Saturday, 9 February 2019

जससँग जँगलका बाघ उपचार गर्न आउँथे


जससँग जंगलका बाघ उपचार गर्न आउँथे

क्याप्टेन आरपी प्रधा

सयोगीहरू एकै आ श्रममा रहेर निरन्तर परमात्मा चिन्तनमा मग्न रहन्छन्, जसलाई योगदर्शनमा चित्तवृत्तिनिरोध भनिन्छ। यिनै अनुयायी, चिन्तनशील र योगाभ्यासीहरू योगमा सिद्धहस्त भई अलौकिक शक्ति प्राप्त गर्छन्। शास्त्रअनुसार आत्मज्ञानी, तत्वज्ञानी, ब्रह्मज्ञानी आदि महात्माहरूमा अद्भुत, अलौकिक शक्ति तथा जादुजस्तो आश्चर्यजनक गुप्त सीप वा ईश्वरीय गुण निहित रहन्छ।

अष्टांग योगका सिद्धिहरूका सफल साधकहरू अन्तर्यामी बन्छन् र ज्ञानचक्षुले पृथ्वीपर अन्तरिक्षपर्यन्त अवलोकन गर्ने क्षमता राख्छन्। पछि आउने समय तथा भविष्यत् कालबारे तिनका भनाइमा सत्यता हुने हुँदा तिनलाई भविष्यज्ञाता भनिन्छ। अष्टसिद्धिको त्यही नै भावातीत अवस्था हो– भाव वा कल्पनाले पनि ठम्याउन नसकिने। योगशास्त्रअनुसार भावनाभन्दा पर रहेको हुन्छ तत्व।

मानिस आफ्नो भावनाले नै सुखी र दुःखी हुन्छ, विचार–विज्ञानमा श्रद्धेय बाबा लेख्नुहुन्छ– न देवो विद्यते काष्ठे न पाषाणे न मृण्मेय। भावे ही विद्यते देवस्तस्माद् भावो ही कारणम्।। अर्थात् काष्ठ, पाषाण, मृण्मय (काठ, ढुंगा, माटो आदिले बनेको) मा देवता छैनन्। यी आकृति–प्रतिमामा देवता देख्नुको कारण नै भावना हो।

हामी आफ्ना भावबाटै बिष्टाका कीरा र आफ्ना भावबाटै ब्रह्मा बन्छौं र आफ्ना भावबाटै तपस्याद्वारा ज्ञान प्राप्त गरी सर्वदुःखबाट मुक्त हुन सक्छौं। अनेक श्रुति–स्मृतिहरूमा भावलाई नै श्रेष्ठ भनिएको छ। हामीमा भाव स्वतन्त्रता छ। अतः श्रद्धेय बाबा भन्नुहुन्छ, ‘भावको शुद्धि गर र ज्ञान प्राप्तिका साधनामा प्रवृत्त होऊ, आफ्नो स्वरूपलाई जान र शोक सागरबाट पार होऊ।’

मानव शरीरको बनावट भगवान्ले जैविक दृष्टिकोणले जटिल, विषम् एवं उत्कृष्ट र भावनात्मक दृष्टिले उच्चस्तरीय। धर्म साधना गर्न धेरै सहज नहोस् मनुष्य जीवनभर प्रयत्नरत रहून् भन्ने ध्येयले हो कि सायद केही तुष वा विकार देहमा छाडिएको छ। ती दोषयुक्त अंगहरू हुन्– मन, आँखा र इन्द्रियहरू। प्रायः मनुष्यको मन अशुद्ध छ, अपवित्र र अहंकारी। आँखा हिंसालु छन्। अरूको भलो हेर्न नचाहने अर्थात् हिंसात्मक भावनायुक्त। इन्द्रियहरू अनियन्त्रित छन्– स्वच्छन्द तथा उन्मुक्त।

