Wednesday, 27 September 2017

मदेशको निर्बाचन एक टिप्पणी

आन्दोलनको राजनीति होस् वा निर्वाचनको, तत्कालीन राजनीतिक परिवेशले धेरै ठूलो महत्त्व राख्छ । त्यसका बाबजुद पनि प्रत्यक्ष निर्वाचनमा परिणामलाई प्रभावित गर्ने पाँच ‘फ्याक्टर’ हुँदोरहेछ । उम्मेदवारको व्यक्तित्व, दलसँगको आबद्धता र त्यस दलको संगठन । उम्मेदवारको आर्थिक हैसियत । उम्मेदवारको राज्यसत्तासँगको सम्बन्ध र पाँचौं, उम्मेदवारको जातीय पृष्ठभूमि । अपवाद बाहेक उल्लेखित ५ मध्ये ३ फ्याक्टरले जसलाई साथ दिएको हुन्छ, सामान्यतया त्यो उम्मेदवार निर्वाचन जित्दो रहेछ । उम्मेदवारको व्यक्तित्व, आर्थिक हैसियत र सत्तासँगको सम्बन्धको मापन सजिलो छैन । तर संगठनात्मक भोट र उम्मेदवारको जातीय जनसंख्याबारे तथ्यहरू उपलब्ध छन् । यसै आलोकमा हालै सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे केही थप विश्लेषण गर्न सकिन्छ ।

राष्ट्रिय ट्रेन्ड : २०१५ सालको पहिलो संसदीय निर्वाचनलाई अपवाद मान्ने हो भने निर्वाचनको राजनीतिमा दलीय अभ्यास २०४६ सालपछि नै सुरु भएको हो । २०४८, २०५१ र २०५६ सालको तथ्यांक केलाउँदा प्रस्ट हुन्छ कि नेपाली मतदाता मुख्यत: दुई धु्रवमा विभाजित हुने गर्छ । प्रजातान्त्रिक खेमा र वामपन्थी खेमा । प्रजातान्त्रिक खेमामा नेपाली कांग्रेसले नेतृत्व गर्‍यो भने वामपन्थी खेमामा नेकपा एमालेले । त्यस कालखण्डमा उदाउन खोजेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल सद्भावना पार्टी (नेसपा) जस्ता ससाना दलहरू प्रजातान्त्रिक खेमामा पर्थे । ससाना अनेक वामदलहरू वामपन्थी खेमामा पर्थे । 

माओवादी जनयुद्ध र २०६३ र ०६४ सालको मधेस आन्दोलनपछि राजनीतिमा दुइटा नयाँ शक्तिको उदय भयो, नेकपा माओवादी र मधेसी दलहरू । मधेसी दलहरूमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, महन्थ ठाकुर नेतृत्वको तराई–मधेस–लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी ।

समग्र नेपालको मतविभाजनको ट्रेन्डलाई हेर्दा वामपन्थी खेमामा माओवादीले एमालेको भोट काट्दो रहेछ भने मधेसी दलहरूले नेपाली कांग्रेसको । पहिलो संविधानसभामा माओवादी बलियो देखिनुको अर्थ नै एमाले कमजोर हुनु थियो । मधेसी दलहरूले राम्रो उपस्थिति देखाउँदा कांग्रेसको उपस्थिति कमजोर देखिएको थियो । दोस्रो संविधानसभाको निर्वाचनसम्म पुग्दा नवउदित दलहरू चिरा–चिरामा विभाजित हुनपुगे । सम्भवत: त्यसैकारण २०७० को निर्वाचनमा नेपाली कांग्रेस र एमाले गुमाएको शक्ति पुन: आर्जन गर्न सफल भए ।

क्षेत्रीय ट्रेन्ड : क्षेत्रको हिसाबले प्रजातन्त्रवादीहरूको मत क्षेत्र तराई मधेस रहेको देखिन्छ । २०४८, ०५१ र ०५६ को निर्वाचनमा पनि तराई मधेसको मत आमरूपमा नेपाली कांग्रेसको पक्षमा गएको थियो । २०६४ को विशेष परिवेशमा सांख्यिक हिसाबले माओवादीले अग्रता कायम गर्न सफल भए पनि निकटतम प्रतिस्पर्धामा सबैभन्दा बढी सिटमा नेपाली कांग्रेस नै रहेको थियो । तर त्यस निर्वाचनमा कांग्रेसको मत माओवादीले होइन, बरु मधेसी दलहरूले पाएका थिए । वामपन्थी दलहरूको मताधार क्षेत्र आमरूपमा पहाडी जिल्ला रहेका छन् । तर राष्ट्रिय दलहरूको लामो इतिहास रहेको कारण केही मत सबैतिर छ्यासमिस रूपमा बाँडिनु, ठूला दलहरूले सबैतिर केही न केही मत पाउनु स्वाभाविक हो । 

पहिलो संविधानसभा निर्वाचनमा तराई मधेसका २० जिल्लामा प्रत्यक्षतर्फ जम्मा ११६ निर्वाचन क्षेत्रमध्ये माओवादी ४२ र एमालेले ११ सिट जितेका थिए । तर निकटतम प्रतिस्पर्धामा माओवादी १८ सिटमा र एमाले ३० सिटमा रहेका थिए । कांग्रेसले १६ सिटमात्र जित्दा ५१ सिटमा निकटतम प्रतिस्पर्धी थिए । त्यतिबेलाका तीनवटै मधेसी दलले गरेर कुल ४३ सिट जितेको भए पनि केवल १७ सिटमा निकटतम प्रतिस्पर्धी बनेका थिए । 

दोस्रो संविधानसभा निर्वाचनमा मधेसी दलहरू विभाजित हुँदा तराई मधेसमा नेपाली कांग्रेस एक्लैले ५१ सिटमा जित हात पार्‍यो र ४१ सिटमा निकटतम प्रतिस्पर्धी बन्यो । त्यस निर्वाचनमा सबै मधेसी दल गरेर केवल ११/१२ सिट हात पारेका थिए भने निकटतम प्रतिस्पर्धी पनि केवल १६ स्थानमा देखिएका थिए । माओवादीले केवल १२ सिट हात पारेका थिए भने ११ स्थानमा निकटतम प्रतिस्पर्धी रहेका थिए । त्यस निर्वाचनमा एमालेले ३७ सिटमा जित हासिल गरेर ३७ सिटमै निकटतम प्रतिस्पर्धी बनेका थिए । 

