Sunday, 16 December 2018

एक अजीवको यौन मिथक


     
"पुरुष सुक्त'मा भनिएको छ, ‘चन्द्रमा मनसो जात' अर्थात् चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ। एक असामान्य मानसिक अवस्थालाई अंग्रेजीमा ‘ल्युनासी' भनिन्छ जो चन्द्रमा जनाउने शब्द ‘लुनार'बाट बनेको हो। मानसिक बिरामीलाई चन्द्र–पक्षले तलमाथि गर्ने कुरा त जगजाहेर नै छ।

महाभारत चन्द्रवंशीहरूको कथा हो। यसर्थमा महाभारत खासमा लहडीहरूको कथा हो। मानसकथा हो। कल्पनाको एक सीमाहीन कथा जहाँ जे पनि सम्भव थियो। मानव मस्तिष्कले गर्ने कल्पना कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नको उत्तर हो महाभारत। महाभारतको बारेमा एउटा भनाइ छ— संसारमा त्यस्तो कुनै मानवीय घटना भएकै छैन र हुने पनि छैन जो महाभारतमा कल्पना नगरिएको होस्।
आजको यो आलेखमा म महाभारतको मनिखाँबोमा रहेर हिन्दु मिथकमा रहेका फरक यौनिक प्रसंगहरूलाई कोट्याउने प्रयास गर्नेछु। आ–आफ्ना बौद्धिकता अनुसारले यसमाथि फरक प्रकारका सन्तुष्टि, असन्तुष्टि वा आरोपसमेत आउन सक्छन् भन्नेमा सचेत छु र ती सबैलाई सम्मान गर्ने पुर्वघोषणा गर्दछु। 
महाभारत र यसले समेट्ने पुराण कथाहरूमा वर्णित यौन क्रियाकलाप र सन्तान उत्पादनको प्रक्रिया अति अनौठो लाग्ने गरी राखिएको छ। भनिन्छ— मिथकीय पात्रले देखाउने चरित्र भनेको अवचेतनमा अन्तरनिहित हाम्रो आफ्नै स्वभावको चरित्र हो। महाभारत लगायतका ग्रन्थहरू जसरी समाजमा अति प्रचलित र प्रिय हुनुको पछाडि सायद त्यही अवचेनले काम गरेको छ।
रजनिश ओशोले द्रौपदीको वस्त्रहरणको बेला भीष्म, विदुर, द्रोणाचार्य, कृपाचार्य लगायतका महापुरुषहरू मौन रहनुमा उनीहरूमा ‘द्रौपदीलाई नांगै हेर्ने मोह थियो' भनेर व्याख्या गर्दा ‘लौ केके न भन्यो' भन्नेहरू थिए। ओशोले फ्रायडको मनोवैज्ञानिक विवेचनालाई महाभारतमा प्रयोग गरे। तर आज मलाई लाग्छ, ओशोले फ्रायडलाई प्रयोग गरेर गलत गरे। यौन मनोविज्ञानको पूर्वीय बहस हेर्दा फ्रायड प्लेगियारिस्ट मात्रै सुनिन्छ। यौन सम्बन्धमा पूर्वले बनाएका मान्यताहरूबाटै यसको विवेचना गर्न सकिन्थ्यो। 
महाभारत कथाको एउटा सारसत्य के हो भने यसका प्रमुख पात्रहरू सबैको जन्म असामान्य यौन व्यवहारबाट भएको छ। तिनीहरू नरनारीको सामान्य सेक्स र गर्भाधारणको सामान्य अवधिबाट जन्मेका छैनन्। कुनै एउटै पात्र पनि सामान्य जन्मका छैनन्, व्यहोराका छैनन्। श्रीकृष्ण, सत्यवती, द्रौपदी, भीष्म, पाण्डव, कौरव, व्यास, शिखण्डी लगायतका सबैको जन्म समान्य छँदै छैन।
जस्तो कि स्वयं श्रीकृष्णको परिवारमा हेरौं। आमा देवकी, बाबु वासुदेवसँगै कंशको जेलमा हुँदा सातांै सन्तानको रूपमा कृष्णका दाजु बलराम देवकीको पेटमा हुन्छन्। तर देवताहरूले बलरामको भ्रुण रोहिणीको गर्भमा सारेर देवकीकै गर्भमा चाँहि देवी योगमाया बसेको प्रसंग त्यहाँ पाइन्छ। के त्यति बेला भ्रुण स्थान्तरणको साँच्चैको काम गरिएको थियो वा कल्पनामात्रै? के यो सोरोगेट मदरहुडको प्रसंग नै हो त? वा अरू केही? 
