Friday, 16 June 2017

एसइइ परीक्षा कुन ग्रेड आउनेले के पढ्ने

हिजो एसइइ परिक्षाको नतिजा आएको छ। कुन बिषय पढ्ने र आफुले पढन खोजेको बिषय पढन्लाइ कुन बिषयमा कुन ग्रेड आएको छ त्यही किसीमले बिषय छान्न पर्छ ।
सरकारले अघिल्लो वर्षदेखि एसएलसी परीक्षा खारेज गरी सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) सुरु गरेको छ । यो नीतिमा नाम मात्र परिवर्तन भएको छैन, वि.सं. १९९० देखि चलेको विद्यार्थी उत्तीर्ण–अनुत्तीर्ण हुने नीति नै परिवर्तन भएको छ । यसका साथै विद्यार्थीको मनोबल बढाउन प्रतिशत र डिभिजनका आधारमा निकालिने परीक्षाफल पनि ग्रेडिङ प्रणालीमा रूपान्तरण भएको छ । अहिले समग्र परीक्षाफलसँगै प्रत्येक विषयको ग्रेडिङ सुरु गरिएको छ । एक पटक परीक्षामा सामेल भएर उत्तीर्ण भएपछि सोही तह पुन: दोहोर्‍याउन नपाइने व्यवस्था समेत परिवर्तन भै विद्यार्थीलाई राम्रो ग्रेडका लागि पुन: परीक्षामा सामेल हुन पाउने अधिकारसमेत दिइएको छ । 

विगतका वर्षहरूमा राम्रो र गाह्रो भनिएका विषय अध्ययन गर्न सबै विषयमा प्रथम श्रेणी तथा विशिष्ठ श्रेणी अनिवार्य मानिन्थ्यो तर ग्रेडिङ प्रणाली सुरु भएसँगै राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्)ले निश्चित विषयमा निश्चित ग्रेड ल्याए मात्र चाहेको विषय लिएर कक्षा ११ मा भर्ना हुन पाउने नयाँ व्यवस्था समेत लागू गरेको छ । 

बोर्डको अघिल्लो वर्षको निर्णयअनुसार अब कुनै पनि विद्यार्थीले २ जीपीएभन्दा बढी ल्याए मात्र विज्ञान विषय अध्ययन गर्न पाउनेछन् । नयाँ व्यवस्थाअनुसार न्यूनतम जीपीएस २ सहित एसईईको परीक्षामा विज्ञान र गणित विषयमा कम्तीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक शिक्षा र नेपालीमा कम्तीमा डी प्लस ग्रेड ल्याए मात्र कक्षा ११ मा विज्ञान समूहका भौतिक, रसायन, जीव, गणित वा कम्प्युटर विज्ञान पढ्न पाइनेछ । 

११ कक्षा अध्ययनका लागि एसईईमा कम्तीमा १ दशमलव ६ जीपीए ल्याउनै पर्छ । १ दशमलव ६ ल्याउँदैमा पनि चाहेको विषय अध्ययन गर्न पाइँदैन । त्यसका लागि तोकिएको विषयमा निश्चित ग्रेड ल्याउनुपर्छ । सामान्यतया विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड एवं सामाजिक शिक्षा तथा नेपालीमा डी प्लस गरी कम्तीमा १ दशमलव ६ जीपीए आए प्राविधिकतर्फ जीव विज्ञान, वनस्पति विज्ञान तथा इलेक्ट्रोनिक, सिभिल वा कम्प्युटर इन्जिनियरिङ पढ्न पाइनेछ । गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र विज्ञानमा डी प्लससहित जीपीए १ दशमलव ६ भन्दा बढी ल्याएकाले मात्र गणित, लेखा, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, इलिमेन्ट अफ साइन्स, ज्योतिष, बिजनेस म्याथमेटिक्स, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी एवं साइकोलोजी अध्ययन गर्न पाउँछन् । 

शिक्षातर्फका विषय अध्ययन गर्न विद्यार्थीले एसईई परीक्षामा विज्ञान र गणितमा कम्तीमा सी तथा अंग्रेजी, नेपाली एवं सामाजिक शिक्षामा डी प्लस प्राप्त गर्नुपर्नेछ । ती विषयमा तोकिएको ग्रेडिङ प्राप्त गरे मात्र फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा टिचिङ साइन्स अध्यापनका लागि योग्य मानिन्छन् । त्यस्तै अंग्रेजीमा सी, नेपाली र सामाजिक शिक्षामा डी प्लस ल्याए अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंगेजी तथा भाषा विज्ञान अध्ययनका लागि योग्य मानिन्छन् । 

राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार एसईई परीक्षामा अंग्रेजीमा सी तथा नेपाली, गणित र सामाजिक शिक्षामा डी प्लस ग्रेड प्राप्त भए मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट तथा ट्राभल्स एन्ड टुरिज्म अध्ययन गर्ने ढोका खुल्छ । नेपाली विषयमा सी, अंग्रेजी तथा सामाजिक शिक्षामा डी प्लस प्राप्त भए नेपाली र टिचिङ नेपाली विषय अध्ययनका लागि बाटो खुल्छ । बोर्डका अनुसार सामाजिक शिक्षामा सी र नेपाली तथा अंग्रेजीमा डी प्लस ल्याउने विद्यार्थीले कक्षा ११ मा पोलिटिकल साइन्स, इतिहास, संस्कृति, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, लाइब्रेरी तथा इन्फरमेसन साइन्सजस्ता विषय अध्ययन गर्न पाउँछन् ।

जनसंख्या तथा शारीरिक शिक्षामा सी तथा नेपाली, अंग्रेजी र विज्ञानमा डी प्लस ल्याउने विद्यार्थीले इन्ट्रोडक्ट टु एजुकेसन, इन्स्ट्रक्सन पोडागोजी, स्वास्थ्य एवं शारीरिक शिक्षा, जनसंख्या र वातावरण शिक्षा अध्ययन गर्न पाउँछन् भने नेपाली, अंग्रेजी एवं सामाजिक शिक्षामा डी प्लस आए ह्युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसन जस्ता विषय अध्ययन गर्न पाइन्छ । 

विभिन्न भाषा अध्ययन गर्न रुचाउने विद्यार्थीहरूले भने अंग्रेजीमा डी प्लस ल्याउनुपर्छ । अंग्रेजीमा डी प्लस ल्याए मैथिली, हिन्दी, नेपाली, फ्रेन्च, जापानी, उर्दू, जर्मन, चिनियाँका साथै अन्य भाषा अध्ययन गर्न पाइन्छ । त्यसैगरी उक्त विषयमा डी प्लस आए डान्स, म्युजिक, मूर्तिकला, एप्लाइड आट्स  स्पोर्ट्सजस्ता विषय अध्ययन गर्न पाइन्छ ।

Friday, 2 June 2017

भन्न नसकेको कुरा


जीवनयात्राका क्रममा अनेक मानिस आउँछन्, जान्छन् जसमध्ये केही मानिससँग कुरा मिल्छ, केहीसँग मिल्दैन । घरभित्रै पनि केही सदस्यसँग नजिक भइन्छ भने केहीसँग भइँदैन । मान्छेको मनमा अनेक कुरा हुन्छन् तर ती सबै कुरा खोलेर र खुलेर जो–कोहीलाई कसैले भन्दैनन् । आफ्नो कुरा भन्न पनि सबैले मन मिल्ने मानिस खोज्छ, जसले कुरा बुझोस् तर भेद नखोलोस् ।

 

जीवनमा व्यवहार गर्दै जाँदा अनेक परिस्थिति आइलाग्छन् । समय र अवस्था हेरेर कति कुरा भन्न मन लागे पनि भन्न सकिँदैन भने कति कुरा भने पनि बुझाउन सकिँदैन । जीवनमा भनिएका कति कुराको महत्व र अर्थत कालान्तरमा समयले मात्र बुझाउन सक्छ । पहिले निरर्थक लागेको कुरा पछि महत्वपूर्ण लाग्छ भने पहिले मूल्यवान् लागेको कुरा पछि वाहियात लाग्छ । सानो छँदा आफूलाई रहर लागेर किन्न मन लागेको कुरा आफ्ना अभिभावकलाई भन्ने हिम्मत आउँदैन भने वयष्क छँदा आफूलाई मन परेको मानिसलाई प्रेम गर्छु भन्ने हिम्मत नआउन सक्छ ।

 

पछि सम्झँदा पहिले बहस हुँदा वा सम्झाउँदा मैले त्यो कुरा भन्नुपर्ने थियो वा भन्न सक्नुपर्ने थियो भन्ने लाग्छ, तर फेरि भन्छु भन्दा समय र सन्दर्भ मिल्दैन । यसरी अनेक कारण र परिस्थितिले मानिसको जीवनमा भन्नुपर्ने तर भन्न नसकेका कैयौं कुरा थुिप्रएर बसेका हुन्छन् । पहिले व्यक्त गर्न नसकेको प्रेम पछि समय घर्केर गएपछि व्यक्त गर्न सके पनि कुनै अर्थ नहुन सक्छ । कहिलेकाहीं दुवैलाई दुवै जना मन पर्छन् तर दुवैले आफ्नो भावना व्यक्त गर्न नसक्दा अरूसँगै वैवाहिक सम्बन्ध गाँसिन पुग्छ र पछि कुरा गर्दा म पनि त प्रेम गर्थें नि भन्दा दुवैलाई पछुतो लाग्न सक्छ । पहिले बढेको असमझदारी अहिले आएर त्यतिबेला खासमा यस्तोचाहिं भएको थियो है भन्दा सामान्यीकरण भएर जान सक्छ ।

