पनि उसको ध्यान यहाँ हुँदैन । घरमा रहँदा कामको याद आइरहन्छ, काममा जाँदा घरको याद हुन्छ । एक व्यक्तिसँग कुरा गरिरहँदा उसको मनमा अरु कसैको चिन्तना हुन्छ, त्यो व्यक्ति साथ हुँदा पहिलो व्यक्ति मनमा हावी हुन्छ ।

उसले एउटा कुरा लुकाउन दर्जनौं झूठ बोल्छ । ती झूठहरू छिपाउन अरु झूठ बोल्नुपर्ने थिति आइलाग्छ । यसरी, यता टाल्दा उता प्वाल पर्छ, उता टाल्दा यता प्वाल पर्छ ।

मनको स्वभाव के हो भने मन कहिल्यै द्वन्द्वमा रमाउन सक्दैन । मनले एकै समयमा दुई काम गर्न सक्दैन । द्वैध भूमिका खेल्नुपर्दा मनको अपार ऊर्जा नष्ट हुन्छ । सुख, शान्ति, प्रेम, करुणामा प्रवाहित हुनु पर्ने ऊर्जा दुविधामा खर्च हुन्छ । तब मानिस थकित, रित्तो र अन्यमनस्क अनुभूति गर्न थाल्छ ।

हाम्रो देशका राजा

कुनै समयको कुरा हो, राजा ब्रह्मदत्तको मन ज्यादै बेचैन भएको रहेछ । उनलाई न भोगविलासमा उत्सुकता थियो, न राजकाजमा रुचि थियो । मन्त्रीहरूले राजालाई जंगलको छेउमा बस्ने ऋषिलाई भेटेर उनको सल्लाह लिन सुझाए । वायुपंखी घोडा चढेर राजा जंगलमा पुगे ।

ऋषिको आश्रममा प्रवेश गरे र, बाहिर आँगनमा फूलका बोटमा पानी हाल्दै गरेका एक शिष्यलाई ऋषिको बारेमा सोधे । ती शिष्यले ऋषि वनविहारमा जानुभएको छ, फर्कंदासम्म तपाईं यहीँ बस्नुहोस् भन्दै पिँढीमा गुन्द्री बिछ्याइदिए । राजा गुन्द्रीमा बस्न सकेनन्, आँगनमै ओहोरदोहोर गरिरहे । ती शिष्यले आँगनमै बस्नका लागि एउटा काठको मुढा राखिदिए । राजा काठको मुढामा पनि बस्न सकेनन्, ओहोरदोहोर गरिरहे । तब शिष्यले छेउको बगैंचामा रहेको पीपलको वृक्षमुनि बस्न सुझाए । राजा बगैंचामा गए तर रुखमुनि बसेनन्, ओहोरदोहोर गरिरहे ।

साँझपख गोधुलीमा ऋषि आश्रममा फर्किए । शिष्यले बगैंचामा ओहोरदोहोर गरिरहेका मानिसलाई देखाउँदै ती व्यक्ति हजुरलाई भेट्न आएका हुन् तर पिँढीमा आसन दिँदा त्यहाँ बस्न सकेनन्, मुढामा पनि बस्न सकेनन्, रुखमुनि समेत बस्न सकेनन् ।

पराधीनता सबभन्दा ठूलो दुःख हो, स्वाधीनता सर्वोत्तम सुख हो । मनको गुलाम भइदिनु सबभन्दा ठूलो पराधीनता हो, मनलाई वशमा राख्नु सबभन्दा ठूलो स्वाधीनता हो । 


हेर्दा विशिष्ट मानिसजस्तै देखिने ती व्यक्ति को हुन् भनी ऋषिलाई सोधे । ऋषिले ती व्यक्तिलाई चिनिहाले । उनले भने,ती व्यक्ति अरु कोही नभएर हाम्रो देशका राजा हुन् । राजा सुहाउँदो सिंहासन हाम्रो कुटीमा नभएको हुँदा उनी कहीं बस्न नसकेका हुन् ।