उल्लेखित तथ्यांकको आधारमा भन्न सकिन्छ, मधेसी दलहरूले मूलरूपमा नेपाली कांग्रेसकै भोट काट्दो रहेछ र मधेसी दलहरूलाई सामान्यतया मधेसको खास क्षेत्रमा रहेको मधेसी समुदाय मात्रले मत दिँदोरहेछ । तर मधेसको खास क्षेत्र र अन्य भागमा रहेको पहाडी समुदाय र थारु समुदाय आमरूपमा कित वामपन्थी दललाई वा कांग्रेसलाई मत दिँदारहेछन् । मधेसमा रहेका ३५ देखि ४० प्रतिशत पहाडे समुदायको मत मूलरूपमा वामपन्थी खेमामा जाँदोरहेछ भने थोरैमात्र कांग्रेसमा । 

प्रादेशिक ट्रेन्ड : विगतका दुइटा संविधानसभाको निर्वाचनमा उल्लेखित दलहरूले प्रदेश नम्बर २ मा पाएका मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने हालैको स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली रहेको मापन गर्न सजिलो हुनेछ । 

समानुपातिकतर्फ दुइटै संविधानसभाको निर्वाचनमा त्यस भेगमा नेपाली कांग्रेसले राम्रो मत पाएको थियो । पहिलो संविधानसभामा कांग्रेसले ३ लाख ३० हजार मत पाएको थियो भने दोस्रोमा ३ लाख १५ हजार । ती दुबै निर्वाचनमा एमालेले क्रमश: ३ लाख १७ हजार र २ लाख ९० हजार मत पाएको थियो । नेकपा माओवादीले पहिलो संविधानसभामा २ लाख ७७ हजार र दोस्रोमा २ लाख ११ हजार मत पाएको थियो । फोरम नेपालले पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी ३ लाख ८० हजार मत पाएको थियो ।

फोरमको त्यो मत नेपाली कांग्रेसभन्दा पनि बढी थियो । तर पटक–पटकको विभाजनले होला, दोस्रो संविधानसभाको निर्वाचनमा फोरमले १ लाख २० हजारमात्र मत पाएको थियो । पहिलो संविधानसभामा महन्थ ठाकुरको नेतृत्वको तमलोपाले २ लाख ४० हजार मत पाएको थियो भने राजेन्द्र महतो नेतृत्वको सद्भावनाले १ लाख २० हजार मत पाएको थियो । पछिल्लो समय बनेको राष्ट्रिय जनता पार्टी (राजपा) मा एकाकार भएका ६ वटै दलको २०७० को निर्वाचनको मतलाई जोड्ने हो भने लगभग पौने चार लाख मत पुग्छ, जुन नेपाली कांग्रेसभन्दा बढी हुँदोरहेछ । 

२०७० सालको संविधानसभाको निर्वाचनमा प्राप्त मतको आधारमा अहिलेको स्थानीय तहको परिणामलाई तुलना गर्ने हो भने दुबै निर्वाचनमा कायम भएको निर्वाचन क्षेत्रहरूको तुलना गर्नुपर्ने हुन्छ । संविधानसभामा ४८ क्षेत्र कायम थियो भने स्थानीय निर्वाचनमा १३६ गरिएको छ । अर्थात एक निर्वाचन क्षेत्रमा लगभग २ दसमलव ८ वटा स्थानीय तह रहेको मान्न सकिन्छ । यस आधारमा नेपाली कांग्रेसले स्थानीय तहमा ६० हाराहारीको सिट जित्नुपथ्र्यो भने एमालेले ४० । तसर्थ अहिलेको निर्वाचनमा नेपाली कांग्रेस र एमाले दुबैले आफ्नो पुरानो जनाधार गुमाएको देखिन्छ । एमालेले बढी गुमाउनुपरेको छ ।

माओवादी २१ सिट जितेर आफ्नो जनाधार कायमै राख्न सफल देखिन्छ । राजपामा सम्मिलित दलहरूको २०७० सालको निर्वाचनमा प्राप्त मतको तुलनामा जनाधार खस्केकै मान्नुपर्छ । त्यसकारण यो निर्वाचनमा यदि कसैले जनाधार बढाएको छ वा शक्ति आर्जन गर्न सफल भएको छ भने त्यो उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम हो । यस निर्वाचनमा एमालेलाई ज्यादा नोक्सान त भएकै छ, तर विजय गच्छदार नेतृत्वको फोरमको अस्तित्व नै धरापमा परेको देखियो । 

जिल्लागत ट्रेन्ड : प्रदेश नम्बर २ का ८ जिल्लामा ५ दल प्रतिस्पर्धामा रहेका थिए । तीमध्ये सबैभन्दा बढी (३९) सिट जितेको नेपाली कांग्रेसका लागि सबैभन्दा राम्रो जनाधार भएको जिल्ला रौतहट र धनुषा देखियो । ती जिल्लाहरूमा ८/८ तह कांग्रेसले जितेको छ । सप्तरी र सर्लाही पनि कांग्रेसका लागि राम्रै मान्नुपर्छ, जहाँ ५/५ तह जितेको छ । एमालेका लागि तुलनात्मक रूपमा सिरहा, धनुषा र सर्लाहीमा राम्रो देखियो ।

ती जिल्लामा एमालेले ४/४ तहमा जितेको छ । माओवादीका लागि सबैभन्दा राम्रो सिरहा रहयो, जहाँ १७ मध्ये ६ तहमा जितेको छ । महोत्तरीमा ४ र सर्लाही, रौतहट, पर्सामा ३/३ तहमा प्रमुख जितेको छ । संघीय समाजवादी फोरमका लागि सबैभन्दा राम्रो सप्तरी, सिरहा रह्यो, जहाँ ५/५ तहमा विजय हासिल गरेको छ । बारा, पर्सा र रौतहट पनि फोरमका लागि राम्रो रह्यो, जहाँ ४/४ तहमा प्रमुख जितेको छ ।

