Tuesday, 11 November 2014

विश्वलाई बचाउनी पक्षमा

लेखकहरु आफ्ना मनका भावना प्रकट गर्ने र अरु मानिसहरुसँग बातचीत गर्ने, आफुलाई दुःख दिने कुराको निन्दा गर्ने र सुख दिने कुरा अरुहरुसँग बाँडचूँड गर्ने आवश्यकता आइलाग्दा लेख्ने गर्छन् । लेखकहरु आफ्नो र अरुको एकलासेपनाको विरोधमा लेख्छन् । लेखकहरु साहित्यले पाठकका मनमा ज्ञानगुनका कुरा घुसाएर उनीहरुको व्यवहार र भाषामा प्रभाव पारी आफैँलाई झन् राम्रोसँग चिन्न र सामूहिक रुपबाट आफ्नो बचाउ गर्न सघाउ पु¥याउँछ भनी कल्पना गर्छन् । तर यो “अरुहरु” भन्ने निकै नै अस्पष्ट छ । त्यसकारण संकटका बेलामा र परिभाषा दिनुपर्ने बेलामा, दोहोरो अर्थ लाग्ने कुरा झुटसँग एकदमै मिल्दाजुल्दा हुन सक्छन् । यथार्थमा लेखकहरु आफ्नो भाग्य र दुर्भाग्य समान भएका मानिसबारे लेख्छन् । जस्तो कि भोका र अनिदा मानिसहरु, विद्रोहीहरु र यस पृथ्वीका साह्रै अभागी मानिसहरुबारे । यस्ता बहुसंख्यक मानिस निरक्षर छन् । अल्पसंख्यक साक्षरमध्ये पुस्तक किन्न सक्ने औकात कतिको होला ? के “सर्वसाधारण जनता”का रुपमा प्रचलित रहेको अस्पष्ट धारणाको पक्षमा लेख्छु भनी घोषणा गर्दैमा यस अन्तर्विरोधको हल भइहाल्छ र ? 
 
हामी चन्द्रमामा जन्मेका होइनौं र हामीले सातौं स्वर्गमा बसोबास गरेका पनि छैनौं । हामीले त ल्याटिन अमेरिका नाउँ गरेको विश्वको सन्तापग्रस्त क्षेत्रका मानिस भएर अत्यन्तै दमनकारी ऐतिहासिक कालमा बाँच्ने सौभाग्य र दुर्भाग्य पाएका छौं । यहाँको वर्गीय समाजका अन्तर्विरोध धनी देशहरुका अन्तर्विरोधभन्दा तीव्र छन् । सारा विश्वले पैदा गरेका सम्पत्तिको आधा भाग विश्वको जनसंख्यामध्ये ६ प्रतिशत मानिसले उपभोग गर्न पाउनका लागि गरीब देशहरुले अजङ्ग ठूला दुःख–कष्टहरु झेलिदिनुपरेको छ । तर यी उपभोक्ताहरुले त्यतिविधि उपभोग गरेबापत कुनै दण्ड बेहोर्नु पर्दैन । ल्याटिन अमेरिकामा मुठ्ठीभरको धन–दौलत र अन्यका दुःख–कष्टका बीचको खाडल अन्यत्रको भन्दा बढी नै फराकिलो छ । यस खाडललाई कायम राख्न आवश्यक पर्ने तरिकाहरु पनि अन्यत्रका भन्दा बढी नै बर्बर खालका छन् ।

पुरानो कृषि र खानीका संरचनाहरुमा भएका मुख्य विकृतिहरुमा कुनै हेरफेर नल्याइ तिनै संरचनामाथि थोपरेर बन्देजकारी र अरुमाथि भरपर्ने उद्योगको विकास गरियो । त्यसले गर्दा सामाजिक अन्तर्विरोधहरु मत्थर हुनुको सट्टा झन् तीव्र भएका छन् । जनतालाई भुलभुलैयामा पार्ने र ठग्ने कलामा खप्पिस परम्परागत राजनीतिकर्मीका सीप आज अपर्याप्त, झुत्रा र काम नलाग्ने भएका छन् । जनतालाई आफ्ना इसारामा नचाउन लाभदायक हुने तिनका चिप्ला भाषणहरु कतिपय अवस्थामा अब काम नलाग्ने भएका छन् । अन्य प्रसँगमा चाहिं ती चिप्ला भाषणले खतरनाक धरापहरुलाई उदाङ्गो पारिदिन्छन् । त्यसैले ठालु वर्ग र देश आफ्ना दमनकारी यन्त्रहरुको सहारा लिन पुगेका छन् । बन्दी शिविरसँग झन्झन् मिल्दोजुल्दो हुँदै गएको सामाजिक व्यवस्थालाई यो बाहेक अरु कुन उपायबाट जोगाइराख्न सकिएला र ? भोका–नाङ्गाको बढिरहेको फौजलाई काँडे तारका बार बेगर कसरी थुनिराख्न सकिएला र ? बेरोजगारी र गरीबी बेलगाम ढङ्गले बढेर त्यसबाट उत्पन्न हुने सामाजिक र राजनीतिक तनावले चालु व्यवस्थामाथि जतिजति खतरा पैदा गर्छन्, चिप्ला कुरा गर्ने र सदाचार देखाउने ठाउँ उतिउति साँगुरिंदै जान्छ । अनि विश्वको छेउछाउमा यस व्यवस्थाको सक्कली अनुहार देखिन थाल्छ ।

