जीवनको अनुभूति ससाना अनुभवको जोड हो। यस्ता असंख्य अनभुवले हाम्रो जीवनलाई हेर्ने दृष्टि र मनोविज्ञान निर्माण हुन्छ। यी सबैको मुख्य अनुभूति भने शान्ति र सुखको अनुभूति हो। कसैले शारीरिक सुखलाई आफ्नो जीवनको लक्ष्य मान्छन् भने कसैले मानसिक सुखलाई जीवनको अन्तिम गन्तव्य मान्छन्। कसैका लागि भावनाहरूको अतिरेकमा नै जीवनको परम सुखको परिभाषा लुकेको हुन्छ। त्यसैले शरीर, मन या भावहरू जहाँ हाम्रो चेतना गएर अड्किन्छ त्यसैअनुरूपको सुखको व्याख्या हुन्छ। शारीरिक सुखमा व्यक्तिले शरीरमा उत्पन्न हुने संवेगलाई सुख ठान्छ। भोजन, निद्रा र कामको सीमाभित्रबाट उत्पन्न हुने यो सुखको आफ्नै सीमा हुन्छ।
करोडौं कोषिकाहरू मर्ने र बन्ने खेलको मैदानरूपी शरीरको प्रकृति यही हो। आयु बढ्दै जाँदा स्वास्थ्यमा ह्रास हुन्छ र जवानीमा जस्तो ऊर्जाको स्फुरण हुँदैन। जुन शरीरको भर गरेर सुखको सपना बुनिन्छ, त्यो नै कमजोर पर्न थाल्छ। सुन्ने कान, बोल्ने वाणी, देख्ने आँखा, गन्धरस लिने नाक आदिका कोाषिका कमजोर पर्न थालेपछि मानिस आफैंभित्र सिमटिन बाध्य हुनुपर्छ। धेरै कुरामा अरूको साहारा लिनुपर्ने अवस्थामा त छँदैछ तर आफैंभित्रको अनियन्त्रित विचारको बबन्डरले जीवनमा एक सामञ्जस्य हराउँदै जान्छ। शारीरिक समस्याले योभन्दा माथिको मानसिक आयामलाई आघात पार्न थाल्छ।
एक मानिस मनोवैज्ञानिकलाई आग्रह गरिरहेको रहेछ, ‘डाक्टर साहेब, मेरो व्यक्तित्वलाई दुई भाग गरिदिनुस्। उपचारको यस्तो अनौठो माग रोगीबाटै सुनेर डाक्टर छक्क परेछन् र सोधेछन्, ‘त्यस्तो जरुरी किन पर्यो ? ’ रोगीले जवाफ दिएछ, ‘म एक्लै परें। मेरो कुरा कसैले सुन्दैन। मेरो कसैलाई आवश्यकता छैन। यो निरस जीवनमा अब म आफैंसँग कुरा गर्न चाहन्छु।’ यो अशान्त मनको अन्तिम नियति हो। मनको अन्तिम परिणति करिब यस्तै हुन्छ। त्यसैले विचारहरूलाई पार गर्दै गहन चेतनामा वि श्रान्तिको अनुभवले यस्तो विक्षिप्तताबाट मुक्ति पाउन सकिन्छ।
मनको सुख भने मनोवैज्ञानिक हुन्छ। यो विचारहरूको गठजोडबाट बन्छ। कुन विचारले सुखदायी र कुन विचार दुःखदायी भन्ने कुराको साधारण मनले भेउ पाउन सक्दैन। एक क्षण अघिसम्म राम्रो ठानिएका विचार एकैछिनपछि खराब लाग्छन्। विचारको स्तरमा परिस्थितिअनुसार मनस्थिति परिवर्तन भइरहन्छन्। त्यसैले विचारलाई लिएर सुख पाउन हिँड्नेहरूलाई भित्री चिन्ता, मनोवैज्ञानिक असुरक्षा र मानसिक अशान्तिले सताइरहन्छ। विचारलाई सेवक हैन मालिक ठान्ने मनुस्यले विचार नै मै हुँ भन्ने ठान्छ। साधारणतः यस्तो लाग्नु अस्वाभाविक पनि होइन। न्युरो मनोवैज्ञानिकहरू के भन्छन् भने चौबीस घन्टामा हामीभित्र ७४ हजार विचार चल्छन्। यसमा पनि अलिक सृजनशील व्यक्तिमा पाँच प्रतिशत विचार नयाँ हुन्छन्।
साधारणतः मननशील चित्त नभएको मनुष्यमा एक प्रतिशत विचार पनि नयाँ हुँदैनन्। प्रज्ञा स्थिर नभएको हाम्रो मन भने जंक बक्स नै हो। त्यसैले यो संसारको सबै प्रकारका समस्याको जड महत्वाकांक्षी शिक्षितहरूको उपज हो। गाउँमा खेतीकिसानी गर्ने व्यक्तिहरूको होइन। मनको एक रोचक पक्ष के हो भने यसले समस्या समाधान गरेजस्तो देखिए पनि समस्याको रूपलाई मात्र फेरिरहन्छ। किनभने मनको स्वभाव नै द्वन्द्व हो। त्यसैले तीन हजार वर्षअघिका चिनियाँ ग्रन्थहरूमा मानिसहरू अनैतिक भएको, बाबुको कुरा छोराले नसुनेको, समाजमा