हेरौं शान्तनुलाई। शान्तनुले गंगालाई बिहे गरी भीष्म जन्मिए। एक सामान्य मानवको गंगा अर्थात् नदीसँग कसरी विवाह सम्भव हुन्छ? सम्भवत गंगा माझी समुदायकी एक विम्ब महिला हुन्। जसको परिचय गोप्य राख्न उनलाई गंगा नदीको समकक्षमा उभ्याइएको थियो। नदीलाई देखेपछि कामातुर हुने मनोरोग हुन्छ केही मानिसमा। पानीको स्पर्शले आह्लादित हुने यस्तै मनोरोगी पो थियो कि शान्तनु? जसले कामावेशका सामान्य मछावारा केटी गंगालाई गर्भवती बनायो? नभन्दै यस्तै गरी नदी किनारमै अर्की मत्यकन्या सत्यवतीलाई देखेपछि पनि उसको यौनग्रन्थि रनाहा परेको थियो।
सत्यवतीकै जन्मको प्रसंग पनि सहज र प्राकृतिक छैन। हरिवंश पुराणअनुसार सत्यवती श्रापले गर्दा माछा बनेर बसेकी अद्रिका नामकी अप्सराकी छोरी हुन्। चेदीका राजा बसुले सिकारमा जाँदा आफ्नी रानीको सम्झना मात्रले कामातुर भई वीर्य स्खलन गरेका थिए। सो वीर्यलाई उनले चिलमार्फत रानीकहाँ पठाए तर बाटोमा अर्को चिलसँग लडाइँ हुँदा चुच्चोबाट यमुना नदीमा खस्यो। खसेको वीर्य पान गरिन् माछाको योनीमा रहेकी अद्रिकाले र गर्भवती भइन्। एक माझीले उनलाई पक्रेर काट्दा पेटमा दुई स्त्री र पुरुष मानव सन्तान देखे। जसलाई उनले राजाकहाँ लगे। राजाले केटालाई राखे र केटीलाई तिनै माझीले पाले। केटीको शरीरबाट माछाको गन्ध आउँथ्यो यसैले उसको नाम नै मत्स्यगन्धा राखियो। पछि गएर मात्रै उनको नाम सत्यवती भयो। 
यो हो जन्मको कुरा। कामसुत्र अनुसार माछाको गन्धयुक्त योनीरस भएका स्त्रीहरू जोकोहीलाई पनि कामावशमा पार्न सक्ने हुन्छन् भनिएको छ। हुन पनि उनी त्यस्तै थिइन्। यमुना नदीमा माझीको काम गर्दा एक दिन उनको डुंगामा आइपुग्ने पराशर ऋषि उनको त्यही गन्धका कारण कामभावनाले ग्रस्त हुन्छन्। आफ्नो कुमारित्व सुरक्षित रहनुपर्ने र आफ्नो सन्तान जन्मेको कुरा गोप्य रहनुपर्ने सर्तमा पराशरको यौन याचनालाई सत्यवतीले स्वीकार गर्छिन्। सोही दिन जन्मेका हुन् महर्षिवेद व्यास। जो जन्मिँदाकै दिन बढेर हुर्केर देशावरमा हिँडेका थिए। यिनै महाशयले जो लेखे महाभारतको कथा।
तिनै मत्यगन्धा सुन्दरीको वशमा परे राजा शान्तनु। आफ्ना सन्तानले राजा हुन पाउने भएमात्रै शान्तनुसँग जाने सर्त राखेकै कारणले (?) भीष्मले राजगद्दी त्याग्ने र अविवाहित रहने प्रतीज्ञा गरे। शान्तनुबाट यिनले चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्माइन्। चित्राङ्गद अविवाहित नै मरे भने विचित्रवीर्य अम्बिका र अम्बालिका बिहे गरेपछि सन्तान नजन्मँदै मरे। सोही कारणले सत्यवतीले नियोगका लागि आफ्नो पहिलो छोरा व्यासलाई डाकिन्।