आज हाम्रा देशका बहुसंख्यक मानिसलाई दबाउने तानाशाहीको चरित्रलाई स्वीकार गर्न अलिकता सच्चाइ किन नदेखाउने ? संकटकालमा उद्यम गर्ने स्वतन्त्रताको अर्थ मानिसहरु स्वतन्त्रताबाट वञ्चित हुनु भन्ने हुन्छ । ल्याटिन अेमेरिकी वैज्ञानिकहरु अन्यत्र बसाइँ सर्छन्, प्रयोगशाला र विश्वविद्यालयहरुमा कोष हुँदैन, औद्योगिक “प्रविधिको ज्ञान” सधैं बिदेशी र अचाक्ली महँगो हुन्छ । तैपनि आतङ्गकको प्रविधिको विकासमा चाहिं केही न केही सिर्जनशीलता छ भनेर किन स्वीकार नगर्ने ? ल्याटिन अमेरिकाले यातना दिने तरिका, मानिस र विचारहरुको हत्या गर्ने काइदा, मानिसहरुका मुख थुन्ने, पङ्गुपनालाई विस्तार गर्ने र मानिसहरुका मनमा डरको बीउ छर्ने जुक्तीहरुमा सारा संसारलाई प्रेरणा दिने गरी योगदान गरिरहेको छ ।

आवाज नहुनेरुका आवाजलाई सुनिने बनाउन साहित्यले सघाउ पुर्याओस् भनी साहित्यको क्षेत्रमा काम गर्न चाहने हामीहरु यो यथार्थको सन्दर्भमा कसरी काम गर्न सकौंला ? के हामीले अन्धो र मौन संस्कृतिको बीचमा मानिसहरुलाई आफ्ना कुरा सुनाउन सकौंला ? के लेखकहरुलाई दिइएको थोरै स्वतन्त्रता नै कहिलेकाहीं हाम्रो बिफलताको प्रमाण हुने गरेको छैन र ? हामी कति परसम्म जान सकौंला ? हामी कहाँ पुग्न सकौंला ?

न्याय र स्वतन्त्रता भएको विश्वको ढोका खोल्ने काम एउटा उदात्त काम हो । देखिने र नदेखिने पिन्जराहरु भएको व्यवस्थालाई अस्वीकार गर्ने काम एउटा उदात्त काम हो । तर हामी निकासतिर लम्किन कति पाइला सार्न सकौंला ? सत्ताधारीहरुले हामीलाई कतिन्जेलसम्म छूट दिइरहलान् ?

विभिन्न प्रकारका सामाजिक–राजनीतिक क्षेत्रहरुले थोपर्ने सेन्सरशीपका प्रत्यक्ष स्वरुपहरुबारे, आफुलाई हैरान पार्ने खालका वा खतरनाक खालका पुस्तकहरु वा अखबारहरुमाथि बन्देज लगाउनेबारे र लेखक तथा पत्रकारहरुलाई देशनिकाला गर्ने, थुनामा राख्ने वा तिनको हत्या गर्नेबारे निकै नै छलफल भइआएको छ । तर अप्रत्यक्ष सेन्सरशीपले त झन् मिहिन पाराले काम गर्ने गर्छ । कम स्पष्ट हुनाले गर्दा यो कम वास्तविक छ भन्ने होइन । यसबारे निकै कम भनिएको छ तैपनि धेरैजसो ल्याटिन अमेरिकी देशहरुमाथि लादिएको उत्पीडनकारी र बहिष्करणकारी चरित्रको अत्यन्तै गहन रुपले ब्याख्या गर्ने कुराचाहिं यही नै हो । आपूmलाई हाक्काहाक्की प्रकट नगर्ने यस सेन्सरशीपको प्रकृति कस्तो छ त ? ल्याटिन अमेरिकाको जनसंख्याका पाँच प्रतिशत मानिसहरुले मात्र रेफ्रिजेरेटर किन्न सक्छन् भने पुस्तकचाहिं कति प्रतिशत मानिसले किन्न सक्छन् ? अनि ती पुस्तक कति प्रतिशत मानिसले पढ्न सक्छन्, तिनको आवश्यकता कति अनुभव गर्न सक्छन् र तिनको प्रभावलाई कति पचाउन सक्छन् ?

अल्पसंख्यक समूहमा पर्ने र अल्पसंख्याकै लागि लेख्ने ल्याटिन अमेरिकी लेखकहरु सांस्कृतिक उद्योगका ज्यालादारी मजदुरहरु हुन् । यस सांस्कृतिक उद्योगले प्रबुद्ध अभिजातहरुले उपभोग गर्ने आवश्यकताहरुको पूर्ति गर्छ । सामाजिक असमानता र प्रभुत्वशाली विचारधारालाई स्वीकृति प्रदान गर्ने खालका कृतिहरुको रचना गर्ने लेखकहरु र ती कुरालाई तोड्न खोज्ने लेखकहरु गरी दुबै थरि लेखकहरुको हकमा वस्तुगत स्थिति यही नै हो । हामी जुन यथार्थभित्र काम गर्छौं, त्यस यथार्थका खेलका नियमहरुले धेरै मात्रामा हामीमाथि नाकाबन्दी लगाउँछन् ।

विद्यमान सामाजिक व्यवस्थाले जनताको अजङ्ग ठूलो बहुसंख्याको सिर्जनशील क्षमतालाई विकृत तुल्याउँछ वा त्यसलाई निमिट्यान्न पारिदिन्छ र सिर्जना गर्ने सम्भावनालाई साँगु¥याएर मुठ्ठीभर विशेषज्ञका व्यावसायिक अभ्यासमा सीमित तुल्याइदिन्छ । यो मानवीय सन्ताप र मृत्युको निश्चितताप्रतिको युगौं पुरानो प्रतिक्रिया हो । ल्याटिन अमेरिकामा “विशेषज्ञ” हामी कति छौं ? हामी कसको लागि लेख्छौं र हामी कसकहाँ पुग्छौं ? हाम्रो वास्तविक जनगण कहाँ छ ? थप्पडीको गडगडाहटसँगै आउने स्वीकृतिलाई हामी अविश्वास गरौं । हामीबाट आपूmलाई कुनै हानि–नोक्सानी हुँदैन भन्ठान्नेहरुले कहिलेकाहीं हामीलाई बधाई दिन्छन् ।


