Saturday, 21 April 2018

बैशाख पुर्णिमालाई ध्यान दिवसको रुपमा मनाउ


  स्वामी आनन्द अरुण

आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो ।

वैशाख पूर्णिमाकै दिन निरञ्जना नदीको तटमा ३५ वर्षको उमेरमा बोधगयाको बोधिवृक्ष मुनी उनलाई निर्वाण प्राप्त भयो । र, वैशाख पूर्णिमाकै दिन कुशीनगरमा दुई साल वृक्ष मुनी ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त भयो । यी तीनै घटना वैशाख पूर्णिमाकै दिन भयो । त्यसैले बुद्ध पूर्णिमा एक त्रियोग हो।

बुद्ध हुने सम्भावना सबैको हुन्छ र ध्यानले जो सुकैपनि बुद्ध बन्न सक्छ भन्ने बुद्धको मुख्य देशना पनि हो । त्यसैले यो पावन दिनलाई विश्व ध्यान दिवस मनाउन संयुक्त राष्ट्र संघमा प्रस्तावना नेपालले राख्ने संकल्प गरौँ र राष्ट्रिय रूपमा ध्यान दिवस मनाउन यही २०७५ को बुद्ध पूर्णिमाको दिन लुम्बिनीबाटै गरौँ ।  

प्रस्तावनाको पृष्ठभूमि तथा औचित्य

योग र ध्यानको उत्पत्ति हिमाली क्षेत्रमा भएको हो । यसलाई सर्वप्रथम वैज्ञानिक रूप दिने व्यक्ति शिव हुन्  । शिव हिमाली क्षेत्रमा बस्थे र उनका पहिला शिष्य सप्तऋषि थिए । योगलाई व्यवस्थित तथा वैज्ञानिक रूप दिने ऋषि भने हिमाली क्षेत्रकै कश्मीरमा जन्मेका पतञ्जली हुन्।

हिमालको काखमा रहेको नेपाल परापूर्वकाल देखि नै योगी, तपस्वी, साधकको साधना स्थलको रूपमा रहिआएको छ । आत्मबोधको पथमा लागेका लाखौँ साधकलाई हिमालयले अनवरत् रूपमा आश्रय र प्रेरणा दिइआएको छ । यही क्षेत्रबाट विश्व भाइचारा, बन्धुत्व, सर्वहितकारी उपनिषदको दर्शन उत्पति भयो । यही क्षेत्रमा आज भन्दा पच्चिस सय ६३ वर्ष अघि गौतम बुद्धको पनि जन्म भयो।

बुद्ध पहिलो ऐतिहासिक व्यक्ति हुन् जुन कुनै कथा र मिथकद्वारा छेकिएका छैनन् उनको जन्मस्थली, बोधिप्राप्त गरेको स्थान र महापरिनिर्वाण गरेको स्थानहरूमा अब कुनै विवाद छैन । बुद्धले दिएको शान्तिको मार्गमा दुःखबाट मुक्तिको उपाय सुझाइको छ । यो दर्शनको लोकप्रियता आज विश्वभरी दिनानुदिन बढ्दै गइरहेको छ । बुद्ध धर्म नेपाल हुँदै चीन र त्यसपछि जापान पुगेको हो । भारतमा बुद्ध धर्मको पतन हु“दा नेपालले धेरै बौद्धहरूलाई आश्रय दिएको ऐतिहासिक तथ्य पनि हाम्रा सामु छन्।   

 

बुद्ध नेपालमा जन्मेका हुन् भनेर देश भित्रमात्र हल्ला गर्नुभन्दा विश्वको साझा मञ्च संयुक्त राष्ट्र संघमा बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउने दिनको लागि समर्थन जुटाउन सके बुद्धको देश नेपाल भनेर स्वतः हामी चिनिनेछौँ । यसबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव पनि बढ्ने छ र तीन करोड नेपालीको शिर आत्मसम्मानले ठाडो हुनेछ।


 बुद्धले शील, समाधि र प्रज्ञाको सम्यक अभ्यासद्वारा सबै दुःखका कारणहरूबाट मुक्त पाउने एक आर्यमार्ग प्रस्तुत गरे । आज विश्वमा शान्तिको जति जरुरी छ त्यति कहिल्यै थिएन । त्यसैले बुद्ध आज अझ सान्दर्भिक छन्।

मानिस तकनिकीको अनेकौँ सुविधाले घेरिएर पनि आनन्दित र शान्त छैन । दुई विश्व युद्धको विभिषिका झेलेको विश्वले हातहतियारले गरेको विध्वंसको उग्ररूप परमाणुबमको विस्फोटबाट भोगिसेकको छ । सृजनशील र मानव हितका लागि उपयोगी विज्ञान विध्वंस गर्ने असीमित सम्भावना बोकेर अघि बढिरहेको छ । आफूले विकास गरेको विज्ञानले आज मानिसलाई सुखी बनाउनुको साटो तनाव, विषाद, अनिदोपन र युद्धको किनारमा ल्याएर छाडेको छ ।

शारिरीक रोगहरूको रोकथाममा स्वास्थ्यका लागि अनेक विकसित देशमा एक तिहाईसम्म बजेट खर्च भइरेको परिप्रेक्षमा विकराल चुनौतिको रूपमा देखिएका अनेकन जटिल मानसिक रोगहरूले मानिसको स्वास्थ्यलाई अझ जोखिममा पार्दै गइरहेको छ।

