Saturday, 4 January 2020

बेदान्त सन्देश: पराइ भन्ने कोहि छैन

पराई भन्ने कोही छैन, आफू र अरूमा फरक छैन। यो एकाकार बोध हुँदा मानिसको मन स्थिर र शान्त हुन थाल्छ। विश्वका मानिसलाई वेदान्त दर्शन बुझाउन सके उनीहरूमध्ये अधिकांशको मनोरोग स्वतः नाश हुने थियो।’

परम्परागत र आधुनिक ज्ञान
गत साता अक्सफोर्ड विश्वविद्यालयका नेपाली प्राध्यापक दिवाकर आचार्य देवघाटस्थित संस्कृत गुरुकुलमा प्रवचन दिंदै थिए। त्यहाँ उपस्थित विद्यार्थी, प्राध्यापक र आगन्तुकलाई आफ्नो प्राज्ञिक सफलता बारे सुनाउँदै उनले केही व्यावहारिक सुझाव पनि दिए। संस्कृत अनुरागी हुनु मात्र पर्याप्त हुँदैन, शास्त्रज्ञ हुनु मात्र पनि पर्याप्त हुँदैन, ज्ञानलाई इतरावबोध्य अर्थात् सबैले बुझ्ने भाषा र शैलीमा पस्कन सक्नुपर्छ। देश, काल र परिस्थितिलाई ध्यानमा राखेर हरेक दर्शन र शिक्षालाई आलोचनात्मक ढंगले हेर्न सिक्नु आवश्यक छ। देवघाटमा आधा दर्जन गुरुकुलले संस्कृत भाषा र वेदान्तका ज्ञाता उत्पादन गर्नु सराहनीय छ तर यो ज्ञानको अधिकतम उपयोग कसरी सम्भव छ भनेर सोच्नु अधिक महत्त्वपूर्ण हुनेछ। प्राध्यापक आचार्यले रोजेको विषयमा सफलता पाउन परम्परागत ज्ञान र आधुनिक ज्ञान दुवैलाई एकसाथ अनुशीलन गर्न संस्कृत अनुरागीहरूलाई सुझाए।

यो वैदिक युग होइन, पौराणिक युग पनि होइन, यो उत्तरआधुनिक युग हो र यसका विल्कुलै भिन्न विशेषता छन्। यो युगका एक प्रवर्तक मानिने फ्रेडरिक नित्सेले भनेका थिए, ‘सबै कुरा व्याख्या हुन् र कुनै पनि व्याख्या अन्तिम होइन।’ एउटा जाति, वर्ग र समुदायका लागि ‘ध्रुवसत्य’ मानिएको दर्शन अर्को जाति, वर्ग र समुदायका लागि कोरा कल्पना भइदिन सक्छ। कसैको लागि मुक्तिदाता मानिएका ईश्वर र मसीहा अरूका लागि असुर या मदारी सावित हुन सक्छन्। जीवनको सौन्दर्य नै यसको विविधता हो। सत्त्व, रज र तमोगुणको वैषम्य नै सृष्टि हो। उज्यालो र अँध्यारो आपसमा अन्योन्याश्रित छन्। अँध्यारोलाई अस्वीकार गर्नेले उज्यालो पनि देख्न सक्दैन, पाटी कालो छैन भने सेता अक्षर देख्न सकिन्न। तर जीवनको यो सूक्ष्म गणितलाई बिर्सेर हामी आफूले पढेको वा देखेको जीवन दृष्टिप्रति अधिक आसक्त हुन्छौं। जति–जति हाम्रो दृष्टि एकाङ्गी हुन्छ उति–उति हाम्रो ग्रहणशीलता साँघुरिन्छ। सृष्टिको सौन्दर्य यसलाई साङ्गोपाङ्गो रूपमा हेर्दा खुल्छ, मन साँघुरिंदा त्यो सौन्दर्यबाट हामी वञ्चित हुन थाल्छौं। विधा प्रतिको प्रेमले दृष्टि फराकिलो हुन्छ र आसक्तिले साँघुरिन्छ। यो आलेखमा भेददृष्टिबाट कसरी माथि उठ्न सकिन्छ भन्ने चर्चा गरिनेछ।