दस इन्द्रियहरूमध्येका ज्ञानेन्दियहरू (कान, छाला, आँखा, जिब्रो र नाक), कर्मेन्दियहरू (मलद्वार, जनेन्द्रिय, हात, गोडा र वाणी), बहिःकरण (ज्ञानका बाहिरी स्थूल साधन) र भित्री सूक्ष्म ज्ञानका साधन तथा अन्तःकरणका संस्कार (मन, चित्त, बुद्धि र अहंकार) हुन्। अर्थात् इन्द्रियहरूले बाह्य स्थुल कार्य गर्छन् भने अन्तःकरणले भित्री सूक्ष्म कार्य गर्छन्। त्यसमध्ये मन अन्तःकरणको महत्वपूर्ण अंग मानिन्छ, जसलाई चरकसंहिताले ‘आभ्यन्तर इन्द्रिय’ भनेको छ।

शास्त्राकारहरूले यसलाई ‘छैटौं इन्द्रिय’ भनेका छन्। जसरी बाह्य रूप आदि ज्ञानको बोध गराउने इन्द्रिय आँखा हो, त्यसै प्रकार सुख–दुःख आदि ज्ञानको अनुभूति गराउने इन्द्रिय मन हो। भनिसकियो– मानिसका आँखा हिंसालु (अरूको भलो हेर्न नचाहने) र मन अशुद्ध, अपवित्र र अहंकारी छ। यी दोषयुक्त अंगहरू साधनाका वाधक हुन्छन्।

तसर्थ शुद्धीकरण अपरिहार्य हुन्छ। छान्दोग्योपनिषद् (७।२६) मा भनिएको छ, ‘भोजनको शुद्धिबाट सत्वको शुद्धि हुन्छ र सत्व शुद्धि भएपछि निश्चय पनि स्मृतिलाभ हुन्छ। स्मृतिलाभ भएपछि साधनासिद्धि सुलभ हुन्छ।’ विकारबाट दोषमुक्त हुने शुद्धीकरणका उपाय यिनै हुन्। यिनका कुनै छिटोछरितो उपाय छैनन्। जीवनभर, जुगजुग परम् लक्ष्य प्राप्ति नहुँदासम्म निरन्तर साधनारत रहने यो पद्धति हो।

मानिस र वन्यजन्तुबीचको आत्मीयता

मानिस र वन्यजन्तुबीच समानता, तुल्यता वा रस–गुण–धर्म आदिमा एकरूपता प्रायः हुँदैन र देखिँदैन पनि सर्कसमा बाहेक। किनभने निरन्तरको व्यायाम, अभ्यास र तालिमद्वारा सिपालु मानिस तथा पशुहरूद्वारा प्रदर्शन गरिने कुतूहलपूर्ण र आश्चर्यजनक खेल तमासा हो– सर्कस, जसमा मानिस र पशुहरूबीच पनि मेलमिलाप वा एकरूपता जस्तो देखाइन्छ। हिंस्रक र विषालु वन्यजन्तुमध्ये मानिससँग राम्रो सम्बन्ध रहेकोमा सपेरा र सर्प औ भालु र पालकबीच नै होला सायद।

यी दुवै खतरनाक भए पनि पालकले तिनलाई लामो समयसम्मको अभ्यास र तालिमद्वारा संगीतको तालमा र लयअनुरूप ती जन्तुद्वारा गरिने नाच प्रदर्शन कुतूहलपूर्ण खेल–तमासा सडकका दर्शकहरूले मनोरञ्जनात्मक रूपमा लिन्छन्। हात्ती पाल्तु वन्यजन्तुमध्ये सबैभन्दा ठूलो र उपयोगी पनि हो जंगल र कृषि व्यवस्थापन कार्यका लागि। माउते र हात्तीबीचको सम्बन्ध हेर्दा कहिलेकाहीं यसले मानिसबीचको आत्मीयतालाई समेत उछिनेको देखिन्छ। यसको उदाहरण यहाँ सान्दर्भिक देख्छु।