मन राजा हो

माथिको प्रतीकात्मक कथामा राजा मानिसको मन हो । हामी सबै मनका राजा हौं । एक कुरुप व्यक्तिले पनि आफूलाई सुन्दर देखिरहेको हुन्छ, एउटा बुद्धूले पनि आफूलाई बुद्धिमान मनिरहेको हुन्छ, एक पतित व्यक्तिले पनि आफूलाई पावन ठानिरहेको हुन्छ । किनभने राम्रो म सबैको हृदयमा हुन्छ । भौतिक अणुको शक्ति बिस्फोट हुँदा शहर ध्वस्त हुन सक्छन्, अणुको शक्तिको तुलनामा मनको शक्ति विशाल हुन्छ । मन चेतनाको निकटतम हुन्छ र त्यसैबाट यसले शक्ति प्राप्त गर्छ । चेतना त्यो तत्व हो जसले आनन्दातिरेक भएका बेला विश्व ब्रह्माण्ड सृष्टि गर्न सक्छ ।

भगवान् बुद्ध भन्नुहुन्थ्यो–प्रभास्वरमिदं चित्तं प्रकृत्यागन्तवो मलाः । तेषामपाये सर्वार्थं तज्ज्योतिरविनश्वरम् । अर्थात्, मानिसको चित्त सर्वदा प्रकाशवान् हुन्छ । प्रकाशले उज्यालो दिन्छ, प्रकाशले विषय र वस्तुहरूको ज्ञान गराउँछ, प्रकाशले नै सुख, शान्ति र न्यानोपन दिन्छ । यस्तो प्रकाश मानिसको मनमा जन्मजात रहेको छ, अविनाशी रूपले रहेको छ । भोगविलासको वासना, द्वेषभाव र मोह विमूढताजस्ता क्लेशहरू बाहिरबाट मनमा भरिएका हुन् । यी आगन्तुक क्लेशहरू मनबाट बढारिदिनु र हरपल सजग रहेर पुनः प्रवेश गर्न खोज्ने क्लेशहरूलाई मनमा पस्न नदिनु नै ध्यान हो ।

हाम्रो मन यदि स्थिर छैन, यहाँत्यहाँ भौंतारिइरहेको छ भने बुझ्नुपर्छ मनको शाही गरिमालाई सुहाउँदो आसन फेला परेको छैन । अस्थिर मन पाँच इन्द्रिय जन्य सुखमा आसक्त भइरहन्छ, पदप्रतिष्ठाको लोभमा दौडिरहन्छ या भविष्यमा आर्थिक सामाजिक सुरक्षाको चिन्तना गरिरहन्छ ।

आहार, निद्रा र सम्भोगको आतुरता पशु र मानिसमा उस्तै हुन्छन् । पशुमा नहुने र मानिसमा हुने गुण विवेक हो । चाणक्यले भनेका छन्– विवेक नभएको मानिस र पशुमा केही अन्तर हुँदैन ।

विवेक त्यही गुण हो जसले गर्दा मानिसले मनलाई नियन्त्रण गर्न सक्छ । मेरा लागि कुन कुराको महत्व कति हो, कुन विषयवस्तुलाई कति समय र एटेन्सन दिने भन्ने निक्र्यौल गर्ने विवेकले हो । विवेक नभएको मानिसको मन लगाम नभएको घोडाजस्तै जता पनि दौडने हुन्छ ।