आजको युगमा शारीरिक रोगभन्दा मानसिक रोगले अझ विकराल रूप लिइरहेको छ। मानसिक रोग भनेको यस्तो अवस्था हो, जतिखेर व्यक्तिमा चिन्ने, बुझ्ने र सिख्ने मनको संज्ञान क्षमताको ह्रास हुन्छ र यसबाट व्यक्तिले व्यवहारमा भावनात्मक नियन्त्रण गर्न सक्ने क्षमता गुमाउँछ । यसको असर मनोवैज्ञानिक, जैविक विकासमा देखिन्छ जसले उसको सामाजिक, व्यावसायिक जीवनलाई प्रतिकूल असर पार्दछ।

जटिल मनोरोगको निदान र उपचारको वर्गीकरण गरेर अमेरिकन साइक्याट्रिक एसोसिएसनले प्रकाशित गरेको ‘द डाइग्नोस्टिक एन्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर’ (डिएसएम)का अनुसार सन् १९५२ मा जम्मा एक सय ६ मानसिक रोग देखिएका थिए भने अहिले करिब तीन सय भन्दा बढी मानसिक रोगहरू देखिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा डिप्रेसन विश्वको सबैभन्दा भयावह रोगको रूपमा आउनेछ । डाक्टरहरू भन्छन्, ८० प्रतिशत शारीरिक रोगको जरो पनि मानिसको मनमै हुन्छ । कुनै पनि रोग साइको–सोमेटिक हुन्छ, अर्थात् शरीरको रोगको कारण मनमा र मनको रोगको छाप शरीरमा परिरहेको हुन्छ।

२१औँ शताब्दी तनाव, हाइपरटेन्सन, हृदय रोग, मधुमेह, अनिदोपन, डिप्रेसन तथा अन्य सयौँ किसिमका अनेकौँ मनोरोगले गा“जिएको शताब्दीमा परिणत भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्छ । तर, वास्तविक संख्या आधिकारिक तथ्यांक भन्दा धेरै बढी छ ।

अमेरिकामा कलेजमा पढने एक हजार विद्यार्थीमा एक सय ९० देखि दुई सय ४० विद्यार्थीमा उपचार नै गर्नुपर्ने स्थितिमा अनेकौँ मनोरोगहरू देखिएका छन् । अमेरिकामा करिब २० प्रतिशत पहिला र १५ प्रतिशत पुरुष बाल यौन शोषणको शिकार हुन्छन् । मानसिक बिमारी र आसामान्य मानसिक व्यवहारले आज हाम्रो जीवनको हरेक भागलाई छोएको छ । यो मानसिक असन्तुलन आतंकवाद, पारपाचुके देखि जुवा ताससम्म, मानसिक विसाददेखि आत्महत्यासम्म सबैमा देखिएको छ ।

यस्ता मनोरोगलाई दीर्घकालिन रूपले रोकथाम गर्नेे ध्यान एक अचुक उपाय हो। तर आज योग र ध्यान भौगोलिक तथा धार्मिक सीमामा मात्र बाँधिने विषय रहेन । यो कुनै धर्म विशेषसँग मात्रै सम्बन्धित पनि छैन । यो मनलाई शान्त राख्ने एक शुद्ध वैज्ञानिक विधि हो। मनका अनेक रोगको उपचार गर्ने विधि पनि ध्यान हो । त्यसैले आज ध्यानको लहर पनि विश्वव्यापी हु“दैछ । पश्चिमी र पूर्वीय विकसित देशका विश्वविद्यालयमा यस विषयमा गहन खोज र अन्वेषण भइरहेको छ । प्रतिवर्ष पाँच सय भन्दा बढी शोधपत्र ध्यानको सम्बन्धमा प्रकाशित हुन्छन्।

आधुनिक युगमा मनुष्य अनेक प्रकारका मानसिक रोगहरूबाट पीडित छ र यो पीडितहरूको संख्या बढ्दै गइरहेको छ ।  डाक्टर, मनोवैज्ञानिक तथा समाजशास्त्री एक रूपले सहमत भई सकेका छन् कि ध्यान यसको एक निरापद र अचुक उपाय हो । विश्वव्यापी रूपमा ध्यानप्रति अभिरुचि जागेको छ र आजकल डाक्टरहरूको प्रेस्व्रिmप्सनमा पनि योग र ध्यानले स्थान बनाई सकेको छ।

योग त व्यवसायिक रूपमै स्थापित भएको आजको परिप्रेक्षमा अब अर्को आवश्यकता ध्यानको विश्वव्यापकता नै हो । सन् २०१५ मा एक अरब डलर पुगेको ध्यानको विश्वप्यापी बजारमा अहिले स्मार्टफोनहरूमा ध्यान गर्न सहयोग गर्ने एक हजार भन्दा बढी एप्पस्हरू उपलब्ध छन् । त्यसैले विश्व ध्यान दिवस अवश्य रुपमा यो दिशामा फड्को मार्ने एक कोशेढुंगा साबित हुनेछ।

ध्यानले कुनै पनि विषयवस्तुमा केन्द्रीत हुने क्षमता प्रदान गर्छ । तनाव, चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्ठभूमि तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्छ । उच्च रक्तचाप, कोलेस्टे«रोल र मधुमेहलाई कम गर्छ । कुलत तथा आफैलाई हानी गर्ने व्यवहारमा मुक्त हुन सहयोग गर्छ । उच्च सृजनात्मकता प्रदान गर्छ, जीवनलाई प्रफुल्लित राख्ने कला प्रदान गर्छ र व्यवसायिक कार्यदक्षता बढाउँछ । आफैलाई राम्ररी बुझ्न र स्व–स्वीकार गर्ने क्षमताको वृद्धि हुन्छ । परिवारका सदस्यहरू तथा मित्रपरिजनहरूसँग सौहार्दता बढाउँने क्षमता दिन्छ ।