राजा महेन्द्रको चितवन सिकार क्रममा एक दिन माहुते (नाम बिर्सें) ले बाघसँग निडर हस्तिनी ‘अनारकली’ लाई सिनो खाएको बाघको पाइला पच्छाउँदै ढड्डीमा हेली अपत्याशित रूपमा राजा महेन्द्रलाई बाघको सामुन्ने मुठभेड गराइदिएछ। राजाको एक गोलीमै बाघको प्राण गयो। ट्रफी राम्रो परेछ, ठूलो मापनको। बाघको नाप विश्वभरि तौलमा नभई लम्बाइमा लिइन्छ नाकको टुप्पादेखि पुच्छरको टुप्पोसम्म।

राजाले खुसी भएर साँझको पार्टीमा खानपिउन माहुतेलाई पनि बोलाएछन्। माहुते पनि अनारकली हात्ती नै चढेर शाही सिकार शिविरमा आयो। सबै पाहुनालाई पेय पदार्थ पस्केपछि माहुतेलाई पनि डब्बल पेग ह्विस्कीको गिलास दिइएछ। माहुतेले ‘मेरो गिलासबाट पिउने बानी छैन हजुर’ भनेपछि सरदार मधुसूदन राजभण्डारीले उसका हातमा जोनी–वाकर ह्विस्कीको बोतलै थम्याइदिएछन्।

उसले एक घुट्कीमै एकचौथाइ बोतल रित्यायो। त्यो देखेर राजाबाट आज्ञा भएछ, ‘दिनभरिको कडा परि श्रमले थकित माहुते भोकाएको होला, प्रशस्त नास्ता–खाना देऊ, नत्र रक्सी लाग्ला।’ एक घन्टामै माहुते ह्विस्कीको नशामा डुबेछ। मधुसूदनले माहुतेलाई जिस्क्याउँदै ‘ए अनारकली मर्‍यो नि, तिमीले सुन्यौ ? ’ भनेका मात्र थिए, ऊ कहालिँदै रुन थाल्यो प्राणभन्दा प्यारो आफ्नो हात्ती मरेको सुनेर।

खुट्टामा बाँधेको फलामे साङ्लो चुँडाल्दै, शाही कम्पाउन्डको सायर भत्काउँदै अनारकली क्याम्पभित्र आएछ। आफ्नो आत्मीय माहुतेलाई सुँडले उठाई ढाडमा अड्याएर अनारकली हात्तीसारतिर लम्किएछ। मानिस र पशुबीचको आश्चर्यलाग्दो यो बन्धुत्व सजातीय बन्धु–बान्धवकै जस्तो लाग्यो।

हिंस्रक बाघ र सिकारी

बाघ वन्यजन्तुमध्ये बलियो र हिंस्रक जनावर हो। विश्वमा पाइएकामध्ये ८० प्रतिशत बाघ ‘¥वायल बंगाल टाइगर’ को नामले प्रचलित छन्, जुन नेपाल, भारत, बंगलादेश र भुटानमा मात्र पाइन्छन्। नेपालमा यसलाई पाटेबाघको नामले चिनिन्छ। हेर्दा राम्रो तर स्वभावले झोक्की, रिसाहा र आक्रामक हुन्छन्।

वेगले दौडिने र तीस फिटजति हामफाल्न सक्ने भएकाले यसले प्रायः मृग, हरिण, अर्ना, बँदेल, हात्तीका बच्चाको सिकार गर्छ। बूढो वा घाइते बाघ जंगली पशु पक्रन नसक्ने भएकाले सहज आहारका लागि प्रायः मनुष्यहारी बन्ने गर्दछ। अर्थात् सयकडा ०.००३५ प्रतिशत बाघ नरभक्षी हुन्छन्।

महेन्द्रनगरको अन्डिया जंगलमा राजा महेन्द्रको सिकार शिविर थियो २०२१ को फागुनमा। म हेलिकप्टर चालक। राजाका विशिष्ट पाहुना थिइन् प्रसिद्ध अमेरिकी सिकारी भर्जिनिया क्राफ्ट। एक दिन उनलाई बाघसँग अन्तरक्रिया गर्ने मनसुवा भएछ। त्यसपछि उनले बघिनीको बोली निकाली बाघलाई बोलाइन्। उनी बाघ आह्वान गर्न सफल भइन्।