राजपाका लागि सबैभन्दा राम्रो महोत्तरी र सर्लाही जिल्ला रहेको पाइयो, जहाँ उसले क्रमश: १५ र २० तहमध्ये ७ र ६ तहमा जित हासिल गरेको छ । पर्सा र सिरहामा राजपा अनपेक्षित रूपमा कमजोर देखियो । ती जिल्लामा राजपाले एक सिट पनि जित्न सकेन । सप्तरीमा ४ सिट पाएर राजपाले निकै प्रगति गरेको छ भने बारामा ३ सिट, धनुषा र रौतहटमा २/२ सिट जितेर राजपा साख जोगाएको छ । 

कांग्रेसका लागि सबैभन्दा कमजोर सिरहा देखियो, जहाँ केवल २ तहमा प्रमुख पाए । महोत्तरी र पर्सा पनि औसतभन्दा कमजोर देखिएको छ, जहाँ ३/३ तहमा मात्र कांग्रेसले जित हासिल गर्‍यो । एमालेका लागि सबैभन्दा खराब रौतहट र महोत्तरी रह्यो । मधेस आन्दोलनको चर्को प्रभाव रहेको सप्तरी र पर्सामा एमालेको धेरै कमजोर रहने पूर्वअनुमान विपरीत ती जिल्लामा २/२ तहमा जित्न सफल भएको छ ।

माओवादीका लागि सप्तरी र बाराको हार अनपेक्षित छ । ती जिल्लामा माओवादी शून्यमा झरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा सप्तरीमा प्रत्यक्षतर्फ ३ सिट जितेको माओवादी यसपटक शून्यमा झर्नु अस्वाभाविक हो । फोरमका लागि महोत्तरी र सर्लाही सर्वाधिक कमजोर देखियो, जुन ठाउँमा राजपा बलियो देखिएको छ । ती जिल्लामा फोरमले १/१ तहमात्र जितेको छ । धनुषामा फोरम र राजपा लगभग बराबरीको अवस्थामा छ, जहाँ एमालेले तुलनात्मक रूपमा राम्रो गरेको छ भने कांग्रेसको गढ नै रहेको प्रमाणित हुन्छ । यसरी हेर्दा प्रदेश नम्बर २ मा सप्तरी र सिरहालाई फोरमको गढ, महोत्तरी र सर्लाही राजपा गढ, धनुषा र रौतहट कांग्रेसको गढ र सिरहा माओवादीको गढ भन्न सकिन्छ । 

जातीय ट्रेन्ड : पहिलो र दोस्रो चरणमा भएका जम्मा ६१७ स्थानीय तहको निर्वाचनमा ३२० प्रमुखमा बाहुन, क्षत्रीले एक्लैले जितेको तथ्यांक सार्वजनिक भएको छ । २३० जनजाति जित्दा पनि ८ जनामात्र दलित समुदायले प्रमुखमा जितेका छन् । 

अन्य प्रदेशहरूभन्दा प्रदेश नम्बर २ को सामाजिक परिवेशमा ब्यापक भिन्नता छ । मधेसी समुदायको बाहुल्य रहेको यस प्रदेशमा ५४ लाख जनसंख्यामध्ये सबैभन्दा बढी लगभग साढे आठ लाख मधेसी दलितको रहेको छ । दलितको जनसंख्या ८ वटै जिल्लामा उल्लेख्य रहे पनि सप्तरी र सिरहा गरी पौने तीन लाख रहेको छ । दोस्रोमा यादव र वैश्य समुदायको जनसंख्या लगभग ८/८ लाख रहेको छ । यादव समुदायको जनसंख्या पनि सबै जिल्लामा उल्लेख्य रहे पनि सप्तरी, सिरहा, धनुषा र सर्लाहीमा १/१ लाखभन्दा बढी रहेको छ ।

वैश्यहरूको जनसंख्या सबै जिल्लामा उल्लेख्य रहे पनि धनुषा, सर्लाही, रौतहट र बारामा १/१ लाखभन्दा बढी रहेको छ । मुसलमान र पहाडे समुदायको जनसंख्या पनि लगभग बराबर छ अर्थात प्रत्येकको ६ लाख ३० हजारको हाराहारीमा । मुसलमानको रौतहटमा सबैभन्दा बढी १ लाख ४० हजार र महोत्तरी, बारा, पर्सामा झन्डै लाख/लाखको हाराहारी रहेको छ । पहाडी जनसंख्या सबैभन्दा बढी सर्लाही र बारामा रहेको छ । सर्लाहीमा करिब डेढ लाख र बारामा १ लाख १० हजार रहेको छ । सबैभन्दा कम सप्तरीमा जम्मा ४१ हजार पहाडे समुदायको जनसंख्या रहेको छ । यस प्रदेशमा थारु सहितको जनजातिको जनसंख्या पाँच लाखजति रहेको छ । थारु समुदायको प्रभावशाली उपस्थिति सप्तरी, सिरहामा छ भने बारा र पर्सामा पनि उल्लेख्य नै छ । सबैभन्दा कम जनसंख्या १ लाख ५७ हजार मधेसका उच्च जातको रहेको छ । तीमध्ये महोत्तरी र धनुषामा उल्लेख्य रहेको छ । 

राष्ट्रिय राजनीतिमा जसरी खस–आर्य समुदायको बर्चस्व स्थापित रहँदै आएको छ, त्यसरी नै मधेसको राजनीतिमा पनि मधेसमा बस्ने पहाडे समुदाय र मधेसी उच्च जातको राम्रो पकड रहेको थियो । तर विगत दुई दसकदेखि सुरु भएको समावेशिताको बहस/आन्दोलन र एक दसकमा भएका निर्वाचनले मधेस राजनीतिमा यादव र वैश्य समुदायको हस्तक्षेपकारी उपस्थिति देखिन थालेको छ । 