लेखकहरु मृत्युलाई छक्याउने र हामीलाई तर्साउन आइलाग्ने प्रेतको घाँटी अँठ्याउने सुरले लेख्छन् । तर लेखकहरुले जे लेख्छन्, त्यसले जनगणको पहिचान प्राप्त गर्ने खाँचो पूरा गर्नमा एक न एक प्रकारले मेल खायो भने मात्र त्यो ऐतिहासिक दृष्टिले उपयोगी हुन्छ । लेखकले चाहने कुरा पनि यही नै हुँदो हो भन्ने मलाई लाग्छ । “म यही नै हुँ” भनेर आफ्नो भित्री चिनारी दिंदा लेखकहरुले अरुलाई आफुहरु को हौं भन्ने कुरामा चनाखो बन्न सघाउ पुर्याउन सक्छ । सामूहिक पहिचानलाई बाहिर ल्याउने साधनका रुपमा कलालाई विलासको वस्तु होइन, अत्यन्तै आवश्यक वस्तु ठानिनु पर्छ । तर ल्याटिन अमेरिकाका जनताको अजङ्ग ठूलो बहुसंख्यालाई कला र संस्कृतिका उपजहरु नेर पुग्न मनाही गरिएको छ ।

जुन जनताको पहिचानलाई विजयी संस्कृतिहरुले एकपछि अर्को गर्दै चकनाचूर पारिदिएका छन्, र जुन जनताको निर्मम शोषणले विश्व पूँजीवादको यन्त्रलाई काम गर्न सघाउँछ, ती जनताका लागि यस व्यवस्थाले “मास कल्चर” अर्थात् भीड संस्कृति पैदा गर्छ । भीडको संस्कृति भनेर यस आम सञ्चार माध्यमको पतीत कलाको बयान गर्नु बढी सटिक हुन्छ । यस भीड संस्कृतिले बडो चलाखीसाथ चेतनालाई आफ्नो इसारामा नचाउँछ, यथार्थलाई ढाकछोप गर्छ, र सिर्जनात्मक कल्पनाशीलताको घाँटी अँठ्याउँछ । यसले स्वाभाविक रुपले मानिसहरुलाई आफ्नो पहिचान बोध गर्ने दिशातिर डो¥याउने नभई बरु यो त सञ्चार माध्यमबाट व्यापक रुपमा फिंजाइने जीवन पद्धति र ढर्राहरु थोपर्नका लागि मानिसहरुको पहिचानलाई मेटिदिने वा त्यसलाई विकृत तुल्याउने साधन बन्छ । 

प्रभुत्वशाली वर्गको संस्कृतिलाई “राष्ट्रिय संस्कृति” भन्ने गरिन्छ । यस्तो संस्कृतिले आयातीत जीवन जिउने गर्छ र यसले बडो मूख्र्याइँसाथ र भद्दा किसिमबाट कथित विश्वव्यापी संस्कृतिको नक्कल गर्नमै आपूmलाई सीमित तुल्याउँछ । अर्थात् विश्वव्यापी संस्कृतिको नाउँबाट यसलाई जुन मानिसहरुको बीचमा पु¥याइन्छ उनीहरु यो प्रभुत्वशाली देशहरुको संस्कृति हो कि होइन भन्ने कुरामा अलमलमा पर्छन् । हाम्रो जमानामा अर्थात् बहुबजारहरु र बहुराष्ट्रिय निगमहरुको जमानामा तीव्र गतिको विकास र आम सञ्चार माध्यमले गर्दा अर्थशास्त्र र संस्कृति दुबैको (अर्थात् “भीड संस्कृति”को) अन्तर्राष्ट्रियकरण गरिएको छ । शक्तिकेन्द्रहरुले हामीलाई यन्त्रहरु र प्याटेन्टहरु मात्र होइन विचारधारा पनि आयात गरिदिन्छन् । ल्याटिन अमेरिकामा लौकिक सरसामानहरुको भोगचलन मुठ्ठीभर मानिसहरुमा सीमित छ भने त्यसको नतिजास्वरुप बहुसंख्यक मानिसहरुले चाहिं उडन्ते कल्पनाको भोगचलन गरी जीवन निर्वाह गर्न वाध्य हुनैपर्छ । गरीबहरुलाई धन–सम्पत्तिका भ्रमहरु बेचिन्छन्, उत्पीडितहरुलाई स्वतन्त्रताका भ्रमहरु बेचिन्छन्, हराइएकाहरुलाई जीतबाजीका सपनाहरु बेचिन्छन् र अशक्तहरुलाई शक्तिका सपनाहरु बेचिन्छन् । विश्वको असमान संगठनको औचित्य पुष्टि गर्ने प्रयास गर्दै टेलिभिजन, रेडियो र चलचित्रबाट प्रस्तुत गरिने आकर्षक प्रतीकहरुको उपभोग गर्न मानिसहरुले साक्षर भइरहनु पर्दैन ।