गणेशको प्रदक्षिणा
शिवजीले गणेश र कुमारलाई भने, ‘तिमीहरू मध्ये जसले पहिला सुमेरु पर्वत घुमेर आउँछ उसैलाई वरदान दिन्छु।’ कुमार मयुरमाथि चढेर दौडिहाले। गणेशलाई समस्या पर्‍यो। मुसोमाथि चढेर सुमेरु घुम्न सम्भव हुन्नथ्यो। गणेशले शिवपार्वती बसेको पहाडको थुम्को वरिपरि प्रदक्षिणा गरे। मातापिता तपाइँहरू नै मेरा सुमेरु पर्वत हुनुहुन्छ भनी शरण परेका गणेशलाई शिवजीले वरदान दिए। सुमेरु पर्वत घुमेर फर्केका कुमार हिस्स परे। यो मिथकले हाम्रो सांस्कृतिक चेतनामा गहिरो प्रभाव पारेको छ। मेहनत नगर्ने तर शक्तिको वरिपरि प्रदक्षिणा गरेर लाभान्वित हुन चाहने सोच हामीमध्ये अधिकांशमा अहिले पनि यथावत् छ।

गणेश र कुमारको मिथकमा शिवजीले भिन्न क्षमता भएका छोराहरूलाई एउटै शैलीको परीक्षा गर्नु यथोचित होइन। कुमारले परीक्षा न्यायोचित नभएकोमा उजुरी पनि गरेनन्। शक्तिको भक्ति गर्ने प्रचलनको प्रभाव आजसम्म रहिरह्यो। आफ्नै क्षमतामा विश्वास नगर्ने र प्रभुको, शासकको वा गुरुको कृपा पात्र हुन लालयित रहने प्रवृत्तिले जति हानि व्यक्ति, समाज र देशलाई गरेको छ त्यति सायदै केही अन्य कुराले गरेको होला। जो सत्ता र शक्तिमा हुन्छ उसको वरिपरि चक्कर लगाउनु नै सफलताको बाटो हो भन्ने सोच्दा व्यक्तिले आफूभित्रका अनन्त सम्भावनाहरू नष्ट गरिरहेको हुन्छ। सबै कुराप्रति आलोचनात्मक रहनु र आफ्नो मौलिकतामा विश्वास गर्नु प्राज्ञिक सफलता र आत्मोन्नयनको लागि पनि महत्त्वपूर्ण हुन्छ।

भेद भ्रम हो, अभेद ब्रह्म
हिन्दू, बौद्ध, जैन र अन्य धर्म परम्परासँग जोडिएका दर्शन तथा साहित्य अध्ययन गर्ने विद्यार्थी वा शिष्यले आलोचनात्मक दृष्टिकोण विकसित गर्नुमा विधा र व्यक्तिको बृहत्तर हित लुकेको हुन्छ। हरेक व्यक्ति आफूले अभ्यास गर्ने धर्म, दर्शन या साधना रोज्न स्वतन्त्र हुन्छ, उसले अरूको मत या पन्थलाई उत्तिकै सम्मान गर्न सिक्नु शोभनीय हुन्छ। मेरो गुरु वा मैले रोजेको सम्प्रदाय बाहेक अन्य कुनै गुरु या सम्प्रदाय अपनाएर मुक्ति पाउन सकिंदैन भनी एकोहोरो हुनु धर्मान्धताको संकेत हो। यो धर्मान्धता पनि परम्पराबाटै आएको हो। महाकवि कालिदासले अभिज्ञानशाकुन्तलम् महाकाव्यमा भनेका छन् –