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा जम्मा १३६ तहमध्ये लगभग ४५ प्रमुख यादव समुदायबाट जितेका छन् भने वैश्य समुदायबाट ३५ को हाराहारीमा । पहाडी र थारु समुदायबाट १२ र ८ जना प्रमुख जितेका छन् । यस प्रकारले सामाजिक संरचना अनुरूपको प्रतिनिधित्व हुनुलाई नराम्रो मान्न त सकिन्न । तर अहिले जानसांख्यिक अनुपातमा दलित र मुसलमान समुदायको प्रतिनिधित्व उक्लिनसकेको छैन । दुईजना मात्र दलित र ८ जना मुसलमान मात्र प्रमुखमा चुनिनुले मधेसको राजनीतिभित्र पनि समावेशीको बहस नपुगेको प्रमाण हो । खासगरी कांग्रेस र फोरमबाट बढी यादव समुदाय चुनिएका छन् भने राजपाको ध्यान मधेसका वैश्य र उच्च जातमा गएको देखिन्छ ।

त्यस्तै मधेसमा रहेका पहाडे समुदायमा एमालेले राम्रो ध्यान दिएकै कारण ७ जना प्रमुख जिताउन सफल भएको छ भने मधेसका सीमान्तकृत र अन्य जातीय समूहमा माओवादीको ध्यान गएको देखिन्छ । जितेका दुबैजना दलित प्रमुख माओवादीकै रहेको छ । जितेकाहरूको समग्र सूची हेर्दा सबैभन्दा समावेशी माओवादीका प्रमुखहरूको सूची देखिन्छ । मधेसी दल र कांग्रेसको प्राथमिकतामा मधेसका दलित नपरेको, मुसलमान र थारु समुदाय मधेसी दलभन्दा कांग्रेस, एमालेतिर ढल्केको स्पष्ट देखिन्छ । महतो, मण्डल, कुर्मी, पटेल, धानुक, केवट लगायतका अन्य जातको जनसंख्या लगभग दस लाखको हाराहारीमा रहेको छ । तर राजनीतिमा तिनको प्रतिनिधित्व अत्यन्त न्यून छ ।

साभार: कान्तिपुर
लेख: तुलानारायण साह
प्रकाशित:आश्विन ११, २०७

Wednesday, 20 September 2017

मासुका परिकार यसरी तयार गर्न सकिन्छ

१.टाउको फ्राइ

 

सामग्री 

खसीको टाउको २ सय ग्राम, जिरा आधा चम्चा, अदुवाको पेस्ट आधा चम्चा, लसुनको पेस्ट आधा चम्चा, बेसार आधा चम्चा, जिराको धूलो आधा चम्चा, धूलो खुर्सानी आधा चम्चा, भेंडेखुर्सानी एक टुक्रा काटेको, प्याज काटेको, गोलभेंडा काटेको, हरियो धनियाँ काटेको एक चम्चा, तोरीको तेल ४ चम्चा, नुन स्वादअनुसार, बाजेको मिट मसला आधा चम्चा ।

विधि

पहिले टाउकोलाई सफा गरेर उसिन्ने र साना–साना टुक्रा बनाउने । एउटा भाँडामा तोरीको तेल तताएर जिरा, खुर्सानी फुराई अदुवा, लसुन फ्राइ गर्ने अनि सम्पूर्ण सामग्री हालेर भुट्ने । स्वादअनुसार नुन र खुर्सानी हालेर माथिबाट धनियाँ छर्किने ।

 

२.प्यान ग्रिल अस्ट्रिच

सामग्री 

बोनलेस अस्ट्रिचको मासु सय ग्राम, नुन स्वादअनुसार, कागतीको रस आधा चम्चा, रोजमेरी पेस्ट आधा चम्चा, चिकेन स्टक ३० मिलिलिटर, बटर १ चम्चा, मैदा १ चम्चा, सोया सस २० मिलिलिटर, लसुन १० ग्राम तथा गोलभेंडा र चुकन्दर एक–एकवटा ।

 

विधि 

अस्ट्रिचलाई एक इन्चको स्लाइस गरी काट्ने । फ्राइ प्यान तताएर तेल हाल्ने । अस्ट्रिचलाई साल्ट पेपर, रोजमेरी पेस्ट तथा कागतीको रसका साथ दुवैतिर राम्रोसँग पल्टाइ–पल्टाइ पकाउने ।

ससका लागि : एउटा प्यानमा तेल वा बटर तताई स्लाइस लसुन हालेर हल्का भुट्ने । त्यसमा चिकेन स्टक, नुन, पेपर, कागतीको रस, सोया सस तथा नुन हाल्ने । मैदा हाली हल्का चलाइरहने । सस केही बाक्लो भएपछि ग्रिल अस्ट्रिच माथिबाट राखिदिने । यसलाई इच्छानुसार गोलभेंडा, चुकन्दर, धनियाँ आदिले सजाएर सर्भ गर्ने ।

 

३. भुटन साँधेको

सामग्री 

भुटन २ सय ग्राम, भुटेको जिराको धूलो आधा चम्चा, अदुवा र लसुनको पेस्ट आधा चम्चा, कागतीको रस १० मिलिलिटर, हरियो धनियाँ काटेको एक चम्चा, चाट मसला ५ ग्राम, तोरीको तेल १० मिलिलिटर, खुर्सानीको धूलो, नुन स्वादअनुसार, बेसार ५ ग्राम ।

विधि 

मासुलाई सफा गरेर उसिन्ने । चिस्याएर सम्पूर्ण मरमसला हाली मोल्ने । तोरीको तेलमा मेथी र बेसार फुराई भुटनलाई झान्ने ।

 

४.मस्टर्ड क्यास्विनट ग्रेभी फिस

 

सामग्री 

माछा (काँडा नभएको बुहारी माछा) १ केजी, सस्र्युंको पेस्ट ५० ग्राम, प्याजको पेस्ट २५ ग्राम, लसुनको पेस्ट २५ ग्राम, जिराको पेस्ट १० ग्राम, गोलभेंडाको पेस्ट १ सय ग्राम, काजुको पेस्ट २५ ग्राम, बेसार आधा चम्चा, खुर्सानी र नुन स्वादअनुसार, जिराका दाना, सस्र्युं, सुकेको खुर्सानी र तेजपत्ता जम्मा ५ ग्राम ।