मिनेटैपिच्छे रोग वा भोकले एकजना बालकको मृत्यु हुने यी मुलुकहरुमा यथास्थितिलाई धानिराख्नका लागि हामीले हामीमाथि उत्पीडन गर्नेहरुका आँखाले आफुलाई हेरिदिनै पर्छ । मानिसहरु यस व्यवस्थालाई स्वाभाविक व्यवस्थाका रुपमा र त्यसकारण शाश्वत व्यवस्थाका रुपमा स्वीकार गर्छन् । अनि व्यवस्थालाई चाहिं पितृभूमिको जुम्ल्याहा भाइजस्तो ठानिने हुनाले यस शासनसत्ताको शत्रुलाई देशद्रोही वा बिदेशी दलाल ठानिने नै भयो । हराइएका मानिसहरुले यस अवस्थालाई आफ्नो भाग्यको रुपमा स्वीकार गरुन् भनेर यस व्यवस्थाको कानुनको रुपमा रहेको जङ्गली कानुनलाई फुलबुट्टा भरेर चिरिच्याँट्ट पारिन्छ । झुटको सहाराले विगतलाई फेरफार गरेर ल्याटिन अमेरिकाका ऐतिहासिक बिफलताहरुलाई ओझेलमा पारिन्छ । त्यस ल्याटिन अमेरिकालाई ओझेलमा पारिन्छ जसको गरीबीले सधैं नै पराई धन–सम्पत्तिलाई बढाइदिने काम गरेको छ । टेलिभिजनको सानो र ठूलो पर्दामा सर्वोत्तम मानिसको जीत हुन्छ । जो सबभन्दा बलियो छ, उही नै सर्वोत्तम हुन्छ । बर्बादी, तडकभडक र अनैतिकताजस्ता कुराले मानिसहरुमा घृणा होइन प्रशंसाको भावना जगाउँछन् । जुनसुकै चीजलाई पनि किन्न, बेच्न, भाडामा लगाउन र उपभोग गर्न सकिन्छ । चुरोट, कार, ह्वीस्कीको शीशी वा नाडी घडीलाई यस्ता जादुगरी गुणहरुले भरिपूर्ण बनाइन्छ कि तिनले हाम्रो व्यक्तित्वलाई चम्काइदिन सक्छन्, तिनले हामीलाई सफलता र सुखतिर डोर्याउन सक्छन् । आफै कतै शून्यबाट उदाउने बिदेशी हिरो–हिरोइनहरु र नमूना पात्रहरु धनी देशहरुका पूज्य नाम र फेसनहरु बन्छन् । कुनै पनि देशका वास्तविक सामाजिक र राजनीतिक समस्याहरुसँग बाह्र हात परको साइनो पनि नहुने स्थानीय बजारु उपन्यास र बजारु टिभी सिरियलहरु बडो तामझामसाथ देखाइन्छन्, अनि आयात गरिएका टिभी सिरियहरुले चाहिं हिंसा र टोमाटो ससको साथसाथै इसाई लोकतन्त्र बिक्री गर्छन् ।


युवाहरुको संख्या निरन्तररुपले बढिरहेको र ती युवाहरुले रोजगारी नपाउने यी मुलुकहरुमा टाइम बमको टिक्टिक् आवाजले गर्दा शासकहरुलाई एउटा आँखो उघारेर सुत्न वाध्य हुनुपरेको छ । सांस्कृतिक अलगावलाई कायम गर्न प्रयोग गरिने अनेकौं तरिकाहरु अर्थात् युवाहरुलाई लठ्ठ्याएर पङ्गु बनाउन प्रयोग गरिने संयन्त्रहरुको महत्व बढिरहेको छ । चेतनालाई भुत्ते पार्ने सूत्रहरुलाई जन्म नियन्त्रण गर्ने उपायहरुलाई भन्दा धेरै सफलतासाथ लागू गरिंदैछ ।

चेतनालाई दबाउनु नै त्यसलाई औपनिवेशीकरण गर्ने सबभन्दा राम्रो उपाय हो । यस अर्थमा पनि जानीबुझीकन वा अन्जानमा आयात गरिने झुटो वैकल्पिक संस्कृतिले भूमिका खेल्छ । ल्याटिन अमेरिकी मुलुकहरुका कतिपय उदीयमान पुस्ताहरुमा यस वैकल्पिक संस्कृतिको गुन्जन बढ्दो मात्रामा सुनिन थालेको छ । आफ्ना संरचनाहरु ज्यादै थोत्रा हुनाले गर्दा वा मानिसहरुलाई निसास तुल्याउने तिनका दमनकारी संयन्त्रहरुले गर्दा युवाहरुलाई राजनीतिक सहभागिताका विकल्पहरु नदिने देशहरुले कथित विरोधको संस्कृति मौलाउने ज्यादै मलिलो जमिन जुटाइदिन्छन् । यो कथित विरोधको संस्कृति देशबाहिर उदय भएको संस्कृति हो, यो फुर्सद र बर्बादीको उपजात हो । सबै सामाजिक वर्गहरुतर्फ  लक्षित गरिने यो संस्कृति परजीवी वर्गहरुको नक्कली परम्परा–विरोधको धरातलबाट पैदा हुन्छ ।

संयुक्त राज्य अमेरिका र युरोपमा उपभोगको एकनासेपन विरोधी प्रतिक्रिया स्वरुप साठीको दसकमा मृत्युमय निन्द्राबाट ब्युँझेका युवाहरुका चालचलन र प्रतीकहरु ल्याटिन अमेरिकामा पङ्गुहरुको लावालस्कर जन्न्माउने वस्तुहरु बन्न पुगेका छन् । “आफुलाई मुक्त गर” भन्ने भड्किला मन्त्र लेखिएका झिल्के बुट्टाहरु भएका लुगाहरु बेचिन्छन् । लागु बिखादिले लठ्ठ्याउने संगीत, पोस्टर, कपालका शैलीहरु र लुगा सुन्दरताका नमूना भएर तेस्रो विश्वका आम बजारहरुमा ज्यादै प्रचलित सामान बन्न पुग्छन् । यी रङ्गीचङ्गी र मनमुग्धकारी प्रतीकहरुको साथसाथै नरकबाट भाग्न खोजिरहेका युवाहरुलाई नाङ्गा नखराले भरिपूर्ण नाचहरु हेर्न टिकट टक््रयाइन्छ । नयाँ पुस्ताहरुलाई निर्वाणतर्फको कष्टपूर्ण यात्रा गर्नुपर्ने इतिहासलाई त्यागिदिन आह्वान गरिन्छ । यस “लागु बिखादी संस्कृति”मा सामेल हुँदा कतिपय ल्याटिन अमेरिकी युवाहरु आफ्ना महानगरबासी समकक्षीहरुको जस्तो जीवन–शैलीको पुनर्उत्पादन भएको भ्रम प्राप्त गर्छन् ।
 