चञ्चलं हि मनः

गीतामा कृष्णलाई अर्जुनले मन चञ्चल भइरहेको र त्यसलाई वशमा राख्न नसकेको गुनासो गरेका थिए । उपनिषद्हरूमा पनि मनलाई कसरी नियन्त्रणमा राख्ने भनी ऋषिहरूले मन्थन गरेका छन् । माण्डुक्यकारिकामा मनलाई वशमा राख्न अत्यावश्यक छ र त्यसो गर्नका लागि हातले हातलाई अँठ्याएर हुन्छ वा दाँतले दाँत च्यापेर हुन्छ या एक अंगले अर्को अंगलाई आक्रमण गरेर हुन्छ, मनलाई वशमा राख्नुु भनेको पाइन्छ । मनुस्मृतिमा मनुले भनेका छन्, सर्वं परवशं दुःखं, सर्वं आत्मवशं सुखम् । पराधीनता सबभन्दा ठूलो दुःख हो, स्वाधीनता सर्वोत्तम सुख हो । मनको गुलाम भइदिनु सबभन्दा ठूलो पराधीनता हो, मनलाई वशमा राख्नु सबभन्दा ठूलो स्वाधीनता हो ।

बुद्धले भन्नुभएको छ, जंगली मत्ता हात्तीले जति विनाश गर्छ त्यो भन्दा अधिक वशमा नरहेको मनले मानिसको जीवन विनाश गरिदिन्छ । मनकै कारणले सबै कर्म हुन्छन्, मन वशमा छ भने शुभ कर्म हुन्छन् र सुख साथसाथ आउँछ, मन बहकिएको छ भने अवाञ्छित कर्म हुन्छन् र दुःख साथसाथ आउँछ ।

अध्यात्म भनेको जीवनमा मूर्ख नहुनु हो, हिन्दूहरूले भनेजस्तो परमात्माको खोजी धेरै पछिको कुरा हो । क्षणभरको सुखका निम्ति अमूल्य जीवनको ऊर्जाशील समय नष्ट गर्नुभन्दा मूर्खता अर्थोक हुन सक्दैन । यसले के प्रष्ट पार्छ भने मानिसलाई जीवनको गरिमा पत्तै छैन । जीवन दुई कौडीको वस्तु भइदिएपछि मानिस आफ्नै जीवनसँग खेलवाड गर्न अघि सर्छ ।

कुनै उदात्त विचार या व्यक्तिले मानिसलाई उत्प्रेरित गर्दैन भने बुद्धत्वको खबर उसको कानसम्म पुगेकै रहेनछ भन्ने बुझिन्छ । मानिस हुनु चेतनाको एक संक्रमणकालीन अवस्था हो । संक्रमणकालमा चेतनाको विकास गर्न सकेमा मनिसमा दिव्य गुण प्रकट हुन सक्छन्, चेतना अधोगामी भयो, इन्द्रियको सुखमा लिप्त भयो भने पशुतातिर अधोगमन हुन थाल्छ ।

वासना र तिनको संस्कारले हरदम मानिसलाई तानिरहन्छ, खिचिरहन्छ । वासनाले बोलाएको सुनेर पछि फर्केर तिनै मानिसले हेर्छन् जसलाई कहीँ पुग्नु छैन । जो व्यक्ति व्यर्थ टहलिरहेको छ, ऊ पछि फर्केर हेर्छ । जो व्यक्ति कुनै महत्वपूर्ण कामका लागि हिँडेको छ उसलाई पछि फर्केर हेर्ने फुर्सद हुँदैन ।

अतः जीवनका पलपलमा मनलाई उच्चभन्दा उच्च सोच, विचार र कार्यमा लगाइरहनु आवश्यक हुन्छ । जो खाली छ ऊ निश्चय नै वासनाको चंगुलमा फस्छ । विराट लक्ष्य मानिसको जीवनमा छैन भने छुद्रताले मानिसलाई हमेशा परेशान बनाउँछ ।

वेदका ऋचाहरूमा तन्मे मनः शिवसंकल्पमस्तुु अर्थात् मेरो मनमा हरपल शुभ संकल्पहरू आइरहुन्, मेरो मन कल्याणका विचारहरूले आपूरित रहोस् भनिएको पाइन्छ । कुनै समय दैनिक वेदपाठ गर्नु सर्वाधिक पवित्र कार्य मानिन्थ्यो । मनमा पवित्र, उच्च विचारहरूले स्थान पाऊन्, तुच्छ विचारहरूलाई स्थान नहोस् भन्ने वेदपाठको आशय थियो । त्यो बेला मानिसको मनमा रामको बास थियो । त्यो संस्कृति लोप भयो । अहिले मानिसको मनमा कामको बास छ । मनमा राम छैन भने काम अवश्य छ, किनभने मन खाली रहन असम्भव छ ।