विधि 

माछालाई सफा गरेर थोरै नुन–बेसारका साथ मोलेर केही बेर फ्रिजमा राख्ने । कराही वा तावामा तेल तताई माछालाई राम्रोसँग पाक्ने गरी ग्रिल गर्ने ।

 

सस बनाउने विधि 

कराहीमा तेल तताई जिरा, सस्र्युं, सुकेको खुर्सानी, तेजपत्ता फुराउने । लसुनको पेस्ट, प्याजको पेस्ट तथा जिराको पेस्ट हालेर भुट्ने । त्यसलाई सस्र्यंुको पेस्टका साथ केही बेर पकाउने । गोलभेंडाको पेस्ट हालेर फेरि पकाएपछि काजुको पेस्ट पनि हाल्ने । ग्रेभीबाट तेल निस्कन थालेपछि इच्छाअनुसार पानी हालेर लेदो बनाउने र ग्रिल माछा हाली केही बेर पकाउने । यसरी तयार मस्टर्ड क्यास्विनट ग्रेभी फिसमा केही थोपा कागतीको रस मिसाउने । 

 

५.ह्याकुल्ला डामेको

सामग्री 

खसीको ह्याकुल्ला २ सय ग्राम, नुन स्वादअनुसार, तोरीको तेल २० मिलिलिटर, टिम्मुरको धूलो २ ग्राम, खुर्सानीको धूलो स्वादअनुसार ।

विधि 

खसीको ह्याकुल्लालाई सफा गरी उसिन्ने र स्लाइस गरी काट्ने । प्यानमा तोरीको तेल तताएर काटेको ह्याकुल्लालाई डाम्ने । नुन, टिम्मुर तथा खुर्सानीको धूलो हालेर केही बेर पकाएपछि तात्तातो सर्भ गर्ने । 

 

६.मटन बोटी कबाब

सामग्री 

मटनको करङको भाग २ सय ग्राम, बेसार १ चम्चा, धनियाँको धूलो १ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नुन स्वादअनुसार, गरम मसला १ चम्चा, दही २ चम्चा, जिरा धूलो आधा चम्चा, तेल २ चम्चा, अदुवा र लसुनको पेस्ट १ चम्चा ।

विधि 

माथिका सबै सामग्री मासुमा हालेर मोल्ने । यसलाई २ घन्टाजति फ्रिजमा राखी झिरमा उनेर १० मिनेटसम्म पल्टाइ–पल्टाइ पोलेपछि मटन बोटी कबाब तयार हुन्छ ।

 

७. टाउको साँधेको

सामग्री 

खसीको टाउको २ सय ग्राम, गाजर १० ग्राम, केराउ १० ग्राम, प्याज १० ग्राम, हरियो लसुन १० ग्राम, भुटेको जिराको धूलो १० ग्राम, टिम्मुरको धूलो २ पिन्च, खुर्सानीको धूलो ५ ग्राम, अदुवा र लसुनको पेस्ट १० ग्राम, चाट मसला ५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, गोलभेंडा काटेको १० ग्राम, नुन तथा कागतीको रस स्वादअनुसार ।

विधि

खसीको टाउकोलाई राम्रोसँग सफा गरेर उसिन्ने । पाकेपछि चिस्याएर सम्पूर्ण सामग्री हाली मोल्ने अनि तोरीको तेल तताई मेथी र बेसारले झान्ने । 

 

८.चिकेन डामेको

सामग्री 

बोनलेस चिकेन २ सय ग्राम, मैदा ५ ग्राम, अण्डाको सेतो भाग एउटा, अदुवा र लसुनको पेस्ट ५ ग्राम, तेल ५ मिलिलिटर, बटर १ चम्चा, नुन स्वादअनुसार, ब्वाइल भेज (गाजर, सिमी, काउली र अन्य सिजनल भेज) १ सय ग्राम ।

विधि 

मैदा र अण्डाको सेतो भाग, अदुवा–लसुनको पेस्ट र नुनको लेप बनाउने र त्यसलाई बोनलेस चिकेनसँग मोल्ने, एउटा सानो फ्राइ प्यानमा १ चम्चा बटर हाली तताउने र त्यसमा चिकेन राख्ने । २ मिनेटजति पकाई एकपटक उल्टाएर पकाउने । गोल्डेन ब्राउन कलर भएपछि निकालेर सिजनल भेज तथा आफूलाई मनपर्ने अचारसँग खाने ।

 

९.मटन सेकुवा

सामग्री 

मटन १ केजी, जिराको धूलो १० ग्राम, धनियाँ पाउडर १० ग्राम, खुर्सानीको धूलो १० ग्राम, बेसार १ चम्चा, गरम मसला १० ग्राम, अदुवा र लसुनको पेस्ट ४० ग्राम, कागतीको रस १० मिलिलिटर, तोरीको तेल २० मिलिलिटर, दही १० ग्राम, नुन स्वादअनुसार ।

विधि 

एउटा भाँडामा सबै सामग्रीका साथ मटनको पिस हालेर मोल्ने । ४ घन्टाजति फ्रिजमा राखेपछि आफूसँग उपलब्ध झिरमा उनेर, ग्रिल गरेर, कोइलाको आगोमा पोलेर, फ्राइ गरेर वा ओवनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ । 

 

Saturday, 16 September 2017

सम्झनामा स्वामी प्रपन्नाचार्य

सगरमाथा आरोहीहरू भन्छन्, 'सगरमाथा चढ्नभन्दा ओर्लन कठिन हुन्छ ।' पासाङ ल्हामुले आरोहण त गरिन्, अवरोहण गर्दा हिमालकी देवीले उनको जीवन लिइन् । पाँचथरको गरिब परिवारमा जन्मेका काले राईले बनारसमा कठोर संघर्ष गर्दै वेदान्तमा विद्यावारिधि त पूरा गरे । तर, अध्ययनपछिको उनको जीवन सन्तोषजनक भएन । सन्न्यास लिएपछि उनी स्वामी प्रपन्नाचार्य बने ।