जीवनमा आनन्द, प्रेम र स्वतःस्फूर्तताको वृद्धि हुन्छ । जीवनको उद्देश्यलाई गहन रूपले बुझ्ने क्षमता प्रदान गर्छ । यो जीवन जगतस“ग ‘वसुदैव कुटुम्बकम्’ सम्बन्धलाई उजागर गर्दै मानिसलाई आध्यात्मको एक उच्चतम शिखरसम्म पुर्‍याउन सक्छ।  

त्यसै परिप्रेक्ष्यमा बुद्ध पूर्णिमालाई नेपालले बौद्ध राष्ट्रहरूको सहयोग लिई संयुक्त राष्ट्र संघमा विश्व ध्यान दिवस मनाउने संकल्पप्रस्ताव राख्नुपर्ने प्रस्तावना मैले विगत दुई वर्षदेखि विभिन्न सभा, समारोह, राष्ट्रिय मिडिया तथा राष्ट्रका मूर्धन्य व्यक्तित्वहरूस“गको भेटमा गर्दै आएको छु ।

नेपालले संयुक्त राष्ट्र संघमा यो प्रस्ताव पेस गर्दा विश्वभरिका बुद्ध धर्म मान्ने प्रमुख १७ देश जापान, कोरिया, मंगोलिया, भुटान, भियतनाम, कम्बोडिया, लाओस्, थाइल्यान्ड, बर्मा, श्रीलंका, चीन, ताइवान, सिंगापुरलगायत भारतले तुरुन्तै समर्थन गर्नेछन् र सह–प्रस्तावकको रूपमा प्रस्तुत हुन तयार हुनेछन्।

बौद्ध धर्म मान्ने करिब ५० करोड बौद्ध र बुद्धलाई आफ्नो नवौँ अवतार मान्ने करिब एक सय करोड हिन्दू गरी विश्व जनसंख्याको २० प्रतिशत मानिसले पनि यो प्रस्तावलाई बडो उत्साहका साथ तुरुन्तै समर्थन गर्नेछन् । त्यस्तै अहिले विश्वमा बुद्धलाई मान्ने र श्रद्धा गर्ने व्यक्तिहरूको संख्या दिनदिनै बढ्दै गइरहेको छ । संसारका अधिकांश बुद्धिजीविले आज बुद्धलाई सम्मान गर्छन् र यो प्रस्तावलाई समर्थन गर्नेछन् ।

प्रस्तावनाको उद्देश्य, कार्यक्रम, कार्यान्वयन तरिका र कार्यक्षेत्र
   बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव पारित गर्न विश्वका बौद्ध तथा मित्र देशहरूको समर्थनमा नेपालले प्रस्ताव राख्ने।

 यसै उद्देश्यका लागि विश्वभरी रहेका नेपालका कूटनैतिक निकायहरूलाई परिचालन गरी यो प्रस्तावको समर्थनका लागि बौद्ध तथा गैर–बौद्ध देशहरूस“ग कुटनैतिक लबिङ गर्ने। यही वैशाख १५ देखि १७ गतेसम्म नेपाल सरकारका प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा हुन गइरहेको विश्व बौद्ध सम्मेलनको अवसरमा विश्वभरीका करिब ३० देशहरूबाट भाग लिन आउने बौद्ध विद्वानहरूको उपस्थितिमा यस बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रूपमा मनाउन समर्थन जुटाउने अवसरका रूपमा उपयोग गर्ने।

   विश्व ध्यान दिवसको प्रस्तावना संयुक्त राष्ट्रका पुर्‍याउन नभ्याएको अवस्थामा यही वर्षको बुद्ध पूर्णिमालाई नै नेपाल भरी यस वर्षदेखि राष्ट्रिय ध्यान दिवसको रूपमा मनाउन संघीय, प्रादेशिक तथा स्थानीय निकायसम्म तयारी गर्ने । र, विदेशमा अवस्थित नेपाली कूटनैतिक नियोगले पनि यो दिनलाई ध्यान दिवसको रूपमा सार्वजनिक संलग्नतामा मनाउने विशेष तयारी गर्ने । विश्व ध्यान दिवसमा अभ्यास गरिने ध्यानको विधि र कार्यत्रम यस क्षेत्रका साधक, विद्वानहरूको सहयोगमा तर्जुमा गर्ने । यस पूनित कार्यमा ओशो तपोवन र तपोवनस“ग सम्बन्धित दुई सय ध्यान केन्द्रहरू हरसम्भव सहयोग गर्न तयार छ।

   भारत सरकारले योगको प्रचार र सम्वद्र्धनका लागि अनेकौँ राष्ट्रिय योग संस्थानहरू स्थापना गरेको छ । त्यस्तै नेपालले पनि ध्यानको विकास र अनुसन्धानको लागि उपयुक्त प्राकृतिक स्थानमा एक राष्ट्रिय ध्यान संस्थान स्थापना गर्ने ।सबै प्रकारमा शिक्षण संस्थान तथा तालिम केन्द्रहरूमा योग र ध्यानलाई पाठ्यव्रmम कै भाग बनाउने ।  

