Saturday, 2 September 2017

बुद्ध देवता हैनन मनोचिकित्सक हुन

 'दिल के फफोले जल उठे सिने के दाग से
इस घरको आग लगी घर के ही चिराग से ।'
गौतम बुद्धलाई बुझ्न दिमाग एकातिर बिसाउनुपर्छ । प्रशस्त फुर्सद हुनुपर्छ र आँखाहरू शून्य आकाशमा एकत्रित भएको हुनुपर्छ । बुद्धलाई बुझ्न सायद यतिमात्र पनि पर्याप्त नहुन सक्छ । किनकि, बुद्धत्व शब्दातीत विषय हो । बुद्धत्व अनुभूति हुने अवस्था हो । अनुभूति खास अवस्थामा भित्र अन्तरमनमा महसुस हुन्छ ।

बुद्धत्व व्यापक विषय भए पनि यो लेखको एउटा विषयवस्तु तत्कालीन समयमा कसरी शाक्य संघले सिद्धार्थ गौतममाथि राजनीति गर्‍यो, कसरी उनी संघको कोपभाजनमा परे भन्ने हो । बुद्धबारे धार्मिक आस्थाभन्दा पर बसेर विचार व्यक्त गर्ने प्रायले भारतीय चिन्तक भीमराव अम्बेडकरलाई सन्दर्भ स्रोत बनाएको पाइन्छ । तर, अम्बेडकरको बुझाइ आंशिक सत्य मात्र हुन सक्छ । त्यसो त विद्रोही व्यक्ति समाजको कोपभाजनमा पर्छ नै । सान्दर्भिक त के भने, बुद्धमाथि अहिले पनि चर्को राजनीति भइरहेको छ । अहिले पनि बुद्धको ज्ञान विस्तार हुँदा आफ्नो अस्तित्व खतरामा परेको ठान्नेहरू उत्तिकै छन्।

यस्तो हुँदैनथ्यो भने बुद्धको देश आज विश्वकै आकर्षणको केन्द्र बन्न सक्थ्यो । यो देशका अगुवा र हामी सबै अबुझ भइदिनाले त्यो सम्भव भएन । एकातिर विश्वमै शिक्षामा भइरहेको अत्याधुनिकीकरण र अर्कोतिर हाम्रो पथहीन शिक्षा नीति हेर्दा छिट्टै बुद्धबारे अध्ययन गर्न पाश्चात्यहरूको शरणमा जानुपर्ने स्पष्ट संकेत देखिइसकेको छ । यो देशको दुःख र जलन यही देशकै उपज हो । यो देशलाई आगो लगाउने अरू कोही होइनन्, यही देशका केही अबुझहरू हुन् । अबुझहरूको दुःखी संस्कार सम्भवतः २५ सय वर्ष अघिदेखि चल्दै आएको छनक पाइन्छ ।

अम्बेडकरको बुझाइ

सिद्धार्थ गौतम शाक्य संघको सदस्य भएको आठ वर्ष बितिसकेको थियो । उनी संघका दृढ एवं बफादार सदस्य थिए । शाक्यहरूको राज्य र कोलीय गणराज्यको सिमानामा रोहिणी नदी बग्थ्यो । नदीको पानी दुवै राज्यको प्राणसमान थियो । सिँचाइ, शुद्धीकरण र पिउनका लागि दुवै राज्यले रोहिणी नदीको पानी उपयोग गर्थे । नदीमा पानी पर्याप्त नहुँदा कसले बढी पानी लैजाने भन्ने विवाद हुन्थ्यो ।