जन्मभूमिलाई नै कर्मथलो बनाउन उनी नेपाल फर्किए र अध्ययन एवं अनुसन्धान गर्दै नेपाली, संस्कृतलगायत चार भाषामा ६० वटा कृति लेखे । एक सय १९ संघसंस्थामा प्रत्यक्ष रूपले संलग्न रहेर सामाजिक काम गरिरहे । यद्यपि उनको जीवन अभाव र दु;खमै बित्यो । स्वामी प्रपन्नाचार्यको हालै प्रकाशित हजार पृष्ठको स्मृति ग्रन्थमा उनले भोगेका दु;खहरू छताछुल्ल भएका छन् ।

स्वामी प्रपन्नाचार्यको एक ग्रन्थको संस्कृत भाषामा समीक्षा गर्दै प्राध्यापक विष्णुराज आत्रेयले काले राईको रूपान्तरणको कथालाई भर्तृहरिको सुन्दर पद्यमार्फत बयान गरेका छन् । पद्यको आसय यस्तो छ ; तातो भाँडोमा परेको पानीको थोपा उत्तिखेरै बिलाएर जान्छ । तर, त्यही पानी कमलका पातमा मोतीझैं टल्कन्छ, त्यही पानी स्वाति नक्षत्रमा शंखेकीराको जीउमा पर्दा मोती नै बन्छ ।

संगत जस्तो हुन्छ त्यसले मानिसमा त्यस्तै परिवर्तन ल्याउँछ । गरिब एवं अशिक्षित राई परिवारमा जन्मे पनि वाराणसीका संस्कृत गुरुहरूको सत्संगतले काले राई अन्तत; वेदान्तजस्तो महत्वपूर्ण विषयमा विद्यावारिधि हासिल गर्न सफल भए । संस्कृत भाषा, वाङ्मय, धर्म एवं संस्कृतिका क्षेत्रमा स्वामीजीको योगदान उल्लेख्य छ । उनको जीवनी एउटा ग्रन्थ जस्तै रोचक र शिक्षाप्रद छ ।

 

   

आत्म/मूल्यांकन

स्मृति ग्रन्थमा करिब तीन सय व्यक्तिले स्वामीजीका बारेमा लेखेका छन् । आफ्नै बारेमा भने स्वामीजीले यसरी खुलासा गरेका छन् / 'शिवपुरी बाबा, खप्तड बाबा, योगी नरहरिनाथ यो देशको लागि एक हजार वाटको बल्ब जत्तिकै उज्याला छन् । पाँच सय वाटको उज्यालो दिन सक्ने बाबाहरू पनि धेरै हुनुहुन्छ । सय वा पचास वाटको उज्यालो दिने महानुभावहरू त अझ धेरै हुनुहुन्छ।'

स्वामीजी भन्थे, देशको सेवा गर्न चाहिने पहिलो योग्यता असल हुनु हो । असल हुनु नै सफल हुनु हो । उनका अनुसार, असल नभई सफल बन्न चाहनु अर्काको घरमा अधिकार जमाउनु जस्तै हो ।


कसैले सोध्यो, 'हजुर चाहिँ कति वाटको ? '
स्वामीजी ले भने, 'म त जिरो वाटको ।'
स्मृति ग्रन्थका चौध खण्डमा नेपाली, संस्कृत र हिन्दी भाषामा स्मृतिपरक लेखहरू, समीक्षापरक लेखरचना, संस्मरणहरू, स्वामीजीका कविता तथा कृतिहरूको समीक्षा, स्वामीजीले लेखेका र सम्पादन गरेका ग्रन्थहरूको नालीबेली, अन्तर्वार्ता र उल्लेख्य भनाइहरू समेटिएका छन् । ग्रन्थको अन्तिम खण्डमा स्वामीजीको जीवनका विभिन्न अवस्था झल्काउने तस्बिर र सम्मानपत्रहरू छन् । यो आलेखमा स्वामीजीका मुख्य कृतिहरूको संक्षिप्त परिचय, संस्कृत प्रेमी र अभियन्ताका रूपमा उनको योगदान, राजनीतिक संलग्नता र उनको जीवनका मुख्य उतार चढाव समेटिनेछ ।

विद्या प्रेम

विद्या हराए काशी जानू । काले राई विद्याको भूमि काशीमा दुई दशकभन्दा बढी रमाए । कालक्रममा संस्कृत वाङ्मयप्रति उनको अभिरुचि र स्वाध्ययन बढ्दै गयो । सत्संग र मेहनतले उनी पूर्वीय दर्शनका पारखी र विद्वानसमेत बने । उनले थाहा पाए, 'पूर्वीय दर्शन र संस्कृति भावनामात्र होइन, वैज्ञानिक तथ्यहरूको अनुपम अभिलेख हो । ज्ञानको विशाल महासागर हो । यसलाई हामीले कसरी खोतलेर उपयोग गर्छौं त्यसैमा हाम्रो जीवनस्तर निर्भर हुन्छ ।'
स्वामीजीका कृतिमध्ये नेपाली भाषामा प्रकाशित 'वेदमा के छ ? ',

'मिल्केका झिल्का', 'प्राचीन किराँत इतिहास', 'मेरो जीवन यात्रा र कटु अनुभव', 'के महिलाहरूले वेद पढ्नहुन्छ? ' मुख्य हुन् । उनलाई चिनाउने एउटै कृति 'वेदमा के छ ? ' नै हो । यो उनले आफ्ना गुरुसँग वेद पढ्दा टिपेका उल्लेख्य प्रसंगलाई किताबको रूप दिएका हुन् । संस्कृत बुझ्न नसक्ने तर वैदिक ज्ञानलाई आधुनिक ज्ञानसँग तुलना गर्ने चाहना भएकालाई 'वेदमा के छ ? 
' सन्दर्भग्रन्थ समान छ । ऋग्वेदलाई संक्षेपमा जान्ने इच्छा भएकालाई पनि यो कृति उपयोगी छ । पुस्तकका दुई खण्डमध्ये पहिलोमा वेदको अर्थ, वेदको भाषा, वेदमा शिक्षा, अर्थशास्त्र, विज्ञान, आर्यहरूको रहनसहन, वेदमा ईश्वरसम्बन्धी धारणा, ऋषिमुनिहरूले रचना गरेका कतिपय अप्राप्य शास्त्रहरूको नालीबेली पनि यो कृतिमा समेटिएको छ । कृतिको दोस्रो खण्डमा वैदिककालका वैज्ञानिक आविष्कारहरूको विवरण छ ।