यही नियोगबाट अम्बिकाबाट पाण्डु र अम्बालिकाबाट धृतराष्ट्र जन्मेका हुन्। कथाअनुसार सेक्स पार्टनरको रूपमा डरलाग्दो योगी व्यासलाई देखेकाले अम्बिकाले आँखा चिम्लिइन् फलस्वरूप धृतराष्ट्र अन्धो जन्मिए। त्यस्तै डरले पहेँलै भएर अम्बालिका सेक्समा सामेल भएको हुनाले रक्तअल्पता भएको पहेलो वर्णको पाण्डु जन्मे। तर तेस्रो नियोगका बेलामा डरले उनीहरूबाट पठाइएकी दासी परिश्रमी भने शान्त रहेको हुनाले शान्त तथा स्वस्थ विदुर जन्मे। महाभारतले भनेको यस्तै छ। 
किस्सा र कथाले देवव्रत अर्थात् भीष्मको अविवाहित रहने प्रतीज्ञा उनको पिताको मत्स्यकन्यासँगको प्रेमका खातिर थियो भनिए पनि महाभारतमा भीष्मका केही शंकास्पद भनाइ पाइन्छन्। प्रतीज्ञा लिँदाका बखतबाटै भीष्मलाई आफ्नो लैंगिकताको ज्ञान थियो भन्ने विवेचना आजकाल बजारमा छन्। पुरुषमा आसक्त हुने गुण थियो थिएन भन्न नसकिए पनि उनमा आइमाईसँग अनासक्त रहने यौनिक गुण थियो। उनले आइमाईहरूलाई घृणा गर्दथे भन्ने विवेचना गर्न अनेक प्रमाण महाभारतभित्रै पाइन्छन्। उनले नरनारीबीच हुने यौन र विवाहलाई ‘मानव जातिको पतन भएपछि आएको प्रचलन' भनेर विवेचना गरेको प्रसंग महाभारतमा पाइन्छ। के उनी समलिंगी थिए त?
श्रीकृष्णका सम्बन्धहरू पनि मापाका छन्। उनले हरेक सम्बन्धलाई सम्पूर्णतामा निभाउन सकेका थिए। यस मानेमा कुनै पनि सम्बन्धको गहिराइ श्रीकृष्णको भन्दा गहन हुने कल्पना गीताले गर्दैन। श्रीकृष्णलाई प्रेमका प्रतीक त्यसै भनिएको होइन। उनले प्रेमका तमाम सम्बन्धलाई पराकाष्ठाबाटै भोगेको हुनाले उनलाई अवतारहरू मध्येका सर्वाधिक महान् भोक्ता पनि भनिन्छ। विष्णुका अवतारमध्ये उनको ‘मोहिनी रूप' काफ्काको मेटामर्फोसिसलाई मात ख्वाउने छ। उनी वाइसेक्सुअल थिए भन्ने प्रशस्त आधार वैदिक ग्रन्थमा पाइन्छन्। जस्तो कि भागवत गीतामा अर्जुनलाई भन्छन्— 
तिमी नै म हौ र म तिमी हुँ। जे मेरो हो त्यो नै तिम्रो हो। जसको साथ तिमी छौ उसको साथ म पनि छु। जसले तिमीलाई पछ्याउँछ, उसले मलाई पनि पछ्याउँछ। हे पार्थ, तिमी मबाटै सिर्जित हौ र म तिमीबाट। (वन पर्व) 
त्यस्तै द्वारिका फर्कनु अघिल्लोे रातको यस्तो प्रसंग छ—
महाशक्तिशाली कृष्ण धनन्जयको खोपीमा गए। उनको अर्चना गरेर सम्भव भएसम्मको सेवा गरी आनन्द उठाए। महाबुद्धिशाली कृष्णले त्यो रात धनञ्जयसँग एउटै बिस्तरामा आनन्दपूर्वक बिताए। (अश्वमेध पर्व) 