यदालोके सूक्ष्मं व्रजति सहसा तद्विपुलतां यदर्धे विच्छिन्नं भवति कृतसन्धानमिव तत्।
प्रकृत्या यद्वक्रं तदपि समरेखं नयनयोर्न मे दूरे किंचित् क्षणमपि न पार्श्वे रथजवात्।

राजा दुष्यन्त शिकार खेल्न जंगलमा गइरहेका छन्। उनी सवार रथको वेग तीव्र छ। गतिशील यात्रामा दुष्यन्तले देखेका दृश्यहरू माथिको पद्यमा कविले यसरी प्रकट गरेका छन् – पर डाँडामा सूक्ष्म देखिएको वस्तु एकै छिनमा विशाल देखिन थाल्छ, बाटोमा धाँजा फाटेको देखिए पनि नजिक पुग्दा जोडिएको देखिन्छ, प्रकृतिमा जुन कुरा बाङ्गोटिङ्गो छ त्यो पनि समरेखामा देखिन्छ, रथको गतिशीलतामा न केही मबाट टाढा छ न नजिक।

जीवन पनि गतिशील हुनु जाती हो, अध्ययन पनि बृहत्तर हुनु जाती हो। एकै ठाउँमा बस्ने, एउटै विद्यामा सीमित रहने गर्दा दृष्टिकोण फराकिलो हुने मौका पाउँदैन। गतिशीलता र नवीनता जीवनलाई ऊर्जा दिने र विस्तार गर्ने तत्त्व हुन्। जीवनमा गतिशीलता छ भने भेद दृष्टि हराउँदै जान्छ, अभेद प्रकट हुँदै आउँछ। भेद भ्रम हो, अभेद ब्रह्म हो।

देवघाटमा यतिखेर आधा दर्जन गुरुकुल सञ्चालित छन् जहाँ सयौं विद्यार्थीले संस्कृत व्याकरण र वेदान्त आदि ग्रन्थ अध्ययन गरिरहेका छन्। महेश सन्यास गुरुकुलका प्राचार्य फणीन्द्र पौडेलले देवघाटबाट हरेक वर्ष व्याकरण र वेदान्तमा विज्ञता हासिल गरेका करीब सय जना विद्यार्थी तयार हुने जानकारी गराए। स्नातकोत्तरसम्मको अध्ययन समाप्त भएपछि ती विद्यार्थीहरूको ज्ञान र विद्वता उपयोगको क्षेत्र फेला पार्न नसकिएको उनले बताए। संस्कृतका साथसाथै अङ्ग्रेजी भाषा पनि अध्यापन गराइएको भए सम्भवतः ती विद्यार्थीहरूले सजिलै आफूले सिकेको ज्ञान अभिव्यक्त गर्ने क्षेत्र पहिल्याउन सक्थे। वर्तमान समयमा संसारभरी तनाव, डिप्रेसन, बर्नआउट आदि मनोरोग व्याप्त छन्। यी मनोरोगको मुख्य कारण अधिकांश मानिसमा स्वार्थी भावना र त्यसका कारण बढेको एक्लोपना हो। वेदान्त दर्शनले द्वैत अर्थात् भेद दृष्टि मेटाएर अद्वैत अर्थात् अभेद दृष्टि सिकाउँछ। पराई भन्ने कोही छैन, आफू र अरूमा फरक छैन, यो एकाकार बोध हुँदा मानिसको मन स्थिर र शान्त हुन थाल्छ। विश्वका मानिसलाई वेदान्त दर्शन बुझाउन सके उनीहरूमध्ये अधिकांशको मनोरोग स्वतः नाश हुने थियो।

Yoga44
हेनान प्रान्तका चिनियाँ योग अभ्यास गर्दै (तस्बिरः सिन्ह्वा)