विराट लक्ष्यमा मन लगाउनुको मस्ती शब्दातीत हुन्छ, बोधिचित्त उत्पाद हुनु मात्र पनि मोक्षसुख समान हुन्छ । क्षुद्र सुखान्वेशीलाई त्यो भोग्न पाउनु पनि दुःखदायी हुन्छ, विराट सुख खोज्दा त्यो भोग्न नपाउनु पनि सुखदायी हुन्छ ।

वासना पूरा गर्न सफल भए पनि जीवनमा असफलताको गन्ध आउँछ, वृहत्तर लक्ष्यमा हार भए पनि जीतको आनन्द हुन्छ । मैले आफ्नो समय र ऊर्जा उच्चतर लक्ष्य पाउन खर्च गरेँ भन्ने भाव परम तृप्तिदायक हुन्छ ।

विशाल हृदय हुने सिद्धार्थजस्तो व्यक्ति विराट लक्ष्यका लागि परिवार, दरबार र राज्यसत्ता समेत त्याग गर्न सक्छ, साँघुरो मन हुने क्षणिक सुखासक्त व्यक्तिलाई झुपडी छाड्न पनि मुस्किल हुन्छ ।

छोक्न्यी रिन्पोचेले वर्क हार्ड इन राइट डिरेक्सन, बट लर्न टु रिल्याक्स अर्थात् सही काममा पसिना बगाउनुस् तर मन नआत्तियोस्, मनलाई आराम भइरहोस् भन्नुभएको थियो । पसिना बगिरहोस् तर मनमा आराम भइरहोस् यो अवस्था त्यतिखेर सम्भव हुन्छ जब हामी कुनै वृहत्तर लक्ष्य प्राप्तिमा तल्लीन हुन्छौं ।

Friday, 17 May 2019

कथा कसरी लेख्ने?

कथा कसरी लेख्ने ?

~रुमन न्यौपाने~

१.कथाको बारेमा विषयको खोजी
२.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण
३.कथाको लम्बाई को बारेमा पुर्नसोच
४.कथा बाचन शैली र कथा कसलाई भन्न लगाउने
५.कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय
६.कथाको समय निर्धारण/रचना
७.पात्रहरू बिचको संभाषण शौलि र बाक्यहरूको पूर्व निमार्ण
८.सोचाइको अन्तिम तयारी
९.लेख्न सुरु गर्ने
१०.पात्रहरूलाई बुझ्ने र सुन्ने
११.कथाको दोस्रो मसौदा सुरु
१२.अन्तिम प्रारुप
स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन् । ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन’ । हो हरेक लेखक आफ्नै लागि लेख्छन् । साहित्यमा मजा छ त्यसैले लेख्छन् । हरेक लेखकले आफ्नो लेखन यात्रा कविताबाटै सुरु गरेको हुन्छ । यो भावना पोख्ने सहज र सर्बमान्य रुप पनि हो । कविताबाट कथा र कथाबाट आख्यान(उपन्यास)तिर लाग्ने प्रकिया चलनचल्तीकै परम्परा हो । कथा पढ्न जति सहज हुन्छ त्यसको बनावट र शिल्प निर्माण त्यतिनै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूको लागि मेरो केही उपायहरू छन् । जसलाई मैले १२ भागमा (श्रेणिमा) बिभत्त गरेको छु । म यिनै प्रकिया अपनाएर कथाहरू लेख्ने गर्छु ।