एकपटक त्यस्तै भयो । दुवै राज्यका प्रजाबीच नदीको बाँध हालेको ठाउँमा हानथाप भयो । यो खबर शाक्य संघसम्म पुग्यो । शाक्यहरू कोलीय राज्यको मिचाहा प्रवृत्तिदेखि आजित भइसकेका थिए । शाक्य संघको बैठक बस्यो । युद्ध गर्ने र कोलीयहरूलाई सबक सिकाउने निधो भयो । संघले सोध्यो- कसैलाई युद्धको निर्णय मन परेको छैन भने जाहेर गर्नु । सिद्धार्थ गौतमले युद्धको विरोध गरे । उनले हात उठाए र भने, 'कसैले कसैको हत्या गर्छ भने उसको हत्यारा पनि पैदा हुन्छ, कसैले कसैलाई पराजित गर्छ भने उसलाई हराउने व्यक्ति पनि प्रकट हुन्छ, कसैले कसैलाई लुट्छ भने उसलाई लुट्ने व्यक्ति पनि तयार भइसकेको हुन्छ । युद्धले समस्या समाधान गर्दैन, बरु बल्झाउँछ।'

सिद्धार्थ गौतमको यो सुझबुझले संघभित्र भने बहुमत पाउन सकेन । अन्ततः संघले युद्ध छेड्ने निर्णय गर्‍यो । २० देखि ५० वर्षसम्मका सबैलाई सेनामा अनिवार्य भर्ती हुन आदेश दिइयो । सिद्धार्थले सेनामा भर्ती नहुने र युद्धमा संलग्न नहुने अडान सुनाए । संघको निर्णयविरुद्ध अडान लिनु शपथ-विपरीत हुन्थ्यो । सिद्धार्थ सजायका भागीदार भए । उनका सामु तीन विकल्प रहे- पहिलो संघको निर्णयअनुसार सेनामा भर्ती भएर युद्धमा भाग लिनु, दोस्रो संघको विरोध गरेको फलस्वरूप फाँसी स्वीकार गर्नु अथवा देश निकाला हुनु, तेस्रो परिवारको सर्वस्वसहित सामाजिक बहिष्कार सहनु । सिद्धार्थ गौतमले दोस्रो अर्थात् देश निकाला हुने विकल्प रोजे ।

सिद्धार्थले दरबार त्यागेर तपस्या गर्न किन गए भन्ने सम्बन्धमा भीमराव अम्बेडकरको बुझाइ हो यो । यसमा आंशिक सत्यता हुन सक्छ । तर, अम्बेडकरले 'बुद्ध एन्ड हिज धम्म' नामको किताब लेख्दा प्रस्तुत तर्कलाई पुष्टि गर्न कुनै शास्त्रीय ग्रन्थको प्रमाण जुटाएका छैनन् । उनी यस्ता अभियन्ता हुन् जसले एउटा निश्चित मिसनसहित बुद्ध धर्म अँगाल्ने निधो गरेका थिए । अम्बेडकरलाई भारतमा व्याप्त जातिभेद र छुवाछूत अन्त्य गर्नु थियो ।

 

हिन्दु धर्मले मानिसमाथि अन्याय हुने पद्धतिलाई साथ दिएको देखेपछि उनले बुद्ध धर्म अपनाएका थिए । अम्बेडकरले सोचे, 'एक मानिसले अर्को मानिसलाई कुष्ठरोगीलाई जस्तो व्यवहार गर्न सिकाउने पद्धति कसरी धर्म हुन सक्छ ? जातिभेद र छुवाछूत कहाँको धर्म हो ? धर्म मानिसका लागि बनेको हो, मानिस धर्मका लागि बनेको होइन । धर्म मानिसलाई न्याय गर्ने हुनुपर्छ, अन्याय गर्ने छुट पाउनु धर्म होइन ।' अम्बेडकरले बुद्धका वाणीहरूमा कतै पनि जातिभेद र छुवाछूतको गुञ्जायस नरहेको देखेर बुद्ध धर्म अपनाए ।

तत्कालीन समयमा कसरी शाक्य संघले बुद्धमाथि राजनीति गर्‍यो ? बुद्ध कसरी संघको कोपभाजनमा परे ?