मिल्केका झिल्का कृतिमा नेपालका विभिन्न जिल्लामा तपस्या, स्वाध्यायन र शब्दको साधना गर्दै समाजमा चेतना बढाउन जीवन समर्पण गरेका सन्त, विद्वानहरूको जीवनी खोजेर प्रस्तुत गरेका छन् । स्वामीजीले हिन्दी भाषामा 'अब हमें भूल नहीं करनी चाहिए, संस्कृत क्यों पढेँ ? 
' विशिष्टाद्वैतके मोक्षलगायत तीन पुस्तक प्रकाशित गरेका छन् । यसैगरी संस्कृत भाषामा 'वेदान्तनयभूषणम' नामको कृति विद्यावारिधिका लागि सम्पादन गरिएको शोध ग्रन्थ हो । सम्पादित अर्को महत्वपूर्ण कृति 'कार्तवीर्योदय महाकाव्य' हो । विश्वका अन्य देशमा संस्कृतको महत्व झल्काउने कृति हो 'कमन्ताराष्ट्रे संस्कृतस्य महत्वम् ? '
वेदको उत्पत्तिलाई अपौरुषेय मानिन्छ । यो धारणालाई स्वामीजीले निम्न संवादमा सरल भाषामा सम्झाएका छन् ।

'वेदको उत्पत्ति कहाँबाट हुन्छ ? '
'कहीँबाट हुन्न । '
'ढुंगामा मूर्ति बन्नुभन्दा पहिला त्यो ढुंगामा मूर्ति थियो कि थिएन? पानीमा आगो छ कि छैन ? छ भने त पिउँदा पोलिहाल्नुपर्ने । छैन भने वैज्ञानिकले बिजुली कसरी निकाले ? '

वेदले आत्मज्ञान सुझाउँछ । सबै विद्या पढे पनि बुझ्नुपर्ने मुख्य कुरा आफू हो, आफ्नो मन हो । स्वामीजी भन्थे, 'संसारमा सबैभन्दा अपूर्व मन हो । दार्शनिकहरूले यस मनमाथि धेरै रिसर्च गरिसकेका छन् । परन्तु विश्लेषणको अझ पनि पारा मिलेको देखिँदैन । मनको उद्भव स्थान अन्न हो । खाएका पिएका पदार्थहरूको सूक्ष्मतत्व मन हो । जस्तो अन्न खान्छ उस्तै मन हुन्छ । पदार्थ खाएको अनुसार नै मन दगुर्छ । समुद्र मन्थन भनेको आसुरी र दैवी प्रवृत्तिको लडाइँ हो ।'

देश प्रेम

स्वामीजीलाई नेपालीपन र नेपाली पहिचान मन पथ्र्यो । बनारसमा एकपटक शास्त्री तहमा पढ्दै गरेका गुल्मीतिरका दुई विद्यार्थी स्वामीजीलाई भेट्न पुगे । केहीबेर कुराकानी गरेपछि स्वामीजीले सोध्नुभयो, 'तिमीहरूले ढिँडो, गुन्द्रुक खाने गरेका छौ ? '
एउटा विद्यार्थीले भन्यो, 'छैन । यो त गरिबहरूले खाने कुरा हो । हामी खाँदैनौं ।'

ती विद्यार्थीको कुरो टुंगिन नपाउँदै स्वामीजीको चर्को स्वर गुञ्जियो, 'गुन्द्रुक, ढिँडोको पहिचान नभएको, ढिँडोको अपमान गर्ने नेपाली हुन्छ ? यहाँबाट निस्किहाल्, यस्ताको मुखै हेर्नु हुँदैन । आइन्दा मेरो छेउमा नपरेस् ।' स्वामीजीले हातमा लठ्ठी उठाएपछि ती विद्यार्थीहरू कालोनीलो हुँदै बाहिर निस्के ।

स्वामीजी भन्थे, देशको सेवा गर्न चाहिने पहिलो योग्यता असल हुनु हो । असल हुनु नै सफल हुनु हो । उनका अनुसार असल नभई सफल बन्न चाहनु अर्काको घरमा अधिकार जमाउनु जस्तै हो । यो मानवअधिकार हनन हो । सफलताको घडेरी त असलपना हो । असल भए सफलता हस्तगत हुन्छ । सफलता भीख होइन, धैर्यपूर्वक कर्मनिष्ठ व्यक्ति सफल हुन्छ । असल भएमात्र व्यक्ति सही अर्थमा सफल हुन सक्छ ।
'मेरो रिसको हेन्डिल हरिले मोडिदिन्छ'

पशुपति मृगस्थलीमा रहेको चन्द्रेश्वर सत्तलमा लामो समय स्वामीजीसँगै बस्दाका अनुभव कृतिका सम्पादक तथा शिष्य हरिप्रसाद सोडारीले उल्लेख गरेका छन् । स्वामीजी अनुशासनप्रिय थिए । 'हरेक बिहान ४ बजे उठेर नुहाएपछि सबै शिष्यहरू अनिवार्य रूपमा स्वामीजीलाई ढोग्न जानु पथ्र्यो । कुनै शिष्यले नचाहिने काम गरेको फेला परेमा कारबाही हुन्थ्यो ।

खराबै गरेको रहेछ भने सुत्ने गरेको ओछ्यान टिपेर जुनसुकै बेला भए पनि बाटो लागिहाल्नुपथ्र्यो ।' अर्को प्रसंगमा सोडारीले अगाडि भनेका छन्, गुरुजी रिसाउनुभयो भने पृथ्वीनारायण शाह, विशिष्टाद्वैत र अद्वैत दर्शनको अन्तर, अचार र चट्नीको फरक, किराँत र जनजातिमा भिन्नता, सिस्नुको महत्वतिर मैले कुरा मोडिहाल्थेँ । यी विषयमा स्वामीजी खुसी भएर चर्चा गर्नुहुन्थ्यो । केही बेरमै उहाँको रिस मत्थर हुन्थ्यो । 'मेरो रिसको हेन्डिल हरिले मोडिदिन्छ' भनेर गुरुजी हाँस्नुहुन्थ्यो ।