अब सुरु गरैं ।

१.कथाको बारेमा विषयको खोजी ।

तपाई कस्तो खालको कथा लेख्न खोज्दै हुनुहुन्छ । पहिला त्यो बारे निर्क्यौल गर्नुपर्छ । कथाको शिर्षक पहीले नै सोचेमा कथा बनाउन सजिलो हुन्छ । जसलाई पछि आवश्यकता अनुसार परिर्बतन गर्न पनि सकिन्छ । शिर्षक पहिलेनै सोचिएमा त्यसको वरिपरिरहेर कथा भन्न वा भनाउन सजिलो हुन्छ । शिर्षक सोच्दा कथाको सम्पूर्ण भागलाई सम्बोधन गर्न सक्ने हुनु पर्छ । पाठकले धेरै हदसम्म कथाहरू शिर्षक हेरेर छान्ने हुँदा शिर्षकको बारेमा गहन अध्यन गर्नु पर्छ । कथाको प्रकार अनुसार शिर्षक लामो, छोटो, अपत्यारीलो लाग्ने नाम तथा ठाउँ छनौट गर्न सकिन्छ तर यो कथाकारको शौलीमा नै बढी भर पर्छ ।

२.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण ।

अब, कथाम आउने पात्रहरूको बारेमा सोच्न थाल्ने । यो नै कथाको मुटु हो । जसले तपाईको कथालाई पाठक समक्ष चिनाउने राम्रो उर्जा बोकेको हुन्छ ।
-चरित्र छनोट गर्दा ध्यान दिनु पर्ने कुराहरू ।

क.कथाको बाताबरण अनुसार पात्रहरू छान्ने ।
ख.पात्रहरू वास्तविक वा अवास्तविक के हुने हो त्यो सोच्ने ।
ग.पात्रहरूको मुख्य विशेषता र काम पहिलेनै लेख्ने ।
घ.पात्रहरूले बोल्ने कुराहरू तर्कसँग हुने हुन वा दृष्टान्तमा बढी केन्द्रित हुने हो । यो पहिले नै सोच्नु पर्छ ।
ङ.पात्रहरू को भेषभुषा र अन्य पात्रसँग भेट हुदाँ कस्तो व्यवहार देखाउने हो त्यो पनि पहीले नै सोच्नु पर्छ।

यसरी पात्रहरूको बारेमा सानो टिपोट बनाई तिनीहरूको नाम, बिषेशता सबै खुलाई पहिलेनै लेखी छाड्ने । जसले गर्दा लेख्न सुरु गरेपछि अफ्ठ्यारो नहुने हुन्छ ।

३.कथाको लम्बाई को बारेमा पुर्नसोच ।

छोटा कथाहरू यिनै हुन् भनी ठिकसँग भन्न कठिन हुन्छ । छोटा कथाहरूलाई पनि बिभिन्न आकारमा लेखेको पाइन्छ । प्राय गरी छोटा कथाको अर्थ एकै ठाउँमा बसि एकै चोटि पड्न सकिने आकारको भनी बुझिन्छ । Edgar Allan Poeले आफ्नो निबन्ध “The Philosophy of Composition” (1846)मा लेखनको लम्बाईको बारेमा लेखेका छन् । उनले छोटा भएकैले कथाहरू उपन्यासभन्दा मिठा हुन्छ भनेका छन् । आफूले लेख्न थालेको कथा यती लामो हुन सक्छ भनी पहीले नै पेपर ठिक पारि (पेपर गन्ती गरेर लिन पनि सकिन्छ) लेख्न सुरु गरेमा त्यतिसम्म कथालाई लम्बाउनु पर्ने आफैमा मानसिक दबाब जस्तो बन्छ । जसले गर्दा कथाले आवश्कता अनुसार पूर्ण लम्बाई पाउँछ । २०००० शब्दभन्दा बढी नहुने र १००० शब्दभन्दा कम नहुने कथालाई छोटा कथाको रुपमा लिन सकिन्छ । म छोटा कथा को बारेमा पछि लेख लेख्ने छु ।