अम्बेडकरले बुद्धका अरू महत्वपूर्ण शिक्षालाई भने महत्व दिएनन् । 'बुद्ध एन्ड हिज धम्म' पाँच सय ९९ पृष्ठको ग्रन्थ हो । तर, यसमा उनले बुद्धको महत्वपूर्ण ध्यानविधि 'विपश्यना' र दार्शनिक आधार 'प्रतीत्यसमुत्पाद' (प्राणी प्रत्येक क्षण मर्छ र प्रत्येक क्षण जन्मन्छ भन्ने चिन्तन) को चर्चा गरेका छैनन् । पुनर्जन्म बौद्ध दर्शनको अर्को महत्वपूर्ण सिद्धान्त हो । अम्बेडकरले भने पुनर्जन्मबारे बुद्धले केही नभनेको तर पछिका लेखकहरूले त्रिपिटकमा थपिदिएको आधारहीन तर्क गरेका छन् ।

अम्बेडकरजस्तो विद्वान्का निराधार तर्कले पाठकलाई आश्चर्यमा पारिदिन्छन् । यसबाट उनले बुद्धलाई राजनीतिक रूपले उपयोग गरेका हुन् भन्ने देखिन्छ । उनले आरम्भ गरेको 'दलित बुद्धिस्ट मुभमेन्ट' फस्टाउन सकेन । समालोचकहरूले भनेका छन्- धर्म परिर्वतन गराएर दलितलाई बुद्धिस्ट बनाउने अम्बेडकरको अभियान वास्तविक 'सामाजिक सुधार' नभएर केवल 'राजनीतिक स्टन्ट' हो ।

किन त्यागे बुद्धले दरबार ?

त्रिपिटकको 'अत्तदण्डसुत्त'बाट सिद्धार्थ गौतमले दरबार छोड्नुको खास कारण प्रस्ट हुन्छ । तत्कालीन समाजमा युद्धहरू भइरहन्थे । मानिसहरू ससानो निहुँमा एकअर्काको ज्यान लिन तम्सिन्थे । बुद्धको हृदय सानैदेखि करुणायुक्त भएको हुँदा उनलाई काटमारमा सहभागी हुन या रमिता हेरेर बस्न मन भएन । उक्त सुत्तमा भनिएको छ- 'आफन्तहरूबीच एकअर्काका विरुद्ध शस्त्र उठाएको हेर्नु भयावह थियो । जसरी पानी बिना माछा छटपटाउँछन्, उसैगरी हिंसायुक्त समाजमा मानिसहरू तड्पिइरहेका थिए ।'

सुत्तनिपातको 'पब्बज्जा सुत्त'मा बुद्धका शिष्य आनन्दले भनेका छन् - घरगृहस्थीमा बस्नु संकटपूर्ण र अशान्तिपूर्ण छ । प्रब्रज्यामा खुला आकाशमा जस्तै स्वतन्त्रता हुन्छ । यस्तो देखेर बुद्धले घर त्यागे।

त्यसैगरी प्रब्रज्याबारे त्रिपिटककै 'अरियपरिसेन सुत्त'ले महत्वपूर्ण तथ्य बताउँछ । यो सुत्तमा बुद्धले भनेका छन्- 'हे भिक्षुहरू, पहिला म पत्नी, दासदासी इत्यादिमा सुख छ भन्ने सोच्थेँ र तिनैको पछि लाग्थेँ । उमेर बढ्दै थियो तर बुढ्यौली, रोग, मृत्यु र शोकको चक्करमा फँसेको थिएँ । तब मेरो मनमा यो विचार आयो, म स्वयं जन्म, मरण, रोग र शोकसँग सम्बद्ध छु तैपनि यिनै दुःखहरूसँग सम्बद्ध पत्नी, पुत्र आदिमा आशक्त छु । यो त ठीक भएन । मैले त जन्मरहित, रोग र शोकरहित अमरताको परम अवस्था निर्वाणको खोजी गर्नु उचित हुन्छ ।'
यसबाट प्रष्ट हुन्छ, सिद्धार्थ गौतमले अम्बेडकरले दावा गरेजस्तो शाक्य कुलको कोपभाजनमा परेर भन्दा पनि निर्वाणको चाहले नै दरबार त्यागेका थिए ।

बुद्ध को हुन् ?