नेपालमा जन्मेका बुद्धका लागि यो नै सबैभन्दा ठूलो सम्मान हुनेछ र यसले नेपालको एक आध्यात्मिक पहिचान र गरिमा विश्वमा स्थापित गर्नेछ । धार्मिक पर्यटन तथा प्रकृति पर्यटन मार्फत् हाम्रो पर्यटन उद्योग राष्ट्र विकासको एक मूल स्तम्भ हुन सक्छ । विश्वमा ५१ वटा यस्ता देशहरू छन् जसले आफ्नो जनसंख्या भन्दा बढी पर्यटकहरू भित्र्याउँछन्, भने अन्य ३० देशले आफ्नो जनसंख्याको आधादेखि आफ्नो जनसंख्या बराबरको पर्यटक भित्र्याउँछन् ।

२६ यस्ता देश छन् जसले आफ्नो जनसंख्याको आधादेखि चौथाइसम्म पर्यटक भित्र्याउँछन्  । र, २२ यस्ता देश छन् जसले आफ्नो जनसंख्याको १० प्रतिशतदेखि २५ प्रतिशतसम्म पर्यटक भित्र्याउँछन् । तर, यत्ति ठूलो प्राकृतिक र सांस्कृतिक सम्पदा हु“दा हु“दै पनि नेपाल सबै भन्दा कम पर्यटक भित्र्याउँने देश मध्ये १४ औँमा पर्छ । नेपालले पनि दीर्घकालिन योजना बनाई एक करोड पर्यटक भित्र्याउने उद्देश्य लिएर अघि बढ्न जरुरी छ । यसका लागि विश्व ध्यान दिवस र बुद्ध जन्मस्थल लुम्बिनी र विश्वको उच्च शिखर सगरमाथाले धेरै महत्वपूर्ण गन्तव्यको भूमिका खेल्न सक्छ।

हाम्रो छिमेकी राष्ट्र भारतमा बुद्धले बोधि प्राप्त गरेको बोधगया, पहिलो प्रवचन दिएको सारनाथ र शरीर छोडेको कुशीनगरमा विश्वभरीका बौद्ध आउने हवाई मार्ग र सडक मार्गको द्रुत विकास भइसकेको छ । त्यसै नेपालमा अवस्थित बुद्ध तथा हिन्दू तीर्थहरूको सेरोफेरोमा अब अरु बिलम्ब नगरी संचार, यातायात तथा पूर्वाधारहरू विकास तीव्र गतिमा गर्नुपर्छ ।  

आज विश्वका विकसित देशमा तीन देखि पाँच प्रतिशत व्यक्तिहरूले कुनै न कुनै ध्यानको अभ्यास गरिरहेका छन् । यसबाट के देखिन्छ भने मानिसलाई दैनिक जीवनमा ध्यानको आवश्यकता महसूस भइसकेको छ र यो ‘ट्रेन्ड’ बढ्दो छ।विश्व ध्यान दिवसको प्रस्तावनाको विषयमा यदि नेपालले शीघ्र पहल गरेन भने अरु कुनै देशले यो कार्यको श्रेय लिन सक्छ । त्यसैले मेरो नेपाल सरकारस“ग अनुरोध छ कि यो पवित्र कार्य नेपालले शीघ्र गरेर यसको जस लिओस्।

बुद्ध नेपालमा जन्मेका हुन् भनेर देश भित्रमात्र हल्ला गर्नुभन्दा विश्वको साझा मञ्च संयुक्त राष्ट्र संघमा बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउने दिनको लागि समर्थन जुटाउन सके बुद्धको देश नेपाल भनेर स्वतः हामी चिनिनेछौँ । यसबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव पनि बढ्ने छ र तीन करोड नेपालीको शिर आत्मसम्मानले ठाडो हुनेछ।

ध्यान र योगको विश्वमा प्रचारप्रचारबाट नेपालले आर्थिक लाभ तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत हासिल गर्नेछ । त्यसैले बुद्धको जन्म, संबोधि र महापरिनिर्वाण सबै एकै दिन परेको त्रियोग महोत्सव बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रुपमा हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा मनायौँ भने हजार शब्दले बोलेर सम्भव नभएको कार्य यसबाट स्वतः प्रमाणित हुनेछ ।

Tuesday, 10 April 2018

०७४ सालका चर्चित १० महिला साहित्यकार पुस्तकमा तोडियो पुरुष लेखकको वर्चश्व



वर्षको अन्त्यमा कुन क्षेत्रले कस्तो काम गर्‍यो र को व्यक्ति सर्वश्रेष्ठ भए भनेर विश्लेषण गर्ने परम्परा विश्वभरि सबै मुख्य सञ्चारमाध्यमले गर्दै आएका छन् । फरक के छ भने पश्चिममा अंग्रेजी महिनाको अन्त्यमा गर्ने यो चलनलाई नेपाली सञ्चारमाध्यमले चैतको अन्त्यबाट सुरु गर्छन् र बैशाखमा सम्पन्न गर्छन् ।

यो परम्परा नेपाली सिनेमा, संगीत र कलामा अझ व्यापक छ । नेपाली साहित्यमा व्यवसायिक प्रकाशनगृहको आक्रामक प्रतिस्पर्धा सुरु भएपछि वर्षका साहित्यकार र पुस्तकको विश्लेषण गर्ने चलन ह्वात्तै बढेको छ । मदन पुरस्कार गुठी र खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान जस्ता ठूला साहित्यिक संस्थाले दिने पद्मश्री र मदन पुरस्कारले उत्कृष्ट कृतिहरुको नाम सार्वजनिक गर्न थाले यता यो चलन बढेर गएको हो । दुई लाख रुपैंयाभन्दा बढीका ती दुबै पुरस्कारको लिस्टमा आफ्ना कृति पार्न लेखकहरुको दौडधुपका कारण पनि विक्री र गुणस्तरका हिसावले वर्षका उत्कृष्ट कृतिको लेखाजोखा हुन थालेको छ ।

यो वर्ष नेपाली भाषामा मात्र एकहजार भन्दा बढी पुस्तक छापिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको तथ्याङ्क छ । त्यसमध्ये आधा नेपाली साहित्यसँग सम्बन्धित पुस्तक रहेको अनुमान छ । यस अर्थमा वर्ष २०७४ मा प्रत्येक दिन दुईवटाका दरले आख्यान र गैरआख्यान पुस्तक छापिएको अनुमान गर्न सकिन्छ ।

त्यसो भए कुन पुस्तक अब्बल ?