मानिस र वन्यजन्तुबीच मनमा उब्जेका शुद्ध भावका कारण घनिष्ट आत्मीयता हुँदो रहेछ भन्ने कुरा खप्तडबाबा र बाघबीचको मित्रताबाट स्पष्ट हुन्छ।


बाघले २५ फिट मचाननजिक आएर भर्जिनियालाई ट्वाल्ल हेरिरह्यो। उनले पनि आफ्नो पुकार सुनेर मद्दत गर्न आएको करूणादायी बाघलाई विह्वल भएर एकटकले हेरिरहिन्। सिकारी र बाघबीचको द्वन्द्वात्मक भावना एकाएक आत्मीय, हार्दिक तथा बन्धुत्वमा परिणत भयो। मन व्याकुल तथा क्षुब्ध भयो।

माया र मानवता कहिलेकाहीं जंगली पशुमा समेत हुँदो रहेछ। मुटु छुने, मन कोमल र द्रवित तुल्याउने। यो स्थिति मारक सिकारीको हृदयमा कसरी सृजना भयो ? यो यथार्थ भर्जिनिया आफै पनि बुझ्न असमर्थ भइन्। यसको प्रत्यक्ष उत्तर खप्तडबाबाको विचार–विज्ञानमा पाउन सकिन्छ।

महात्मा र बाघबीचको भेट

२०३३ जेठ २० गते श्रीमती रेणुकालाई लिएर खप्तडबाबाको दर्शनार्थ खप्तड पुण्यभूमि गएको थिएँ म। साथमा थिए भाइ उपेन्द्रप्रकाश र साथी ध्रुवराज पुरी पनि। खप्तडबाबा पहिलोपटक दर्शन पाएका भक्तहरूले बुझ्ने गरी उपदेश दिनुहुन्थ्यो। पुरी कोही गोठाला भेटे भने एकान्तमा लगेर बाबाका चमत्कार वा शक्तिबारेमा पुछताछ गर्थे। एकजनाले भनेछ, ‘हाम्रा बाजे स्वामीकहाँ दूध पु¥याउन जाँदा बाघको पञ्जाबाट काँडा झिक्याको देखेर दूधको भाँडो नै फ्याँकेर भागेछन्।’ यो सुनेपछि पुरी आफ्नो मनका जिज्ञासा मेट्न ट्रान्जिस्टरमा टेप भर्न थाले।

बाघजस्तो डरलाग्दो हिंस्रक जनावरको पञ्जाको काँडा झिकी उपचार गर्दा केही जोखिम हुँदैन र ? एक दिन बूढानीलकण्ठ आ श्रममा सोध्दा बाबाले भन्नुभएको थियो, ‘आँखा मनको दर्पण हो। मनको सूक्ष्म भावना पनि आँखाबाट प्रदर्शित हुन्छ। यो अहिंस्रकले मात्र चाल पाउँछ। जब भाव अलि उग्र हुन्छ, आँखा राता हुन्छन्, तब अनुहारबाट चित्त संस्कारको अनुभूति हुन्छ।

अझ उत्तेजित भएपछि शरीरबाटै सबैले थाहा पाउँछन्। उसको दीनहीन अवस्थाप्रति मेरो मनमा उठेको कारुणिक भावना बाघले मेरा आँखा हेरेर थाहा पायो होला। उसको मनको दयनीय याचनायुक्त भाव मैले उसका आँखामा पाएँ। त्यसपछि हामीबीच डर, भय, त्रास वा जोखिमको क्लेष बाँकी रहेन। काँडा झिकेर मलमपट्टी गरिदिएँ। फेरि पछि आयो पट्टी खोलिदिएँ आदि।’