मित्रता अर्थात् मित लगाउने विधि र वैवाहिक विधि वैदिककालमा उस्तै थियो। भनिन्छ— सप्त पदम् हि मित्रम् अर्थात् आगोलाई साक्षी राखेर सातफन्का लगाउनाले मित्रता हुन्छ। रामले सुग्रिवसँग यसरी नै मित लगाएका थिए। कृष्णले अर्जुनलाई मित भन्दथे।
हिन्दु मिथकमा जन्मका असामान्य प्रक्रियाका अनेक किस्ता छन्। जस्तो कि रामायणमा सीता जमिन (माटो) बाट र महाभारतमा द्रौपदीलाई आगोबाट जन्मेका महिलापात्र हुन्। त्यस्तै महाभारतको जरासन्ध दुइटा आइमाईबाट आधाआधा जन्मेको हो। पछि एक राक्षसीले उसलाई जोडिदिएकी थिई। शिव पुराणमा शिवपुत्र कुमार अर्थात् कार्तिर्के पनि अग्निबाट जन्मेको भनिएको छ। उसलाई श्कन्द पनि भनिन्छ। अग्नीले शिवको वीर्यपान गरेपछि श्कन्ध जन्मेका थिए। भागवत पुराणअनुसार शिव र विष्णु (मोहिनी रूप)को समयोगबाट अयाप्पन जन्मेको थियो। त्यस्तै गणेशको जन्म गर्भाशयबाहिरबाटै भएको थियो। त्यस्तै अर्को अनौठो जन्मको प्रसंग पुराणमा पाइन्छ। भगवान् शिवको आदेशानुसार दुई विधवा स्त्रीको संसर्गबाट भागीरथको जन्म भएको थियो। भागीरथ शब्दमा प्रयुक्त भगको अर्थ स्त्री जनेन्द्रिय भन्ने हुन्छ। क्रित्तिभाको रामायणमा यो प्रसंग छ। 
द्वैमाताको यो यस्ता प्रसंगले समलैंगिक व्यवहारको पुष्टि गर्दैन भन्न सकिन्न। जस्तो कि अग्निलाई द्वैमात्री पनि भनिन्छ। यसको अर्थ दुई आमाबाट जन्मेको भन्ने हुन्छ। द्यौस र पृथ्वी अर्थात् आकाश र धरतीलाई यसको आमा मानिन्छ। संस्कृत भाषामा आगो निकाल्ने दाउरा स्त्रीलिंगी नाम हो। स्मरण के गर्न सकिन्छ भने फ्रिक्शन (घर्षण) ले आगो उत्पन्न हुन्छ नकि पेनेट्रेशन (गमन) ले। यसैले अग्निको जन्मलाई पनि समलैंगिक मान्न सकिन्छ। त्यसो त ऋग्वेदमा अग्नि उत्पन्न गराउने विधिको व्याख्या गरिएको छ। जसले अग्निका पाँचपाँच गरी दुई भागमा बाँडिएका १० आमाहरू भनेर व्याख्या गरेको छ। जसको अर्थ औंलाहरू भन्ने हुन सक्छ। औंलाको यौनिकता पनि स्पर्श र घर्षण हो गमन होइन।
लिंग परिवर्तनको किस्सामध्येमा सिखण्डीको किस्सा पपुलर छ महाभारतमा। राजा द्रौपदले आफ्नी छोरी शिखण्डीनीलाई पूरै छोरासरह पालेका हुन्छन्। यतिसम्म कि उनले शिखण्डीको विवाह दशर्ण देशका राजा हिरण्यवर्णकी कन्यासँग गरिदिएका थिए। भनिन्छ, सुहागरातमा मात्रै शिखण्डीलाई र उसकी नवविवाहित दुलहीलाई उसको यौनिकताको बारेमा जानकारी भएको थियो। आफ्नो पति एक स्त्री भएको थाहा