कलह बढेर समाज बिग्रिँदै गएको चिन्ता व्यक्त गरिएको पाइन्छ, आज पनि यही चिन्ताले समाजलाई सताएको छ। समाजमा बस्ने मानिसहरूको नैसर्गिक प्रवृत्ति बदलिएको देखिँदैन। त्यसैले ओशोको एक रोचक उद्गार छ, ‘आज बुद्ध आउनुभयो भने मानिसले बनाएको रकेट, हवाईजहाज, गगनचुम्बी महल देखेर छक्क पर्नुहुन्छ तर मानिसलाई देखेर उहाँ छक्क पर्नु हुन्न। पच्चीस सय वर्षअघिको मुनष्य र अहिलेको मनुष्यको चेतनामा तात्विक फरक छैन। ढुंगामुढा र तीर चलाएर युद्ध गर्ने त्यतिबेलाको मनुष्य र आज क्षेप्यास्त्र चलाएर युद्ध गर्ने मनुष्यमा भित्री रूपान्तरण देखिँदैन। उसको हिंस्रक प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन। खाली आवरण मात्र परिवर्तन भएको छ।’
केही दशकअघिको कुरा हो। राजा वीरेन्द्र नेपालको कुनै गाउँमा घुम्दै पुगेछन्। झुन्ड्याइएका फोटामा मात्र देखिने राजा साक्षात् गाउमा आएको खबरले गाउँ नै उल्टिएर राजालाई हेर्न पुगेछ। राजाले जम्मा भएको भीडतिर हेरेर सोधेछन्, ‘के छ, सबै ठीक छ ? ’ एक सोझा व्यक्तिले हात जोड्दै राजाका अघि आएर बिन्ती गरेछन्, ‘सरकार, गाउँका टाठाबाठा सबै चुनाव जितेर काठमाडौं गए। फर्किएर आएका छैनन्। गाउँमा शान्ति छ हजुर।’
गाउँमा शान्तिको पदार्पणका लागि उपद्रवीहरूले लामो समयसम्म गाउँ छोडे झैं चित्त शान्त हुन उपद्रवी विचारलाई शान्त गर्न जरुरी छ। विचारहरू शान्त भएको चेतना संवेदनशील हुन्छ। हामीले आर्जन गरेको मित्रता र सम्बन्धको सुख लिन अनि कमाएको धनलाई भोग्न र आफ्नो आर्जन अरूको सुखको कारण बन्न पनि शान्त चित्त चाहिन्छ। शान्त चित्तमा अहिंसाको पदार्पण हुन्छ। अहिंसाको भूमिमा मात्र मित्रता, करुणा र आह्लाद जस्ता सकारात्मक गुणहरूको वीज हुर्किन्छन्। त्यसैले शान्तिसँग समृद्धि पनि जोडिएर आउने गर्छ।
भनिन्छ– गरिब जसोतसो बाँच्न बाध्य हुन्छ, तर धनीलाई के स्वतन्त्रता भने उसले आफ्ना दुःख स्वयम् किन्न सक्छ। एक विसंगतिबाट अर्को विसंगतिको यात्रामा स्थिर चित्त कसरी प्राप्त गर्ने ? यसका लागि विचारहरूले मलाई अहिले कुन परिस्थितिमा पुर्याइरहेका छन् भनी केही सेकेन्ड स्थिर भएर मनमा चलेको खेललाई अचुनावको अचल स्थितिमा हेर्न सक्ने अभ्यास र सामथ्र्यको विकास गर्दै लैजानुपर्छ। तर विचारबाट जतिसुकै यो कुरा बुझे पनि मानिस जति महत्वाकांक्षी हुन्छ त्यति नै उसको चित भविष्यको चिन्तामा दौडिन थाल्छ। यो अवस्था भनेको स्वप्नवत भविष्यको कल्पनामा विस्मृत हुनु हो। यो बुद्धले भनेको जागृतिको अवस्था होइन।
भविष्यमा दौडिने र आकार परिवर्तन गरिरहने मन चिन्ताको जड हो। यसले शान्ति त दिएको देखिँदैन, तर यसले तर्साउन र चिन्तित बनाउन भने छोड्दैन। मानिसले महत्वाकांक्षाबाट आफूलाई व्यस्त त बनाउन सक्छ तर यसलाई भोग्न सक्दैन किनभने महत्वाकांक्षाले अरूको नजरमा आफूलाई केही हुँ भन्ने प्रमाणित हुन सक्ला तर एक्लै भएकाले क्षणमा त्यो आफैं काम लाग्दैन, शान्ति मिल्दैन। वास्तवमा अहिले जे छ त्यही भोग्ने हो। भोग्ने भनेको आखिर केही मिटर कपडा, केही सय ग्राम भोजन, सित्तैमा पाएको गहिरो निद्रा भोग, सबैसँग मित्रतापूर्ण व्यवहार नै तपाईंको व्यक्तिगत वास्तविक आर्जन हो। लियो टोल्टोयको ‘मानिसलाई कति जमिन चाहिन्छ ? ’ भन्ने कथाको सार झैं वास्तवमा जीवन साना कुराले बनेको छ। ठूला कुरा त मनका मात्र हुन्।