एयरपोर्ट एउटा त्यस्तो ठाउँ हो जहाँ मान्छे रुन्छ पनि, हाँस्छ पनि। जहाँबाट मान्छे कतै जान्छ पनि, आउँछ पनि। त्यही एउटै ठाउँ, जहाँ कोही केही लिएर आउँछ, कोही सबथोक छाडेर जान्छ। एउटै ठाउँ, जहाँ बसेका भिन्न-भिन्न मान्छेमध्ये कसैको मुटु उम्लिन्छ, कसैको चिरिन्छ। कसैका आँखा शिशिरको दिनजस्तै उज्यालिएको हुन्छ, कसैको मनसुनजस्तै ओसिलो।
एयरपोर्ट भन्ने ठाउँ, यस्तै-यस्तै हुन्छ।
इन्टरनेसनल सेक्सनको वातावरण। भीडभाड, मानिसहरूको ओहोरदोहोर। केही ह्यान्डसम पाइलट, केही ब्युटिफूल एयर होस्टेज। धेरैजसोको हातमा सुटकेस, मानौं उनीहरू सुटकेस बिक्री गर्न आएका हुन्। राता, नीला, काला, हरिया, रंगीबिरंगी। अलिकति रंग छातीमा पनि टाँगिएको छ, खादाका रूपमा। फूलहरूलाई खादाले विस्थापित गरिसकेछ। कुनै दिन, इमोसन भन्ने चीजलाई पनि विस्थापित गरिदिने केही आउँछ कि !
रंगीबिरंगी मान्छे। गोरा, काला, खैरा, अनेक थरी रंगका, तर धेरैको अनुहारको रंग उडेको। देशी, विदेशी, तरुना-तरुनी, बूढा-बूढी, जापानिज, चाइनिज, अमेरिकन, युरोपियन, सप्पै थरीका मान्छे। भर्खर जर्मनीबाट काठमाडौँ ओर्लिएको एक समूह नेपालको म्याप खोतलेर फिँजाइरहेको थियो। 'आइ विल मिस यू माइ डियर,' एउटी नेपाली केटी अस्ट्रेलिया गैरहेका आफ्नो प्रेमीलाई टाइट हग गरेर आँखाबाट सुनकोसी र भोटेकोसी निकालिरहेकी थिई। केटो भने नरोए पनि एकदमै इमोसनल आँखाले केटीका आँसु पुछिरहेको थियो। भन्दै थियो, 'चिन्ता नगर, भाइबर छ, स्काइप छ, फेसबुक छ। सधैँ टचमा रहिरहन्छौँ नि !'
कैयौँ वर्षदेखिको उनीहरूको रियल लभ अब भाइबर र फेसबुकमा सीमित हुँदैछ। भर्चुयल हुँदैछ। मिस गर्नुको विकल्प के नै पो होला र ?
अर्को टर्मिनलमा एउटा जवान छोरो, जो घरखेत बन्धक राखेर साउदी हान्निदै थियो, उसकी आमा र बहिनी पनि सुँक्क-सुँक्क गरिरहेका थिए।
त्यसो त आउनेहरूका केही आफन्तको मनोदशा पनि हेर्न लायक थियो। सन्फ्रान्सिस्कोमा एउटा सेमिनारबाट तीन महिनापछि फर्किएका एक ४५ वर्षीय व्यापारीका दुइ छोरी आफ्नो पितालाई एराइभलमा देख्नासाथ यसरी उफ्रिए, मानौँ उनीहरूले केही महिनादेखि हरिण वा बाख्राका पाठोसँग ट्रेनिंग लिएर बसेका छन्।
'के ल्याइदिनुभो हामीलाई ?' आफ्ना पितालाई देख्नासाथ उनीहरूले सोधिहाले।
'सरप्राइज त्यो त,' कैयौँ दिनदेखि मुस्कुराउन बिर्सिएको पिताले छोरीहरूलाई जे ल्याइदियो त्यो त सुटकेसमा होला, तर ल्याएको भन्दा पाएकैले जित्यो। हो त, मुस्कुराउनै भुलिसकेका उनका लागि ती दुई कलिला छोरीले ओठमा मुस्कान ल्याइदिए। त्यो मुस्कान अमेरिकाको कुनै सहरमा उपलब्ध थिएन।
एउटा कालो गाडी बाहिर ठ्याक्कै रोकियो। सुरक्षाकर्मीहरूले विशेष पहरा दिएका थिए । एक जना वामपन्थी नेता गाडीबाट ओर्लिए। उनलाई रुघा लाग्या रै'छ। दिल्ली उपचार गर्न जान लागेका रे। पछिल्तिर पत्रकार, क्यामेराम्यान र कार्यकर्ता लिएर ठमठम गै विशिष्ट कक्षमा गएर बसे। फोटोका फ्ल्यास बिजुलीजस्तै चम्किरहेका थिए। एयरपोर्टमा आ-आफ्नो धुनमा भएका सम्पूर्ण यात्रु तथा तिनका आफन्तको ध्यान मोडियो। एकछिनलाई सबैका आँखा व्यस्त भए।
'मेरो बाबु अब म कसको मुख हेरेर बाँच्नु। मलाई किन आएन काल ?' रमाइलो वातावरणभन्दा अलिक पर एउटी वृद्ध महिला छाती पिट्दै रोइरहेकी थिइन्। कैयौँ सपना र रहरहरू साथ लिएर कतार हिँड्को छोरो निर्जीव अवतारमा काठको बाकसमा प्याक भएर आएछ। उसको नाबालक छोरो भने 'हजुरआमा किन रोएकी होलिन् ?' भनेर छक्क परेर हेरिरहेको थियो। मृत्युवियोगमा रुनुपर्छ भन्ने भावमा रुन पनि नजान्ने अवोध बालक। कठै !
एयरपोर्ट। यस्तो ठाउँ हो, जहाँ आधा मान्छे खुसी लिएर आउँछन् र आधा खुसी छाडेर जान्छन्। हाम्रो जीवन पनि एयरपोर्टजस्तै हो। हाम्रो जीवनमा पनि केही मानिस खुसी लिएर आउँछन्, केही खुसी खोसेर जान्छन्।
No comments:
Post a Comment