बुद्ध ईश्वर होइनन् न त उनी कुनै धर्मका प्रवर्तक हुन् । वास्तवमा बुद्ध हरेक क्षण होसमा रहने अभ्यास भएका व्यक्ति हुन् । बुद्ध हरप्रकारले सचेत व्यक्ति हुन् । बुद्धले मानिसका अनन्त सम्भावनाहरू देख्न सक्थे । उनले हरेक मानिसमा बुद्धत्वको गुण जन्मजात रहिआएको देख्न सक्थे । उनले मानिसलाई औधी प्रेम गर्थे । मानिस आफ्ना अनन्त सम्भावनाहरूका बाबजुद दुःखी र तनावग्रस्त जीवन बाँचिरहेको देख्दा उनको हृदय करुणाले भरिन्थ्यो । उनले जीवनभर मानिसलाई उसकै अन्तरमनको खजानाको भण्डार देखाइदिने चेष्टा गरे । बुद्धले मानिसलाई होसमा बाँच्न सिकाए, आफूभित्रको आनन्दको स्रोत फेला पार्ने रहस्य सिकाइदिए ।

बुद्धको भूमिका हेर्दा उनी एक मनोचिकित्सक हुन् । उनले पत्ता लगाए, मानिसले आफ्नै मनको आनन्द फेला नपार्नुको कारण हो- राग, द्वेष र अज्ञान ।

बुद्धको भूमिका हेर्दा उनी एक मनोचिकित्सक हुन् । उनले पत्ता लगाए, मानिसले आफ्नै मनको आनन्द फेला नपार्नुको कारण हो- राग, द्वेष र अज्ञान । बुद्धले यी तीन दुर्गुण कसरी हटाउने र कसरी चित्त शुद्ध बनाउने भन्ने उपाय दिए । बुद्ध समाज सुधारक पनि हुन् । हरेक व्यक्तिलाई शान्त र आनन्दित बनाएर सम्पूर्ण समाजलाई हिंसारहित, शान्त र आनन्दित बनाउने उनको चेष्टा थियो ।

बुद्धत्वबारे बुद्ध

ज्ञानोदयपछि बुद्धले भनेका थिए, 'मैले कठिन प्रयत्नले पाएको सम्बोधि कसैलाई बताउनु व्यर्थ छ, किनभने सबैको मनमा लोभ र रिस भरिएको छ, चित्त शुद्ध नभएका मानिसले धर्म बुझ्न सजिलो छैन ।' तर, छिट्टै महाकारुणिक बुद्धको हृदय पग्लियो । मनमा मैलो नभएका या थोरै भएकाहरूमध्ये कसैले त धर्मको मर्म बुझिहाल्लान् भन्ने बुद्धको आशा थियो ।

बुद्धको भूमिका हेर्दा उनी एक मनोचिकित्सक हुन् । उनले पत्ता लगाए, मानिसले आफ्नै मनको आनन्द फेला नपार्नुको कारण हो- राग, द्वेष र अज्ञान ।


त्यो बेला धर्म कमाउन निर्दोष पशुलाई ठूलो संख्यामा बलि दिने प्रचलन थियो । पण्डित, पुरोहितहरू सर्वसाधारण मानिसको सेन्टिमेन्टलाई क्यास गरेर कर्मकाण्ड, यज्ञ, होमादि गरेर आफ्नो जीविका चलाउँथे । मानिसहरू धर्मगुरुहरूबाटै आर्थिक रूपले शोषित-पीडित थिए । बुद्धले अहिंसालाई धर्मको मूल आधार हो भन्ने तथ्य स्थापना गरे । उनले भने, 'पुण्य कमाउन पशुहत्या गर्नु नीमको रूख रोपेर उखुको स्वाद खोज्नुजस्तै हो । धर्मको पहिलो आधारशिला कुनै पनि प्रकारको हिंसा नगर्नु हो ।'

बुद्धले अहिंसाको अभ्यासलाई सर्वोपरि महत्व दिएका थिए । अहिंसाको जगमा नै मैत्रीभाव बिस्तार हुन सक्छ भन्ने बुद्धले बुझेका थिए । उनी भन्थे, 'मैत्री भावना क्षमाशीलताको एउटा व्यापक अनुभूति हो । मैत्री भावना पैदा भएपछि मानिसको मनको मैलो नष्ट नहोओस्, यस्तो कहिल्यै सम्भव छैन । जसरी सामान्य शक्तिले शंख फुक्दा पनि त्यसको आवाज चारै दिशामा फैलिन्छ, मैत्री भावना दसै दिशामा फैलिन्छ ।'