‘खप्तडबाबासँगको भेटमा मैले सँगालेको अनुभव’ मा प्राज्ञ यज्ञराज उपाध्यायले स्वामीसँग राखेको जिज्ञासा यस्तो छ, ‘स्वामीजी, हजुरले बाघको खुट्टाबाट काँडा झिकिदिनुभएको थियो रे ! यो कुरा म बाह्र वर्षको हुँदा बुवाको मुखबाट सुनेको थिएँ।’ बाबाले हाँस्दै भन्नुभएछ, ‘हो बाबू, यो सत्य हो।

म बेलुकी कुटीमा पूजा गरिरहेको थिएँ। एउटा बाघ आएर कुटीको ढोकाको अगाडि लम्पसार परेर मतिर खुट्टा तेस्र्यायो। मैले पूजा सकेर बाघको खुट्टा समाएर हेरें। निँगालाको तीखो ठोसा खुट्टामा बिझेर रगताम्मे भएको रहेछ। मैले चिम्टाले ठोसा झिकेर औषधी लगाइदिएँ, बाघ उठेर आफ्नो बाटो लाग्यो। (खप्तडबाबा स्मृतिपुञ्ज, २०७०, पृष्ठ– १४९)।’

यसैगरी साधक राधा स्वामी योगबारे जिज्ञासा र विभिन्न अवरोधित मार्गबारे छलफल गर्न खप्तडबाबाकहाँ जानुभएछ। उहाँले छान्ना (बझाङ) मा बाबाको दर्शन पाउनुभएको रहेछ। बाबासँगको आफ्नो अनुभूति व्यक्त गर्ने क्रममा खप्तडको बाघ सम्बन्धमा ‘परमहंस खप्तड स्वामीसँग योग चर्चा’ मा उहाँले लेख्नुभएको छ, ‘खप्तड स्वामीको अहिंसा सिद्धिका कारण नै धुनीनजिक रात्रिकालमा बाघले काँडा बिझेको पन्जाबाट काँडा झिकाई स्वामीकहाँबाट फर्केको घटना भएको अहिंसा सिद्धिको प्रायोगिक पक्ष हो।’

योगकै सिद्धान्तमा अहिंसा प्रतिष्ठायां तत्सन्निधौ विरोध त्यागः मा उल्लेख भएअनुसार जुन साधक ऋषिले अहिंसाको महाव्रत पालनामा निरन्तरता दिन्छ, तिनका सामुन्ने समस्त प्राणीले परस्पर वैरभाव त्याग गर्दछन्। अर्थात् मानव र हिंस्रक जन्तुबीच वैरभाव समाप्त हुन्छ, सर्प–भ्यागुता वा मुसा–बिरालोमा अहिंसा सिद्धिका कारण वैरभाव मैत्रीमा परिवर्तित हुन्छ (खप्तडबाबा स्मारिका, २०६०, पृष्ठ– १०)।

मानिस र वन्यजन्तुबीच मनमा उब्जेका शुद्ध भावका कारण यस्तो घनिष्ट आत्मीयता कसरी हुँदो रहेछ भन्ने प्रस्ट पार्न हात्ती र माहुते तथा बाघ र सिकारीको उदारहरणबाट प्रस्ट हुन्छ। तर खप्तडबाबा र खप्तडको बाघबारे घटना भने यसभन्दा भिन्न छ। सिद्ध महात्मा, महापुरुष तथा योगीराजमध्ये कोहीकोहीले अष्टसिद्धि प्राप्त गरेका हुन्छन्।

यिनै कारणले हो अहिंस्रक खप्तडबाबा र हिंस्रक बाघबीच अनौठो सामञ्जस्य स्थापित भएको। बाबासँग यसबारे सोध्दा उहाँ भन्ने गर्नुहुन्छ, ‘म यस खप्तड जंगलमा पचासौं वर्ष बाघ, भालू, पशुपक्षीसँगसँगै बसें। उनीहरू मलाई राम्ररी चिन्छन् र म उनीहरूलाई। हामीबीच लामो समयदेखि मित्रभाव छ। छ मितेरी र सँगाती।’
सभार: अन्नपूर्ण पोस्ट

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out