पाएपछि उत्पात हुन्छ। उसको बाबुले द्रौपदको पूरा राज्य ध्वस्त पार्ने धम्की दिन्छन्। समस्याको समाधना नपाएर व्याकुल शिखण्डीलाई स्थुनाकर्ण नामको यक्षले आफ्नो पुरुषत्व प्रदान गर्छन्। पछि नीतिविपरिक काम गरेको आरोपमा यक्षराज कुबेरबाट स्थुनाकर्णले आफ्नो पुरुषत्व फिर्ता पाउन शिखण्डीनको मृत्युसम्म कुर्नु पर्ने श्राप पाउँछ। 
त्यस्तै अर्को प्रसंग छ पुराणमा, किमपुरुषको। किमपुरुष एक महिना नर र अर्को महिना नारी हुने गर्दथी/गर्दथ्यो। पतन्जलीको व्याकरणमा स्त्रीलिंग र पुलिंगबाहेक पनि उभयलिंग, नपुंसक लिंग र द्विलिंगको सन्दर्भ छ। यसले वैदिकालमा हुने नर–नारीबाहेकको यौनिकतालाई दर्शाउँछ। 
कुरुक्षेत्रको युद्धमा पाण्डवको विजयको लागि दुर्गा कालीलाई भोग चढाउनुपर्ने हुन्छ। भोगमा चढ्नको लागि अर्जुन र नागकन्या उलुपीको सन्तान ऐरावण तयार हुन्छ तर अन्तिम इच्छा राख्छ— मर्नुपूर्व विवाह गर्ने र कुमार नरहने। भोलिपल्ट मर्न तयार भएको कुनै पुरुषलाई कसैले पनि छोरी दिन तयार हुने कुरा भएन। समस्या समाधानको लागि कृष्णले मोहिनी रूप धारण गर्छन् र ऐरावणसँग विवाह गर्छन् र रातभर उसको कुमारत्व उपभोग गर्छन्। भोलिपल्ट ऊ मारिएपछि एक विधवाले गन अन्त्येष्टीको कार्य पनि गर्छन्।
विष्णुको मोहिनी अवतार धेरै आइरहन्छ। असुरहरूलाई उल्लु बनाएर समुन्द्र मन्थनको बेला अमृतविमुख बनाउनमा होस् या साधुहरूको ध्यान उडाएर लठ्ठ पार्न होस्, विष्णुको यो रूपको प्रयोग कति छ कति। विष्णुको नारी स्वरूप मोहिनी रूप यति मोहित गर्ने थियो कि यिनको लहैलहैमा भष्मेश्वरले आफ्नै शिरमा हात राखेर भष्म भयो, स्वयं शिवले यिनलाई देखेर कामातुर भएर वीर्य पतन गरेका थिए, जसबाट हनुमान र मणिकन्थन अय्याप्पा जस्ता महावलीको जन्म भएको मानिन्छ। 
प्रश्न मोहिनी रूप धारणलाई साधारण अन्धभक्त भएर लिने कि यसलाई पौराणिक पात्रको समलैंगिक चरित्रको रूपमा लिने? भन्नेमात्रै हो। सर्वशक्तिमान विष्णु मोहिनी अवतारमा आफैं किन उत्रिए? जबकि यसको कामको लागि उनले कुनै पनि सुन्दरी परी वा अप्सरालाई प्रयोग गर्न सक्थे वा त्यस्तै काल्पनिक स्त्रीको रचना गर्न सक्थे। कुरा प्रस्ट छ, उनी वाइसेक्सुअल थिए। तर बचाउमा भागवत गीता भन्छ, जसले मोहिनी रूपमा मख्ख पर्योग ऊ सांसारिक मायाजालमा पर्योक, जसले मोहिनी रूपको सारमा विष्णुलाई देख्यो ऊ मुक्त भयो। तर उनलाई देख्दैमा कामातुर भएर वीर्य पतन गर्ने महादेवलाई कुन क्याटागोरीमा राख्छ गीताले? 