वर्ष ०७४ मा कुन लेखकको कुन पुस्तक अब्बल रह्यो झट्टै भन्न सकिने अवस्था छैन । केही प्रकाशन संस्थाले नेपाली चलचित्र क्षेत्रमा जस्तै व्यवशायिक रुपमा सफल पुस्तकलाई वर्ष पुस्तक घोषणा गर्नुपर्ने दावी गर्छन् भने समीक्षकहरु विक्रीका हिसावले भन्दा गुणस्तरका हिसावले वर्ष पुस्तक घोषणा गर्नुपर्ने दावी गर्छन् । यद्यपि विक्री तथा गुणस्तर दुबैलाई ध्यान दिएर वर्ष पुस्तकको लिस्ट सार्वजनिक गर्नुपर्ने धारणा धेरैजसोको छ ।

नेपाली बजारमा १० हजार भन्दा बढी बिक्री हुने पुस्तकलाई बेस्टसेलर पुस्तक मान्ने गरिएको छ । केही वर्षअघिसम्म ५ हजार प्रति बिक्री हुने पुस्तकलाई बेस्टसेलर मान्ने गरिन्थ्यो । नेपाली बजारको अवस्था हेर्दा ५ हजारभन्दा माथि बिक्री हुने पुस्तकलाई बिक्रीका हिसावले बेस्टसेलर पुस्तक मान्नु पर्ने बाध्यता भएको समीक्षक राम लोहनीको तर्क छ । यद्यपि बिक्री भन्दा गुणस्तरका आधारमा पुस्तकको सूचि निकाल्नुपर्ने धारणा लोहनीसहित अधिकांश समीक्षकहरुको छ ।

यो वर्ष पनि अघिल्ला वर्षहरु झैं बजारमा फाइन प्रिन्ट, बुकहिल, सांग्रीला, फिनिक्स, शिखा बुक्स, नेपालय र मञ्जरी प्रकाशनबाट प्रकाशित पुस्तकहरु बढी चर्चामा रहे–गराइए ।

यो वर्ष बेस्ट सेलर तथा चर्चित पुस्तकमध्ये फाइन प्रिन्टबाट प्रकाशित मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सबैभन्दा माथि रह्यो । त्यसपछि यज्ञस र नयनराज पाण्डेको गैरआख्यान पुस्तक ‘भूँइया’ र ‘यार’ लाई पाठकले बढि रुचाए । फाइन प्रिन्टबाट प्रकाशित आख्यानहरुमा सबैभन्दा माथि महेशविक्रम शाहको ‘भुईखाट’ रहेको विक्रेताहरुले जनाएका छन् । प्रकाशन नहुँदै शिवानी सिंह थारुको पुस्तकको अर्डर अध्यधीक आउन थालेको पनि उनीहरुले जनाएका छन् ।

अर्को प्रकाशन गृह बुकहिल पब्लिकेसन्सबाट प्रकाशित पुस्तकहरु मध्ये सरस्वती प्रतीक्षाको ‘नथिया’ सबैभन्दा बढि चर्चा र विक्री दुबै हिसावले उत्कृष्ट सूचिमा परेको छ । अश्विनी कोइरालाको ‘प्रेमालय’ विक्रीका हिसावले दोस्रो नम्बरमा रहेको छ । यो प्रकाशनबाट प्रकाशित तीर्थ गुरुङ्को ‘पाठशाला’ कुमार नगरकोटीको ‘दोचा’ पनि विक्रीका हिसावले उत्कृष्ट रहे । समीक्षकहरुले विप्लव प्रतीकको ‘अविजित’लाई उत्कृष्ट पुस्तकको सूचिमा राखेका छन् ।

अर्को ठूलो प्रकाशन गृह सांग्रिला बुक्सबाट प्रकाशित निलम कार्की ‘निहारिका’को योगमाया बिक्री र चर्चाका हिसावले उत्कृष्ट रह्यो । यो प्रकाशन गृहबाट निस्किएको पुस्तक रानीवन, कैरन, १९ नम्बर र इन्द्रबहादुरका कथाहरुलाई पाठकले अत्यधिक रुचाएका छन् । रानीवन कृष्ण गौतमको कृति हो भने कैरनलाई ध्रुवसत्य परियारले लेखेका हुन् । ‘१९ नम्बर’ लाई लामो समय पत्रकारिता गरेर अहिले अमेरिकामा बसोवास गर्ने अनमोलमणि पौडेलले लेखेका हुन् । पछिल्लो समय विवेक ओझाको ‘ऐलानी’ र श्रीभक्त खनालको ‘अफ्ठ्यारो बाटो’ चर्चा र बिक्री अचानक बढेको विक्रेताहरुले जनाएका छन् ।