त्यतिबेला जातिभेद र छुवाछूतको कारण मानव समाजको गौरव क्षीण भइरहेको थियो । आफूलाई चेतनशील र सभ्य भन्ठान्ने मानिसले मानिसलाई नै अछूतको व्यवहार गर्दा शोभा दिइरहेको थिएन । त्यसमाथि अछूत भनिनेहरूलाई धर्मको अभ्यास गर्न या निर्वाणका लागि प्रयत्न गर्न पनि अनुमति थिएन । वेदहरूमा सञ्चित आध्यात्मिक ज्ञानलाई पण्डित पुरोहितहरूले रहस्यको वस्तु बनाएका थिए । त्यो थाहा पाउनु आम मानिसको पहुँचमा थिएन । बुद्धले शान्ति र आनन्द पाउने सबैको अधिकार हो भन्दै बिना भेदभाव आम मानिसलाई ध्यानको अभ्यास गर्न प्रेरित गरे । बुद्धले सबै मानिसलाई बराबर सम्मान दिए र साधना गर्न, बुद्धत्व प्राप्त गर्न सबैलाई अधिकार प्रदान गरे ।

बुद्धले सबैतिर दुःखैदुःख देखे । व्यक्ति दुःखी, समाज दुःखी, संसार नै दुःखी । बुद्धले सबै दुःखको कारण मानिसको मनको तृष्णा हो, स्वार्थीपना हो भन्ने पनि देखे । सबै स्वार्थी छन्, सबै आफ्नै भावनाहरूमा डुबी रहन्छन् र सबैले दुःखलाई निम्त्याउँछन् । यो देखेका बुद्धले ज्ञानोदयपछि सबैलाई आत्मभाव परित्यागको सन्देश दिए । यो जीवनमा खासमा आफ्नो भन्ने केही छैन । आफ्नै मनको तिर्सना पनि आफ्नो होइन । तिर्सना या अनुरागहरू त केवल पहिलाको संस्कारको कारण पैदा भएका संवेदना हुन् । यी संवेदनालाई साक्षी भावले हेर्ने अभ्यास गर्ने हो भने एकपछि अर्को गर्दै सबै तृष्णाहरू बिलाएर जान्छन् ।

बुद्धले ध्यानको अभ्यासलाई सर्वोपरि महत्व दिएका थिए । बुद्धकालीन समाजमा सबै जाति र लिंगकालाई ध्यानको अभ्यास गर्न समान अवसर थियो ।

धर्मगुरुहरूको बुझाइ

सयौं भिक्षु, महास्थवीर र रिन्पोछेहरूले बौद्ध दर्शनलाई परम्परागत धर्ममा सीमित गरिदिएका छन् । बुद्धत्व हरेक व्यक्ति स्वयंले अनवरत अभ्यास गरेर हासिल हुन सक्ने अवस्था हो । यद्यपि धर्म गुरुहरू अचेल चेला भेला पारेर दिनभर बुद्धको पूजा-अर्चना गर्छन् र 'इम्पावरमेन्ट' दिन्छन् । बुद्धले प्रस्ट शब्दमा भनेका थिए- 'तुम्हें हि किच्च आतप्पं अख्खातारो तथागतः' (तथागतले बाटो देखाइदिने हो, त्यो बाटोमा हिँड्ने प्रयास व्यक्ति स्वयंले गर्नुपर्छ) । यो बुद्धवाणी विपरीत आजभोलि बौद्ध गुरुले चेलालाई शक्तिपात गर्ने चलन आम हुनु बुझिनसक्नु छ ।