योग र आयुर्वेदको महत्त्व र प्रभाव अचेल विश्वभरी बढेर गएको छ। संस्कृत गुरुकुल र कलेजहरूमा योग र आयुर्वेद जस्ता विषय औपचारिक कोर्षमै राखेर अध्ययन–अध्यापन गराउन आवश्यक भइसक्यो भन्ने नदेख्नु आश्चर्यको विषय हुनेछ। मानिसहरूमा मनोरोग बढ्नुको अर्को कारण प्रतिस्पर्धात्मक जीवनशैली हो। योग नै त्यो विधा हुन सक्छ जसले मानिसहरुलाई पुनः सहकार्यात्मक जीवनशैली अपनाउन उत्प्रेरित गर्न सक्छ। योगले त्यो जीवन दृष्टि दिन्छ जुन दृष्टिद्वारा सबै मानिस र समग्र प्रकृतिलाई जोड्ने सूत्र के हो भन्ने प्रष्ट देख्न सकिन्छ। एउटा योगीले आफूलाई एक्लो र अलग—थलग देख्दैन, उसले वसुधैवकुटुम्बकम् भन्ने यथार्थ हृदयंगम गरेको हुन्छ।

वेदान्तले भेद दृष्टिबाट मुक्ति दिन्छ, योगले भोगको लालचबाट मुक्ति दिन्छ, आयुर्वेदले रोगबाट मुक्ति दिन्छ। अंग्रेजी भाषामा पकड भयो भने आर्जित ज्ञान अभिव्यक्तिको समस्याबाट मुक्ति देला। आधुनिक मनोविज्ञान र औषधि विज्ञानलाई नजरअन्दाज गर्न सकिने स्थिति पनि छैन किनभने वर्तमान युगमा पैदा भएका समस्या यही युगमा विकसित भएका विधाले अधिक सम्बोधन गर्न सक्छन्। हामी सबै एकअर्कामा निर्भर भएको हुँदा परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई समायोजन गर्न अत्यावश्यक भइसकेको छ। मालविकाग्निमित्रम् नाट्यकाव्यमा कालिदासले यही आशय व्यक्त गरेका छन् –

पुराणमित्येव न साधु सर्वं न चापि काव्यं नवमित्यवद्यम्।
सन्तः परीक्ष्यान्यतरद्भजन्ते मूढः परप्रत्ययनेयबुद्धिः॥

अर्थात् पुरानो ग्रन्थमा लेखिएको छ भन्दैमा सबै कुरा उचित हुँदैन, नयाँ काव्य भन्दैमा सबै अनिन्द्य पनि हुँदैनन्। स्वयंले परीक्षा गरी गलत कथन बेवास्ता गर्नु र सही कुरा ग्रहण गर्नु बुद्धिमानी हो, अरूले मानेको वा भनेको भन्दैमा आँखा चिम्लेर स्वीकार गर्नु मूढता हो। हामीले अध्ययन, मनन र अभ्यास गर्ने विधा या विद्याको परीक्षा गरिरहनु आवश्यक हुन्छ किनभने समय गतिशील हुन्छ र समयक्रममा पुरानो ज्ञान र परम्परा तिथिवाह्य भइसक्छ।

प्राध्यापक आचार्यले महेश संस्कृत गुरुकुलमा वृहदारण्यक उपनिषद्को गार्ग्य(अजातशत्रु संवादको अर्थ सुझाए। सो संवादमा कुनै पनि वस्तुको पूर्ण ज्ञान कसरी प्राप्त गर्ने भन्ने विधि उल्लेख छ। एउटा अभिव्यक्तिको वैधता वक्ताको दृष्टिकोणमा निर्भर हुन्छ। पुरुष नै ब्रह्म हो, ब्रह्म नै पुरुष हो तर सम्पूर्णतामा देख्न सक्नेलाई मात्र। सत्यको अन्वेषणकर्ता पूर्ण सत्य फेला नपरेसम्म कुनै विशेष अभिव्यक्ति वा अन्दाजमा रोकिनु हुँदैन। जीवनलाई गतिशील राखौं, अभेद देख्न र अनुभूति गर्न सिकौं। 

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out