वर्ष ०७४ मा फिनिक्स बुक्सबाट प्रकाशित नारायण ढकालको उपन्यास ‘हजार माइलको बाटो’ चर्चा र विक्री दुबै हिसावले अब्बल रह्यो । माओवादी द्वन्द्वले भित्रिएको विकृति र कम्युनिस्ट दर्शनको पतनलाई विषय बनाइएको यो पुस्तकको प्रसंसा र आलोचना दुबै भएका कारण बढी चर्चित भएको हो । यही प्रकाशनबाट प्रकाशित ‘ओ नायक’ कृतिले चर्चा पायो । कविता कृति ‘ओ नायक’ की लेखिका सुनिता खनाल हुन् । त्यसैगरी सानु शर्माको ‘विप्लवी’ यो प्रकाशनको अर्को उत्कृष्ट कृति बन्न पुग्यो । विक्रीका हिसावले सामान्य रहे पनि विषय वस्तु र प्रस्तुतिका हिसावले समीक्षकहरुले सानु शर्माको विप्लवीलाई उत्कृष्ट कृति ठह¥याए ।

नेपालयबाट प्रकाशित एमाले नेता तथा हाल सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरवारको यात्रा’ चर्चायोग्य पुस्तक बन्यो । निर्वाचनको मुखमा मतदातालाई प्रभावित बनाउन पुस्तक निकालेको भन्दै यसको आलोचना पनि भयो । विक्रीको हिसावले पनि यो पुस्तक मािथ रहेको विक्रेताहरुको ठहर छ ।

यो वर्ष ‘कठपुतला’ कथा संग्रहले पनि निकै चर्चा पायो । अर्चना थापाद्वारा लिखित यो पुस्तकमा फरक धारका ८ कथा संग्रहित गरिएका छन् । अक्षर क्रिएसनले निकालेको यो पुस्तक विक्रीका हिसावले भने मध्यम रहेको विक्रेताहरुले जनाएका छन् ।

यो वर्ष प्रकाशित कृतिहरु मध्ये कोमल रिजालको ‘दर्शनभित्रको दर्शन’ कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’ जनता पब्लिकेसन्सबाट प्रकाशित युवराज संग्रौलाको आत्मकथा ‘निसंकोच अभिव्यक्ति’ र मञ्जरी प्रकाशनको ‘चार बेदको सार’ पनि चर्चामा रहे । कमै लेखिने–पढिने नाटकमा पनि यो वर्ष पाठकहरुको रुचि देखियो । यो विधामा पुरु लम्सालको नाटक सङ्ग्रह ‘पानीघट्ट’लाई पाठकले रुचाएको देखियो ।

तैपनि महिलाहरु अब्बल

यति हुँदाहुँदै पनि वर्ष ०७४ मा पुरुषको दाँजोमा महिलाहरु सशक्त रुपमा अघि आए । चर्चाको हिसाबले मात्रै होइन, पुस्तक विक्रीका हिसावले महिला लेखनलाई अघिल्लो वर्षसम्म पनि पाठकले खासै वास्ता गर्देनथे । यो वर्ष महिलाहरुको उपस्थिति वितेका दुई–तीन दशक यताकै बढी भएको आँकलन गरिएको छ ।

कतिपयले पारिजातपछि नेपाली साहित्यमा दह्रो उपस्थिति जनाउन नसकेका महिला हस्ताक्षरहरु यो वर्षदेखि सशक्त रुपमा उदाएका दाबी गरेका छन् । वर्ष ०७४ ले एकसाथ १२ जना शसक्त महिलाले उत्कृष्ट कृति जन्माएका छन् ।

जसले तीन दशकदेखि एकलकाँटे भएर उभिएको नेपाली साहित्यमा पुरुष लेखकलाई महिलाहरुले ठक्कर दिएको बताएका छन् । कतिपय लेखकहरुले सिर्जनामा पुरुष–महिला जस्ता ‘जेन्डर’को कुरा निरर्थक हुने बताए पनि नेपाल जस्तो देशमा महिला लेखनको यो उपस्थितिले ठूलो अर्थ राख्छ ।

१. शिवानी सिंह थारु

 

नौ वर्ष लगाएर लेखिएको उपन्यास ‘काठमाडौंमा एक दिन’ प्रकाशित नहुँदै चर्चामा आयो । खासमा यो उपन्यासको पाण्डुलिपि ज–जसले पढे, उनीहरुले नै प्रकाशनपूर्व नै शिवानी सिंहको प्रसंसामा सामाजिक सञ्जाल रङ्ग्याउन थाले । त्यतिमात्र होइन, बिमोचनको तयारीका लागि पुस्तक पढेका साहित्यकारहरुले उपन्यासमा नयाँ शैली जन्मिएको उद्घोष गरे । पुस्तक पसल र इन्टरनेटबाट मात्रै हजारौंको सङ्ख्यामा प्रि अर्डर आउन पुस्तक पनि ‘काठमाडौमा एक दिन’ बन्यो । आखिर के छ उपन्यासमा ? यो प्रश्न हामीले काठमाडौंमा एक दिन पढेका उपन्यासकार अमर न्यौपानेलाई सोधेका थियौं । उनले अनलाइनखवरसँग भने, ‘उपन्यास भनेको माया–प्रतिको कुरा हो । दुःख र पीडाको कथा मात्र हो भन्ने बुझेका पाठकलाई यसले नयाँ स्वाद दिन्छ । महिलाले लेखेको उपन्यासमा महिला पात्र नै नहुनु यसको विशेषता हो । नायककी आमा थोरै प्रसङ्गमा आएकी छन् तर, त्यो पनि नायकको मनको भाव दर्शाउन मात्र ।’