अलगावयुक्त औद्योगिक समाजका प्रचलित मूल्यहरु मानेर चल्न नसकी किनारतिर मिल्किएका समूहहरुबाट जन्मेको यो झुटो वैकल्पिक संस्कृतिको हाम्रो पहिचान र भाग्यका वास्तविक आवश्यकतासँग कुनै साइनो छैन । यसले त खालि गतिहीन तुल्याइएका मानिसहरुलाई उत्तेजना दिन्छ । यसले आत्म–समर्पण, अहंकार र संवादहीनतालाई जन्म दिन्छ । यसले यथार्थलाई जस्ताको तस्तै छाडिदिएर खालि यथार्थको बिम्बलाई मात्र परिवर्तन गरिदिन्छ । यसले पीडा बिनाको प्रेम र युद्ध बिनाको शान्ति प्रदान गर्ने वाचा गर्छ । अझ त्यसमाथि, चेतनालाई उपभोग्य वस्तुहरुमा बदलेर यसले त्यस विकृत चेतनालाई आम सञ्चार माध्यमले फिंजाउने “सुपरमार्केट विचारधारा”सँग ठ्याम्मै मिलाइदिन्छ । कार र रेफ्रिजेरेटरको मुहुनी मानिसका मनको तापलाई मौन तुल्याउन र उनीहरुका चिन्तालाई शान्त पार्नका लागि पर्याप्त नभए पनि कम–से–कम भूमिगत सुपरमार्केटमा शान्ति, जीवनमा केही भइरहेको छ भन्ने अनुभूति र सुख किन्नचाहिं सकिन्छ नै ।
 
हाम्रा यी कालहरुमा र हाम्रा यी मुलुकहरुमा साहित्यले चेतनालाई ब्युँझाउने र यथार्थलाई उद्घाटित गर्ने कुराको दाबी गर्न सक्छ ? व्यवस्थाको संस्कृतिले अर्थात् यथार्थको कथित विकल्प दिने संस्कृतिले यथार्थलाई ढाकछोप गर्ने र चेतनालाई जड तुल्याउने काम गर्छ । तर लेखकको ख्याति जतिसुकै झल्झलाकार भए पनि उसले झुटहरु र आज्ञापालनकारी विचारधारात्मक संयन्त्रहरुका विरुद्ध के गर्नसक्छ ?
 
समाजलाई मानिसहरुमाझको सम्पर्क विच्छेद गरिदिने ढङ्गले संगठित गरेको खण्डमा र मानव सम्बन्धरुलाई एकअर्काबाट अलग्गिएका र एकअर्कालाई प्रयोग र दुरुपयोग गर्ने, प्रतिस्पर्धा र उपभोगको कपटी खेल खेल्ने तहमा गिराइएको अवस्थामा बन्धुत्वपूर्ण सम्बन्ध र सामूहिक ऐक्यबद्धताप्रति प्रतिबद्ध साहित्यले के कस्तो भूमिका खेल्न सक्ला ? हामी इतिहासमा एउटा त्यस्तो विन्दुमा पुगेका छौं जहाँ जे जस्तो छ, त्यसलाई त्यस्तै भनेर पुकार्नुको अर्थ त्यसको निन्दा गर्नु हो । तर यहाँनेर कसलाई र कसको लागि भन्ने प्रश्न उठिहाल्छ ।
 
ल्याटिन अमेरिकी लेखकहरुको नाताले हाम्रो भाग्य गहन सामाजिक रुपान्तरणहरुसँग जोडिएको छ । यथार्थको बर्णन गर्नु भनेको आपैmलाई व्यक्त गर्नु हो । अर्थात् के कुरा स्वतः स्पष्ट जस्तो देखिन्छ भने दुःखकष्ट र निरक्षरता रहिरहुन्जेलसम्म र सत्ता हत्याएर बसेकाहरुले आम सञ्चार माध्यमका हतियारहरुद्वारा कुनै पनि दण्ड भोग्नु नपर्ने गरी जनतालाई सामूहिक रुपले मुर्दातुल्य तुल्याउने नीति लागु गरिरहुन्जेलसम्म साहित्यले पूर्ण रुपले भाव सञ्चार गर्ने जमर्कोका क्रममा शुरुदेखि नै बाधा–अड्चन झेल्नुपर्ने छ ।
 
आफ्नो लागि अरु कामदारहरुको भन्दा बेग्लै खालको विशेष स्वतन्त्रताको माग गर्ने लेखकहरुसँग मेरो सहमति छैन । हामी लेखकहरुले कुलीनहरुका किल्लाहरुभन्दा परसम्म जान खोज्ने हो भने, हामीले देखिने र नदेखिने बाधाहरुबाट फुक्का भएर आफ्ना भावना प्रकट गर्ने हो भने हाम्रा देशहरुमा ठूल्ठूला हेरफेरहरु, ठूल्ठूला संरचनागत हेरफेरहरु हुनु जरुरी छ । कैदी तुल्याइएको समाजमा त निन्दा र आशाका रुपमा मात्र स्वतन्त्र साहित्यको अस्तित्व हुनसक्छ । यसको साथसाथै, मलाई के लाग्छ भने अस्तित्वका कठोर अवस्थाहरु र जीवनमा भइपरिआउने भैंmझमेलाहरुले गर्दा धेरैअघिदेखि कुम्भकर्णे निन्द्रामा पतीत गराइएका मानिसहरुका रचनात्मक सम्भावनाहरुलाई सांस्कृतिक साधनहरुबाट मात्र साकार रुप दिन सकिन्छ भनी कल्पना गर्नु हावादारी कल्पना हुनेछ । ल्याटिन अमेरिकामा फक्रिनै नपाइकन हत्या गरिएका प्रतिभाहरु कति होलान् ? लेखक र कलाकारका रुपमा कहिल्यै मान्यता नपाएका लेखक र कलाकारहरु यहाँ कति होलान् ? 
 
अर्को कुरा, जुन देशका भौतिक आधारहरु स्वदेशी नभई बिदेशी महानगरीहरुमाथि आश्रित छन् के ती देशहरुमा पूर्ण रुपमा राष्ट्रिय संस्कृति प्राप्त गर्न सकिएला ?
 