 

आखिर किन मानिसले उचित समयमा आफ्ना कुरा प्रस्ट रूपमा व्यक्त गर्न सक्दैन त ? के कुराले मानिसलाई रोक्छ वा ऊ हिचकिचाउँछ ? सबै मानिसमा एउटै कुरा लागू नहुन सक्छ तर सामान्यत: मानिसको स्वभाव, अहं, डर, लाचारी, स्वार्थ आदिले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्नुमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कहिलेकाहीं आफू तल पर्छु भनेर मानिसले झूट बोलेको हुन्छ ।

 

कहिले आफू बदनाम हुन्छु भनेर कुरा छलेको हुन्छ तर त्यो कुराले पछिसम्म उसको मन पोलिरहेको हुन्छ । पहिले जसलाई आफूले गर्दा मर्का परेको थियो वा अन्याय भएको थियो त्यो मानिसलाई भेटेर माफी माग्न पाए वा कुरा स्पष्ट गर्न पाए चैन मिल्छ । जीवनमा कति कुराचाहिं त्यतिबेला सम्बन्धित पक्षलाई जति राम्रोसँग बुझाएको भए पनि उसले बुझेको हुँदैन र दोषी नै सम्झिएको हुन्छ, तर कालान्तरमा उसले सत्यता बुझ्छ र यथार्थ स्वीकार गर्छ । जिन्दगीमा कति कुराको छिनोफानो हुन उचित समय कुर्नुबाहेक केही गर्न सकिँदैन । समयले नै मानिसलाई सफाइ दिन्छ, समयले नै दोषी बनाउँछ ।

 

कहिलेकाहीँ क्षणिक स्वार्थपूर्तिका लागि एक आफन्तले अर्काका विरुद्ध वा एक छिमेकीले अर्काका विरुद्ध, एक साथीले अर्काका विरुद्ध कुरा उचालेर झगडा बढाएका हुन्छन् । कतिको वर्षौंदेखि नै बोलचाल बन्द हुन्छ । धेरै समय भ्रम पालेर र अरूका कुरा सुनेर झगडा गरेकाहरू पछि कुरा बुझेर बोल्दा अंकमाल गरी रुने अवस्थामा समेत पुग्छन् । कहिलेकाहीँ अरूले गरेको अपराधको सिकार आफू भइन्छ । जति होइन भन्दा पनि प्रमाण पुग्दैन वा चलचित्रमा जस्तै त्यति बेला कसैले आफैलाई देखेको हुन्छ । यस्ता कुरा आफूलाई थाहा हुन्छ तर अरूलाई बुझाउन सकिँदैन । यी कुरा कहिल्यै नसुल्झेर जीवनभर दोषी भएर बाँच्नुपर्ने पनि हुन सक्छ वा धेरै पछि भेद खुलेर सफाइ पनि पाइन सकिन्छ ।

 

हिजोआज धेरै नयाँ मानिस सामाजिक सञ्जालमा साथी हुन आइपुग्छन् । हेर्दा धेरै साथी हुन्छन् तर सबैसँग एकनासले बोल्न सकिंदैन । कतिसँग बोल्न मन भए पनि के सोच्ने होला भन्ने हुन्छ । कतिले पहिले बोल्दा आफू तल परिन्छ कि भन्ने सोच्छन् । कतिको कामका बेला मात्र बोल्ने बानी हुन्छ । न हामी मन खोलेर कसैको प्रशंसा गर्न सक्छौं, न आलोचना । न कसैको नजिक हुन सक्छौं, न टाढा नै जान सक्छौं । कहिले अहंले छेक्छ, कहिले डरले । आफ्नो कुरा भनेपछि कसैलाई गुमाउनुपर्ला कि कोही टाढा गैदेला कि भन्ने भय पनि हुन्छ ।

 

आखिर जे–जस्तो भए पनि आफ्नो कुरा भन्न खोजिरहनुपर्छ । लेखेर हुन्छ कि संकेतले हुन्छ कि व्यवहारले देखाएर हुन्छ, आफ्नो कुरा बुझाउने प्रयास गरिरहनुपर्छ । मनमा कुरा पकाएर आफैंलाई दु:ख दिनुभन्दा मनको गाँठो वा भारी फुकाउँदै–बिसाउँदै जानुपर्छ । भनिन्छ नि— भनेर मान्छे मर्दैन, तातोपानीले घर डढ्दैन ।

लेखक :- अभिरल  थापा
उहाँसग जोडीन पनि सक्न्हुन्छ।
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out