४.कथा बाचन शैली र कथा कसलाई भन्न लगाउने ।

‘म’ प्रथम पुरुषमा । ‘तिमी’ द्धितीय पुरुषमा । ‘उ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी कथा लेख्न सकिन्छ । ‘म’बाट कथा सुरु गर्ने हो वा अरु कसैबाट, पहिले नै अन्दाज गर्नु पर्छ । द्धितीय पुरुषमा त्यति कथाहरू लेखेको पाईदैनन् । तर तृतीय पुरुषमा कथाहरू भन्न मिल्छ । जसले कथालाई ‘म’बाट सुरु गरेकोभन्दा मिठो बनाउँछ । कथा बाचन शैली पनि अहिले धेरै प्रकारका छन् । जस मध्ये उपयुक्त हुने कुनै एक छान्न सकिन्छ ।

५.कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय

कथा कस्तो हुने र कहाँ यसको अन्त्य हुने भन्ने कुरा पहिले नै तय गरिनु पर्छ । कथाको अन्त्य तथा सुरुबाती बाक्य भ्रामक नहुने तर सकेसम्म पाठकलाई भ्रान्तीमा राख्ने वा मायामा पार्ने बनाउन सक्नु पर्छ जसले गर्दा कथाको अन्त्य पछि पनि पाठक केही बेर कथा सोच्न सकुन् ।

६.कथाको समय निर्धारण/रचना ।

कुन समयको कथा हो र कथा कस्तो बाताबरणमा लेख्न खोज्दै हुनुहुुन्छ । जस्तै ऋृतुको समय । काल्पनिक समय निर्धारण गरिए पनि त्यो बास्तिकतासँग मेल खाने हुनु पर्छ । जसलाई कथाको टाईमलाइन भन्न सकिन्छ । यो कथाको महत्वपूर्ण स्थान हो जसले तपाईको कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ ।

७.पात्रहरू बिचको संभाषण शौलि र बाक्यहरूको पूर्व निमार्ण ।

कथामा कस्तो किसिमको संघर्षको निमार्ण गर्ने । पात्रहरूले बोल्ने शौलि कस्तो हुने । उनीहरूले बोल्ने लामा तथा छोटा बाक्यहरूलाई पहिले नै लेख्नु पर्छ । यो टाईमलाइन बनाए पछिको प्रकृया हो । जहाँबाट कथा लेखनको आरभ्भ गर्न सकिन्छ । पहिले नै यो समयमा यो पात्रले यहाँ यो बोल्नु पर्छ भनी तय गरिएमा कथालाई आफूले भनेबमोजिम बनाउन सकिन्छ । यो काम कठिन हुन्छ तर हरेक उच्च स्तरका लेखकले गर्ने यो महत्वपूर्ण काम हो । जसले उनीहरूको कल्पनाशीलतालाई दर्शाउँछ । कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने बाक्यमा नै हुन्छ । पात्रहरू बिचको संभाषण भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने संदेश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन उसको यिनै संभाषण बाक्यहरूले प्रमुख भूमिका निर्बाह गर्दछ । यदि तपाईले यो प्रकृया सन्तुष्टसँग गर्न सक्नुहुन्छ भने तपाईको कथा लेखनको आधा काम समात्ती यहीँ हुन्छ ।

८.सोचाइको अन्तिम तयारी ।

यो लेख्न सुरु गर्नुभन्दा पहिलेको अन्तीम अवस्था हो । तपाईले अहिलेसम्म गर्नुभएको कामलाई फेरि एकचोटी नियाल्ने काम यहाँबाट हुन्छ । यदि यो काम ठिकसँग भएको छैन भने पुन यही प्रकृया दोहराउनु उत्तम हुन्छ । यहाँसम्म को कदमले नै सबैभन्दा बढी समय लिन्छ । तपाईले आफ्नो सम्पूर्ण सोचको शत्ति यस बिन्दुसम्म लगाउँनु भयो भने मात्र कथा उत्कृष्ट बन्छ । तपाईले यस प्रकृया सम्मलाई घटिमा ७ दिन वा सोभन्दा बढी लगाउन सक्नुहुन्छ ।