अवस्था यस्तो भएकोले के लेख्नुको कुनै अर्थ छ त ? जसरी इतिहास “एकदमै मौलिक र विशुद्ध” हुँदैन त्यसैगरी संस्कृति पनि “एकदमै मौलिक र विशुद्ध” हुँदैन । कुनै पनि सामाजिक विकास प्रक्रियामा प्रभुत्वको चरण र मुक्तिको चरणको बीचमा अनिवार्य निरन्तरता हुन्छ भन्ने कुरालाई हामी स्वीकार गर्छौँ भने हाम्रो वास्तविक र सम्भाव्य पहिचानको अन्वेषण, प्रकाशन र विस्तार गर्ने काममा साहित्यको महत्व र यसको सम्भावित क्रान्तिकारी भूमिकालाई किन नकार्ने ? उत्पीडकले उत्पीडितहरुका अगाडि ऐनाले त्यसको चमकदार सतह बाहेक अरु कुनै पनि चीजलाई प्रतिबिम्बित नगरोस् भन्ने चाहन्छ । आफु को हुँ भन्ने कुरा र आफु कहाँबाट आएको हुँ भन्ने कुरा नै नजान्ने जनताले परिवर्तनको कुन प्रक्रियालाई क्रियाशील तुल्याउन सक्छन् र ? जनतालाई आफु को हुँ भन्ने नै थाहा छैन भने तिनलाई आफु कस्तो हुन लायकको छु भन्ने नै कसरी थाहा होस् ? जनताको यो आत्मबोधको प्रक्रियामा साहित्यले प्रत्यक्ष वा परोक्ष रुपबाट सघाउ पु¥याउन सक्दैन र ?
 
मलाई के लाग्छ भने आफ्ना जनताप्रति अर्थात् तिनका जरा, तिनका जीवनका जटिल भोगाइहरु र तिनको भाग्यप्रति लेखकमा जुन तहको गहन संवेदनशीलता छ, र लेखकमा जनताको मुटुको धड्कन, त्यसको आवाज र तालको साथसाथै उदाइरहेको सक्कली वैकल्पिक संस्कृतिको भेउ पाउने जति क्षमता छ, लेखकले गर्ने योगदानको सम्भावना त्यसैमा निर्भर गर्छ । “असंस्कृत” ठान्ने गरिएका कुराहरुमा अक्सर अर्को संस्कृतिका बीज वा फलहरु रहेका हुनसक्छन् र त्यसले प्रभुत्वशाली संस्कृतिका मूल्यहरु वा त्यसका कपटले भरिएका चिप्ला कुराहरुसँग टक्कर लिइरहेको हुनसक्छ । त्यसलाई केवल कुलीनहरुका “सांस्कृतिक उपजहरु”को भ्रष्ट नक्कल अथवा विद्यमान व्यवस्थाले जन्माएका सांस्कृतिक नमूनाहरुको अन्धभक्तिको आधारमा गरिएको नक्कल भनेर प्रायःजसो गलत ढङ्गले पन्छाउने गरिन्छ । तर कुनै लोककथा धेरैजसो कुनै “पेशागत” उपन्यासभन्दा पनि बढी यथार्थबोधी र अर्थपूर्ण हुनसक्छ, अनि रचनाकार अज्ञात रहेका कतिपय लोकगीतहरुले त शास्त्रीय संहिताअनुसार रचिएका कविताका ठेलीहरुले भन्दा बढी सशक्त ढङ्गले जीवनको धड्कनलाई व्यक्त गरेका हुनसक्छन् । भुक्तभोगी जनताले हज्जारौं तरिकाले आफ्ना दुःखकष्ट र आशाहरु व्यक्त गर्ने क्रममा सार्वजनिक गरेका जीवन–अनुभवका सक्कली बयानहरु “जनताका नाउँमा” लेखिने पुस्तकहरुभन्दा कता हो कता वाचाल र सुन्दर हुन्छन् ।
 
हाम्रो सक्कली सामुहिक पहिचान अतीतको गर्भबाट जन्मेको र त्यसैबाट पोषित भएको हुन्छ । अर्थात् जुन ठाउँमा हाम्रा पुर्खाहरुले हामीले भन्दा पहिले नै पहिलो पाइलो चालेका थिए, हाम्रा खुट्टाहरु त्यही ठाउँमा पाइला राखेर हिंड्छन् । आज हामीले पाइला चाल्ने ठाउँ उनीहरुले पहिले नै देखाइदिएका ठाउँ हुन् । तर यो पहिचान अतीतको स्मृतिदंश (नोस्टाल्जिया)मा कतै जमेर रहेको भने हुँदैन । पक्का कुरा गर्ने हो भने, पर्यटकहरुले पराजित मानिसहरुसँग माग गर्ने रीतिथिति, पोशाक र क्युरियो अर्थात् पुराना कलाकृतिहरुलाई बिर्सिइनबाट कृतिम ढङ्गले जोगाउने हेतुले हामी हाम्रा अतीतमा लुकेका अनुहारहरु पत्ता लगाउन लागेका चाहिं होइनौं । हामी जे गर्छौं हामी त्यही हौं, विशेष गरेर हामी जे जस्ता छौं र आपूmलाई फेर्न हामी जे गर्छांै हामी त्यही नै हौं । भनाइको अर्थ के हो भने कार्य र संघर्षमा नै हाम्रो पहिचान निहित छ । त्यसकारण, हामी के हौं भन्ने कुराको आत्मबोधमा ती मानिसहरुको निन्दा अन्तर्निहित हुन्छ जसले हामी जे बन्न सक्ने हौं, त्यो बन्नबाट हामीलाई रोक्छन् । हाम्रो आफ्नै परिभाषा गर्ने क्रममा हाम्रो प्रस्थान विन्दु भनेको बिघ्नबाधाहरु विरुद्धको चुनौती र संघर्ष हो ।
 
संकट र परिवर्तनको प्रक्रियामा जन्मेको र आफ्नो समयका जोखिम र घटनामा गहिरोसँग घुलमिल भएको साहित्यले यथार्थका नयाँ प्रतीकहरुको सिर्जना गर्नमा साँच्ची नै सघाउ पु¥याउन सक्छ । प्रतिभा र साहसको अभाव नभएको खण्डमा यस्तो साहित्यले सायद बाटाका चिन्हहरुमा प्रकाश पारिदिन सक्छ । अमेरिकामा जन्म लिएर झेल्नु परेको जीवनको दुःखकष्ट र यसको सौन्दर्यको गीत गाउनु निस्सार कुरा होइन ।
 