ब्रह्मा पुराणमा मोहिनीले ब्रह्मालाई भन्छे— रजस्वालापछि ऋतुकालमा रहेकी महिलाको कामेच्छालाई इन्कार गर्ने जोकोही पुरुष नपुंशक हो। पुराणको यही नीती अर्थात् धर्मको आधारमा उर्वशीको इच्छालाई इन्कार गर्ने अर्जुनले श्रापमा परेर ब्रिहन्नला भए। एक वर्ष राजा विराटको दरबारमा नाच सिकाएर बसे। भारतमा पछिल्लो कालसम्म धेरै दरबारमा हिजराहरू रानीका सुसारे बनेर बसेका हुन्। गुजरातमा बहुचराजी नाम गरेकी हिजराहरूकी देवीको मन्दिर नै छ।
शुद्ध नर वा नारीको भन्दा फरक यौनिकता देखाउने मान्छेलाई वैदिककालमा क्लिवा भनिन्थ्यो। मनुस्मृतिमा क्लिवालाई धार्मिक क्रियाकलाप गर्न, सम्पत्ति आर्जन गर्न वञ्चित थियो। वास्तवमा क्लिवा भन्ने शब्द नर वा नारीबाहेकको फरक यौनिकता राख्ने जोकोही प्रकारको लैंगिक स्वभावको सामूहिक नाम थियो। क्लिवाका १४ प्रकार रहेको व्याख्या पाइन्छ जसमध्ये एकमा मुखलाई योनीको रूपमा प्रयोग गर्ने पुरुष भनिएको छ। जसको नाम मुखभग भनिएको छ। नारद पुराणअनुसार महाप्रलय आएर कलियुग समाप्त हुनुअघि मान्छेहरूले यौनिक अकर्मयण्ता देखाउनेछन्। ‘नरहरूले योनीबाहेक (मुख वा गुद्वार?) मा वीर्य पतन गर्नेछन्।' हालाकि यसलाई पापको रूपमा व्याख्या गरिएको छ, तर यसबाट बुझ्न के सकिन्छ भने वैदिक विद्वान्हरूले यसको अस्तित्वलाई स्वीकार गरेका थिए।
कथासारितसागरमा एउटा कथा छ। एक राजाले पितृको श्राद्धका बेला पिण्डहरू नदीमा चढाउन लाग्दा तीन वटा हात निस्के। एउटा किसानको, अर्को साधुको र अर्को योद्धाको। आकाशवाणीले भनेछ— किसानले तिम्रो आमालाई बिहे गर्योस, तपस्वीले उनलाई गर्भवती बनायो र योद्धाले तिम्रो भरणपोषण गर्यो। यी तिनैका हात हुन्। तर तिमीले पिण्ड किसानको हातमा थमाउनु। यसबाट के थाहा हुन्छ भने, धार्मिक मान्यताले वास्तविक पिताको रूपमा विवाहित रहेको पुरुषमात्र हुने व्यवस्था गरेको देखिन्छ। 
अन्त्यमा एउटा लोकोक्तिले बिट मार्नु ठिक होला। हिजराहरूमा प्रचलित एक कथाअनुसार १४ वर्ष वनबास जाँदा पछि लागेका जनतालाई घर फर्किने आदेश दिँदा श्रीरामले ‘सम्पूर्ण नरनारीहरू घर फर्किनू' भनेका थिए रे। नरनारीमात्रै सम्बोधन गरेकोले तेस्रो लिंगीहरू १४ वर्षसम्म उनी आउने बाटो कुरेर बसेका थिए रे। पछि वनबासबाट फर्किंदा उनीहरूको भक्ति देखेर रामले ‘यसपछिको युगमा तिमीहरूले शासन गर्नेछौं' भनेका थिए रे। 
के सत्ययुगपछिको द्वापरमा शासन गर्नेहरू तेस्रोलिंगी नै थिए त? नभए महाभारतका हरेक पात्रलाई उत्पात उत्पातका कल्पनाबाट जन्माउनुपर्ने जरुरत किन थियो व्यासलाई? सामान्य र प्राकृतिक रूपमा जन्मेका भए के महाभारतको देशना अर्थपूर्ण हुँदैनथ्यो?

गनेस पौडेलको लेख
साभार: नागरीक दैनिक

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out