Thursday, 23 August 2018

पुस्तक समीक्षा कसरी लेख्ने?

महेश पौड्याल

पुस्तक समीक्षा लेख्ने र समीक्षक बन्ने रहर धेरैलाई हुन्छ । तर थोरैसँग यस विधामा हात हाल्ने आँट अथवा ज्ञान हुन्छ । यो एउटा जोखिमपूर्ण प्राज्ञिक अभ्यास पनि भएकोले थोरैले मात्र यसलाई अँगाल्छन् । धेरैले प्रयास गरे पनि थोरैले त्यस प्रयासलाई निरन्तरता दिन्छन् । पुस्तक किन्नुपर्यो, समय लगाएर, दोहोर्याई–तेहेर्याई पढ्नुपपर्यो, लेख्नुपपर्यो, पत्रिकाको सजिलोअप्ठेर र इच्छाअनुसार म्याद कुर्नुप¥यो, र छापिएपछि कुनै पनि प्रकारका आसन्न प्रतिक्रियको समना गर्न कम्मर कसेर तयार रहनुपर्यो ।

समीक्षा गर्नका लागि हातमा टिपिएको पुस्तकको मात्रै होइन, त्यसले समेट्ने विविध सिद्धान्त, त्यसको विधागत जानकारी, त्यस्तै अन्य पुस्तकको जानकारी, त्यसको लेखकको बारेमा धेरथोर जानकारी (नवसमालोचनावादीले यो पर्दैन भन्छन्, म पर्छ भन्छु) समेटिएको समय र परिवेश आदिको जानकारी हुनु अनिवार्य आवश्यक छ । साथसाथै विवेचनामा प्रयोग हुने प्राविधिक शब्दहरूको ज्ञान र मानक नेपाली अथवा समीक्षा लेख्ने भाषाको राम्रो ज्ञान पनि जरुरी हुन्छ । लेखिएको समीक्षा विश्वसनीय हुनका लागि समीक्षकको अध्ययन र ज्ञानको क्षेत्र पनि विश्वसनीय र व्यापक हुनु जरुरी हुन्छ । हुन त समीक्षा सबैले लेख्न सक्छन् भन्ने पनि गरिन्छ, तर त्यसको प्रभावकारिता कमजोर भयो भने के अर्थ?

पुस्तक समीक्षा कसरी लेख्ने भन्ने विषय द्वितीयक विषय हो । पहिलो विषय हो, यो बाटो कण्टकाकीर्ण र अप्जसिलो छ, तरै पनि हिँड्छु भन्ने अठोट । सबै लेखकले समीक्षा स्वीकार्छन् भन्ने हुँदैन । सबै सम्पादकले समीक्षा छापिदिन्छन् भन्ने पनि हुँदैन । तर, आत्मविश्वासपूर्ण ढङ्गले, बाटो नबिराइकन हिँड्ने प्रतिबद्धता चाहिन्छ । र त्यो धैर्य पनि चाहिन्छ । धेरै रिसाउँछन् । केहीले सम्बन्धै विच्छेद पनि गर्छन् । स्वभावैले लेखकहरू प्रशंसा खोज्छन्, तर समीक्षकले वस्तुपरक ढङ्गले जे सत्य हो त्यो भन्ने हो । ‘मैले यस्तै देखेँ’ भनेर आत्मगत कुरा भन्न पाइँदैन ।

पुस्तक समीक्षाका लागि केही टिप्स यहाँ दिइएको छ । माथि उल्लेख गरिएजस्तो प्रतिबद्धता हुने जो कोहीले पनि यी बुँदामाथि मनन गर्न सक्छ । यी बुँदालाई नजरअन्दाज गरेर कसैले आफ्नो नविन र मौलिक कसि बनाउँदा पनि हुन्छ ।

१. पुस्तकका बारेमा प्रारम्भिक जानकारी सङ्कलन गर्नुस्ः किताबको नाम, विधा, प्रकाशन, प्रकाशन मिति, संस्करण, पृष्ठ सङ्ख्या, मूल्य आदि ।

२. लेखकका अन्य कृति, तिनीहरूको विधा र अलिकति भए पनि विषयवस्तु थाह पाउनुस् ।

३. जुन विधाको पुस्तक हो, त्यस विधाबारे सैद्धान्तिक र संरचनात्मक जानकारी, र पछिल्लो समय त्यस विधामा लेखिएका अन्य केही समकालीन पुस्तकको जानकारी सङ्कलन गर्नुस् ।