९.लेख्न सुरु गर्ने

अब यहाँबाट तपाईले कथा लेख्न बस्नुहुन्छ । यो ठाउँ भनेको अहिलेसम्म सोचको, टिपेको कामलाई लयमय बनाउनु मात्र हो । तपाईले बास्तबमा कथा लेखिसक्नुभएको हुन्छ । यहाँ तपाईले शब्दहरूको चयन बिशिष्ट ढङ्गबाट गर्नु पर्छ । यसको लागि तपाईले शब्दकोष पल्टाउन सक्नुहुन्छ । लेख्नको लागि बढी बुझेको हुनु पर्छ त्यसैले बडिभन्दा बढी अध्यन गर्नु पर्छ ।

१०.पात्रहरूलाई बुझ्ने र सुन्ने ।

मनोमानी तरिकाले कथा अगाडि बडाउने मात्र होइन कि पात्रलाई तपाईले आफ्नो महशुस गरेको हुनु पर्छ । त्यो पात्र कथामा किन सिर्जना भयो भन्ने कुराको गहन बुझाई हुनु पर्छ । अनि मात्र तपाईको पात्रले पाठको हृदयमा ठाउँ लिन सक्छ । तपाईले लेख्न बस्दा पात्रहरूको बयान बरबराउन सक्नुहुन्छ । उनीहरूलाई जीवन्त ठान्नुहुन्छ भने कथा लेखनको स्थिति सहज बन्छ । लेखक बन्नु भनेको आफूलाई बिभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु हो । यो प्रकृयासँग लेखकले अहोरात्र आफूलाई पागल बनाउनु पर्छ । यही नै पात्रहरूलाई बुझ्ने र सुन्ने माध्यम हो ।

११.कथाको दोस्रो मसौदा सुरु

तपाईले कथा लेखिसक्नुभएको हुन्छ । त्यसलाई पुर्न लेखन गुर्नुस । नमिलेको ठाउँमा पुन थप्न वा घटाउन सक्नुहुन्छ । यस प्रकियामा तपाई कथा छिटो सकाउन खोज्नुहुन्छ । आफू माथि बोझ थप्दा कथाले खुल्न सक्ने अवस्थासम्म नखुल्न सक्छ । त्यसलै धैर्य राख्नुस् र चाहिने अवस्थासम्म कथालाई खुलाएर लेख्नुस् ।

१२.अन्तिम प्रारुप

यस चरणमा तपाईले लेखिसक्नुभएको कथालाई साथीभाइ वा अन्य कोही कथा सम्बन्धी दखल भएको व्यक्त्तिलाई पढ्न दिन सक्नुहुन्छ । जसले तपाईले लेखेको कथालाई कसरी बुझ्छ, कथाको बारेमा उनीहरूको टिपण्णी कस्तो हुन्छ त्यो हेर्न सकिन्छ । तपाईले बुझाउन खोजेको वा देखाउन खोजेको कुरा र उनीहरूले कथाबाट बुझेको कुरा एउटै भयो भने तपाईले लेख्नुभएको कथा उत्कृष्ट छ । अन्यथा पुन यी चरणहरू दोहोराउन सक्नुहुन्छ जसले गर्दा तपाईको लेखन अँझै प्रखर हुन्छ ।

छोटा कथा सम्बन्धी अरु कुरा अन्य लेखमा गर्ने छु । धैर्य साथ पढिदिनु भएकोमा धन्यवाद । तपाईलाई यो लेखले केही सहयोग गर्छ वा केही प्रतिक्रीया छ भने अवश्य भन्नु होला । अन्य यस्तै उपयोगी लेख लेख्न मलाई मदत मिल्ने छ ।

(स्रोत : Rumanamant.blogspot.com )

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out