बदलिँदो समयमा बौद्ध समाजमा बुझ्न नसकिने अरू धेरै चालचलन, रीतिरिवाज विकास भइरहेका छन् । साधनाले प्राप्त हुनुपर्ने हो धर्मगुरु पद तर अचेल उत्तराधिकारीको रूपमा आउन थालेको छ । भिक्षुहरूले निजी सम्पत्ति राख्न नहुने नियम थियो, अचेल भिक्षु या रिन्पोछेहरू अरूभन्दा धनी र ठाँटबाँटमा देखिन्छन् । भिक्षुहरूले लगाउने पवित्र चीवर आजभोलि विदेश जाने माध्यम बनेको देखिन्छ । विद्यार्थी केवल करियर बनाउन बुद्ध दर्शन पढ्छन्, गुरुहरूमा जागिरे मानसिकता ज्यास्ती देखिन्छ । गुरुको हृदय प्रेम र करुणाले ओतप्रोत, वाणी आनन्दले गद्गद, चेहरामा गहिरो शान्ति र समता देखिनुपर्ने हो । यसको विपरीत धर्मगुरुहरू विहार या गुम्बाको खर्च धान्नुपर्ने चिन्ताले टाउसिएका देखिन्छन् ।

आम मानिसको बुझाइ

आम नेपालीहरू 'बुद्ध वाज बर्न इन् नेपाल' लेखिएको टिसर्ट लगाएपछि आफूलाई बुद्धप्रेमी सम्झन्छन् । आफूलाई प्रेमी ठान्नु ठीकै हो । तर, बुद्ध को हुन् भन्ने बुझिदिए अझ जाति हुन्थ्यो । बुद्धले बताएका प्रतीत्यसमुत्पादको नियम, दस पारमिताहरू, त्रिरत्न, ३७ बोधिपक्षीय धर्म, आर्य सत्य, अष्टांगिक मार्ग, शमथ र विपश्यना ध्यान, आठ लोक धर्म, अष्टादश धातु, बोधिसत्व, स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत अवस्थाका बारेमा केही जानकारी भइदिए जाती हुन्थ्यो ।

पञ्चस्कन्ध, पञ्चज्ञान, पञ्चबुद्ध, पञ्चरक्षा, पञ्चशील, पञ्चाभिज्ञा, पञ्चबल, पञ्चदृष्टि, पञ्चचक्षु, पञ्च मात्सर्य के हुन् भन्ने थाहा भइदिए अझ उचित हुन्थ्यो । बुद्ध प्रेमीहरूले कम्तीमा बुद्धले बताएको एउटा शील पालना गरिदिए बल्ल बुद्धको साँचो प्रेमी भइन्थ्यो । बौद्ध दर्शनले सिकाएका पञ्चशीलमध्ये एकको पालनाले मात्रै पनि मनुष्य जीवनलाई शान्त र सुन्दर बनाउँछ । मानिसको जीवन आनका तान रूपान्तरित हुन्छ । तर, पाश्चात्य सभ्यताको हावाले हामीलाई यति सतही बनाइदिएको छ, छातीमा बुद्धको फोटो टाँसेर त हिँड्छौं, मस्तिष्कमा भने बुद्ध राख्न अलिकति पनि प्रयास गर्र्दैनौं।

कुए मे भाङ डाल दी सभ्यता ने आज
देखेँ कहाँ पे जाकर ठहरता है आदमी ।

निर्वाणको सुख पाउनका लागि बुद्धले दरबार त्यागिदिएका थिए । तर, हामी आफ्नो झुपडीसमेत त्याग्न सक्दैनौं । त्याग भनेको आशक्ति छोड्नु हो, राजीनामा गरेर कसैलाई सुम्पनु होइन । म र मेरा भनिने वस्तुहरूप्रति आशक्ति या लगाव छुट्न कठिन छ । त्यसो त हामीलाई निर्वाणको सुख के हो भन्ने पत्तो नै छैन । मारुती भ्यान पाइन्छ भने साइकल पेल्दै कोही हिँड्दैन । तर, हाम्रो बुद्धिको दायरा कति साँघुरो छ भने हामी मारुती भ्यानको कल्पना पनि गर्न सक्दैनौं ।