४. पुस्तक पढ्दैखेरी समीक्षा गर्नु छ भन्ने कुराको हेक्का राख्नुस् । त्यसो भयो भने, पछि सम्झनुपर्ने कुरालाई रेखाङ्कन गरिन्छ । चिनो लाइन्छ । सम्झनुपर्ने कुरा सम्झनामा राखिन्छ । सबल पक्षहरूको टिपोट बनाइन्छ । दुर्वल पक्षहरूलाई पनि चिनो लगाएर ध्यानमा राखिन्छ ।

५. पुस्तकमा प्रयुक्त कथानक, अथवा तथ्याङ्कलाई सुरुदेखि नै आलोचनात्मक ढङ्गले हेर्नुस् । के कुराहरू विश्वसनीय छन्? संभावित छन्? भ्रामक छन्? अथवा, सिर्जनशील छन्? अथवा छैनन्? निक्र्यौल गर्नुस् । प्रभाववादको चपेटमा पर्नु हुँदैन समीक्षक । यहाँनेर एउटा चिकित्सकको दृष्टान्त सटिक हुनसक्छ । बिरामीले जति नै रोइकराइ गरे पनि, जति नै पुराना कथा सुनाए पनि, र जति नै बिलौना गाए पनि एउटा चिकित्सक त्यसै रोदनसँग पग्लिएर बग्न मिल्दैन । ऊ आफ्नो ठाउँबाट कुनै पनि संवेदनाले विचलित नभई बस्नुपर्ने हुन्छ । समीक्षक पनि त्यस्तै हो । कथासँगै आँसु बगाउने, पात्रसँगै रोइदिने पाठक प्रभावको बशमा पर्छ । ऊ आलोचनात्मक बन्नै सक्दैन ।

६. भाषा कस्तो छ? शुद्ध छ? अशुद्ध छ? प्रयोगशील छ? क्लिष्ट छ? सरल छ? प्राञ्जल छ? सम्प्रेष्य छ? पत्ता लाउनुस् ।

७. पुस्कतको कभरमा के छ? कभर र कथ्यका बीच सामाञ्जस्य छ वा छैन? भित्रको प्राविधिक पक्ष कस्तो छः लेआउट, फोन्टको आकार, छापा, कागजको गुणवत्ता आदि पनि हेर्नुहोस् ।

८. चित्र छन्? चित्र र कुरोको बीचमा सामञ्जस्य छ वा छैन? चित्र सम्पादन गरिएको छ वा छैन? चित्रहरू कथ्यको सांस्कृतिक परिवेशमा फिट छन्?

९. यी तमाम कुरा विचार गरेपछि तपाईंसँग अब पुस्तकको सबल पक्ष, दुर्वल पक्ष, यसको ऐतिहासिक, समाजिक अथवा प्राज्ञिक मूल्यको जानकारी रहन्छ, र लेखकलाई दिनुपर्ने सम्यक सुझावको सूची पनि रहन्छ ।