स्वामीजी मनुका सन्तान मानव भएका हुन् भन्ने दृढ विश्वास गर्थे । डार्बिनको विश्लेषण मन पर्दैनथ्यो । उनी रिसाउँदै भन्थे, 'डार्विनका पुर्खा चिम्पान्जी थिए होलान् । कटौरामा भाङ परे त जसले पियो त्यही पागल हुने थियो । यहाँ त कुवैमा भाङ परेको देखिन्छ । जसले कुवाको पानी पिउँछ त्यही पागल हुन्छ ।'

जीवनका उकाली ओराली

स्वामीजीको जीवनमा उकाली ओराली, मोड र घुम्तीहरू परिरहे । आर्थिक अभावले सधैंजसो पिरोलिरह्यो । राजपरिषद् स्थायी समितिमा गएपछि अभाव त केही समयलाई समाधान भयो, तर त्यसपछि स्वामीजी राजावादी गनिन थाले, स्वतन्त्र व्यक्तित्व एक प्रकारले समाप्त भयो । प्राध्यापक सुरेन्द्र केसी लेख्छन्, 'राजसभाका सम्माननीय बनाइएपछि उनी जनताको पंक्तिबाट पनि टाढिए, एकजना प्रखर नेपाली विद्वान राजावादी भए । राजतन्त्र हटेपछि त उनी सोझै प्रतिगामी पनि हुन पुगे।'

उता, आप्mनै दाजुभाइ किराँत राईहरूले स्वामी प्रपन्नाचार्यलाई कहिल्यै विश्वास गरेनन् । स्वामीजीले किराँत राईहरूको मूल पत्ता लगाउन चालीस वर्ष सोधखोज गरे । अन्तत; राईहरू मंगोलियन या जनजाति होइनन्, आर्य हिन्दु नै हुन्, ऋषिमुनिहरूकै सन्तान हुन् भन्ने तथ्य पत्ता लगाए । यद्यपि यो तथ्य उनको जीवनकालसम्म लक्षित वर्गबाट स्वीकार्य भएन । उल्टो, स्वामीजीले स्वजातिहरूबाट अपमान पाइरहे । राईहरूको थलो पाँचथर जिल्लामा त स्वामीजीले खुट्टै राख्न पाउनुहुन्थेन ।

स्वामीजीका कुरा सुन्ने त परै जावस् । राईहरूले 'प्रपन्ने बाहुनसँग घाँटी जोड्न गयो' भन्ने आरोप लगाइरहे । तर, जसले जति आरोप लगाए पनि स्वामीजी खोज अनुसन्धानमा जुटिरहे । उनी भन्थे, 'किराँतले जाँडलाई पितृप्रसाद मान्ने गलत परम्परा छोडेको दिनमात्रै थाहा पाउनेछन्, मैले कोसँग गर्धन मिलाउन गएको हुँ ।'

संस्कृत भाषाको सेवा गरिरहे पनि बाहुनहरूले स्वामीजीलाई पूर्णत; स्वीकार गरेनन् । बाहुनहरूले खुट्टा तान्नसम्म ताने, नेपाल आउँदै नआओस् भनेर तगारो लगाउने काम पनि गरे । यद्यपि स्वामीजीले यसलाई सहज रूपमा लिए, 'मेरो बाहुनसँग कुनै लेनादेना छैन ।

मुख्यत; ब्राह्मणसँग मैले हाम्रा पुर्खाको भाषा पढेँ, त्यसैले उनीहरूप्रति कृतज्ञ हुनु मेरो धर्म हो ।' स्मृति ग्रन्थ तयार गर्ने बेला सम्पादक मण्डलका अधिकांश सदस्य आर्थिक जोहो गर्नुपर्ने देखेर पन्छिए । स्वामीजीलाई संस्थाको अध्यक्ष वा संरक्षक बनाएर संस्था चलाउनेहरू ग्रन्थ प्रकाशनमा सहयोग गर्नुभन्दा लुसुक्क एकातिर तर्किनु जाति माने । ग्रन्थ प्रकाशनको अधिकांश आर्थिक भार सम्पादक स्वयंले वहन गर्नुपरेको दु;खेसो सोडारीले लोकार्पणका बेला बताए ।

धर्म र संस्कृतिको जति माया गरे पनि दु;ख पाएको हुँदा स्वामीजीले मर्नुअघि आफ्नो अनन्य शिष्यलाई सुझाए, 'हरि, कसैलाई पनि अत्ति माया नगर्नू । त्यसले हरपल रुवाउँछ । मात्र आवश्यक प्रेम गर्नू।'

काले राई अभाव र दु;खकै कारण पाँचथरबाट बनारस पुगेका थिए । दु;खैदु;खमा अध्ययन समाप्त गरे तर फर्केर आउँदा पुराना दु;खले स्वदेशमा उनलाई पछ्याइरहे । स्वामीजीको स्वीकारोक्ति छ, 'विद्यावारिधि सकेर नेपाल फर्केपछिका केही वर्ष खानकै लागि परिचितहरूको घरदैलो चाहर्दै बर्वाद गरेँ ।' स्वजातिले माया गरेनन्, संस्कृतिले पत्याएन । उनी अक्सर दु;ख पाइरहने र गुनासो गरिरहने प्रतिपक्षमा परे । सायद यही कारणले होला, भेट्न आउने अधिकांश आगन्तुकलाई स्वामीजीले एउटा शोक सायरी दोहोर्‍याएर सुनाइरहन्थे /
जिन्दगी खुबसुरत था, मगर जिना नहीं आया
नशा हर चीज में था, मगर पिना नहीं आया ।

साभार-: नेत्र आचार्य
अन्नपूर्णपोस्ट (२०७४ भदौ ३१)

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out