कुनै पुस्तकका एक संस्करणमा छापिएका थानहरु वा त्यसको बिक्रीका आँकडाहरु हेरेर त्यस पुस्तकको प्रभावको वास्तविक नापोको भेउ पाउन सकिन्छ भन्ने छैन । कहिलेकाहीं लिखित कृतिले हाम्रा नाङ्गा आँखाले देखेको भन्दा कता हो कता बढी प्रभाव पारेको हुनसक्छ । लेखकले आन्तरिक आशङ्काहरु र सन्तापहरुद्वारा समूहका प्रश्न र आवश्यकतालाई अनुभूत गर्न जानेको छ भने उसले वर्षौं पहिले नै त्यस्ता प्रश्न र आवश्यकताका उत्तर दिन सक्छ । रचना लेखकको घाइते चेतनाबाट जन्मिन्छ र त्यसलाई संसारतर्फ प्रक्षेपित गरिन्छ । सिर्जना गर्ने काम भनेको ऐक्यबद्धता जनाउने काम हो । त्यो ऐक्यबद्धताले स्रष्टाको जीवनकालमा सधैं आफ्नो लक्ष्य पूरा नगर्न सक्छ ।
 
१०
आफ्ना लागि साधारण मरणशील मानिसलाई नदिइने दैवी विशेषाधिकारको दाबी गर्ने लेखकहरुको दृष्टिकोणमा मेरो सहमति छैन । न त व्यर्थको व्यवसायप्रति समर्पित जीवन बिताएकोमा आफ्ना छाती पिट्दै र लुगा च्यात्दै कोकोहोलो मच्चाएर सार्वजनिक क्षमा याचना गर्ने लेखकहरुसँग नै मेरो सहमति छ । लेखक भनेको त्यस्तो दैवी आत्मा पनि होइन र त्यस्तो घृणित जीव पनि होइन । आफ्ना सीमाहरुप्रति सजग हुनु भनेको पङ्गुपनाको अनुभूति गर्नु होइन । अर्थात् साहित्य भनेको कार्यको एउटा रुप हो, त्यसकारण यसमा कुनै पारलौकिक शक्ति हुँदैन । तर लेखकले साहित्यिक कृतिद्वारा अर्थपूर्ण अनुभवहरु र व्यक्तिहरुलाई जीवन्त तुल्याउने कार्य गरेमा ऊ जादूगरझैँ प्रभावशाली बन्नसक्छ ।
 
लेखिएका कुरालाई गम्भीर रुपले पढिन्छ र त्यसले पाठकको चेतनालाई केही मात्रामा परिवर्तन गर्छ वा मलजल गर्छ भने परिवर्तनको प्रक्रियामा लेखकको भूमिकाको औचित्यको पुष्टि हुन आउँछ । लेखकले यो भूमिका घमण्ड र आत्महीनताद्वारा नभई कुनै वृहत् चीजको एक सानो अंशका रुपमा आफुलाई स्वीकार गरेर पूरा गर्छ ।
 
मलाई कस्तो लाग्छ भने जसले शब्दलाई नकार्छन्, उनीहरु आफ्नै छायासित र आफ्नै मनको अनन्त चक्रब्यूहसित एकोहोरो बात मार्ने खालका मानिसहरु हुन् । तर हामीहरुमध्ये जो मानिसहरुको आजको अवस्था पीपकुण्ड होइन भन्ने निश्चित यथार्थको भावना उमङ्गका साथ बाँडचूँड गर्न इच्छुक छौं, उनीहरुका लागि भने शब्दको अर्थ छ । हामी प्रशंसकहरु होइन, आपूmसित दोहोरो कुरा गर्ने मानिसहरुको खोजी गर्छौं । हामी रमिता होइन, सम्वाद प्रस्तुत गर्छौं । हाम्रो लेखन सम्पर्क कायम गर्ने मनशायबाट सुसूचित हुन्छ जसले गर्दा पाठकहरु उनीहरुबाट हामीकहाँ आउने शब्दमा सामेल हुन सकून्, र ती शब्द आशा र भविष्यवाणीका रुपमा फर्केर उनीहरुकहाँ जान सकून् ।
 
११
साहित्यले एक्लै यथार्थलाई परिवर्तन गर्छ भन्ने कुराको दाबी गर्नु पागलपना देखाउनु वा घमण्ड गर्नु हुनसक्छ । यो परिवर्तन ल्याउनमा साहित्यले मद्दत गर्नसक्छ भन्ने कुरालाई इन्कार गर्नु पनि मलाई कम मूर्खतापूर्ण लाग्दैन । हाम्रा सीमाहरुप्रतिको सजगता निस्सन्देह हाम्रो यथार्थप्रतिको सजगता पनि हो । हाम्रा सीमाहरु हुँदाहुँदै पनि हताशा र शङ्काको हुस्सुको बीचमा यथार्थको सामना गर्न र त्यससँग भिड्न सकिन्छ । साथसाथै ती हताशा र शङ्काविरुद्ध उभिन सकिन्छ ।
 