अब तपाईं समीक्षाका लागि तयार हुनुहुन्छ ।

लेख्नुपूर्व

यी माथिका कुरामा स्पष्ट भएपछि, यी कुरामा ध्यान दिनुहोस्ः

तपाईं आफ्नो लैङ्गिक पहिचान बिर्सनुहोस् । पुरुष वा महिला भएर समीक्षा लेख्दा लैङ्गिक आग्रहले घुसपेठ गर्छन् ।तपाईं आफ्नो धार्मिक, क्षेत्रीय अथवा जातीय पहिचान बिर्सनुहोस् ।तपाईं आफ्ना सैद्धान्तिक अथवा राजतैतिक आग्रह पनि बिर्सनुहोस् ।लेखकसँग तपाईंको कुनै प्रकारको करिबी सम्बन्ध, मनमुटाव अथवा दुष्मनी छ भने त्यो पनि बिर्सनुहोस । तपाईंलाई यो समीक्षा लेखेवापत लेखक वा प्रकाशक अथवा उनीहरूका करिबीहरूबाट कुनै नाजायज (पारिश्रमिक अथवा प्राज्ञिक मूल्याङ्कनबाहेकको) फाइदा हुने सम्भावना छ भने समीक्षा लेख्ने काम बन्द गरिदिनुहोस् । किनकि, त्यस स्थितिमा तपार्इंले आरति लुख्नुहुन्छ । पाठकबाट जस, यश, कीर्ति हाँसिल हुने, अथवा आफ्नो प्राज्ञिक उन्नति हुने कुरो यस कर्मबाट बोनसमा आउने कुरा हो । यो समीक्षा पढेर लेखकले के भन्ला भन्ने चिन्ता तपाईंको मनमा छ भने तपाईं कमजोर समीक्षक हो ।यो तिरन–तारनको खेती होइन । यो विषय दिमागमा रहनु हुँदैन । तपाईं सम्पादक अथवा लेखकले दिएको दृष्टिविन्दुबाट नलेख्नुहोस् । पुस्तकले जे माग्छ, त्यो अन्तिम ।जतिपल्ट, र जुन कोणबाट प्रश्न गर्दा पनि पुस्तक अब्बलै सावित हुन्छ भने अब्बलै हो । अन्यथा होइन । पुस्तकलाई प्रश्न गर्दा आफ्ना निजी आग्रहलाई त्यागेर, तटस्थ प्रश्न गर्नुहोस् ।

समीक्षा लेखन

समीक्षा लेखनको कुनै स्थापित संरचना छैन । त्यसैले, समीक्षकले सकेसम्म आफ्नै मौलिक शैली बनाउनु राम्रो । सकिएन भने, यसो गरे पनि हुन्छः

१. सुुरुमै पाठकको ध्यान तान्नु जरुरी छ । तथ्याङ्क र विवरणले ध्यान तान्दैन । त्यसका लागि कुनै कथाशैलीको प्रसङ्ग, अथवा केही प्रश्नबाट सुरु गर्नु राम्रो ।

२. यी प्रसङ्ग अथवा प्रश्न राखेपछि पुस्तकको कुरा जोड्नुहोस्ः पुस्तक, लेखक, प्रकाशन, प्रकाशन सन्दर्भ अथवा अरु केही आवश्यक कुरो, प्रकाशन समय, चर्चा, पुरस्कार..आदि ।

३. अब पुस्तकमा के छ, त्यो भन्नुहोस्, संक्षेपमा ।

४. पुस्तकमा के छैन, त्यसको चर्चा गर्ने होइन । शीर्षक पढ्दा यो चाहिँ हुनुपर्ने भन्ने लागेको, तर भित्र पढ्दा नभनेटेको कुरा छ भने प्रश्न उठाउन पाइन्छ । अथवा, एउटा समूहका सूचनामा केही छुटे भने सम्झाउन पाइन्छ ।

५.अब पुस्तकले अघि सारेका तथ्य र कुराको सामाजिक, साहित्यक, प्राज्ञिक मूल्यको कुरा गर्नुस् ।

६. पुस्तकका सबल पक्ष केके छन्, लेख्नुहोस् ।

७. पुस्तकका दुर्वल पक्ष केके छन्, लेख्नुहोस् ।

८. लेखकलाई दिनुपर्ने केही सुझाव छ? छ भने, दिनुहोस् । छैन भने त छैन ।

नोटः

राम्रो समीक्षकलाई हेक्का हुनुपर्छ कि कुनै पनि दृष्टिकोण वैयक्तिक हुने हुनाले अन्तिम सत्य होइन । त्यसैले, विशेषण प्रयोग गर्दा सधैँ सचेत हुनुपर्छ । अब्बल, शक्तिशाली, अत्यन्तै शक्तिशाली, प्रभावशाली, कोशेढुङ्गो, उत्कृष्ट, निकृष्ट, निम्न कोटिको…आदिआदि विशेषण प्रयोग गर्नु हुँदैन । किताब बलियो छ भने, ती बलिया पक्षको विश्लेषण गर्ने हो । पाठकले आफैँ विशेषण जुराउँछन् । निकृष्ट छ भने पनि, किताबको कमजोर पक्ष केलाइदिएपछि पाठकले आफैँ निकृष्ट भएको निचोड निकाल्छन् । समीक्षाका नामका पुस्तकको विज्ञापन नगर्नुहोस् । यो किताब पढ्न योग्य छ वा छैन भन्ने एउटा वस्तुगत निचोड पाठकले तपाईंको समीक्षा पढेपछि निकालोस् ।

राम्रो समीक्षा लेख्नुहोला, शुभकामना !

samalohak.com बाट साभार

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out