२. सरस्वती प्रतीक्षा

तीनवटा कविता सङ्ग्रह लेखेर आफ्नो छुट्दै पाठक र परिचय बनाएकी सरस्वती प्रतिक्षाको नवीनतम उपन्यास ‘नथिया’ ले वर्ष ०७४ मा ठूलो प्रसंसा पायो । यो चर्चा अहिले पनि उत्तिकै छ । परम्परागत यौन पेसा गर्ने समुदायकी सामली नामक पात्रले देखेको समाज र उसले भोगेका पुरुष चरित्रलाई गम्भीर रुपमा पस्केका कारण सरस्वतीको चर्चा चुलिएको हो । १० वर्षअघि आफ्नो अधिकार स्थापित गर्न वादी समुदायका महिलाहरुले सिंहदरवारमा अर्धवस्त्रमा नारा लगाएको देखेपछि सरस्वतीले यो विषयमा उपन्यास लेख्ने योजना बुनेकी हुन् । लामो समय वादी समुदायको अध्ययन र केही महिना स्थलगत अध्ययन गरेर लेखिएको यो उपन्यासको मनमोहक भाषाका कारण चर्चित भएको हो । दुई महिनाको अवधिमै यसले विक्रीको राम्रो मानक राखेको दावी यसका प्रकाशक बुक हिलको छ ।

३. निलम कार्की ‘निहारिका’

दुई वटा कविता सङ्ग्रह, तीनवटा कथा संग्रह र तीन वटा उपन्यासकी श्रष्टा निलम कार्की निहारिकाको पछिल्लो उपन्यास ‘योगमाया’का कारण अत्यधिक चर्चामा छिन् । ७ वटा पुस्तकपछि लेखिएको ‘योगमाया’ पूर्वी नेपालकी एक संघर्षशील महिलाले समाजमा ल्याएको परिवर्तनलाई आधार बनाइएको छ । योगमायाको जन्म र कर्मघर पुगेर पुराना व्यक्तिहरुसँग गरिएको अन्तरवार्ताका आधारमा लेखिएको यो पुस्तकमा बढी ऐतिहासिक तथ्य रहेको विश्लेषकहरुले बताएका छन् ।

यसअघि योगमायाका विषयमा लेखिएका कतिपय ऐतिहासिक सामग्रीलाई यो उपन्यासले गलत मानेको देखिन्छ । दुई वर्षअघि ‘चीरहरण’ उपन्यासबाट पद्मश्री पुरस्कार प्राप्त गरेको यो पुस्तकले महाभारतकालीन महिलामा आएको शसक्तिकरणको पक्षलाई मिहीन ढंगले केलाएको थियो ।

यसपटक ‘योगमाया’ का कारण उनको लेखन र विक्रीको हिसावले उनका समकक्षी पुरुष साहित्यकारहरुलाई पछाडि पारिदिएकी छन् ।

४. अर्चना थापा

अंग्रेजी भाषामा लेख र समालोचना लेख्दै आएकी अचर्ना थापाले यो वर्ष कथा सङ्ग्रह ‘कठपुतला’ लेखिन् । यो कथा सामान्य कथाहरुको सङ्ग्रह मात्र थिएन, नेपाली भाषामा यसअघि लेखिएका कथाहरुको मानक भत्काउने किसिमको थियो । विषय, पात्रको विविधता र कल्पनाशीलताको उच्च उडानमा आएका यी कथा यो वर्ष आएका अन्य कथा सङ्ग्रहभन्दा पृथक थिए । लामा संरचनामा बुनिएका, आधुनिक बिज्ञानका रोबोट र त्यसको नेपाली सन्दर्भमा राखिएका प्रसङ्गहरुका कारण वर्ष ०७४ मा अर्चना थापा उत्कृष्ट श्रष्टाका रुपमा दरिन आइपुगेकी छन् ।

५. सानु शर्मा

सानु शर्मा सार्वजनिक रुपमा कमै देखिने नारी हस्ताक्षरको नाम हो । चार उपन्यासकी लेखिका सानु शर्माको ‘विप्लवी’ उपन्यासले वर्ष ०७४ मा धेरै समीक्षकको ध्यान तान्यो । राणा परिवारकी सम्पन्न नारी, मध्यम बर्गीय शहरी नारी र गाउँले नारी गरी तीन तहका नारीहरुको मनोदशा र उनीहरुले भोगेका यथार्थ घटनामा बुनिएका ‘विप्लवी’ नेपाली आख्यान जगतमा नौलो नभए पनि सशक्त प्रयोग हो ।

यसअघि सानु शर्माको नाममा ‘अर्धविराम’ उपन्यास बजारमा आएको थियो । यसको भूमिका पुरु रिसालले लेखेका छन् । तर भूमिका लेखक स्वयंले सानु शर्मालाई नचिनेको बताउने गरेका छन् । त्यसैगरी अर्को उपन्यास ‘अर्थ’ पनि सानु शर्माको नाममा प्रकाशित छ ।

सुरुमा यो पुस्तक पुरुषले लेखेर महिलाको नाममा छपाएको अुनमान थियो तर केही श्रष्टासँग अस्ट्रेलियाबाट फोनमा कुराकानी गरेर आफ्नो उपन्यासका बारेमा सोधपुछ हुन थालेपछि ‘विप्लवी’ उपन्यास पनि उनै महिला सानु शर्माको हो भन्ने यकिन गरिएको छ । इन्टरनेटहरुमा पनि उनका तस्विर फेला पार्न सकिदैन । फेसबुकमा आधा अनुहार र विप्लवी उपन्यासको कभर भएको एउटा प्रोफाइलका आधारमा उनको पहिचान हो ।