यस सन्दर्भमा आफ्नै नाइटोबारे गरिने परम् आनन्दमय चिन्तनप्रति समर्पित संकीर्ण साहित्य जति व्यर्थको चीज हो, आपूmसँग विश्वस्त भएकाहरुका निमित्त लेखिने “क्रान्तिकारी” साहित्य पनि त्यति नै ब्यर्थको चीज हो । केही मानिसहरु छन् जो त्यस्तो साहित्यले के कुरा अघि सार्छ र के कुराको सञ्चार गर्छ भन्ने विषयमा पहिले नै विश्वस्त भएका सीमित पाठकहरुलाई सम्बोधन गरिने अत्यन्तै अतिरञ्जित खालको “उग्र” साहित्य लेख्छन् । यी लेखकहरुले आपूm जतिसुकै क्रान्तिकारी भएको दाबी गेर पनि आपूmले जस्तै गरी सोच्ने र अनुभूत गर्ने अल्पसंख्यकहरुका लागि लेखेर र त्यस अल्पसंख्यालाई उसले चिताएजस्तै चीज दिएर के नै पो जोखिम उठाउँछन् र ? यस्तोमा असफलताको सम्भावना नै रहँदैन न त सफलताको सम्भावना नै रहन्छ । व्यवस्थाले वागी सन्देशमाथि लगाएको नाकाबन्दीलाई साहित्यले चुनौती नदिने हो भने लेख्नुको के नै पो प्रयोजन छ र ? साहसी र चतुर, स्पष्ट र ग्राह्य हुनुमा नै हाम्रो प्रभावकारिता निर्भर गर्छ । हामी रिमरिमे अँध्यारोलाई अभिवादन गर्नका निमित्त यथास्थितिवादीले प्रयोग गर्नेभन्दा बढी निर्भीक र सुन्दर भाषाको सिर्जना गर्न सकौंला भन्ने मलाई आशा छ ।
 
१२
मलाई आफ्नो व्यवसायमा विश्वास छ; मलाई आफ्नो औजारमा विश्वास छ । जुन संसारमा मानिसहरु भोकले मरिरहेका छन् त्यहाँ लेख्नुको कुनै अर्थ छैन भनी तडकभडकसाथ घोषणा गर्ने लेखकहरु किन लेख्दा हुन्, म यो कुरा बुझ्न सक्दिनँ । न त म शब्दलाई आफ्नो रोष र अशिष्टतामा परिणत गर्ने मानिसहरुका कुरा नै बुझ्छु । शब्दहरु हतियार हुन् । यी हतियारहरुलाई असल वा खराबको पक्षमा प्रयोग गर्न सकिन्छ । अपराधको दोष कहिल्यै पनि छुरीमाथि थोपर्न मिल्दैन ।
 
मलाई के लाग्छ भने दण्ड भोग्नै नपर्ने गरी सम्प्रेषणमा बाधा पु¥याउने र विश्वासघात गर्ने उद्देश्यका लागि बारम्बार प्रयोग र दुरुपयोग गरिएको शब्दको उद्धार गर्नु नै आज ल्याटिन अमेरिकी साहित्यको प्राथमिक काम हो ।
 
मेरो देशमा “स्वतन्त्रता” भनेको राजनीतिक बन्दीहरुका निम्ति कारागारको नाउँ हो । अनि “लोकतन्त्र” भनेको चाहिं यातनाका अनेकौं रुपहरुलाई जनाउने शीर्षकको एक अंश हो । “प्रेम” भन्ने शब्दले मानिसको उसको गाडीसँगको नातालाई परिभाषित गर्छ, अनि “क्रान्ति” शब्दले चाहिं नयाँ डिटर्जेन्ट पाउडरले मानिसको भान्सामा के काम गर्छ भन्ने कुराको बयान गर्ने कुरालाई बुझाउँछ । “गौरव” खास किसिमको चिप्लो साबुनले त्यसको प्रयोग गर्ने मानिसमा जगाउने भावनाको नाउँ हो, अनि “सुख”चाहिं हट डग खाँदा चाल पाइने चेतना हो । ल्याटिन अमेरिकाका धेरै देशहरुमा “शान्तिपूर्ण देश”को अर्थ “राम्ररी हेरचाह गरिएको चिहानघारी” हो, अनि “स्वस्थ मानिस” भन्नाले कहिलेकाहीं “पङ्गु मानिस” भनेर बुझ्नुपर्छ ।
 
सास्ती र सेन्सरशीप हुँदाहुँदै पनि लेखनबाट अहिले र पछिको लागि हाम्रो समयको र हाम्रा मानिसहरुका भोगाइहरुको ज्यूँदो प्रमाण प्रस्तुत गर्न सम्भव छ । मानौं लेखकले यसो भन्नका लागि लेख्छ, “हामी यहाँ छौं, हामी त्यहाँ थियौं; हामी यस्ता छौं, हामी त्यस्ता थियौं ।” ल्याटिन अमेरिकामा नौलो साहित्यले स्वरुप ग्रहण गर्दैछ र तागत बटुल्दै छ । यो पाठकहरुलाई निदाउन झुलाइदिने साहित्य होइन, यो त बरु उनीहरुलाई ब्युँझाउने साहित्य पो हो । यो साहित्यले हाम्रा मृतकहरुलाई गाड्ने कुरा अघि सार्दैन, बरु यसले त उनीहरुलाई अजम्मरी तुल्याउने कुरा पो अघि सार्छ । यसले खरानीलाई उधिन्ने होइन, बरु आगो बाल्ने जमर्को गर्छ । यो साहित्यले लडाकु शब्दहरुको सशक्त परम्परालाई जगाउने र समृद्ध तुल्याउने काम गर्छ । हामीमा आस्था छ भने अतीतको स्मृतिदंश (नोस्टाल्जिया)भन्दा आशा नै उत्तम हो । सके यो फस्टाउँदो साहित्य साामजिक शक्तिहरुको सौन्दर्यलाई वाणी दिन लायक हुनेछ, जुन साामजिक शक्तिहरुले छिटो वा ढिलो, हरसम्भव प्रयासबाट इतिहासको बाटोलाई आमूल रुपले परिवर्तन गरेरै छाड्ने छन् । अनि सके यसले भावी पुस्ताहरुका लागि कविका शब्दमा “सबै चीजका सच्चा नाउँहरु” जोगाइराख्न सघाउ पुर्याउन सक्ला । (१९७६)
 
*यो निबन्ध खगेन्द्र संग्रौलाद्वारा अनुदित आठ लेखक विलियम मोरिस, आन्टोनियो ग्राम्सी, अल्बर्ट आइन्सटाइन, बर्तोल्त ब्रेख्त, विलियम हिल्टन, एडुवार्डाे गालिआनो, एडबर्ड सइद र हवार्ड जीनका एघारओटा वैचारिक निबन्धहरुमध्ये एक हो । अनुदित निबन्धको सङ्कलन प्रकाशोन्मुख छ ।
 

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out