मारुती भ्यान चढ्न पाउनु आफ्नो योग्यता र अधिकारको क्षेत्र हो भन्ने बोध हुँदाका बखत हामी मारुतीकै लागि प्रयत्नरत हुन्छौं, साइकलै जिन्दगी हो भनेर बस्दैनौं । निर्वाणको सुखबोध सामान्य रूपमा भएमात्रै पनि हामी छुद्र मोहमा फसेर बस्ने थिएनौं । धम्मपदमा बुद्धले भनेका छन्, 'मात्रा सुखं परित्यागात् पश्येत् च विपुलं सुखम्' अर्थात् अल्प सुख त्यागेर विशाल सुखका लागि प्रयत्न गर । केही त्याग गर्नेले नै केही पाउन सक्छ ।

दर्शन कसरी धर्म बन्यो ?

बुद्धले दर्शनको प्रतिपादन गरेका थिए तर मानिसले त्यसलाई धर्म बनाइदिए । यसो हुनुका दुई वटा कारण छन् । पहिलो, मानिसलाई देउताको भर पर्ने आदत बसिसकेको थियो । वैदिक सभ्यता हजारौं वर्ष पुरानो सभ्यता हो । त्यो सभ्यताले मानिसलाई परमात्मा, परमेश्वरमा विश्वास गर्न सिकायो । त्यसकारण बुद्धजस्तो सचेत र प्रभावशाली व्यक्तिलाई मानिसले तत्क्षण खोपाको देउता बनाइहाल्यो ।

बुद्धले मानिसलाई आफैंभित्रको बुद्धत्व खोज्न सिकाएका तर मानिसमा त्यसको बोध थिएन । प्रभुको 'वरदान' पाउन पल्केका मानिसहरू बुद्धलाई खोपामा राखेर पूजा गर्न थालिहाले । दोस्रो कारण, मानिसको उपरोक्त कमजोरी बुझेका पुरोहित वर्गले बुद्धलाई भजाएर खानका निम्ति उनका नाममा विभिन्न कर्मकाण्ड र पूजाआजा विकसित गर्न थाले । बिस्तारै बौद्ध दर्शन बौद्ध धर्मका रूपमा स्थापना भयो ।

बौद्ध धर्म कसरी कमजोर भयो ?

बुद्धले शिष्यहरूलाई वर्जित या पाप कर्म नगर्नु, पुण्य आर्जन गर्ने काम गर्नु र चित्त शुद्धि गर्नु भनी सिकाएका थिए । यही सबै युगका बुद्धहरूको शिक्षा पनि हो । समयक्रममा बुद्धको शिक्षालाई अपनाउनेहरू विभाजित भए । थेरवाद, महायान हुँदै बज्रयान विकसित भयो । बज्रयानको अभ्यास गर्नेहरूले तान्त्रिक साधना गर्न थाले । महापण्डित राहुल सांकृत्यायन भन्छन्, 'बुद्धका शिष्यहरूले तन्त्रका नाममा मांसाहार, मदिरापान र मैथुनकर्म गर्न थाले ।' शिष्यहरू भोगविलासमा डुबे, साधना पाखा पर्न गयो । यही समयमा भारतमा मुसलमानहरूको आक्रमण भयो ।

बुद्धका शिष्यहरू भोगविलासमा लिप्त थिए, उनीहरूले आक्रमणका बेला प्रतिरक्षा गर्न सकेनन् । हजारौं विहार र गुम्बाहरूमा भागाभाग भयो, भगुवा भिक्षुहरूले आफ्ना पुस्तक पनि बचाउन सकेनन् । नालन्दा विश्वविद्यालयमा आक्रमणकारीले आगो लगाइदिए । भनिन्छ, 'नालन्दाको विशाल बौद्ध पुस्तकालयमा लागेको आगो ६ महिनासम्म निभेको थिएन ।' बुद्ध र त्यो समयमा मानिसले आर्जन गरेको ज्ञानसँगै बुद्ध धर्ममात्र होइन सिंगो सभ्यता नै धुमिल हुँदै गयो ।

साभर:- अन्नपूर्णपोस्ट
लेखन्क - नेत्र आचार्य

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out