६. प्रगति राई

फरक भाषा, शैली र प्रस्तुतिमा ध्यान दिने प्रगति राईको पहिलो कविता सङ्ग्रह ‘वादी विज्ञप्ति’ निस्कँदा धेरैले उनको लेखनलाई महत्व दिएका थिएनन् । उनको दोस्रो कृति ‘लेखककी स्वास्नी’ उपन्यासपछि भने उनी सबैको नजरमा परिन् । चर्चित साहित्यकार राजन मुकारुङकी जीवन संगीनीको कृति ‘लेखककी स्वास्नी’ले लेखक र पुरुष प्रवृत्तिको झण्डाफोर गरेको थियो । त्यसको केही समयपछि आफ्नै श्रीमान्का विरुद्ध सार्वजनिक अन्तरवार्ता दिएपछि उनी चर्चित रहिन् । वर्ष ०७४ मा उनको कृति ‘बिर्सिएको मृत्यु’ले भूकम्पबाट पीडित परिवारको कथा भनेको छ ।

नारीवादी दृष्टिकोणलाई फरक ढंगले ब्याख्या गर्ने उनको शैली गज्जब छ । लेखनीसँगै सामाजिक सेवामा पनि लागेकी प्रगतिले महिलालाई अनुवांशिक अधिकारको वकालत गरेपछि उनको मागले बजार तताएको थियो । उनको कार्यशैलीलाई कतिपयले पारिजातको नेतृत्वमा भएको ‘राल्फा आन्दोलन’को झल्को दिएको समीक्षकहरुको ठहर छ ।

७. अनुपम रोशी

यसै वर्ष युवा मोती पुरस्कार प्राप्त गरेकी अनुपम रोशीले वर्ष ०७४ मा ‘मध्यान्तर’ कथा सङ्ग्रह प्रकाशित गरिन् । छोटा, मिठा तर चोटिला कथाकी पक्षपाती रोशीले यसअघि कुमारी आमा, नाङ्गो मान्छे र कालो छाँया उपन्यास प्रकाशित गरिसकेकी छन् । बेलाबेलामा पत्रिकामा आएका कथाहरुलाई थप सम्पादन गरेर निकालिएका ‘मध्यान्तर’का कथाहरु शसक्त छन् । मध्यान्तरमा केही नयाँ र मौलिक कथाहरुलाई पनि स्थान दिइएको छ ।

यौन मनोविज्ञान र महिला स्वतन्त्रताका पक्षधर अनुपमले यसपटक चर्चा र विक्री दुबै हिसावले औषतभन्दा माथि रहिन् । उनका ‘बोल्ड’ अन्तरवार्ताका कारण बेला बेलामा उनी विवादित हुने गरेकी छन् ।

८. सरिता अर्याल

सामान्य विषय वस्तुलाई विशेष रुपमा पस्कने क्षमता भएकी सरिता अर्यालले वर्ष ०७४ मा ‘पुरुष’ कथा संग्रह निकालेकी छन् । पुरुषमाथि व्यङ्बाण हान्ने क्रममा उनले पुस्तकको शीर्षक नै ‘पुरुष’ राखेकी छन् । यसअघि उनको एउटा कृति प्रकाशित भैसकेको छ ।

९. सरस्वती ज्ञवाली

नेकपा एमाले नेता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी जीवन संगिनीको परिचय भए पनि सरस्वती ज्ञवाली एउटी विशिष्ट लेखिका हुन् । यसअघि फुटकर लेख र केही कविता लेखेकी सरस्वती ज्ञवालीले ‘लालटिनको उज्यालोमा’ आत्मकथा प्रकाशन गरेकी छन् । पुस्तकले उठाएका विषयवस्तु र राजनीतिक चेतका कारण सरस्वतीमा उच्च लेखकीय क्षमता देखिन्छ ।

यद्यपि उनलाई पारिवारिक दायित्वले किचेर उनमा भएको क्षमता खिइदै गएको समीक्षहरुको ठहर छ । वर्ष २०७४ मा पहिलो पटक आएकी सरस्वतीले लेखनमा पूर्णरुपमा हामफाल्ने हो भने एउटा सशक्त लेखिका जन्माउन सक्ने देखिन्छ ।

१०. गीता रेग्मी

नेपाली महिलाको नियात्रा संग्रह निकै कम आउने गरेको छ । वर्ष २०७४ ले नियात्रामार्फत गीता रेग्मीलाई पाएको छ । सुललित भाषामा लेखिएको ‘पत्थरै पत्थर’ले बर्मा, थाइल्याण्ड र मलेसियामा अनौठो संसारको वर्णन गर्छ । लेखकसँगै ती देशको भ्रमण गराउन सक्ने क्षमता भएको पुस्तकका कारण यो वर्ष गीता रेग्मीको कलमको प्रससां भएको हो । यसअघि उनका पुस्तान्तर, ज्योतिका युगीन स्वरहरु जस्ता दुई कथा संग्रह र ‘पश्चिमा देशहरुको देश’ नियात्रा संग्रह प्रकाशित भएका छन् । उनका पुराना कृतिको तुलनामा नयाँ कृति अझै माझिएकाले पनि वर्षका १२ लेखकमा उनी अटाएकी हुन् ।

यी १२ वाहेक यो वर्ष ‘कल्ली’ उपन्यासकी हरिमाया भेट्वाल पनि चर्चित रहिन् । तर, उनको उपन्यास अघिल्लै वर्ष प्रकाशन भएका कारण उनी नयाँ वर्षमा सूचीमा नपरेकी हुन् ।

अनलाइन खबरबाट साभार

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out